२०५२ फाल्गुन १ गते रोल्पा होलेरी प्रहरीचौकी आक्रमण गरेर विधिवत हतियार उठाएका माओवादी नेता प्रचण्ड अनि त्यही हतियारधारीलाई निमिट्यान्न पार्ने भन्दै विभिन्न सुरक्षा अपरेसन सुरु गरेका देउवा यतिबेला सत्तासँगै पार्टीको मुख्य पदमा विराजमान छन्। परिवर्तनको ललिपप देखाई बन्दुक बोकाइएकाहरू आज पनि बिचल्ली छन्।
सरकारी खर्चबाट विदेशका महँगा अस्पतालमा सेवा लिन जाने तर युद्धकालीन घाइतेलाई उपचार चाहिए बालकोट बोलाउने केपी ओली सरकारबाट निस्केको भर्खरै हो। देशको एउटा ठूलो दलको प्रमुख पदमा आसीन उनी पनि कुनै बेला माओवादी द्वन्द्वको खरो प्रतिवाद गर्थे।
सुनौलो भविष्यको खोजीमा मिठो आश्वासनका पछाडि दौडेका सर्वसाधारणका परिवारको दैनिकी कष्टकर बनिरहेका खबर सुनेका केन्द्र स्तरदेखि दैनिक उनीहरूकै समस्या हेर्दै सरकारी संरचनाभित्र हालिमुहाली गरेका स्थानीय तहका जनप्रतिनिधि फेरि अर्कोपटक मत माग्न पीडितका घरसम्म जाने दिन आइसकेको छ। कुन अनुहार लिएर भोट माग्न जान्छन्, त्यो भने गर्भमा छ।
रोल्पा नगरपालिका–८ जंकोटकी ५२ वर्षीया पुनिकला विकका श्रीमान् बेपत्ता भएको २३ वर्ष भयो। पुनिकलाका अनुसार माओवादी नेता वर्षमान पुनको छिमेकी गाउँका नन्दबहादुर विक वर्षमानसँगै हिँड्थे। पुनिकलाका श्रीमान् बेपत्ता हुँदा दुई छोरा जन्मिसकेका थिए, छोरी गर्भमा थिइन्।
२०६३ सालमा देशमा शान्ति सम्झौता भयो,द्वन्द्व रोकियो तर नन्दबहादुर फर्केनन्। जिल्लाका द्वन्द्वपीडित तथा केही गैरद्वन्द्वपीडितले समेत कागज मिलाएर राहत बुझे, तर पुनिकलाले कुनै राहत वा क्षतिपूर्ति पाइनन्। भएको सम्पत्ति सबै श्रीमान्को नाममा छ। यतिबेला पुनिकला राहत र न्यायभन्दा पनि आफ्नै जग्गा आफ्नो नाममा नामसारी मात्र गर्न पाए हुन्थ्यो भन्नेअपेक्षामा छिन्।
‘राहत पनि पाइएन। छोराहरूले अंश माग्न थालेका छन्। छोरीलाई पढाउनु छ, तर जग्गा चलाउन पाएकी छैन,’पुनिकला भन्छिन्, ‘सरकारले मृत्यु दर्ता पनि गरिदिन्न,मान्छे पनि खोजी गर्दैन। यत्रो वर्ष कति दुःखमा बिताएँ। जोडाबिनाको जीवन कस्तो हुन्छ भन्ने हामीलाई मात्र थाहा छ।’
मृत्युदर्ता नहुँदा उनको जग्गा नामसारीको काम रोकिएको छ। यतिबेला उनी वडा कार्यालयमा जग्गा नामसारीका लागि धाउँदै छन्।
चार वर्षअगाडि भएका चुनावमा भोट माग्न गाउँ छिरेका सबैलाई पुनिकलाको अवस्था जानकारी थियो, तर कसैले उनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्म पनि डोर्याउन चासो दिएनन्।कुनै समय सुकिलामुकिला मान्छे देख्दा समेत बोल्न नसक्ने पुनिकला अझै पनि आफ्ना समस्या लिएर उच्च निकायसम्म पुग्न सकेकी छैनन्।
माओवादीका जिल्ला स्तरका नेताका अनुसार, नन्दबहादुर माओवादी जनयुद्धमा हिँडेका हुन्, तर शान्ति सम्झौतापछि कसैले उनको खोजी नगरिदिँदा पुनिकला आफूले पाउनैपर्ने राहतबाट वञ्चित भएकी छन्। अदालतमा गएर मृत्युको न्यायिक घोषणाका लागि निवेदन दिन समेत मेसो नपाउने पुनिकला यतिबेला बेसहारा बनेकी छन्।
रुन्टीगढी गाउँपालिका–७ गैराकी ४४ वर्षीया नन्दकली पुनका श्रीमान् पनि तत्कालीन द्वन्द्वका समयमा बेपत्ता पारिए। छोरी एक वर्षकी थिइन्, अहिले २४ वर्ष पुगिन्। १० कक्षा पढेकी छोरीलाई आर्थिक अभावका कारण विद्यालय पठाउन छाडेकामा उनलाई पिरलो लागिरहन्छ। त्यसै कारण यतिबेला नन्दकली आर्थिकसँगै मानसिक तनावमा छिन्।
जिल्लाका प्रायः सबै पीडितले राहत पाए पनि नन्दकलीको पोल्टामा एक रूपैयाँ सहयोग कतैबाट आएको छैन। श्रीमान बेपत्ता भएपछि सासु र छोरीलाई स्याहार गरेर बसेकी उनलाई अहिले सासुले जग्गाजमिन केही दिन्न भनेपछि सकस सुरु भएको छ।
नन्दकलीका श्रीमान्को पनि मृत्यु दर्ता छैन। मृत्युको न्यायिक घोषणा गर्न कहीँकतैबाट सहयोग पाएकी छैनन्। गत चुनावमा भोट माग्न आउनेले अर्कोपटक कसरी भोट माग्छन्, नन्दकली पर्खेर बसेकी छन्।
त्रिवेणी–२ रामपुरकी ६७ वर्षीया महिमा विकका श्रीमान् पनि द्वन्द्वमा बेपत्ता पारिएका थिए, २०५८ सालमा। उनको परिवारले पनि आजसम्म राहत र न्याय केही पाएको छैन।
खान–लाउनलाई छाकै नबसे पनि बेपत्ता श्रीमान्को पर्खाइले महिमालाई अत्याश लाग्ने गर्छ। अघिल्ला चुनावमा भोट माग्न आउनेले उनलाई पनि बेपत्ता आयोगसम्म जोड्ने चासो दिएनन्।
उमेरमा श्रीमान् मारिएका तथा बेपत्ता पारिएका चेलीको आँसु पुछ्न राज्यले चासो दिएको छैन। कति पीडितहरू न्याय माग्न सक्ने अवस्थामा छैनन्, राहत तथा क्षतिपूर्तिबाट समेत वञ्चित भइरहेका छन्।
सरकारी तथ्यांक अनुसार द्वन्द्वका क्रममा ९ सय ६९ जनाले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता पारिएका छन्। तर, जिल्लाका कुना कुनामा पुनिकला,नन्दकली र महिमाजस्ता धेरै चेली आज पनि श्रीमान्को पर्खाइमा छन्। विकास भनेको सडक र भौतिक पूर्वाधार भन्ने बुझेका नेता तथा प्रशासकले यतातिर ध्यान दिन सकेका छैनन्।
प्रकाशित: १ पुस २०७८ ०३:०६ बिहीबार