कलाकार भनेका राष्ट्रका गहना हुन, त्यसमध्ये पनि धुर्मुस उर्फ सीताराम कट्टेल त अन्तर्राष्ट्रिय गहना हुन भन्दा अत्युक्ति नहोला किनभने नेपाली पुगेका युरोप, अमेरिकालगायतका देशमा उनको ख्याति उत्तिकै छ। उनी कलाकारमध्येका पनि उम्दा कलाकार हुन।
खासगरी उनले निभाएको धुर्मुस भन्ने चरित्रबाट उनी ख्यातिको चरम शिखरमा पुगेकै थिए। त्यसमा पनि उनको ओलीको चरित्रसहितको राजनीतिक व्यंग्यले त वास्तविक ओलीको चरित्रमाथि व्यंग्यमात्रै गरेको हुँदैनथ्यो, घोचपेच पनि त्यत्तिकै हुन्थ्यो।
उनलाई साथ दिएका थिए प्रचण्डको भूमिका निभाएर मनोज गजुरेलले। यी दुई हाँस्य जोडीको अभिनयले सामान्य तथा बौद्धिक दुवै वर्गका दर्शकलाई उत्तिकै मनोरञ्जन दिएको थियो। धन्य छ नेपालको लोकतान्त्रिक संस्कार जहाँ नक्कली ओली र प्रचण्डले सक्कली ओली र प्रचण्डकै सामु उनीहरूको नक्कल गरेर उनीहरूलाई नै हँसाउँथे।
अब यस्तो उम्दा कलाकार सुरुदेखि नै कलाकारितामा सीमित भएनन्। खासगरी २०७२ सालको भूकम्पपछि यी उम्दा कलाकारको भावुक मनले गरिब दुःखी नेपालीको पीडालाई देख्न सकेन र सिन्धुपाल्चोकको पहरी गाउँका भूकम्पपीडितको भत्केको घरको बस्ती बसाउने अभियानमा लागे। उनको यो निष्काम काममा देश/विदेशमा रहेका नेपालीले साथ दिए र अन्य सरकारी निकायले वर्षौँ लगाउने कामलाई यिनले एक वर्षभित्रै सम्पन्न गरेर चर्चा कमाए।
त्यसपछि यिनको अभियान तराईको महोत्तरीमा मोडियो जहाँ उनले नेपालको मानव विकासको सूचकांकमा १२५ जातजातिमध्ये सबै भन्दा तल रहेको मुसहर समुदायको बस्ती बसाउने अभियानमा जुटे। सो बस्तीलाई उनले यस्तो नमुना बनाइदिए जसलाई एउटा आन्तरिक पर्यटनको गन्तव्य नै बनाइदिए।
त्यतिमात्र नभइकन तराईकै बारा जिल्लामा दलित बहुल तर मिश्रित समुदायका लागि अर्को बस्ती बसाइदिए। यी सबै कामले उनले ती दिन दुःखी गरिबहरूको आँसुमात्र पुछेनन्, उनीहरूको पशुसरह बितिरहेको जिन्दगीलाई मान्छे जस्तो बनाइदिए। कुनै आध्यात्मिक कर्ममा विश्वास गर्ने व्यक्ति छन् भने उनले देवताहरूले गर्ने काम गरे।
यी सबै कामले उनको ख्याति देश/विदेशमा बढ्यो। उनलाई अझ यो भन्दा ठूलो काम गर्न सकिन्छ भन्ने हुटहुटी जाग्यो र योबीचमा उनले नेपालको जातीय, भौगोलिक तथा सांस्कृतिक विविधता झल्किने नेपाल ग्राम बनाउने योजना अघि सारे। त्यसका लागि ठाउँ खोजी गरे र ललितपुरको लेले क्षेत्रमा त्यो बन्ने चर्चा चल्यो। उनलाई सो क्षेत्रको भाउ बढाएर जग्गामा दलाली गर्न लागेको भन्ने पनि आरोप लाग्यो।
त्यो काममा उनले डिपिआरसमेत बनाएको चर्चा चल्यो तर सो काम एकाएक हरायो र क्रिकेट रंगशाला निर्माण गर्ने कुरा अगाडि आयो। उनले १०–२० करोडका योजना जनस्तरमै गरेर सफल बनाएका हुँदा उनैले आटेको सो रंगशाला निर्माण हुन्छ भन्ने विश्वास आमजनता तथा सरकारीतर्फमा पनि भयो।
उनले सुरु गरेको क्रिकेट रंगशाला के साँच्चिकै आवश्यक थियो कि एउटा श्वैर कल्पना मात्रै? यो विषयमा पर्याप्त छलफल गरेको देखिएन। नेपालमा क्रिकेट भारत, पाकिस्तान र बंगलादेशमा जस्तो प्रख्यात पहिले त छँदै थिएन, अहिले बिस्तारै बढेको छ। खासगरी भैरहवा, बैतडी, विराटनगरका युवाले खेल्न थालेपछि यसको ख्याति बढ्दै गएको हो।
त्यसमा अजय दास, पारस खड्का र पछिल्लो चरणमा सन्दीप लामिछानेहरूको आगमन र खेलले गर्दा नेपालले अन्तर्राष्ट्रिय मान्यतासमेत पायो। यसले देशमा एउटा सुविधा सम्पन्न रंगशाला हुनुपर्ने आवश्यकता महसुस त भयो तर त्यसलाई पूरा गर्ने सरकारी पहल खासै भएन।
खेलाडीले त्रिभुवन विश्वविद्यालयको खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा प्रयोग गरे जुन आजपर्यन्त भइरहेको छ। योबीचमा काठमाडौँको मूलपानीमा सुविधा सम्पन्न क्रिकेटको तालिम दिन सकिने ठाउँसहित रंगशाला निर्माण भइरहेको छ तर ‘राजाको काम कहिले जाला घाम’ भन्ने संस्कार भएको सरकारी संयन्त्रले त्यसलाई कहिले पूरा गर्ने हो, अत्तोपत्तो छैन।
यस्तोमा एउटा बलियो विकल्पसहितको सुविधा सम्पन्न रंगशाला निर्माण हुनु आफैँमा सुखद पक्ष थियो तर २०–२५ करोडको बजेट जनस्तरबाट परिचालन गरेका धुर्मुसका लागि यो तीन अर्बको योजना फलामको चिउरा सावित भयो र अहिले उनको फाउन्डेसनले सो परियोजनाबाट हात झिकेको सार्वजनिक भएको छ। यो उनका लागि त दुःखद छँदैछ उनलाई विश्वास गर्ने सारा नेपालीलाई झन् बढी दुःखद विषय भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय क्रिकेटको संभावना नभएको होइन र केही वर्षपहिले भारतको जि टेलिभिजन समूहले क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएर खेल पर्यटनलाई अगाडि बढाउने समाचार आएको थियो। भारत र पाकिस्तान क्रिकेटका महारथि हुन्, उनीहरूका बीचमा संसारको कुनै पनि ठाउँमा खेल भयो भने भारतका सवा एक अर्ब तथा पाकिस्तानका २२ करोड जनता अर्थात डेढ अर्ब जनसंख्याले एकै पटक हेर्छ, त्यसपछि संसारका अरू क्रिकेटप्रेमी दर्शक त छँदैछन्, यसले गर्दा संसारभर हेरिने फुटबलपछिको दोस्रो दर्शक पाउने यो खेल बन्छ।
तर भारत र पाकिस्तानको वर्षौँको दुश्मनीले गर्दा दुवै देशले एकअर्काको देशमा यो खेल आयोजना गर्न सक्दैनन्। कतिसम्म भने पाकिस्तानका उच्चस्तरीय अन्तर्राष्ट्रिय खेलाडीले समेत विश्वको सर्वाधिक महँगो क्रिकेटको खेल आइपिएलमा पनि प्रवेश पाउँदैनन। यस्तोमा भारत र पाकिस्तान दुवै देशका लागि तटस्थ देश नेपालमा यी दुई देशको क्रिकेट आयोजना गर्न सकिने प्रचुर संभावना छ।
त्यसैलाई मध्यनजर गरेर भारतको जि न्युजले नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने कुरा गरेको तर हाम्रो दुर्भाग्य के हो भने सरकारी स्तरका भारतीय संस्थाले त नेपालमा विभिन्न आयोजना लिएर त्यसलाई अलपत्र पार्ने गरेका छन् भने भारतकै निजी क्षेत्रको त झन् के विश्वास भयो र?
यस्तोमा धुर्मुस सुन्तली फाउन्डेसनले त्यो संभावनालाई वास्तविकतामा उतार्ने आधार दिएको थियो तर त्यसलाई उनले सोचे जस्तो तरीकाले सम्पन्न हुने स्थिति आएन। त्यसमा कोभिड त जिम्मेवार छ नै, देश/विदेशमा रहेका श्रमजीवी नेपालीका लागि पनि यो धेरै महँगो परियोजना भयो। खासगरी धार्मिक यज्ञहरू गरेर जुन चन्दा उठाइन्छ त्यसमा कवोल गरेका रकमको २५ प्रतिशत पनि नउठ्ने अवस्था भएको नेपालमा कुनै धार्मिक आस्था तथा समाजसेवासँग नजोडिएको अभियानमा पैसा नजुट्नु आश्चर्यको कुरा भएन।
बन्दै गरैको रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको भन्ने खबर बाहिर आएको छ। प्रचण्डपुत्री रेणु दाहालले नेपालका अन्य मेयरको तुलनामा राम्रो काम गरेको समाचार आइरहेका छन्। अतः उनले जिम्मा लिएपछि यो रंगशाला सम्पन्न हुन्छ कि भन्ने आशा गर्न सकिन्छ। त्यतिमात्रै नभइकन केन्द्रमा पनि उनकै अनुकूलको सरकार छ। त्यसमा प्रचण्डले विशेष भूमिका निर्वाह गरे भने सरकारले पनि रकम विनियोजन गर्न सक्छ। तर अहिलेको सरकारको अवधि एक वर्ष मात्रै छ।
नेपालको ठेक्का नीति अत्यन्त झन्झटिलो भएको र निजी स्तरबाट निर्माण भइरहेको यो रंगशालाको स्वामित्व र खर्च सरकारले ग्रहण गर्नु त्यति सहज छैन। त्यसमाथि अनिश्चित रहेको अर्को चुनावको नतिजापछि बन्ने सरकारले यो परियोजनालाई कसरी हेर्छ त्यो पनि भन्न सकिने अवस्था छैन।
यस्तोमा धुर्मुस सुन्तली फाउन्डेसन देश/विदेशमा रहेका नेपालीको श्रमको कमाइ तथा केही सरकारी लगानीको करिब ५५ करोडको लगानी खेर नजाओस् भन्ने कामनाबाहेक अरू के नै पो गर्न सकिन्छ र?
प्रकाशित: १४ पुस २०७८ ०२:१४ बुधबार