माओवादको दर्शनमा ‘जनसेना नभएको पार्टीसँग आफ्नो भन्नु केही हुँदैन' र ‘राज्यसत्ताबाहेक सबै कुरा भ्रम हो।' ‘नयाँ जनवादी क्रान्ति', ‘संयुक्त जनवादी अधिनायकत्व' हुँदै ‘सर्वहारा अधिनायकत्व' र समाजवाद, साम्यवादतिर नजाने हो भने त्यस्तो माओवाद के माओवाद? माओवादी दर्शनअनुसारको राजनीति गर्ने हो भने कुनै कम्युनिष्ट पार्टीसँग त्यतिखेरसम्म जनसेना हुन आवश्यक हुन्छ जबसम्म उसले एकलसत्ता कायम गरी नयाँ जनवादी संयुक्त अधिनायकत्व स्थापित गर्दैन। नेपालको मात्र हैन, यही चिन्तन नै माओवादी आन्दोलनको विश्वव्यापी वैचारिक जग हो। हिजो मोहन वैद्य र प्रचण्ड यही दर्शनमा उभिएका थिए। झापा आन्दोलन गर्दैगर्दा आजको एमालेले पनि यही भन्थ्यो। व्यवहारतः हतियारबन्द आन्दोलनबाट टाढै बस्न रुचाउने मोहनविक्रम सिंह सिद्धान्ततः यही कुरा गर्न रुचाउँछन्। तथापि व्यावहारिक नियतिले भने यो विचारको नेतृत्व कामरेड विप्लवको काँधमा ल्याएर राखिदिएको छ। पहिलो पुस्ताका मोहनविक्रम सिंह, झापाली पुस्ताका सिपी मैनाली, चौमपुस्ताका नेता प्रचण्ड र मोहन वैद्य जीवित छँदै विप्लवले माओवादी विचारको उत्तराधिकार आफूले लिनुपर्ने परिबन्द आएको प्रष्ट पार्न नै जंगलमा भेला गरेको हुनुपर्छ। माओवादी हुन गाउँले सहर घेर्नुपर्छ। गाउँले सहर घेर्नुअघि जंगलले गाउँ घेर्नुपर्छ।
हुन त प्रचण्ड नेतृत्वको जनयुद्ध विसर्जित भएयता माओवादलाई पुनर्जीवन दिने यो पहिलो प्रयास हैन। मणि थापा अनुकूलले ‘क्रान्तिकारी कम्युनिष्ट संगठन' बनाएर वा मातृका यादवले एमाओवादीबाट विद्रोह गरी नेकपा (माओवादी) गठन गरेर माओवादी ‘विचार रक्षा' को प्रयास गरेका थिए। यी प्रयासहरु प्रकारान्तले त्यति धेरै सशक्त हुन सकेनन्। पुनश्च वैद्य समूहको जन्म भयो। यही ‘विचार रक्षा' को सवाल बोकेर। मोहन वैद्यले बारम्बार ‘आफू मर्ने तर कुनै हालतमा संसदवादी संशोधानवादी भासमा नजाने' बताएर ‘विचार रक्षा' को प्रयास त गरे तर ‘विचार रक्षा' मात्रा ‘कार्यदिशाको रक्षा' बन्न सक्दैनथ्यो। माओवादी विचारको रक्षा गरिरहेकाहरुले माओवादी राजनीति, रणनीति, कार्यनीति र कार्यदिशाको रक्षा गर्न सकेनन् भन्ने लागेरै कमरेड विप्लवले नयाँ अठोट गरेको हुनुपर्छ। प्रचण्ड नेतृत्वको जनयुद्धकालमा युद्ध–राजनीतिको लामो अनुभव हासिल गरेका तर पार्टी शान्ति प्रक्रियामा आएयता कुनै पनि लाभको पद धारण नगरेका कमरेड विप्लवले यदाकदा ‘आफूले बाँकी क्रान्तिका लागि आफ्नो व्यक्तित्व जोगाइराखेको' बताउँथे रे।
जतिखेर वैद्य पक्ष एमाओवादीबाट निस्कँदै थियो, त्यतिखेर वैद्य र वादललाई घिसारेर बाहिर ल्याएको आरोप लगेको थियो विप्लवमाथि। मानिस भन्थे ‘प्रचण्डको पार्टी मर्दैछ, विप्लवको पार्टी जन्मँदैछ।' तर घटनाक्रमले यो भनाइ अर्धसत्य सावित गरिदियो। वैद्य पक्षको अनुपस्थिति र बहिष्कारका बीच एमाओवादी दोस्रो संविधान सभामा तेस्रो पार्टी बन्यो। स्वयं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भटट्राईले ‘नयाँ शक्तिको बहस' मार्फ्त ‘ प्रचण्डको पार्टी मर्दैछ' भनाइलाई परोक्षतः पुष्टि गर्न खोजे । तर नयाँ बनेको नेकपा–माओवादी विप्लवको पार्टी नभएर किरण–बादलको पार्टीमात्र बन्यो, त्यो पनि कार्यदिशाबिनाको। कमरेड किरण–बादल– गौरवको पार्टीले विभाजनपछि जे/जस्ता नीति लियो, कार्यहरु गर्योा, त्यसबाट सायद त्यही पार्टीका कार्यकर्ता पनि आश्वस्त हुन सकेनन्। निर्मम जनसंघर्षमा जाने आँट पनि नगर्ने, प्रचण्डसँग एकता पनि नगर्ने, विचारमा माओवादलाई परित्याग गरी संसदीय ढाँचाको पार्टी पनि नबन्ने, कार्यदिशामा माओवाद अवलम्बन पनि गर्न नसक्ने, त्यस्तो पार्टी वस्तुतः कमरेड किरण–बादल– गौरवको पार्टी बन्न सक्थ्यो, विप्लवको हैन। यही कारण हो कि विप्लव पुनर्गठित माओवादी पार्टीमा सन्तुष्ट हुने ठाउँ रहेन। उनले फरक कार्यदिशाका लागि पहलकदमी लिए। यदि उनले दिएका संकेतहरु सुझबुझपूर्ण हुन, कुनै उट्पट्याङ हैन भने निश्चित छ कि उनी फेरि जनयुद्धको पक्षमा छन् जसका लागि सुरुवातको केही समय जनसंघर्षमा लगाउनु कार्यनीतिको अनिवार्य विषय बन्न पुग्छ।
नेपालका सबै राजनीतिक शक्तिको जगमा हिंसात्मक आन्दोलनको भूमिका छ भन्ने कुरा विप्लवलाई राम्ररी थाहा हुनुपर्छ। ‘एकीकरण अभियान' नामको हिंसाले शाहवंशलाई शक्तिमा ल्यायो। २४० वर्षसम्म सत्तामा टिकायो। ‘कोत पर्व' नामको हिंसाले जंगबहादुरलाई शक्तिलाई ल्यायो। राणशासन १०४ वर्षसम्म चल्यो। राणाशासन विरोधी हिंसाले नेपाली कांग्रेसलाई शक्तिमा ल्यायो, इतिहासका धेरै कालखण्डमा उसले सत्ता चलाउँदै आएको छ। ‘झापा विद्रोह' नामको हिंसाले एमाले बनायो, २०४६ पछिको संयुक्त सरकारबाट सुरुवात् भएको एमालेको सत्ताआरोहण अभिलेख राख्न नसकिने जतिकै लामो फेहरिस्त भइसक्यो। जनयुद्ध नामको १० वर्षे हिंसाले प्रचण्डलाई शक्तिमा ल्यायो। नेपालमा आजसम्म जति पनि राजनीतिक शक्तिको जन्म भएको छ, हिंसाकै बलमा भएको छ, चाहे त्यो श्वेत हिंसा होस् वा लालहिंसा। त्यही कुरा वषर्ौंवर्ष उठाउँदा गजेन्द्रनारायाण सिंहलाई कसैले सुनेन, त्यही कुरा मधेस आन्दोलन आफ्नै प्रकारको हिंसात्मक संघुलनसहित आयो र स्थापित गर्योक। मधेस आन्दोलनमा मारिएका सहिदहरुदेखि वीरगञ्जको नरसंहारसम्म हेर्दा मधेस आन्दोलन हिंसाको ज्वरोबाट मुक्त थिएन। यी उदाहरणलाई हेर्दा नेपाली समाजलाई ‘शान्तिप्रिय' हरुको समाजभन्दा ‘हिंसाप्रेमी' हरुको समाज भन्नुपर्ने हुन्छ। एजेन्डाका आधारमा शान्तिपूर्ण अभियान चलाउनेहरुलाई नेपाली समाजले आजसम्म कहिल्यै साथ दिएको छैन, अलिकति भए पनि त्यसमा हिंसाको ग्लेमर जोडिनै परेको छ। सायद नेपाली समाजको चरित्रमा देखिएको यो निकै ठूलो विरोधाभाष हो, यही विरोधाभाषलाई कमरेड विप्लव पुनपरीक्षण गर्ने प्रयास गर्दैछन्।
नयाँ प्रकारको युद्ध–राजनीति सञ्चालन गर्न विप्लवका लागि सम्भावनाभन्दा चुनौती धेरै छन्। सायद ती चुनौती पनि उनले बुझेको हुनुपर्छ। दुई ध्रुव्रीय विश्व बाँकी छैन अहिले। न त पुरानो प्रकृतिको शीतयुद्ध नै बाँकी छ। कमरेड विप्लवले गोप्य वा खुला केही पटक चीनको भ्रमण अवश्य गरेका होलान्, त्यत्तिकै आधारमा चीनको संस्थापन पक्षले उनको नयाँ युद्ध राजनीतिलाई सहयोग गर्छ भनेर पत्याउन सकिन्न। अझ महत्वपूर्ण कुरा सन् १९७० यताको वर्गीय ध्रुवीकरण नै विश्वव्यापीरूपमा फरक छ। ‘सर्वहारा वर्गको अवसान' र ‘श्रमिक वर्गको उदय' लाई राम्ररी देख्ने हो भने माओवादी दर्शनमा आधारित क्रान्तिको औचित्यमाथि नै शंका गर्न सकिन्छ। श्रमिक वर्ग सर्वहारामात्र हैन, स्वयं स्वामी वर्ग पनि हुन सक्छ भन्ने यथार्थ स्वीकार गर्ने हो भन्ने विश्वव्यापीरूपमा मध्यम वर्गको उदय भइरहेको छ, जसलाई माओवादी दर्शनमा आधारित क्रान्ति चाहिएको छैन। यो कुरा निश्चित छ कि देशको सहरिया मध्यम वर्गले कमरेड विप्लवको क्रान्तिलाई सहयोग गर्ने छैन, न त हिजो प्रचण्डले जनयुद्ध सुरुवात् गर्दा जस्तो गाउँमा गरिब र बेरोजगार युवा नै बाँकी छन् अहिले, ती त गाउँमा जन्ती र मलामीको समेत अभाव हुनेगरी खाडीको बालुवामा पसिना चुहाउँदैछन्। यी सबै कुरा बुझ्न सक्ने चेतना कमरेड विप्लवसँग छैन भन्ने यो पंक्तिकारलाई पटक्कै लाग्दैन। तर पनि उनी किन बल गर्दैछन्? किन दुस्साहसझैं लाग्ने साहस गर्दैछन्?
वस्तुतः यो स्कुलिङको प्रश्न हो। उनी जुन वैचारिक प्रशिक्षण र अध्ययनबाट हुर्किए, त्यसले उनमा जुन प्रकारको दृष्टिकोण निर्माण गर्थ्यो, त्यो अभिव्यक्त हुनु स्वाभाविक थियो। नेपालमा मात्र हैन, संसारमा कहीँ पनि जब एकपटक माओवादी स्कुलिङ निर्माण हुन्छ, त्यसबाट मुक्ति पाउन त्यो समाजलाई सजिलो हुँदैन। भारतमा कैयौं पटक भारतीय नक्सलवादी धारका नेताहरुले हतियार बिसाइसके, तथापि त्यहाँ माओवाद जीवितै छ। पछिल्लो पटक विनोद मिश्र समूहको हतियारबन्द आन्दोलन त्यागपछि नक्सलवाद समाप्त हुने आंकलन गरिएको थियो तर त्यसो भएन। विनोदको पार्टी आज दीपंकर जसोतसो धान्दैछन्। तर माओवाद भने नयाँ नेताहरु जन्माएर अगाडि बढिसकेको छ। नेपाल र भारतको मात्र हैन, यो प्रवृत्ति फिलिपिन्सदेखि म्याक्सिकोसम्म, बोलिभिया, कोलम्बिया, पेरु जताततै देख्न सकिन्छ। यो धारले चे ग्वेभारा र फिडेल क्यास्त्रोलाई आदर्श बनाएर सोच्छ। क्यास्त्रो बारम्बार भन्छन्– ‘कि समाजवाद कि मृत्यु।' चे ग्वेभारा भन्थे– ‘क्रान्तिका आदर्शहरुबाट पलायन हुनुभन्दा मृत्यु निक्कै महानतम् मुक्ति हो।' सायद कमरेड विप्लव आफूभित्र थोरबहुत चे ग्वेभारा र फिडेल क्यास्त्रो पुनजाग्रित भएको अनुभूति गर्दा हुन्। जस्तो कि हिजो प्रचण्ड गर्थे। प्रचण्डभित्र आज ज्योति बसु होला। विनोद मिश्र, दीपंकर भट्टाचार्य र मदन भण्डारीको आत्मा होला। कमरेड विप्लवको आत्मले सायद ती ‘सिम्बोल', ती ‘आइडल' स्वीकर गरेन। यो आत्मिक अन्तर्विरोधले विप्लबलाई निक्कै जटिल जीवनक्रमतिर धकेलिरहेको छ।
कमरेड विप्लबको समूहले साँच्चै नै हतियार उठाउने आँट गयो भने त्यसले सबैभन्दा ठूलो नैतिक संकट स्वयं प्रचण्ड र किरणका लागि सिर्जना गर्नेछ। एमाले–कांग्रेसले सजिलै त्यसको विरोध गर्नेछन्। आन्दोलनको गति, मति, संगति र विसंगति हेरेर दमन रणनीति तयार गर्न उनीहरुलाई किञ्चित ग्लानि र लज्जाको अनुभूति हुने छैन। तर प्रचण्ड र किरण, के उनीहरु पनि कमरेड विप्लवको टाउकोको मोल तोकिने तमसुकको साक्षी किराना सदर गर्न तयार होलान्? यदि तयार भए भने त्यो भन्दा ठूलो विरोधाभाष उनीहरुको जीवनमा के होला? आजकै मितिमा यी प्रश्नहरु निक्कै केटौले र उरन्ठेउला लाग्न सक्छन्। तर राजनीतिको के भर? समयसमयमा राजनीतिले उदेकलाग्दा संकट र मजाकहरु सिर्जना गर्ने ताकत राख्छ। यस्ता दिनहरु नआउन् भन्ने हो भने सम्पूर्ण माओवादी आन्दोलनले एकपटक आत्मसमीक्षा गर्न जरुरी छ। के प्रचण्ड, के किरण, के बादल, के विप्लव, के मातृका र मणि थापा, एकपटक उनीहरुले केही दिन कुनै एकान्तमा सँगै बसेर, घरि हाँस्दै, घरि रुँदै, घरि एकअर्कालाई गाली गर्दै र घरि एकअर्कालाई अँगालो मार्दै आत्मसमीक्षा गरुन् कि इतिहासले उनीहरुलाई कुन जटिलतातिर लगिरहेको छ।
कांग्रेस–एमालेको आधारभूत चरित्र यथास्थितिवादी हो भन्ने कुरामा न हिजो कुनै शंका थियो न आज कुनै शंका छ। न उनीहरु हिजो आफ्नै बुझाई र इच्छाशक्तिले गणतन्त्रमा आएका हुन् न संघीयतामा। उनीहरुको आफ्नै बुझाई र विवेकमा छोडिदिने हो भने संसदवाद वा प्रतिनिधिमूलक लोकतन्त्रभन्दा माथि उनीहरुलाई कुनै परिवर्तन र विकास चहिएको छैन। त्यही नै उनीहरुले बुझेको क्रान्तिको अन्तिम बिन्दु हो, जहाँ ५ वर्षमा एकपटक जनताले भोट हालून् र बाँकी दिन त्यही भोटको शक्तिलाई आधार बनाएर उनीहरुले देश र जनतालाई लुट्न सकून्। तर क्रान्तिको अर्थ ‘डडेको काँचो भात खुवाएर सिंगो देशलाई छेरपाटी लगाउनु' हैन भन्ने कुरा माओवादी आन्दोलनले बुझ्न उत्तिकै जरुरी छ। यदि सुविचारित दृष्टिकोण र प्रतिबद्धता छ भने अलिकति धैर्य र इच्छाशक्ति छ भने कांग्रेस–एमालेको यथास्थितिवाद त्यति दृढ पनि छैन, जति शाह र राणाहरुको थियो। हुन त विश्वका अरु तानाशाहहरुका अगाडि नेपालका राणा र शाहहरुको निरंकुशता पनि केही दहसम्म नरम नै हो, त्यसमाथि कांग्रेस–एमाले त आफ्नै बुद्धिको छोटोपनबाट आफ्नै कद घटाएका कालिदास हुन, जो घरि उल्टो बसेर रुखको हाँगा काट्छन, घरि महाकवि हुन्छन्। एक चुनाव उनीहरु अलिकति माथि परे भनेर न प्रचण्ड रुँदै हिँड्न, न किरण किंकर्तव्यविमुढ हुन न विप्लव जंगल पस्न जरुरी छ।
देशलाई त यतिखेर बिल्कुलै नयाँ चरित्रको शक्ति चाहिएको छ जसले लोकतन्त्रलाई अझ बढी सघनीकरण, मूर्तीकरण र विस्तारीकरण गर्न सकोस्। न्याय, स्वतन्त्रता, शान्ति, सुशासन, विकास, समृद्धि र मानवीय खुसीलाई अझ बढी प्रत्याभूत गर्न सकोस्। यसका लागि नयाँ शिराबाट मानव जातिको नयाँ गन्तव्य हेर्ने, पर्गेल्ने र बुझ्ने साहस गरुन् उनीहरुले।
प्रकाशित: १ मंसिर २०७१ २२:३४ सोमबार

