८ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

नवमार्क्सवादी आन्दोलन

‘नयाँ नेपाल' सँगै ‘नयाँ विचार' ‘नयाँ शक्ति' जस्ता ‘नयाँ बहस' आइरहेका छन्। त्यही क्रममा ‘नवमार्क्सवाद' बारेको बहसले पनि नेपालको बौद्धिक जगतमा प्रवेश पाउन थालेको देखिन्छ।परम्परागत मार्क्सवादको चर्को प्रभावपछि विश्वव्यापीरूपमा नै यस्तै हुने गरेको छ। विशेषतः युरोपमा यस्तो घटनाक्रम भइसकेको थियो। मार्क्सवादको चर्को प्रभाव परेको पहिलो महादेश युरोप नै हो। नववामपन्थी विचार र आन्दोलनको विकास पनि युरोपबाटै भएको हो। तसर्थ नेपालका सन्दर्भमा यो बहस नयाँ जस्तो देखिए पनि विश्व सन्दर्भबाट हेर्दा बिल्कुलै नयाँ हैन। त्यसैगरी विश्व अनुभव हेर्दा ठीक यतिखेर नेपालमा नववामपन्थी विचार र आन्दोलन प्रारम्भ हुनका लागि उचित समय पनि हो। किनकि परम्परागत मार्क्सवादको एक प्रकारको चर्को प्रभाव नेपालले भोगिसकेको छ। मानिस विस्तारै त्यो दुस्वप्नबाट ब्युँझिन थालिसकेका छन्। 
सन् १९३० को दशकबाट विश्वमा यो विचारधारा प्रारम्भ भएको थियो। वस्तुतः सन् १९१७ को रुसको अक्टोबर क्रान्ति, त्यसले स्थापना गरेको सोभियत सत्ता, सोभियत सत्तामा स्टालिनवादको उदय, स्टालिनवादलाई समर्थन गर्ने दलहरुको अन्तर्राष्ट्रिय संगठन ‘कोमिर्न्टन' सम्बद्ध दलहरुको बुझाइ र अभ्यासबाट विरक्त भएका मार्क्सवादीले यो विचारधारा प्रारम्भ गरेका थिए। नवमार्क्सवादी विचारधाराको जगमा इटलीको फासीवादविरुद्ध लडेका अभियन्ताहरु विशेषतः कार्लो रोसेली र एन्टोनियो ग्राम्सीको ठूलो वैचारिक योगदान छ। तर उनीहरुलाई औपचारिकरूपमा नै नवमार्क्सवादी भनेर सम्बोधन गरिँदैनथ्यो। सन् १९४० को दशकमा आएर यसको केन्द्र फ्रान्समा सर्यो । त्यहाँ ज्याँ पाल सार्त्र, अल्वेयर कामु, फ्रेन्ज फेनन र सिमन द बाउभियरजस्ता चिन्तक देखा परे। उनीहरुले मार्क्सवाद र सोभियत सत्ताका सीमा उदित गरे। स्टालिनवादको क्रुरतालाई भण्डाफोर गरे। वर्ग संघर्ष र वर्गशत्रु अवधारणाको क्रुरताभित्र मानवतावादको मलमपट्टी किन जरुरी छ भन्ने कोणबाट तर्क आए। आधुनिक अस्तित्ववादी दर्शनको आधार त्यहीँबाट तयार भयो जसलाई परम्परागत मार्क्सवादीहरुले ‘कामुको कुन्ठा' र ‘सार्त्रको रुन्चे हाँसो' भन्ने गर्थे। रोसेली र ग्राम्स्कीपछि अस्तित्ववादी दार्शनिकहरु नै नववामपन्थी आन्दोलनका मुख्य अभियन्ता थिए। 
सन् १९५० को दशकको अन्त्यतिर थप दुई वटा घटनाक्रम देखापरे। युरोपको विद्यार्थी आन्दोलन र युगोस्लाभियाको कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष। ‘फ्राङ्कफर्ट स्कुल अफ थट' का दार्शनिकहरुले विश्व विचारधाराको सम्परीक्षण अध्ययन गर्न थाले। त्यही क्रममा हावर्ड मार्क्युजको उदय भयो जसलाई ‘नववामपन्थका पिता' भन्ने गरिन्छ। अर्कोतिर युगोस्लाभियाको कम्युनिस्ट पार्टीका उपमहासचिव तथा उपराष्ट्रपति मिलोवन दजिलासले ‘द न्यु क्लास : एन एनालाइसिस अफ कम्युनिस्ट सिष्टम' भन्ने पुस्तक लेखे। मार्सल टिटोले उनलाई पार्टी र राज्यसत्ताका सबै पदबाट बर्खास्त गरी १० वर्षसम्म जेलमा थुने। यही घटनाक्रमको प्रभावमा सन् १९५९ मा जर्मनीको प्रजातान्त्रिक समाजवादी पार्टीले आफनो मार्गदर्शक सिद्धान्तबाट मार्क्सवादलाई विधिवत् हटायो। स्मरण रहोस् कि संसारको पहिलो मार्क्सवादी पार्टी पनि त्यही थियो जसका लागि कार्ल मार्क्सले ‘गोथा कार्यक्रमको आलोचना' लेखेका थिए। सन् १९७० को दशकमा युरोपभरि यी घटनाक्रमको प्रभाव पर्न थालिसकेको थियो। सन् १९७८ मा स्पेनिस कम्युनिस्ट पार्टीका महासचिव सेन्टियागो कैरिल्लोले ‘स्टेट एन्ड युरोकम्युनिज्म' भन्ने पुस्तक प्रकाशित गरे। उनले मार्क्सवाद–लेनिनवादकै ब्यानरभित्र लोकतान्त्रिक मूल्य/मान्यतालाई समायोजन गर्ने प्रयास गरेका थिए जसलाई आलोचकहरुले ‘ट्रेडमार्क कम्युनिज्म' भन्ने गरेका छन्। नेपालमा ठीक यस्तै प्रकारको विचारलाई एमालेले ‘जबज' भन्ने गरेको छ। 
त्यसो भए के हो त नवमार्क्सवाद? ‘नववामपन्थ', ‘लिबरल सोसलिज्म' वा ‘र्याेडिकल डेमोक्रेसी' समेत भनिने यो विचारधारा परम्परागत मार्क्सवादभन्दा कसरी भिन्न छ भन्नेबारे चर्चा आवश्यक हुन्छ। परम्परागत मार्क्सवादमा मार्क्सवाद–लेनिनवादलाई आदर्श र मार्गदर्शक सिद्धान्तका रूपमा हेरिन्छ तर नयाँ मार्क्सवादले लेनिनवाद, स्टालिनवाद र सोभियत सत्तालाई ‘राज्य–पुँजीवाद' र सर्वहारा अधिनायकत्वको नाममा ‘एकदलीय अधिनायकवाद' का रूपमा आलोचना गर्छ। नवमार्क्सवादले मार्क्सवादलाई पनि आदर्श सिद्धान्तका रूपमा हैन, आलोचनात्मक सिद्धान्तका रूपमा बुझ्छ। मार्क्सवादको दार्शनिक पक्षलाई नवमार्क्सवादले अस्वीकार गर्दैन् तर मार्क्सवादका आर्थिक, सामाजिक र साँस्कृतिक मान्यतालाई हुबहु स्वीकार गर्दैन। नवमार्क्सवादले मार्क्सवादलाई ‘वैचारिक मत वा मार्गका रूपमा हैन ‘फिलोसफिकल मेथोडोलजी' (दार्शनिक विश्लेषण पद्धति) का रूपमा मात्र स्वीकार गर्छ। नवमार्क्सवादीहरुले आफ्नो पार्टीको नाम ‘कम्युनिस्ट' राख्दैनन् न त मार्क्सवादलाई ‘मार्गदर्शक सिद्धान्त' का रूपमा नै स्वीकार गर्छन् बरु मार्क्सवादलाई सन्दर्भस्रोतका रूपमा मात्र उपयोग गर्छन्। 
परम्परागत मार्क्सवाद उदार लोकतान्त्रिक गुणहरुका विरुद्धमा हुन्छ। त्यसले उदार लोकतन्त्रलाई संसदवादका रूपमा निन्दा गर्छ। बालिक मताधिकारको ठाउँमा सर्वहारा मताधिकार र आमनिर्वाचनको बदला क्षेत्रगत तथा सामुदयिक एकाइ स्तरको निर्वाचनको पक्षपोषण गर्छ। सोभियत वा कम्युन प्रणालीमा आधारित राज्यप्रणालीको पक्षमा पैरवी गर्छ तर नवमार्क्सवादले उदार लोकतन्त्रको निन्दा गर्दैन, त्यसका कतिपय गुण स्वीकार गर्छ। छाडा प्रकारको पुँजीवादी खुला बजारको भने निन्दा गर्छ। उदार लोकतन्त्रलाई सहभागितामूलक विधिमा निरन्तर सुधार गरेरमात्र लोकतन्त्रको उद्देश्य पूरा हुन सक्छ भन्ने मान्यता राख्छ। पुरानो मार्क्सवादी विचारमा लोकतन्त्रका विधि निरन्तर प्रतिस्थापित वा निषेधको निषेध हुन सक्छन् तर नवमार्क्सवादी मान्यतामा लोकतन्त्र न निषेध हुन्छ, न त स्वस्फूर्त क्रमबद्ध विकासमा हुन्छ बरु यसलाई निरन्तर विकास गरिरहनुपर्छ। 
परम्परागत मार्क्सवादी दृष्टिकोणमा समाजवाद वा साम्यवाद एउटा अपरिहार्य ऐतिहासिक घटना हो। समाजको वैश्विक चरित्र एकत्ववादी हुन्छ। तसर्थ हरेक देशको सामाजिक आर्थिक चरित्रले खास ऐतिहासिक विशिष्ठतामा समाजवाद र साम्यवादलाई घटित गराउँछन् भन्ने मान्यता राखिन्छ। नवमार्क्सवादी दृष्टिकोणमा मानवीय समाजका चरित्र र स्वभावहरु बहुआयामिक र बहुलवादी हुन्छन्। तसर्थ मानव समाजमा कुनै पनि घटना अपरिहार्य र अनिवार्यरूपमा घटित हुँदैन। मानव समाज आर्थिक नियतिवादको दास हैन। मानवीय चेतना र इच्छाहरुले समाजको स्वरूपलाई इच्छित दिशामा रूपान्तरण गर्न प्रयत्न गरिहन्छन्। फलतः राजनीतिक परिवर्तन र क्रान्तिको दिशा एकत्ववादी नभएर फरकफरक मानवीय मनोदशाका अवस्थामा फरकफरक भएर जान्छन् भन्ने मान्यता राख्छ। 
परम्परागत मार्क्सवादले वर्ग र वर्ग संघर्षलाई क्रान्तिको केन्द्रबिन्दु मान्छ। आर्थिक आधार र उत्पादन पद्धतिले सबै उपरी संचरनालाई प्रभावित गर्छ भन्ने ठान्छ तर नवमार्क्सवादले मानव समाजमा संघर्ष र क्रान्तिका इस्युहरु बहुआयामिक हुन्छन्, त्यसमध्ये वर्ग अन्तर्विरोध पनि एक हो तर सम्पूर्ण हैन, वर्गीय संघर्ष सापेक्ष र प्रवर्गीय संघर्ष निरपेक्ष हुन्छ भन्ने मान्छ। नवमार्क्सवादी दृष्टिकोणमा वर्गका अतिरिक्त, जाति, वर्ण, लिङ्ग, नश्ल, धर्म, सभ्यता, संस्कृति, पर्यावरण र शान्तिसमेत क्रान्तिका केन्द्रबिन्दु हुन्। यी विभिन्न तत्व क्रान्तिका लागि खास अवस्थामा प्रमुख र खास अवस्थामा गौण हुन सक्छन्। नवमार्क्सवादी दृष्टिकोणमा वर्ग संघर्ष वा आर्थिक स्वार्थमात्र सर्वथा क्रान्तिको प्रमुख तत्व रहँदैन। 
परम्परागत मार्क्सवादीहरु विशेषतः लेनिनवादीहरु क्रान्ति र नेतृत्वको आधिकारिकतामा विश्वास गर्छन। तसर्थ उनीहरुको पार्टी संगठन केन्द्रीकृत र निर्देशनात्मक हुन्छ। लेनिनको जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुन्छ जसलाई ‘भेनगार्ड पार्टी' भनिन्छ। तर नवमार्क्सवादले क्रान्ति र नेतृत्वको आधिकारिकतामा विश्वास गर्दैनन्। बरु उनीहरु नेतृत्व, आमचेतना र स्वस्फूर्त सहभागिताको द्वन्द्वात्मक अन्तर्सम्बन्धमा विश्वास गर्छन्। परम्परागत मार्क्सवादीहरु मानव अधिकार आन्दोलन, पेशागत आन्दोलनको स्वायत्तता र नागरिक समाजको भूमिकाप्रति सकारात्मक हुँदैनन्। तर नवमार्क्सवादले यी आन्दोलनलाई उच्च महत्व दिन्छ। परम्परागत मार्क्सवादीहरु निर्देशित जनसंगठनहरु बनाउन चाहन्छन्। नवमार्क्सवादीहरु स्वस्फूर्त पेशागत तथा नागरिक आन्दोलनका मुद्दामा आफूलाई समाहित गरी उनीहरुको समर्थन हासिल गर्न चाहन्छन्। 
परम्परागत मार्क्सवादले बल प्रयोगको सिद्धान्त, हिंसात्मक संघर्ष र राज्यको वर्गीय अधिनायकत्वमा विश्वास गर्छ। शोषक वर्गका नाममा पुरानो बुर्जुवा, धनाढ्य र सामान्ती वर्गलाई निर्मम प्रहार र दमन गर्नु उनीहरुको स्वाभाविक चरित्र हो। उनीहरुका विचारमा राज्यको जन्म नै वर्ग स्वार्थले भएको हो। तसर्थ राज्य प्राप्त गरेपछि विरोधी वर्ग, विचार र पार्टीमाथि दमन गर्नु वा अधिनायकत्व लाद्नु राजनीतिको स्वाभाविक आवश्यकता हो। नवमार्क्सवादले व्यक्तिको सार्वभौमसत्ता र स्वतन्त्रतामा विश्वास गर्छ। नवमार्क्सवादी विचारमा राज्यको चरित्र वर्गीय मात्र हुँदैन। वर्गीय र मानवीय सम्बन्धको द्वन्द्वात्मक सन्तुलनले राज्यको जन्म र विकास भएको हुन्छ। तसर्थ शोषक वर्गमाथि दमन गर्ने नामामा व्यक्तिगत स्वतन्त्रता र मानवीय सम्बन्धको सीमालाई नाघ्न हुँदैन भन्ने मान्यता नवमार्क्सवादले राख्छ। 
परम्परागत मार्क्सवादले निजी स्वामित्वलाई शोषण र वर्ग विभेदको मुख्य कारण मानेको हुन्छ। तसर्थ उनीहरु सर्वहाराकरणलाई आदर्श कार्यदिशाका रूपमा ग्रहण गर्छन्। निजी धन नहुनु, सर्वहाराकृत हुनु मार्क्सवादी उद्देश्यअनुरूपको आदर्श जीवन हो भन्ने उनीहरुको बुझाइ हुन्छ। नवमार्क्सवादले सर्वहाराकरणलाई हैन, श्रमिकीकरणलाई आदर्श मान्छ। श्रम गर्नेले मूल्य पाउनुपर्छ, श्रमले उचित मूल्य पाएमा हरेक श्रमिकसँग निजी स्वामित्व हुनेछ, निजी स्वामित्व शोषणको आधार हैन, श्रमसिद्ध नभएको निजी स्वामित्वमात्र अनैतिक हो तसर्थ मानिसले सर्वहाराकृत हैन, श्रमिकीकृत हुनुपर्छ, श्रमिकहरुले सर्वहाराकृत हुने हैन, आफ्नो श्रम र सिपको प्रभावकारी उपयोगद्वारा आफूलाई मालिकीकरण गर्दै जानुपर्छ भन्ने मान्यता नवमार्क्सवादी मान्यता हो। परम्परागत मार्क्सवादीहरु उत्पादन साधनहरुको राष्ट्रियकरणमा जोड दिन्छन्। नवमार्क्सवादले बजार अर्थतन्त्रमाथि बलियो नियमन, उत्पादन साधनको न्यायपूर्ण पुनर्वितरण र प्रगतिशील करदरमा जोड दिन्छ। 
विचारप्रति पूर्वाग्रह राख्नेहरुको एउटा मनोवृति हुन्छ, आफ्नो विचारलाई महान् र अरुको विचारलाई निकृष्ट देख्ने। आफ्नो स्कुलिङ र आस्थालाई सत्य र अरुको स्कुलिङलाई भ्रम भन्ने। आफूले गरेका वैचारिक परिवतन वा समायोजनलाई विकास र अरुले गरेका परिवर्तन र विकासलाई विचलन भन्दिने। यो एक किसिमको मनोदशा हो, यसको कुनै उपचार अहिलेसम्म भेटिएको छैन। नवमार्क्सवादी, नववामपन्थी वा मानवतावादी हुनु कुनै अपराध हैन। यो वैचारिक तथा सामाजिक विकासक्रमको ऐतिहासिक आवश्यकता हो। नेपालमा नवमार्क्सवादी आन्दोलनप्रति रुचि जगाउन थालेकाहरुले परम्परागत मार्क्सवादीहरुको आलोचनाबाट भयभित हुन आवश्यक छैन। तर साथसाथै एउटा अर्को सत्य पनि छ– नवमार्क्सवादी मान्यताहरु एक्काइसौं शताब्दीका लागि आफैँमा पर्याप्त छैनन्। त्यसको निरन्तर पुनरावलोकन, संपरीक्षण र विकास आवश्यक छ। नवमार्क्सवाद विकास हो न कि विचलन।

प्रकाशित: ३ कार्तिक २०७१ २२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App