सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन धेरै अर्थमा लोकतन्त्रलाई गहिरो बनाउन हितकारी सिद्ध हुने देखिएको छ। यसले सबैभन्दा धेरै आशाको सञ्चार गरेको छ। कांग्रेस राजनीतिमा स्थापित भएका दुई नायक गगन थापा र विश्वप्रकाश शर्माका कारण फेरि एकपटक आशावादी हुने स्थिति आएको हो।
थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’
यसपटक कांग्रेसमा साँच्चिकै परिवर्तन खोजिएको रहेछ। प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिए पनि डा. शेखर कोइरालाले प्राप्त गरेको विश्वासमा परिवर्तनको चाहना प्रतिविम्बित हुन्छ। वास्तवमा कोइरालालाई रोक्न कांग्रेसमा यसपटक देखिएको राजनीतिले धेरैलाई निराश पारेको हो। गगन र विश्वप्रकाशभन्दा अगाडिको पुस्ताको यथार्थ यस महाधिवेशनमा राम्रैसँग उद्घाटित भएको छ।
यसपटक महाधिवेशन प्रतिनिधि छनोटका बेला गडबडी भएको छ भन्ने सन्देश प्रवाहित नभएका होइनन्। जो जसको प्रेरणाले प्रतिनिधि बनेका भए पनि तिनले ढुक्क भएर कांग्रेसको भावी नेतृत्व चयन गरेको देखिएको छ। देउवाकै मात्र प्रतिनिधि आएका छन् पनि नभनिएको होइन। देउवाले आफू निर्वाचित हुनका निम्ति प्रयास गरेका हुन सक्छन्। तर, प्रतिनिधिले आफ्नो विवेकको मत दिएका छन्।
देउवासँग प्रतिस्पर्धा गर्ने सभापतिका उम्मेदवार डा. कोइराला मात्र भएका भए पनि परिणाम भिन्न हुने रहेछ। देउवाविरुद्ध सभापतिको उम्मेदवार बन्न चाहने अन्य प्रतिस्पर्धीको जनाधार निकै कम रहेछ। बरु ती सबैभन्दा भिन्न कोइरालाले त्यो आधार बनाएको देखिएको छ। त्यसैले अबको राजनीतिमा धेरै भोटा फटाएर मात्र पुग्दैन भन्ने स्पष्ट सन्देश यसबाट प्राप्त भएको छ।
महाधिवेशनपछि देउवाको पनि खुलेर प्रशंसा गरे हुन्छ। एकातिर उनले दलभित्रको प्रतिस्पर्धालाई खुला रूपमा स्वीकार गरेको देखियो। अर्कोतिर उनले चाहेर पनि उनी पक्षका उम्मेदवारले जित्न सक्ने अवस्था रहेन। प्रतिस्पर्धाको वातावरण दलभित्र सिर्जना गरेर उनले आफूलाई साँचो अर्थमा आन्तरिक लोकतन्त्रको पक्षधर नेताका रूपमा स्थापित गरेका छन्।
थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’
कांग्रेस महाधिवेशनअगाडि देखिएको राजनीतिक निराशाको वातावरण निर्वाचन परिणामले फेरिएको छ। कांग्रेस राजनीतिभन्दा बाहिर रहेका कैयन् व्यक्तिले यो परिणामबाट आशावादी भएको प्रतिक्रिया दिइरहेका छन्। यथार्थमा कांग्रेसले सबैलाई नमुना हुने गरी महाधिवेशन गरेर देखाएको छ। सभापति देउवा यस हिसाबले प्रशंसाका पात्र बनेका छन्।
मुलुकको परिस्थिति कांग्रेस राम्ररी नसम्हालिँदा बिग्रिएको हो। त्यति मात्र होइन, अन्य दलका अजेन्डामा कांग्रेस धेरै बरालिएको पनि हो। लोकतन्त्रप्रतिको विश्वास नभएका दललाई त्यसप्रति विश्वस्त बनाउँदै अगाडि बढ्नुपर्नेमा तिनकै अजेन्डामा हिँडेपछि सर्वसाधारणलाई सबै दल र नेता उस्तै लाग्न थालेको पनि हो। त्यसैले कांग्रेसले आफूलाई सच्चा लोकतन्त्र प्रवद्र्धन गर्ने दलकै रूपमा स्थापित गर्न यसपटकको महाधिवेशनले मार्गप्रशस्त गरेको छ।
दलको महाधिवेशन यस्तो हुन पनि जरुरी छैन, जुन कुनै धार्मिक प्रवचन थलोजस्तो होस्। त्यहाँ एकजना वाचक शिरोमणि हुन्छन् र तिनले जसोजसो भन्छन्, त्यही सुनेर महाधिवेशन प्रतिनिधि फर्किनुपर्छ। त्यो विदुषक दृश्य देखेपछि स्वाभाविक रूपमा सर्वसाधारणलाई पनि चित्त दुख्छ। देशभरिबाट प्रतिनिधि छानिएर आउने अनि महाधिवेशनका बेला केही व्यक्तिले तयार पारेको सूचीबाट नेतृत्व चयन गरेको देखाउन पनि सकिन्छ।
कांग्रेसको जस्तो खुला प्रतिस्पर्धाबाट महाधिवेशन भएको देख्दा भने प्रेरणा प्राप्त हुन्छ। खेल नहेरी प्रमुख अतिथिले ट्रफी र प्रमाणपत्र आफैंले छानेका व्यक्तिलाई दिएको देखेपछि प्रतिस्पर्धा कुन चरीको नाम हो खोजी पस्नुपर्ने हुन्छ। यस हिसाबमा पनि कांग्रेसले सबैलाई देखाइदिएको छ– महाधिवेशन भनेको के हो?
आफ्नो दलको महाधिवेशन मात्र होइन, मुलुकको निर्वाचनमा पनि उसले गराउँदा विश्वास गर्ने आधार देखिन्छन्। केही व्यक्तिलाई नेतृत्वमा पुगेपछि कहिल्यै त्यसबाट ओर्लिन मन लाग्दैन। सरकारमा पुगेपछि त्यहाँबाट हटाउनै हम्मे पर्छ। लोकतान्त्रिक उदारवादी र अधिनायकवादी नेतृत्वको फरक यही हो।
कांग्रेसको सालिन महाधिवेशन र यसबाट आएको नेतृत्वलाई हेरिसकेपछि ढुक्क भएर भन्न सकिन्छ– मुलुकमा अब लोकतन्त्रको जग बलियो हुन्छ। यी पंक्ति लेख्दै गर्दा म झलझली सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको छु, जो आफैँले गराएको निर्वाचनमा पराजित हुन पुगे। लोकतान्त्रिक नेता त्यही हो, जो आफू पराजित हुने निर्वाचन पनि गराउन तयार हुन्छ। मतपत्र च्यात्ने वा धाँधली गरेर पनि जित्नुपर्छ भन्ने यस्ता नेतालाई लाग्दैन। त्यही भएर ती पराजित भएर पनि विजयी भइरहेका हुन्छन्।
पराजित भएर पनि इज्जत बढ्छ भन्ने हेर्न त यसपटक डा. शेखर कोइरालालाई हेरे पुग्छ। त्यसैगरी डा. मीनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा गरेर एउटा मानक स्थापित गरेका छन्। आफ्नै पार्टी सभापति विरुद्धको पंक्तिमा रहेका र आफूभन्दा युवा व्यक्तिले मतदानमा आफूलाई पछाडि पारेपछि उनी स्वाभाविक रूपमा छाड्न तयार भएका छन्। राजनीतिक व्यक्तिले कुनै पदमा पुगेपछि छाड्नै नमान्ने होइन, आवश्यकता अनुसार त्यसबाट हटेर सन्देश प्रवाह गर्ने हो। यस काममा डा. रिजालले एउटा उदाहरण प्रस्तुत गरेका छन्। यसर्थ डा. रिजालले पनि विजय हासिल गरेका छन्।
केही वर्षयता वैकल्पिक दलको आवश्यकताबारे चर्चा चल्ने गरेको हो। वैकल्पिक राजनीति गर्छु भन्ने व्यक्तिहरूले त्यो सम्भव गराउन सकेनन्। तिनले आफूलाई फेरि पुरानै दुष्चक्रमा फर्काइसकेका छन्। तर, भइरहेकै दलले आफूलाई वैकल्पिक सोचका साथ अगाडि बढाउन सक्छन्। त्यसको थालनी अब कांग्रेसबाट हुन सक्ने आशावादी संकेत देखिएका छन्। अहिले निर्वाचित युवा नेतृत्व पंक्तिले कांग्रेसप्रति आकर्षण बढाउन सक्ने देखिन्छ। महाधिवेशनकै बेला धेरै युवा व्यक्ति निर्वाचित भएर आएको देखिएको हो। त्यसले आकर्षण बढाएको हो। नयाँ पुस्ताका व्यक्तिलाई सक्रिय सदस्यमा ल्याउने जुन अभ्यास कांग्रेसमा देखिएको छ, त्यो अन्य दलका निम्ति अनुकरणको विषय हुन सक्छ। गफाडीभन्दा दलमा एउटा छवि दिन सक्ने किसिमका व्यक्ति दलको केन्द्रमा हुँदा मात्र आम मानिसमा आशा जाग्छ।
कांग्रेस महामन्त्री बनेका गगन र विश्वप्रकाश दुईजनाले यसपालि राम्ररी काम गरे भने आगामी सभापतिका निम्ति दुवै योग्य हुनेछन्। अनि यीमध्येकै कुनै एक मुलुकको प्रधानमन्त्री बन्ने दिन आयो भने स्वाभाविक रूपमा देश फेरिन समय लाग्दैन। अहिलेसम्म राजनीति अगाडि बढाउने पुरानो पुस्ताका राजनीतिक व्यक्तिले संघर्ष गरेका छन्। तिनकै संघर्षका कारण मुलुक लोकतन्त्रमा आएको छ। अब तिनले आराम गर्ने र युवा नेतालाई देश हाँक्न दिने हो भने अहिलेको निराशा चिरिन्छ। त्यति मात्र होइन, अहिलेको निर्णयहीनताको स्थिति पनि बदलिन्छ।
नेता कहाँबाट ल्याउने, हामी नै हौं भनेर बेलाबेला आग्रह गर्ने गरिन्छ। नेता यहीँ उत्पादन हुन्छन्। नेता जन्माउने यन्त्र भनेको राम्रो दल हो। दलको संयन्त्रलाई सबल र सुदृढ बनाउन सक्दा यहीँभित्रबाट नेतृत्व जन्मिन्छ। चाकडीका आधारमा दलको माथिल्लो पद पाउने चलन अहिले देशका केही प्रमुख दलमा देखिन्छ। कुनै बेला एमालेमा यस्तै प्रतिस्पर्धा हुन्थ्यो। एमालेले त्यो छाडिसकेको छ। कांग्रेसले भने प्रतिस्र्धाबाट नेतृत्व स्थापित गर्ने अत्यन्त आकर्षक प्रणाली अपनाएको देखिएको छ।
भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको आगमनले समेत धेरैलाई खुसी पार्न सफल भएको हो। पूर्वअध्यक्ष कमल थापाले भनेझैँ उनी आउनुमा पूर्वराजा ज्ञानेन्द्रको मात्रै हात होला र? महाधिवेशनमा निर्वाचित भएर आउने प्रतिनिधिले पनि थापाका गतिविधि विगतमा हेरेकै होलान्। वास्तवमा यो परिवर्तनको शृंखला कांग्रेससम्म आइपुगेको छ। वास्तवमा राप्रपा पूर्वपञ्चहरूको दल भए पनि त्यहाँ बरु मतदानबाटै नेतृत्व छानिएको छ। कम्युनिस्ट पार्टीमा त एकै व्यक्ति ३२औं वर्ष नेतृत्वमा रहन्छन्। तिनलाई परिवर्तन गर्न सकिन्न।
कांग्रेस महाधिवेशनबाट देखिएको यो परिवर्तन आगामी निर्वाचनका निम्ति पनि मार्गदर्शन बन्न सक्छ। मत दिने जनता कसैका रैती होइनन्। तिनले विवेकले मत दिए भने आगामी निर्वाचनबाटै देशमा परिवर्तन गराउन सक्छन्। परिवर्तनको यो सिलसिला रोकिनु हुँदैन।
@gunaraj
प्रकाशित: ४ पुस २०७८ ०२:४९ आइतबार