विद्रोहमा उत्रेका कैदीबन्दीले आफूहरूमाथि भेदभाव गरेको, घुस मागेकोलगायत कारागार प्रशासनले कुटपिट गरेकोजस्तो गम्भीर आरोप पनि लगाएका छन्। विशेषगरी कारागारको आन्तरिक प्रशासनमा हर्ताकर्ता बनाइने नाइके, भाइनाइके र चौकीदारहरूलाई अर्को कारागारमा सरुवा गनुपर्ने माग उनीहरूको रहेको छ। नेपालको कारागारमा कैदीबन्दीलाई नै आन्तरिक प्रशासनमा संलग्न गराउने अनौठो अभ्यास छ। नाइके, भाइनाइके, चौकीदार भनिने ती कैदीबन्दी प्रायः कारागार प्रशासनको कृपापात्रमध्येका हुन्छन्। कैदीबन्दीलाई तर्साएर काबुमा राख्न जघन्य अपराधमा संलग्न कैदीबन्दीलाई नाइके, चौकीदार बनाउने चलन राणा कालमै सुरु भएको हो। कारागार प्रशासनमा मुख्य सरोकारवाला कैदीबन्दीकै सहभागिता देखिने यस परम्पराले कारागार प्रशासनको बोझ त धेरै कम बनाउँछ तर झ्यालखानाभित्र शोषण, दमन र अत्याचार भने बढाउने गरेको छ। यसले कारागारका कैदीबन्दीका बीचमा भेदभाव उत्पन्न गर्छ। धेरैजसो कारागारभित्रका असन्तुष्टिहरूमा यिनै नाइके र चौकीदारको ज्यादती कारण रहेको देखिएको छ।
बन्दीहरूसँग वार्ता गरेर आन्दोलन फिर्ता गराउने कारागार प्रशासनको प्रयास सफल भइरहेको छैन। प्रशासनले बल प्रयोग गर्ने मनःस्थिति बनाएको बताइएको छ। केही महिना पहिले पनि नख्खुका कैदीबन्दीले विद्रोह गरेका थिए। त्यति बेला बल प्रयोग गरेर स्थिति साम्य पारिएको थियो। यस्ता घटना पटकपटक हुनुले कारागार प्रशासनमा गम्भीर त्रुटि रहेको संकेत गर्छ। त्यसमाथि नख्खुमै केही महिनाभित्रै विद्रोहको घटना दोहोरिनुले कारागार प्रशासनले स्थितिको गम्भीरता नबुझेकोसमेत स्पष्ट हुन्छ। अतः बल प्रयोग गरेर यस समस्याको तत्काल समाधान भए पनि बीउ बाँकी नै रहनेछ। यसैले यस्ता समस्या दोहोरिन नदिन समग्र कारागार व्यवस्थापनमै सुधार गर्नु आवश्यक हुन्छ। कारागार सुधारका क्रममा सबैभन्दा पहिले झ्यालखाना र कैदीबन्दीप्रतिको राज्यको दृष्टिकोण परिवर्तन आवश्यक छ। राज्यले स्वतन्त्रता अपहरण गरेका व्यक्तिको पनि आधारभूत मानव अधिकार हुन्छ र त्यस्तो अधिकार चरितार्थ गराउने दायित्व राज्यको हो भन्ने स्वीकार गरिनुपर्छ। अन्तर्राष्ट्रिय मापदण्डको आधारभूत पक्ष स्वीकार गरेपछि कारागारको भौतिक सुविधादेखि मानवीय व्यवहारसम्ममा गरिनुपर्ने सुधार र परिवर्तनको ढोका खुल्छ।
केही पहिले खुला कारागारको अवधारणा कार्यान्वयनलगायत काठमाडौंका कारागारहरूलाई अपेक्षाकृत फराकिलो मानवीय सुविधायुक्त ठाउँमा स्थानान्तरण गर्नेजस्ता भौतिक सुधारका विभिन्न उपाय चर्चामा आएका थिए। तर तिनको कार्यान्वयन भने हुन सकेको देेखिँदैन। आधुनिक राज्यमा सरकार यस्ता विषयमा उदासीन हुन मिल्दैन। नख्खुकै समस्यामा भने कैदीबन्दीहरूले पनि अराजकता बढाउने जिद्दी त्याग्नुपर्छ। साथै, सरकारले उनीहरूले उठाएका मागहरूको गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ। कारागारभित्र भ्रष्टाचार बढाउने काममा नाइके प्रथा बढी जिम्मेवार रहेको छ। आफू प्रत्यक्ष नमुछिईकनै कारागारभित्र हुने शोषण र भ्रष्टाचारको फाइदा लिन पाइने हुनाले कारागार प्रशासन नाइके प्रथालाई यथावत् निरन्तरता दिने पक्षमा हुनसक्छ। नख्खुका नाइकेहरूको सरुवा गर्नुभन्दा बल प्रयोग गर्न बढी अग्रसर हुनुको कारण यो पनि हुनसक्छ। तर, कारागारमा भ्रष्टाचार कम गर्न र मानवीय स्थिति कायम राख्नका लागि गरिने दीर्घकालीन सुधारका क्रममा कैदीबन्दीलाई आन्तरिक प्रशासनको जिम्मेवारी दिने पुरानो चलनमा पनि पुनर्विचार गर्नु जरुरी देखिन्छ।
प्रकाशित: ३० आश्विन २०७१ २२:४० बिहीबार

