coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्राज्ञिक वृत्तमा लेखन तस्करी

अमेरिकन हेरिटेज शब्दकोशअनुसार ‘अन्य मानिसको विचार/भाव वा लेखनलाई आफ्नो बनाई प्रयोग गर्नुलाई लेखन तस्करी भनिन्छ।’  त्यसैगरी अक्सफोर्ड शब्दकोशअनुसार अन्य लेखकको विचार, लेखन वा अनुसन्धानलाई आफ्नो भनी प्रयोग गर्नुलाई लेखन तस्करी भनिन्छ।

यो कसैको मानव अधिकारको गम्भीर उल्लङ्घनको विषय पनि हो,चोरिएको चीज सानो वा ठूलो किन नहोस्। प्राज्ञिकवृत्तमा आफ्नो क्षमताको विकास नवीनतम् ज्ञानको सिर्जना, नवीन तथ्यको खोजी र विश्लेषण,पूर्वतथ्यको नयाँ विश्लेषण र पुरानो विचारको मौलिक विश्लेषणले हुने गर्छ। त्यसैले आविष्कार र लेखकहरूको विचारलाई अनुसन्धानकर्ता एवम् लेखकले लेखनमा सम्मान गर्नुपर्छ।

लेखन तस्करीका प्रकार: प्राज्ञिक इमान्दारिताको गम्भीर उल्लंघन लेखन तस्करी हो। यस लेखमा लेखन तस्करीका केही प्रतिनिधिमूलक प्रकारहरूको व्याख्या मात्र गरिएको छ।

प्रत्यक्ष लेखन तस्करी :यसमा कसैको लेख, तथ्यांक, ग्राफ, फोटो आदिलाई बिनाउद्धरण शब्दशब्द जस्ताको तस्तै, हुबहु आफ्नो भनी उल्लेख गर्नु प्रत्यक्ष लेखन तस्करी हो। यहाँ लेखकले प्रायः सबै शब्द अर्काको स्रोतबाट लिएको हुन्छ र स्रोत उद्धरण गरेको हुँदैन।

स्वलेखन तस्करी: यस प्रकारको भावचारीमा लेखकले आफ्ना पूर्वकार्यबाट पूर्ण वा आंशिक रूपमा वा अन्य लेखको मिश्रण गरी लेखन कार्य गर्छ। यसरी अन्य लेखको विषयवस्तुलाई उल्लेख गर्दा आफ्नो सिर्जना जस्तो बनाउने तर पूर्वलेखकलाई उल्लेख गर्दैन।

एउटै लेखलाई सामान्य परिमार्जन गरी वा जस्ताको तस्तै दुई ठाउँबाट नयाँ ब्रान्डसहित प्रकाशन गर्ने काम पनि स्वलेखन तस्करीअन्तर्गत पर्छ। यो आफ्नो पूर्वप्रकाशित लेख वा कामको पुनरावृत्ति हो। यो समान काम दुई ठाउँमा प्रकाशित गर्नुलाई पनि जनाउँछ।

वर्णपदीय लेखन तस्करी : यस्तो लेखन तस्करीमा लेखकले अन्य स्रोतबाट पदावली लिने गर्छ तर स्रोत उल्लेख गर्दैन वा पर्यायवाची शब्दहरूको प्रयोग गरी मूल लेखलाई भ्रष्टीकरण गर्छ र अपनत्व ग्रहण गर्छ। यसलाई टालटुले लेख पनि भनिन्छ। यसमा पूर्व लेखमा भएको मौलिकतालाई आंशिक परिवर्तन गरी पुनः लेखन गरेको हुन्छ।

संयोगवश हुने लेखन तस्करी : लेखकको बेवास्ताका कारणले हुने कमजोरीलाई आकस्मिक लेखन तस्करी भनिन्छ। यस्तो बौद्धिक चोरीमा लेखकले गलत उद्धरण गर्ने,उद्धरण गर्न छुट्ने वा योजनाबद्ध होइन, संयोगले उस्तै शब्द वा पदावली प्रयोग गर्ने गर्छन्। हेर्दा नरमखालको जस्तो बौद्धिक चोरी देखिए तापनि यसलाई अन्य बौद्धिक चोरीको कित्तामा नै राखिएको छ।

लेखन तस्करीको नियन्त्रण: बौद्धिक चोरीलाई सफ्टवेयरको माध्यमबाट परीक्षण गर्न सकिन्छ। अनुसन्धान ग्रन्थमा उल्लिखित लेख,जर्नलमा प्रकाशित लेखलाई सफ्टवेयरको विधिबाट यसको मौलिकताको परीक्षण गर्न सकिन्छ। बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

अझ बढी समृद्ध सफ्टवेयरले लेखकहरूलाई त्यस्ता बौद्धिक चोरी पत्ता लगाई थप गर्नुपर्ने उद्धरण (साइटेसन)उद्धरणका साधन तथा आवश्यक स्रोतहरूको जानकारी पनि दिइन्छ। यिनीहरूले पूर्ण चोरी वा आंशिक चोरी वा पदावलीको तहमा भएको चोरीलाई समेत संकेत गर्छन्। विशिष्ट खालका सफ्टवेयरहरूले भाषाको खासखास तह, जस्तै– व्याकरण, वाक्य विज्ञानजस्ता कुरालाई पनि औल्याउँछन्।

सार्वजनिक रूपमा उपलब्ध अथवा व्यावसायिक सफ्टवेयरहरूको विकास भएको छ। तीमध्ये प्राज्ञिक क्षेत्रमा सबभन्दा बढी प्रयोग हुने सफ्टवेयर टर्निटिन हो। भारतको विश्वविद्यालय अनुदान आयोगले गजेटामार्फत (२०१८) बौद्धिक चोरीसम्बन्धी नीति सार्वजनिक गरेको छ।

टर्निटिन : टर्निटिनको डाटाबेसमा सबै स्रोत राखिएको हुन्छ र यो हरेक समय विस्तार भइरहेको हुन्छ। यसले डाटाबेसका आधारमा कति अंश मौलिक र कति अंश चोरी गरिएको हो, छुट्याउँछ। साथै मूल स्रोत र उद्धरण पनि दर्साउँछ र प्रकाश पार्दै हुबहु लिएको मूल स्रोत र नवीन अनुसन्धानलाई छुट्याउँछ।यसले एकरूपताको प्रतिशत किटान गरेर लेख्छ। यसले चोरी गरिएको अंशलाई स्पष्ट र बोल्ड रूपमा छुट्याएर देखाउँछ।

त्यस्तै अन्य सफ्टवेयरहरू शुल्ज(२००८), वेछोएफर (२००७), कपी गार्ड (२००५) छन्। त्रिविले टर्निटिन नामक सफ्टवेयर खरिद गरेको छ र त्रिवि निर्देशिकाले निर्देश गरेअनुसार यसले कार्य पनि गरिरहेको छ। भारतको विश्वविद्यालय अनुदान आयोगले गजेटा (२०१८) मार्फत बौद्धिक चोरीसम्बन्धी नीति सार्र्वजनिक गरेको छ।

बौद्धिक तस्करीका केही उच्च कोटिका मुद्दा :

१.वेङ्केटेश्वरा विश्वविद्यालयका कुरा: भारतका रसायशास्त्रका प्राध्यापक पतियम चिरञ्जीवीले सत्तरीभन्दा बढी लेखमा बौद्धिक चोरी गरेको पाइयो। उक्त विश्वविद्यालयको कार्यकारी परिषद्ले उनका सबै लेखमा प्रतिबन्ध लगाएको थियो। उनका ६ दर्जनभन्दा बढी लेख सन् २००४ देखि सन् २००७ को बीचमा प्रकाशित भएका थिए। उनलाई सोध निर्देशन गर्न र परीक्षा परीक्षणसम्बन्धी काममा पनि प्रतिबन्ध लगाइएको थियो।

२.काव्य विश्वनायनबारे: उनको उपन्यास ‘हाउ ओपल मेहता गोट वाइल्ड एन्ड गोट लाइफ’ मा उनलाई हार्वर्डका प्राज्ञहरूबाट बौद्धिक चोरीको अभियोग लाग्यो। जसमा उनले मेघन म्याकर्फटको उपन्यास ‘सलपी फस्ट र सेकेन्ड हेल्पिङ’ बाट केही अंश हुबहु सारेको पाइयो। सन् २००६ मा हार्वर्ड विश्वविद्यालयको न्युजलेटरमा यो घटना प्रकाशित भएको थियो र तत्पश्चात लेखकको अरू किताबहरूको प्रकाशनको ठेक्का पनि रद्द गरिएको थियो।

३.प्रा.वि.एस. राजपुतको राजीनामा: भारतका पूर्वराष्ट्रपति ए.पि.जे.अब्दुल कलामलाई सन् २००२ को अक्टोबरमा स्टान्फोर्ड विश्वविद्यालयले पत्रमार्फत बौद्धिक चोरीको कुरा जानकारी गराएको थियो। जसअनुसार भौतिकशास्त्रका प्राध्यापक राजपुतले चर्को रूपमा अन्य स्रोतबाट बौद्धिक चोरी गरेको उल्लेख थियो। त्यस समयमा प्राध्यापक राजपुत कुमाउ विश्वविद्यालयमा उपकूलपति थिए र अनुसन्धानबाट प्रमाणित भएपछि उनले उक्त पदबाट राजीनामा दिनुपरेको थियो।

४.दिल्ली विश्वविद्यालयको कुरा: केही वर्षपहिले दिल्ली विश्वविद्यालयका उपकूलपति प्राडा  दीपक पेन्टालले आफ्ना सहपाठीको लेखबाट केही अंश चोरी गरेको पाइयो। यसकारण उनले ३ वर्षको कारागार(जेल) सजाय पाए। सार्वजनिक पद आसीन गरेको व्यक्तिले गल्ती गर्दा दण्डको व्यवस्था पनि कडा हुने गरेको भारतको कानुनले पुष्टि गरेको छ।

५.हङ्गेरीका पूर्वराष्ट्रपति पल स्कमिटको राजीनामा: हंगेरीका पूर्वराष्ट्रपति पल स्कमिटले आफ्नो विद्यावारिधि शोधग्रन्थमा अर्काको शोध ग्रन्थबाट हुबहु सारेको कारण उनले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। यो घटना लामो समयसम्म संसद्मा बहसको विषय बनेको थियो।

६.जर्मनका रक्षामन्त्रीको राजीनामाई आफ्नो विद्यावारिधि शोधग्रन्थमा बौद्धिक चोरी गरेको ठहरपश्चात जर्मनीका रक्षामन्त्री कार्ल थियोडोर जु गोटेनवर्गले आफ्नो पदबाट राजीनामा दिनुपर्‍यो। सन् २०११ को फेब्रुअरीमा उनको शोधग्रन्थमा भएको बौद्धिक तस्करी सार्वजनिक गरियो।

उनले आफ्नो गल्तीबारे संसद्मा क्षमा मागे तर कार्यदल/आयोगको अनुसन्धानपश्चात् उनको शोधग्रन्थ चोरी प्रमाणित भयो। निष्कर्षमा यसलाई पवित्र बौद्धिक अभ्यासमाथिको आक्रमण भनियो। साथै उनको विद्यावारिधिको उपाधिलाई पनि सम्बन्धित विश्वविद्यालयले खारेज गरेको थियो।

निष्कर्ष: यी घटनाबाट हामी सहजै अनुमान गर्न सक्छौँ कि यस्ता दुर्भाग्यपूर्ण घटना थुप्रै छन् बौद्धिक वृत्तमा। माथिका दृष्टान्तहरूबाट यो भन्न सकिन्छ कि लेखन तस्कारी गम्भीर मुद्दा हो र यसको बारेमा आवश्यक छलफल र यसलाई निरुत्साहित गर्न आवश्यक छ।

हामी सबै पेसागत बौद्धिक समुदाय बौद्धिक चोरीका विरुद्ध एकाकार भै आवाज बुलन्द गर्न जरुरी छ। सामाजिक र आधारभूत तहमा नै यस्ता प्रकृति जरो गाडेर रहन सक्ने भएकाले राम्रो कामको समर्थन र उत्साह प्रदान गर्ने र नराम्रो कामलाई समायमा नै निरुत्साहित गर्नुपर्छ।

बौद्धिक चोरीबारे बेवास्ता गर्नु भनेको अर्को अनैतिक कार्यलाई प्रश्रय दिनु हो। जस्तै तथ्याङ्कको तोडमोड, भाषा र भावको भ्रष्टीकरण गर्नु हो। हामी प्राज्ञहरूले बौद्धिक चोरीलाई स्वीकृत गर्‍यौँ/स्वीकार्यौं भने हामीसँग विद्यार्थीले गर्ने चोरी कामलाई छानविन गर्ने, निरुत्साहित गर्ने अधिकार हुने छैन र एकदिन उनीहरूले हाम्रै बौद्धिक चोरी गर्नेछन्।

प्रकाशित: १३ मंसिर २०७८ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App