५ वैशाख २०८१ बुधबार
विचार

बालबालिकाको खाजा

दाङ जाने माइक्रो बसमा चितवनतर्फ जाँदै थिएँ। मेरो सिट भन्दा पल्लोपट्टिको सिटमा लगाइएका कपडा, अनुहारको मेकअप, बोलीचालीको आधारमा आधुनिक जस्ता देखिने दुईजना महिला पनि थिए। ती महिलाका दुई तीन वर्षका बच्चा काखमा थिए।

बच्चाका लागि चिजबल्ब, चिप्स, चाउचाउ र कोकका बोतल केही हातमा त केही ह्यान्ड ब्यागमा राखिएका थिए। मलेखुमा यात्रीलाई खाजा खाने समयका लागि माइक्रो रोकियो। सबै यात्रीसँगै खाजा, खाना तथा शौचालय जानका लागि ती महिला पनि झरे। मेरो झर्ने हतार थिएन।

प्रायः यात्री झर्दासम्म म माइक्रोमा नै थिंएँ। अन्तिम सिटमा दुई बच्चा एक जना महिला कुरा गर्दै गरेको सुनेँ। किन ती महिला र बच्चा सबै झर्दा पनि भरेनन् भन्ने कुरामा जिज्ञासा जाग्यो। सामान्य जस्तो देखिने पछिल्लो सिटमा रहेकी ती महिला र बच्चाले टिफिन बक्समा आफैँसँग ल्याएका खाजा रमाउँदै खाइरहेका रहेछन्। 

माइक्रो बसमा देखिने एकाध घटना भएको हुनाले मैले ती महिलासँग खाजाको विषयमा कुरा गर्ने विचार गरेँ। तपाईँले त खाजा बोकेरै ल्याउनुभएको रहेछ भनेर कुराको मेसो निकालेँ। उनको निसंकोच प्रतिक्रिया थियो– बच्चाको स्वास्थ्यको कुरा छ। होटलका खाना स्वास्थ्यबर्धक हुँदैनन्। यात्रा गर्दा साथै बोकेरै हिँड्नुपर्ने बाध्यता छ। त्यसैले म त खाजा बोकेर नै हिँड्छु। खाजामा के के ल्याउनुभएको छ नि भन्ने मेरो जिज्ञासामा उहाँले रोटी, सागको तरकारी, गाजर र स्याउका टुक्रा ल्याएकी छु भन्नुभयो। धेरै राम्रो गर्नुहुँदोरहेछ भन्दै खुसीसमेत व्यक्त गरेँ।

खाजाको समय सकियो। माइक्रोमा सबै चढेँ। माइक्रो मलेखुबाट अगाडि बढ्यो। मैले ती पाइन्ट र टाउकोमा चस्मा लगाएका आधुनिक जस्ता देखिने महिलासँंग बच्चालाई दिएको खानेकुरा र त्यसको असरबारे कुरा निकालेँ। उहाँहरूको भनाइ थियो– बच्चाले मान्दैनन्, किनिदिनै पर्छ।

आखिर बच्चाको स्वभाव उस्तै उस्तै हुन्छ। पछाडि बसेकी महिलाका बच्चाले टिफिनबक्सको खाना मीठो मानी मानी खाने, खुसी हुने, रमाउने तर अगाडि बस्ने महिलाका बच्चाले पसलमा सजाएर राखिएका फ्याक्ट्री उत्पादित खाना नभै नहुने के कारण छ? आमा त ती तीनै जना आमा नै हुन्। एक जना जो समान्य देखिन्छिन्, आफ्नो बच्चालाई फ्याक्ट्री उत्पादित पत्रु खानाबाट बचाउने प्रयासमा छिन् र स्वास्थ्यका लागि पोषणयुक्त खाना बोकेर हिँड्छिन्।

अर्का आमाहरू आफू टिपटप जस्ता देखिन्छन् तर बच्चाको स्वास्थ्यका लागि सचेत छैनन्। घातक खानेकुराका लागि रकम खर्च गरिरहेका छन्। यो त भयो दुई आमाका कुरा। समाजमा यस्ता धेरै अभिभावक छन् जसले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दैनन्। भएको स्रोतसाधन पनि पत्रु खाना किन्न प्रयोग गरिरहेका छन्।

आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्? प्रायः अस्वस्थ, रोगी र कमजोर युवा हुने हो भने नेतृत्वको चाहना र प्रयत्नले देशको समृद्धि सम्भव होला? सोचनीय विषय हो। बिग्रिसकेपछि सुधार गर्न भन्दा बिग्रनै नदिनु बुद्धिमता हो।

एकातर्फ अभिभावकको गरिबी, ज्यालादारी तथा श्रमिकका रूपमा काम गर्दा हुने व्यस्तताले गर्दा बालबालिकाको स्वास्थ्यका लागि आवश्यक पोषणयुक्त खाना खाजा व्यवस्था गर्न कठिन छ भने अर्कोतर्फ पोषणसम्बन्धी चेतनाको कमीले भएको स्रोतसाधन पनि दुरूपयोग भएको छ।

आर्थिकरूपमा सम्पन्न तथा बालबालिकाको स्वास्थ्यका लागि आवश्यक खाना, खाजा जुटाउन समस्या नभएका अभिभावकमा पनि आफूलाई समाजमा अरू भन्दा खर्च गर्न सक्ने, सभ्य देखाउन फ्याक्ट्री उत्पादित, बजारिया, विदेशबाट निर्यात गरिएका, क्यानमा प्याक गरिएका, फेसनेबल खाना, खाजा र पेय पदार्थमा खर्च गर्ने प्रवृत्ति बढ्दो छ।

विदेशीको अनुकरण गरी समय समयमा सपरिवार होटल तथा रेस्टुराहरूमा खाना खाने, बजारिया, पत्रु खाना र खाजामा खर्च गर्दा आफूलाई गौरव गर्ने, सभ्य भएको महसुस गर्ने जस्ता कारणले पनि बालबालिका प्राकृतिक, स्वस्थकर र पोषणयुक्त खानाबाट वञ्चित हुन पुगेका छन्।

राजमार्ग, सहायक मार्ग तथा गाउँ–गाउँ र टोल–टोलमा रहेका चिया पसल, खाजा र खानाका पसल, खाद्य सामग्रीसहितका खुद्रा पसलहरूमा सजिसजाउ सामग्रीमा अधिकांशमा चाउचाउ, चिप्स, चिजबल्ब, कुरकुरे, बिस्कुट जस्ता रंगिन खोल भएका सामग्री र कोकाकोला, फ्यान्टा, फ्रुटी जस्ता पेय पदार्थले भरिएको देखिन्छ। हाटबजारमा सार्वजनिक यातायातमा देखिने अधिकांश बालबालिकाको हातमा यस्तै जंकफुड देखिन्छ।

माथि उल्लेख गरिएकी आमाले बच्चाले मान्दै मान्दैनन् भन्ने कुरामा सहमत हुन सकिँदैन। बालबालिकाको खानामा बानी बसाउने, स्वादमा अव्यस्त गराउने कार्य घरपरिवार, दौतरी तथा छरछिमेकीबाट नै हो। उस्तै उमेरका बालबालिकामा कसैले तरकारी रोटी, स्याउ र गाजर मजाले खाने र अर्को आमाका बच्चालाई चाउचाउ, चिजबल्ब र कुरकुरे नै चाहिने कुराको कारक बालबालिका नभएर अभिभावक नै हुन्। अन्तर चेतनाको हो।

सामुदायिक विद्यालयको कक्षा पाँचसम्मका सबै बालबालिकालाई नेपाल सरकारले दिवाखाजाको व्यवस्था गरेको छ। देख्दा सामान्य लागे पनि यो खाजा कार्यक्रमले समाजमा रहेको भिन्नता कम गर्न र समानता स्थापित गर्नसमेत सहयोग पुर्‍याउँछ। खाजाका लागि स्थानीय तह र विद्यालयमा पठाइएको रकम सदुपयोग भएको छ भन्न सकिने अवस्था छैन। रकमको प्रयोग कसरी भएको छ भनेर अनुगमन, अध्ययन गर्ने र कमीकमजोरी हटाउने प्रयास हुन सकेको छैन।

सस्थागत विद्यालयमा खाजा सम्बन्धमा विविधता छ। कतिपय विद्यालयले खाजा शुल्क लिने र विद्यालयले नै खाजाको व्यवस्था गर्ने गरेको देखिन्छ। कतिपय संस्थागत विद्यालयमा बालबालिकाले अभिभावकले खाजाका लागि दिएको पैसाले क्यान्टिनबाट खाजा किनेर खाने गरेको देखिन्छ। केही विद्यालयले अभिभावकलाई घरबाट नै खाजा बनाएर पठाउन अनुरोध गर्ने गरेको अभ्यास पनि देखिन्छ।

समग्रमा भन्दा विद्यालयबाट बालबालिकामा स्वास्थ्यदायक र पोषणयुक्त खाजा र खानाको बानी निर्माण गर्न सम्भव हुन्छ। दिवा खाजामा राम्रा सामुदायिक विद्यालयले जाउलो, चना अण्डा, रोटी, हलुवा, खिर तरकारी जस्ता खाजाका रूपमा खुवाउने गरेर घरको खानामा भएको पोषणको कमीलाई समेत पूरा गर्न प्रयास गरेका देखिन्छ। केही विद्यालयमा खाजाको समयमा पुग्दा हतारहतारमा बजारबाट सस्ताखालका चाउचाउ, बिस्कुट, भुजा चिउरा दालामोठ किनेर वितरण गरेको पनि देखिन्छ।

कतिपय स्थानीय तहले नै कक्षा पाँचसम्मका विद्यार्थीका लागि वितरित रकमको सदुपयोग भएको सुनिश्चित गर्ने र कक्षा ६ भन्दा माथिल्लो कक्षाका लागि समेत खाजाको व्यवस्थाका लागि अभिभावकसँग सहकार्य गर्ने गरेको भटिन्छ। अभिभावक भेला गर्ने, स्वास्थ्यबर्धक खाना र खाजाको बारेमा छलफल गर्ने, प्रतिविद्यार्थी एक/एकवटा टिफिनबक्स वितरण गरी अभिभावकलाई घरमा बनाएका पोषणयुक्त खानेकुरा खाजाका रूपमा नियमित पठाउन अनुरोध गर्ने गरेको पनि भेटिन्छ। कतिपय विद्यालयमा कक्षागत अभिभावकको समूह निर्माण गरी पालो लगाएर विद्यालयमा खाजा बनाउन जाने तथा एक अभिावकले एक दिन एउटा कक्षाका सबै विद्यार्थीलाई खाजा बनाएर खुवाउने व्यवस्था गरेका अभ्यास पनि देखिन्छन्।

विद्यालयको काम भनेको समुदायलाई सचेत पार्ने, समाजमा चेतना प्रवाह गर्ने पनि हो। स्वास्थ्य र पोषणसम्बन्धी चेतना फैलाउन, बालबालिकाको स्वास्थ्यलाई घातक प्रभाव पार्नेखालका अत्यधिक चिनी, अजिनामोटो र अखाद्य पदार्थ मिश्रित खानेकुरा खानबाट रोक्न अभिभावक शिक्षा सञ्चालन गर्ने, अभिभावक परामर्श कार्यक्रम सञ्चालन गर्ने, बालबालिकालाई स्वस्थ रहन आवश्यक जीवनउपयोगी सिप सिकाउने तथा पोषणयुक्त खाना खाने बानी निर्माण गर्ने कार्य विद्यालयले गर्न सक्छन्।

सबै विद्यालयले बालबालिकालाई चाउचाउ, कुरकुरे, चिप्स, चिजबल्ब जस्ता फ्याक्ट्री उत्पादित जिब्रोलाई स्वाद दिने, लत बसाउने तर पोषणको दृष्टिले शून्य रहेका र आर्थिकरूपमा समेत खर्चिला खानेकुरा खानाबाट रोक्न विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्छ। बालबालिकामा बढ्दो जंकफुडको प्रभावबाट रोक्ने र स्वस्थ खाद्य बानी निर्माण गर्ने दायित्व अभिभावक र विद्यालयको मात्र नभएर नागरिक समाज, समाज सुधारका लागि कार्य गर्ने संस्था, राजनीतिक दल, सञ्चार माध्यम सबैको हो।

sharma.ramakanta@gmail.com

प्रकाशित: १३ पुस २०७८ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App