१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

दलित आन्दोलनमा डायस्पोरा

पुल्चोकस्थित मन्त्री निवासमा अवस्थित तत्कालीन रक्षामन्त्री तथा वर्तमान राष्ट्रपतिको निवासको बैठक कक्ष। हामी १०–१२ जनासहित एमालेका पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डल प्रतीक्षारत थियो मन्त्रीको। हामीले कुरेको १०–१५ मिनेटपछि बैठक कक्षमा रक्षामन्त्री प्रवेश गर्नुभयो।

उहाँसँग भेट्न जानुको प्रमुख उद्देश्य थियो– बर्दिया राष्ट्रिय निकुन्जमा काउलो भन्ने एक प्रकारको जडीबुटी खोज्न जाँदा सेनाले मारेका तीन जना दलित महिलाको हत्याको छानबिन, पीडितलाई न्याय तथा दोषीलाई कार्बाही। उहाँको जवाफ थियो–मैले पनि यो घटनालाई नजिकबाट नियालिरहेकी छु, म पनि एउटी आमा हुँ,अतः पीडितहरूको पीडा बुझ्छु। त्यसैले आवश्यक कारबाही गर्छु।

सेना परिचालन तथा निर्देशन गर्ने देशको रक्षामन्त्रीले यस्तो भनेपछि हामी ढुक्क भएर फर्कियौँ। भोलिपल्ट उहाँको कार्यकक्ष सिंहदरबारभित्रको रक्षा मन्त्रालयमा फेरि छलफलका लागि बोलाउनुभएको थियो। सो बैठकमा हामी फेरि अघिल्लो दिनकै दलित प्रतिनिधिमण्डल गयौँ।

राष्ट्रिय निकुन्ज वन मन्त्रालयअन्तर्गत पर्ने भएको हुँदा तत्कालीन वनमन्त्री दीपक बोहोरा पनि सो बैठकमा उपस्थित थिए। तर सेनाबाट मारिएका दलित महिलाको पक्षमा आफूलाई आमाका रूपमा प्रस्तुत गरेकी रक्षामन्त्रीको बोली फेरियो। उनले तिनीहरू वन तस्कर हुन सक्ने र सेनाले कारबाही गरेको भाषा बोलिन्। वनमन्त्री भने चूप। अब पीडितले न्याय नपाउने भए भन्नेमा शंका रहेन।

जंगलमा खेर जाने काउलो वर्षको एकपटक जम्मा गरेर गुजारा गर्ने सुर्खेतका ती दलित महिला वन तस्कर हुने संभावनै थिएन। त्यसको पुष्टि उनीहरू बस्ने झुपडीले गरेको थियो। त्यसपछि हामी झिनो आशा बोक्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न गयौँ।

एक घन्टा पर्खाइपछिको भेटघाटमा प्रधानमन्त्रीले पनि लगभग रक्षामन्त्रीकै भाषा बोलेपछि हामी निराश भयौँ। धन्न दलित अधिकारकर्मी र मिडियाको सहयोगका कारण पीडित परिवारले किरिया खर्चसम्म पाए। यसबाट सेनाको गल्ती औल्याउने आँटसम्म कसैको रहेनछ भन्ने प्रमाणित भयो। तर पनि दलित आन्दोलनले भने पीडितलाई न्याय दिलाउन सक्दो प्रयास गर्‍यो।

आफूलाई दलितको सच्चा मुक्तिदाता दाबी गरेर नअघाउने माओवादी, त्यसको भातृसंगठन दलित मुक्ति मोर्चा तथा यस्तै धेरै संगठनको मौनता पनि बुझिसक्नु थिएन। सडक र संसद्को आवाज राज्यले सुनेन। उता ती गरिब त्यसमाथि परिवारका आमा र छोरीको हत्याको वज्रपात सहन बाध्य परिवारलाई राहत दिन हामीसँग खासै साधन थिएन। हामी बडो दिक्दारीमा थियौँ।

यस्तैमा अमेरिकामा रहेको नासो कम्युनिटीले पीडितलाई राहतस्वरूप १ लाख रुपियाँ उपलब्ध गरायो। सो रकमले राम्रो बाससमेत नभएका पीडित दलित परिवारलाई केही राहत भयो। नेपालबाट उज्ज्वल भविष्य खोज्दै युरोप र अमेरिका पुगेका नेपालीको फुर्सदको समय नेपालकै विषयमा सोधखोज र अध्ययन गर्नमा बित्छ। उनीहरूलाई आफू बसेको देशभित्र के भइरहेको छ भन्ने थाहा नहुन सक्छ तर आफ्नो जन्मभूमिमा भएका सबै घटना भने नियालिरहेका हुन्छन्। त्यसमाथि पनि आफ्नै समुदायमाथि भएका अत्याचार थाहा नहुने कुरै भएन।

फलस्वरूप अहिले युरोप र अमेरिकामा भएका दलित तथा केही गैरदलित डायस्पोराले नेपालको दलित आन्दोलनमा धेरै सहयोग पुर्‍याइरहेका छन्। करिब १२ वर्षअगाडिको घटनामा पीडितको घाउमा केही आर्थिक सहयोग गरेर मलम लगाउने प्रयास गरेको दलितको डायस्पोराले जाजरकोटका नवराज बिकको हत्या काण्डमा गरेको आर्थिक र नैतिक सहयोग पनि अत्यन्त सराहनीय छ।

जहाँ उनीहरूले वकिललाई अदालतमा र पत्रकारलाई घटनास्थल उतार्न आर्थिक सहयोग गरेका थिए। जसमा अन्य गैरदलित शुभचिन्तकको समेत साथ थियो। त्यस्तै सहयोग परिचालन गर्दै घटनास्थल भएको भेरी किनारमा छ जना मृतकको सम्झनामा पार्कसमेत बनाउने कुरा चलेको छ।

कोरोना महामारीका समयमा दलित डायस्पोरा त्यसमा पनि ग्लोबल फोरमले पुर्‍याएको राहत वितरणको सहयोग पनि अत्यन्त सराहनीय छ। एउटा अध्ययनले गैरदलितमा दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने परिवार २० प्रतिशत देखाएको थियो भने दलितको ४४ प्रतिशत।

यस्तोमा १५–२० किलो चामल, दाल, तेल र नूनसहित पुगेको राहतले पनि ठूलो महत्त्व राखेको थियो। सप्तरीको कञ्चनरूप नगरपालिका निवासी दलित अभियन्ता भोला पासवानले पनि करिब डेढ करोड रुपियाँ बराबरको राहत बाँडेका थिए जुन अधिकांश डायस्पोराबाटै आएको थियो।

नेपाल रेडक्रसको दश वर्षे जागिरे जीवन छाडेर अमेरिकाको कोलोराडोमा बसोबास गरेका साहित्यकार धर्म विश्वकर्माको योगदान उल्लेख नगरेमा यो आलेख पूर्ण हुँदैन। उनले हालसालै ५० हजार रुपियाँको पुरस्कार राशि इलामका दलित साहित्यकार रविमान लम्जेललाई वितरण गरे। सो रकम उनले दलित साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने दलित स्रष्टालाई वार्षिक रूपमा प्रदान गर्ने घोषणा गरेका छन्।

त्यस्तै दलितका युवाकविलाई प्रोत्साहित गर्नका लागि पनि ३० हजार रुपियाँको पुरस्कार वितरण गरे। दलित क्षेत्रमा एउटा व्यक्तिले प्रदान गर्ने यति ठूलो राशि नेपालमै सम्भवतः पहिलो हो। धर्म आफैँ एउटा सिद्धहस्त साहित्यकार हुन्। उनले समग्र नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासमा रहेर पनि योगदान गरिरहेका छन्। त्यसलाई थप निरन्तरता दलितको क्षेत्रमा प्रवेश गरेर दिएका छन्।

अहिले युरोप,अमेरिका तथा अस्ट्रेलियामा दलित संख्या १२ हजार भन्दा बढी भएको अनुमान गरिन्छ। अमोरिकाको बाल्टिमोर भन्ने ठाउँमा त एउटा ठूलो समुदाय नै बसेको छ। पहिले पहिले नेपालीमात्र हुनु ठूलो कुरा थियो तर अहिले नेपालीभित्रको विभिन्न जातजातिको उपस्थितिले गर्दा त्यहाँ आआफ्नै समुदायको जमातमा रमाउने चलन सामान्य भएको बुझिन्छ।

हामी अहिले गणतान्त्रिक युगमा प्रवेश गर्दा दलितविरुद्ध हुने उत्पीडिन घट्नुको साटो बढ्दो छ। गरिबी अभाव त दलितका पुरानै समस्या भए। यस्तो अवस्थामा डायस्पोरामा भएका सहृदयी दलित तथा गैरदलितको सानो सहयोगले पनि मलमको काम गर्छ। अतः डायस्पोराले मातृभूमि र त्यसभित्र पनि आफ्नो समुदायको दुःख पीडा र अन्यायमा मलम लगाउने कार्यमा निरन्तरता दिनेमा आशावादी हुनुपर्छ।

प्रकाशित: ८ मंसिर २०७८ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App