२४ पुस २०८२ बिहीबार
image/svg+xml
विचार

मस्तिष्कघातको पुनर्स्थापना

पक्षाघात, प्यारालाइसिस, लकुवा जस्ता नामलेे सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायुतन्त्रको (मस्तिष्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मस्तिष्कघात) को कारणले हुने गर्छ। 

मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषकतत्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्कघात भनिन्छ। विश्व स्वस्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७० लाख (१७ मिलियन) मानिस मस्तिष्कघातको चपेटामा पर्ने गरेका छन् जसमध्ये ६२ लाख अकालमै यो लोक छोड्न बाध्य छन्। बाँचेकामध्ये आधा रोगी दीर्घकालीन पक्षाघात (हेमिप्लेजिया) भएर नरकीय जीवन जीउन बाध्य छन्। बाँचेकामध्ये दीर्घकालीन विकलाङ्गीहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवापश्चात सामान्य जीवनमा फर्किएका छन्। ३८ लाख सामान्य विकलांगता (हेमिपेरेसिस) का साथ बाँचिरहेका छन्। एक अनौपचारिक अध्ययनले दर्शाएअनुरूप नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्कघात हुने गरेको पाइएको छ जसमध्ये १५ हजारको मृत्यु हुन्छ।
हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालहरुको सघन उपचार कक्ष (आइसियु) प्रवेश र विश्वव्यापी विकलांगताको प्रमुख कारण पनि हो। अप्रत्याशितरूपमा अपर्झट हुने, तत्कालै ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्युलाई न्यूनीकरण गर्न र रोग लागेर नारकीय जीवन बाँचिरहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुनर्स्थापना गर्न सजिलो हुन्छ। मस्तिष्कघातपश्चात बाँच्नेहमा देखिने विकलांगताघातले मस्तिष्कलाई पुर्यापएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ। घात हँुदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सूचारु हुन नसक्दा शरीरको एका पट्टि नचल्ने (पक्षघात) र शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन्। 
यस्तो आर्थिक, सामाजिक र पारिवारिक रोगभार भएको यो रोगबारे जनसामान्यमा जनजागृति युरोपीय मस्तिष्कघात संगठनको तत्वावधानमा १९९० देखि मनाउन सुरू गरिएको यो दिवसलाई २००४ मा क्यानडाको वैंकोवर सहरमा भएको विश्व मस्तिस्कघात कांग्रेसले मान्यता प्रदान गरेपश्चात २००६ देखि हरेक वर्ष अक्टुबर महिनाको २९ तारिखलाई विश्व मस्तिष्कघात दिवस भनेर मनाइँदै आइएको छ। मस्तिष्कघातबाट हुने मृत्युलाई न्यूनीकरण गर्ने र यो रोग लागेर नारकीय जीवन बाँचिरहेकाहरुलाई सामान्य जीवनमा पुनर्स्थापना गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्दै जाने लक्ष्य राखेको यो कार्यक्रमलाई भव्यतापूर्वक मनाउनु र यसका सन्देशहरुलाई आत्मसात गर्नु हामी सबैको कर्तव्य हो। 

कसलाई हुने सम्भावना ज्यादा छ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु, उपरोक्त रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अति ब्यस्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या, जस्तै– एटि्रयल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्कघातको जोखिम उच्च हुन्छ। यसबाहेक रक्तस्रावसम्बन्धी समस्या, जस्तै– घाउ हँुदा रगत बगेको बगेकै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भ निरोधक औषधी खाने महिला, परिवारमा मस्तिष्कघातको इतिहास भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्कघात ज्यादा देखिएको छ। यसका अलावा श्रम र व्यायाममा सम्मिलित नभएको निष्त्रि्कय जीवन जीउनेहरु, धूमपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मीठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एन्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरुप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व भएका व्यक्तिहरु यो रोगको उच्च जोखिममा पर्छन्।

मस्तिष्कघातपछिका समस्या
सघन तथा आपतकालीन उपचारपश्चात पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन। बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामन्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिनुपर्नेखालका विकलङ्गता देखापर्छ। मस्तिष्कघातले आघात पुर्याईएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृति देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो। अन्य समस्यामा एकापटि्टका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरणशक्ति, एकाग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मकरूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छ। 
उपचार तथा पुनर्स्थापना 
मस्तिष्कघात हुनेबित्तिकै सर्वप्रथम आपतकालीन उपचार गराउनुपर्ने हुन्छ। आपतकालीन व्यवस्थापनपश्चात फेरि मस्तिष्कघात हुन नदिन यसका जोखिमको निदान गरेर नियमितरूपमा चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ। घातपछि देखिएको विकलाङ्गता (पक्षाघात) निवारण गर्न पुनर्स्थापना नितान्त जरुरी छ। सही समयमा पुनर्स्थापना हुन सकेमा विकलाङ्गता कम गराएर परनिर्भर हुनबाट बचाई दैनिक जीवनका कठिनाइ हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ। 
फिजियो थेरापी
भौतिक उपचार विधिहरूलाई आधार बनाएर दिइने यो चिकित्सा पद्धतिको पक्षाघातको पुनर्स्थापनामा ठूलो भूमिका छ। यसअन्तरगत थरी–थरीका व्यायाम तथा विद्युतीय तरंग प्रवाह गराएर गरिने उपचार विधि पर्छन्। 
अकुपन्चर 
अकुपन्चर परम्परागत चाइनिज उपचार पद्धतिको एउटा आयाम हो। शरीरका विभिन्न बिन्दुमा पातलो सियो राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजीत गराई उपचार गरिन्छ।
तेल मालिस
तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारु हुन्छ र रोगी चाँडै लाभान्वित हुन पुग्छ। तर मालिस तालिम प्राप्त व्यक्तिबाट हुनुपर्छ।
प्राकृतिक उपचार
प्राकृतिक तरिकाले, प्राकृतिक सम्पदाको उपयोग गरी गरिने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदि उपचार पद्धतिहरू रोगको प्रकृति र अवस्था हेरेर दिइन्छ। 
मनोपरामर्श 
पक्षाघात शारीरिक मात्र नभएर मानसिक समस्या पनि हो। मानसिक तथा भावनात्मक अस्वस्थतालाई न्यूनीकरण गर्न मनोपरामर्शको ठूलो हात छ। 
स्पिच थेरापी
मस्तिष्कघात भएका आधा रोगीलाई बोली जाने समस्या पनि हुन्छ। बोल्नेहरु पनि अस्पष्ट बोल्न सक्छन्। यसका लागि स्पिच थेरापी गर्नुपर्छ।

प्रकाशित: १६ कार्तिक २०७१ २०:२८ आइतबार