२२ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

नेपाल–ब्रिटेन सन्धिको महत्व

नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० को आधारस्तम्भ नेपाल–ब्रिटेन सन्धि १९२३ हो। नेपाल–भारत सन्धिले नेपाल–ब्रिटेन सन्धिलाई प्रतिस्थापन गरे पनि आवश्यक कूटनीतिक उद्धरणमा नेपाल–ब्रिटेन सन्धिलाई आधार बनाइन्छ।

गौरवशाली नेपाली इतिहास केलाउँदा नेपाललाई स्वतन्त्र राष्ट्र बनाउन कानुनी रूपमा जग बसाल्दै अविभाज्य अखण्ड सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाएको प्रामाणिक एवं ऐतिहासिक दस्तावेज हो, नेपाल–ब्रिटेन सन्धि। परिणामतः नेपालको स्वतन्त्रताको कदर गर्न नेपाल–भारत सन्धि बाध्य छ।

कुनै पनि स्वतन्त्र राष्ट्रले गर्ने सन्धि स्वयंमा अविच्छिन्न निरन्तरता हो। यसर्थ नेपाल–भारत सन्धिले नेपाललाई सार्वभौमसत्ता सम्पन्न अखण्ड, अक्षुण्ण र स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिनु अनुपयुक्त होइन। यद्यपि उक्त सन्धिको दफा २ ले नेपालले ब्रिटिस सरकारसँग गरेको सन् १९२३, १८६० र १८१६ का सन्धिलाई अनुमोदन गर्दै उपरोक्त सन्धि, सम्झौता र प्रबन्ध खारेज गर्छ।

भू–राजनीतिक उथलपुथलबीच प्रजातन्त्रको उदयसँगै बदलिँदो परिस्थितिमा नेपाल–भारत सन्धिले नेपाल–ब्रिटेन सन्धिकै झलक दिन्छ। तथापि दुवै सन्धिका सातै दफा एकै प्रकारका देखिए पनि प्रस्तावनासहित समयानुकूल प्रतिस्थापित दफाको असमानताले विवाद निम्त्याएको छ।

अघिल्लो सन्धिमा दीपावलीसहित दुई दिन सार्वजनिक बिदा दिँदै काठमाडौं र पाटनमा जुवा समेत फुकुवा गरी उत्सवसहित मनाइएको राष्ट्रव्यापी खुसियाली पछिल्लो सन्धिसम्म आइपुग्दा विवादित बनेको छ। सुगौली सन्धि १८१६ ब्रिटिस इन्डियाको दबाबमा र नेपाल–भारत सन्धि १९५० भारतको प्रभावमा बन्यो। तर नेपाल–ब्रिटेन सन्धि १९२३ मा भारत, चीन र बेलायतबाट दबाब वा प्रभाव झेल्नुपरेन, जुन दशकौँको कूटनीतिक प्रयासबाट प्राप्त पौरख हो।

‘सार्वभौमसत्ता र सन् १९२३ को सन्धि’को विमर्श ‘ज्ञान–गोष्ठी संवाद शृंखला–४’ को आयोजनमा हालै ललितपुरमा सम्पन्न भयो। वरिष्ठ पत्रकार कनकमणि दीक्षित सहजकर्ता बनेको कार्यक्रममा इतिहासकार एवं नेपाली कांग्रेसका राजनीतिज्ञ सागरशमशेर राणा, सम्माननीय राष्ट्रपतिका प्रेसविज्ञ टीकाप्रसाद ढकाल र स्तम्भकारको साक्षात्कारमा उठेका जिज्ञासालाई मध्यनजर गर्दै नेपाल–ब्रिटेन सन्धि भएको ९८ वर्ष पुगेको उपलक्ष्यमा प्रस्तुत लेख समर्पित छ।

नेपाल–ब्रिटेन सन्धि नेपालीको पुरुषार्थले जन्मिएको हो, जसको श्रेय जान्छ चन्द्रशमशेरलाई। चन्द्रको शासनकाल (सन् १९०१–१९२९) मा भारतमा ब्रिटिस इन्डिया कम्पनीको सरकार थियो। कोलकाताबाट अंग्रेजी माध्यममा म्याट्रिकुलेसन गर्ने चन्द्र विद्यार्थी कालदेखि प्रतिभा सम्पन्न जागरुक पाठक थिए। त्यतिखेर बेलायतबाट प्रकाशित पत्रपत्रिका समुद्री जहाजमार्फत लन्डनदेखि अफ्रिकी महाद्वीप हुँदै कोलकाता आइपुग्न लगभग महिना दिन लाग्थ्यो। पुरानो खबर पढेर के कति बुझ्ने कुतूहलबीच इजिप्टको स्वेज कनाल खुलेपछि पत्रपत्रिका सात दिनमै आउन थाल्यो, जसको भरपूर फाइदा उठाए चन्द्रले। पत्रपत्रिका पढ्ने लतले अंग्रेजको कमजोरीसहित मन पर्ने र नपर्ने विषय पत्ता लगाउन मद्दत पुग्यो।

कानुनी शासनका खातिर घाघडान राजनीतिज्ञ जंगबहादुर राणाले मुलुकी ऐन बनाई सुगौली सन्धिबाट गुमेको भूभागमध्येको चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालमा फिर्ता ल्याएर प्रशस्ति कमाइसकेका थिए। उक्त कार्यभन्दा पनि अविस्मरणीय कार्य गर्ने धोको राष्ट्रवादी चन्द्रशमशेरमा थियो।

अंग्रेजलाई दाहिने बनाई नेपालको अस्तित्व स्वतन्त्र राख्ने हुटहुटी उनमा थियो। महत्वाकांक्षी शासकले राष्ट्रलाई सुरक्षित राख्न स्वतन्त्रता नै सबैभन्दा ठूलो अस्त्र भएको ठम्याए। उनले सुगौली सन्धिबाट नेपालले भोगेको पीडा, अपमान र असमान बुँदाकै कारण खुम्चिएको प्रतिष्ठा उठाउन नेपालको पूर्ण स्वतन्त्रताप्रति ब्रिटिस सरकारबाट मान्यता प्राप्त गर्ने अर्जुनदृष्टि बनाए।

भाइसरोय लर्ड कर्जनलाई सिकारका लागि नेपाल भित्र्याएर विश्वासपात्र बनेका चन्द्रशमशेरको सन् १९०३ को भारत भ्रमणको प्रसंग रोचक मानिन्छ। नेपाललाई प्रोटोकलमा तेस्रो स्थानमा राखिएको सूचनापछि असमञ्जसमा परेका चन्द्रले यदि नेपाललाई कस्मिर र हैदराबादका राजाहरूको समकक्षमा नराख्ने हो भने निम्तो अस्वीकार गर्ने जनाउ दिए। तर ब्रिटिसराजमा निमन्त्रणा स्वीकार गर्नुपर्ने भू–राजनीतिक बाध्यताबीच कूटनीतिक चाल चले।

दिल्ली दरबारमा भारतीय उपमहाद्वीपका राजारजौटाभन्दा नेपालको छुट्टै पहिचान जनाउने उद्देश्यसहित उनी दिल्ली गए। उनले कर्जनसँग एक्लाएक्लै कुरा गर्न १० मिनेटको समय पाएकामा कर्जनलाई प्रभावित पारी डेढ घन्टासम्म कुरा गरे। भाइसरायको निवास,दिल्लीको राजपथमा आयोजित विशेष समारोहमा सोह्रघोडे बग्गीमा सवार चन्द्रले सोह्रवटै चाबुक सोह्रजना अंग्रेज सइसलाई समात्न लगाई अचम्मकै साथ आमन्त्रण स्थल पुग्दा उपस्थित विशिष्ट पाहुना चकित भएपश्चात् कर्जनले चन्द्रलाई तत्काल सम्मानजनक आसन ग्रहण गराएको देखिन्छ। चन्द्रले सन् १९०४ मा बेलायतका सर फ्रान्सिस एडवर्ड योङहजबेन्डको नेतृत्वमा तिब्बतविरुद्ध सैन्य मिसन पठाउन प्रत्यक्ष सहयोग गरेर कर्जनलाई अनुगृहीत तुल्याए।

जंगबहादुरकै पालामा सुरु भएको गोर्खा भर्ती केन्द्र सन् १९०८ मा आइपुग्दा ब्रिटिस साम्राज्यका लागि चन्द्रशमशेरले बीसवटा बटालियन बनाउन सहयोग गरिसकेका थिए। नेपाली सैनिक संख्या दुई लाख ५० हजारमाथि पुगेपछि नेपालले प्राप्त गर्ने रोयल्टी रकम १० लाख रूपैयाँबाट दोब्बर बन्यो र स्टेट बैंक अफ् बंगालमार्पmत आउन थाल्यो। उक्त सहयोगलाई केहीले सत्ता बचाउने प्रपञ्च भन्छन् भने केहीले सन् १९२३ को सन्धि गर्ने हतियार ठान्छन्। पहिलो विश्वयुद्धमा नेपाली फौजले बेलायत, फ्रान्स र रुसका लागि पु¥याएको योगदान अतुलनीय छ। सन् १९१८ मा तिनै राष्ट्र विजयी भएपछि गोर्खाली वीरताको ख्याति अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ।

अर्का भाइसराय लर्ड मिन्टोमार्फत नेपालका प्रधानमन्त्रीलाई नेपालको राजाका दूत मान्दै उच्च सम्मानका साथ १९ तोपको सलामी दिने सर्तमा चन्द्रशमशेरले सन् १९०८ मा बेलायत भ्रमण गरे। सरकारी कामकाजी तरिका र पद्धति बुझ्दै बेलायती साम्राज्यसँग घनिष्ठ सम्बन्ध बनाए।

युरोप भ्रमणद्वारा फ्रान्सको कानुनी संहिता नेपोलियन कोडलाई नेपालमा अवलम्बन गर्ने प्रयोजनसहित फ्रान्सको भ्रमण समेत सफल पारे। सन् १९११ मा बेलायतका राजा जर्ज (पाँचौँ) नेपालमा सिकार खेल्न आएको मौका छोपी मनभित्र गढेको अमुक लक्ष्यअनुरूप नेपाललाई स्वतन्त्र राष्ट्र घोषणा गर्न अनुरोध गरे।

सन् १९२१ मा चन्द्रशमशेरकै निमन्त्रणामा बेलायतका युवराज (राजा एडवर्ड आठौँ) सिकार खेल्न चितवन आए। रुसको उच्चस्तरीय प्रतिनिधिमण्डल तिब्बत आएको मौका छोप्दै रुसले नेपालसँग नजिक हुने चाहना राखेको सूचना अंग्रेजका कानमा पारे। त्यसबखत बेलायत र रुसबीच कटूतापूर्ण सम्बन्ध थियो। 

भू–रणनीतिक द्वन्द्वले नेपाललाई अप्ठेरो पर्ने र नेपालबाटै रुसका पोलर वियर ब्रिटिस इन्डिया पस्ने सम्भावना औँल्याई बेलायतले नेपालसँग सन्धि गर्दा हुने लाभ बताए। रुसी लडाकुबारे एडवर्डको मनमा पसेको चिसो मेटाउन र प्रथम विश्व युद्धमा नेपालले गरेको सहयोगको पैँचो तिर्न संयुक्त अधिराज्य बेलायत नेपालसँग सन्धि गर्ने निष्कर्षमा पुग्योे। अंग्रेजजस्तो छट्टुलाई कूटनीतिक तवरबाट मात गर्ने चन्द्रको चार्तुय सफल भयो। तदनुरूप बेलायतले सन्धिको मस्यौदा नेपाल पठायो।

चन्द्रशमशेरले मस्यौदामा आफ्नो राय प्रस्तुत गर्न राजनीतिशास्त्री यज्ञमणि आचार्य दीक्षितलाई अह्राउँदा सार्वभौमसत्ताबारे उनको तर्कद्वारा प्रशन्न भएका चन्द्रले उनलाई परराष्ट्र विशेषज्ञका रूपमा ग्रहण गरेपश्चात् यज्ञको आँखा र हात मुन्सीखानाको अंग्रेजी चिठीपत्रमा पर्न थाल्यो। यज्ञ र मुन्सीखानाका हाकिम मरिचमानसिंह प्रधानले मस्यौदाको दफा ३ र ७ मा संशोधन गर्न दुई वर्षभन्दा बढी समय त पत्राचार र कोलकाता आउजाउमै लगाए। उक्त पत्राचारलाई परराष्ट्र मामिलाका जानकार ठूलो उपलब्धि मान्छन्। मस्यौदामा टाइप गर्ने कार्य नरेन्द्रमणि आचार्य दीक्षितबाट भयो।

अन्ततः नेपालले पठाएको परिमार्जित मस्यौदा लन्डनले स्वीकार गर्‍यो। लगत्तै सिंहदरबारको ग्यालरी बैठकमा सन्धि हस्ताक्षर समारोह आयोजना भयो। २१ डिसेम्बर १९२३ मा सन्धिपत्रमा हस्ताक्षर गर्दै चन्द्रशमशेर र ब्रिटिस राजदूत सर फ्रेडरिक आकोनोरले टोस्ट आदानप्रदानसहित अंग्रेजीमै भाषण ठोके, जसको नेपाली अनुवाद मरिचमानले गरे।

उक्त सन्धिसँगै बेलायतले ‘सार्वभौमसत्ता सम्पन्न अखण्ड र स्वतन्त्र नेपाल’ घोषणा गर्‍यो, जसको विस्तृत समाचार २४ डिसेम्बर १९२३ मा गोरखापत्रमा प्रकाशित भयो। उक्त सन्धिलाई ‘लिग अफ् नेसन्स्’ (हाल संयुक्त राष्ट्र संघ) मा सन् १९२५ मा दर्ता गरेपछि विश्व समुदायबीच नेपाल नौलो रहेन। फलस्वरूप सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालले कस्मिर, हैदराबाद, ग्वालियर, बडोदा र जुनागढजस्ता देशी राज्यसरह भारतमा विलय हुनुपरेन।

राममणि आचार्य दीक्षितले लेखेकोे चन्द्रशमशेरको जीवनीलाई टिएन रायद्वारा अंग्रेजीमा अनुवाद गराई यज्ञमणि र केशरशमशेरबाट पाण्डुलिपिमा थपघट भएपछि चन्द्रले बेलायतका पर्सिभल ल्यान्डनलाई छपाउन दिए। सन् १९०५ मा प्रकाशित ‘नेपाल’ सन् १९१० मा फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनुवाद भई बेलायतबाटै सन् १९२८ मा दुई भागमा प्रकाशित भयो।

युरोपभन्दा पहिले नेपालमा दासत्वमोचन गरेका चन्द्रको तारिफ ‘लिग अफ् नेसन्स्’ले पहिल्यै गरेकाले उक्त पुस्तकको प्रकाशनबाट थप कूटनीतिक लाभ मिल्यो। चन्द्रको शासनकालको अन्त्यतिर यज्ञमणिसहित अंग्रेजी र फ्रेन्च भाषाका विज्ञ खरदार दीपराज तुलाधरले अमेरिका, बेलायत र जापानको संविधान अध्ययन गरी नेपाललाई उचित हुने संविधान निर्माण गर्न चन्द्रसमक्ष पेस गरेको प्रतिवेदन वास्तवमै अग्रगामी कदम मानिन्छ।

कूटनीतिका चतुर खेलाडी चन्द्रशमशेरले काठमाडौंमा फुटबल प्रतिस्पर्धा गराएको रमाइलो प्रसंग छ। टँुडिखेलको मैदानमा एउटा टोलीले केन्द्रबाट विपक्षको डि–बक्सतिर बल दौडाएपछि चन्द्रको मुखबाट एक्कासि ‘पेनाल्टी’ शब्द निस्कियो र खेल रोकियो। कोलकाताका बंगाली रेफ्रीले पेनाल्टी होइन भने पनि उपस्थित खेल अधिकारीसहित दर्शक गणबाट पेनाल्टी दिनुपर्छ भन्दै पेनाल्टी हान्न लगाइयो, जसलाई विपक्षीतर्फरणनीतिक दबाब दिने कार्यमा चन्द्रको ल्याकत देखिन्छ।

चन्द्रशमशेले नेपाललाई स्वतन्त्र राष्ट्रको कानुनी मान्यता प्राप्त गराउन महत्वपूर्ण योगदान गरेको तथ्य स्पष्ट छ, जसको राष्ट्रियस्तरमा अनुमोदन हुन बाँकी छ। विश्व मानचित्रमा कूटनीतिक तवरले नेपाललाई चित्रण गराउन बेलायतसँग स्वतन्त्रताको सन्धिमार्फत नेपाल–भारत सन्धि समेत अडेको हुँदा चन्द्रकर्म स्तुतियोग्य छ। राष्ट्रिय जीवनमा गुन भनेको बारम्बार हुँदैन। नेपाललाई आधिकारिक एवं कानुनी रूपमा स्वतन्त्र राष्ट्रको मान्यता प्राप्त गराउन गुन लगाएका नायकलाई विभूतिको संज्ञा दिनु अनुपयुक्त नहोला। नेपाललाई स्वतन्त्र राष्ट्र बनाएको गुन तिर्न चन्द्रशमशेरलाई प्रथमतः हुलाक टिकट प्रकाशन गरी सम्मानित गरियोस्।

समग्रमा, नेपाल–भारत सन्धिको यथोचित प्रतिस्थापनका लागि भारत र नेपालले बनाएका प्रबुद्ध समूहको प्रतिवेदन अलपत्र छ। नेपालमा वैदेशिक हस्तक्षेप अनधिकृत रूपमा बढ्दा अमेरिकी एमसिसीको प्रसंग चर्को छ भने चीनको बिआरआईको चर्चा उत्तिकै छ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको साख उच्च राख्नका लागि आवश्यक असंलग्न विदेश नीति र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीति खलबलिएको छ। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको स्वतन्त्र अस्तित्व रक्षा गर्न चन्द्रशमशेरजस्तो कूटनीतिज्ञ राजनेताको खाँचो छ।

(अधिकारी अध्येता हुन्।)

प्रकाशित: ६ पुस २०७८ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App