३ माघ २०७८ सोमबार
विचार

देशको जिम्मेवारी अब युवाको काँधमा

राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा निर्धारण गरेको छ। हाल नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत युवा समूहका छन्।

जुन समूह हाम्रो राष्ट्रका परिवर्तनका संवाहक हुन्। युवा अवस्था आवेग, जोश, आँट,अठोट, साहसको समिश्रण र मूल रूपमा भन्नुपर्दा देश विकासको शक्ति हो भन्दा पनि हुन्छ।

नेपालका प्रत्येक राजनीतिक क्रान्तिमा सुरक्षादेखि आन्दोलन चलायमान गराउनमा युवाको भूमिका अतुलनीय छ। युवा दिगो विकासका उत्प्रेरक पनि हुन्। हुन त विकासको आफ्नै गति हुन्छ तर युवालाई समयसापेक्ष दीर्घकालीन विकास हुनुपर्छ भन्ने लाग्छ र उनीहरू आफ्नै देशमा आफ्नो समृद्ध भविष्यको चाहना राख्छन्। उनीहरूको सपना र चाहनाको सही सम्बोधन सामाजिक, आर्थिक र राजनीतिक रूपमा गर्न सके मात्रै देश सही बाटोमा चल्न सक्छ।

विश्व युवा विकास सूचकाङ्कमा नेपाल १४५ औँ स्थानमा छ। देशले युवाका लागि शिक्षा,स्वास्थ्य र रोजगारीमा राम्रै मेहनत गर्नुपर्ने देखिन्छ। देशको विकासको मूल प्रवाहमा यो जनसंख्या पूर्ण रूपमा समावेश हुनुपर्ने देखिन्छ। तर हाम्रा युवा पंक्ति या रोजगार वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश जान बाध्य छन्। वा पुरानै संस्कार र नेतृत्वबीच लाचार भएर यथास्थितिमा बस्न बाध्य छन्।

युवा र रोजगार

वैदेशिक रोजगारमा जाने नेपालीमध्ये जम्मा १ प्रतिशत मात्र दक्ष जनशक्ति बनेर बाहिर जाने गरेको तथ्यांकले देखाउँछ। सन् २०२५ सम्म यसलाई ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको थियो तर २०२५ सम्म ५ प्रतिशत जनशक्ति पनि दक्ष हुन धौ धौ देखिन्छ। नेपाल राष्ट्रको सबैभन्दा ठूलो पुँजी युवा जुन वैज्ञानिक युगमा समेत समयसापेक्ष ज्ञान र सिपको अभावमा अदक्ष अवस्थामा छन्।

राष्ट्रको भविष्य निर्धारण गर्ने युवा नीति कागजमा सीमित छन्। कार्यान्वयनमा होइन। सधैँ बहस र नीति बनाउँदै ठिक्क हाम्रो सरकार र युवा सम्बन्धित सरकारी निकाय कहिले व्यावहारिक कार्यान्वयन गर्नतर्फ उन्मुख होला? यो सहज देखिँदैन।

वार्षिक नेपालमा ५ लाख व्यक्ति श्रम बजारमा आउँछन्। १० प्रीतशत अर्थात ५० हजार व्यक्तिले रोजगार पाउन मुस्किल छ। बाँकी ९० प्रतिशत व्यक्ति बर्सेनि बेरोजगारको सूचीमा छन्। यो हेर्दै हामी कस्तो डरलाग्दो अवस्थामा छौँ भन्ने पुष्टि हुन्छ।

अझ नेपालमा स्नातक गरिसकेका २६.१ प्रतिशत युवा बेरोजगार छन्। हाम्रो शिक्षा सिपमूलक र उत्पादनमूलक छैन। बेरोजगारको समस्या हल गर्न स्वतन्त्र विज्ञ समूह बनाएर कृषि,पर्यटन र जलविद्युत्भित्र रोजगारी सिर्जना गरी निसास्सिएका युवालाई सहभागी गराउन पाए नेपाल राष्ट्र उन्नतिको पथमा लम्किन्थ्यो र युवाको मनलाई पनि राहत हुन्थ्यो होला।

उदाहरणका निम्ति एक युवा विदेशिँदा उसका बुबा, आमा, श्रीमती र छोराछोरी प्रत्येक रात विदेशिएको व्यक्तिको सम्झनामा मनमा कुरा खेलाएर बसिरहेका हुन्छन्। ३० लाख व्यक्ति वैदेशिक रोजगारमा छन् भने कम्तीमा पनि १.५ करोड जनताको मन सम्झनाले कुँडिएकै छ।

जबसम्म नेपालमा बेरोजगार समस्याको हल  हुँदैन तबसम्म नेपाली जनता खुसी हुँदैनन्। न खुसी न सुशासन न करियर केही चिजको टुङ्गो नभएपछि+२ सक्नेबित्तिकै युवाहरू सके अस्ट्रेलिया र युरोपतिर नसके खाडीतिर जान बाध्य भएका छन्।

 के अबको नयाँ पुस्तालाई पनि हामी यस्तै बाध्य पार्न चाहन्छौँ त? यदि चाहँदैनौँ भने राजनीतिमा युवाले हस्तक्षेप गर्न अत्यन्तै जरुरी छ किनकि युवाको समस्या युवाले नै बुझ्छन्।

राजनीतिमा युवा हस्तक्षेप

अमेरिकामा केही समयअघि गरिएको सर्वेक्षणमा ७० प्रतिशत वयस्क जनताले अहिलेका भन्दा अरू नै कुनै राजनीतिक दल चाहेको पाइएको थियो। नेपालमा पनि यदि सर्वेक्षण गर्ने हो भने यस्तै तथ्याङ्क आउन सक्छ तर नयाँ साना दल जुन वैकल्पिक शक्ति भएर आउँछु भनेका थिए तिनीहरूले पनि नेपाली जनतामा आशा कायम राख्न सकेनन्।

यसलाई हामीले यो अर्थमा लिन सकिन्छ कि नेपाली जनताले नयाँ दलभन्दा पनि भएका त्यही पुराना राजनीतिक दलभित्र शुद्धीकरण गर्न चाहेका छन्।कि आफूले शासन गर सक्दैनौ भने अरूबाट शासित हुन तयार हौ भनेझैँ राजनीतिक दलभित्र ठेकेदार र डनवाद हावी छ। आजका युवा शुद्धीकरण गर्न आफ्नो पार्टीभित्र लागेनन् भने युवा नेताले नै अबको पुस्ताको भविष्य अँध्यारोतिर धकेलिदिएको ठहर हुनेछ।

युवा देश विकासका मियो हुन् तर नेपाली राजनीतिमा युवा मियो हुन सकेका छैनन्। मियो अरू कुनै छ, त्यही मियोसँगै बाँधिएर त्यही चक्रमा घुमिरहेका छन्। कतिसम्म भने हाम्रा अझै पनि कुनै कुनै नेता आफ्नो पार्टीको कमजोरी लुकाउन फलानो पार्टीले फलानो समयमा यस्तोसम्म गरेको थियो भनेर अरूको नकारात्मक टिप्पणी उठाएर आफ्नो नकारात्मक टिप्पणी लुकाउन खोज्छन्। यो नेतृत्वको जमातले हामीलाई कहाँ लैजान्छ? के उनीहरूलाई हामीले सचेत राजनीतिकर्मी भन्न सक्छौ?

नेपाली राजनीतिमा अहिले भिड र जमात जम्मा गर्न सक्यो भने त्यो शक्तिशाली ठहरिन्छ।भिड शक्ति हुन्थ्यो भने महाभारतमा कौरवको नाम लेखिन्थ्यो न कि पाण्डवको।भिड जम्मा पार्ने,देखाउन धनाढ्य राजनीतिकर्मी लागिपरेका छन्। जसबाट युवाहरू भूमरीभित्र पारिएका छन्। जुन व्यक्तिको सुरक्षामा, धरपकड, धाकधम्कीमा रुमलाएर युवालाई आफ्ना आवश्यकता परिपूर्ति गर्न प्रयोगशालामा झैँ प्रयोग गरिराखेका छन्।

पार्टीको अधिवेशनमा बोकाको टाउको बिक्री गरे जस्तो पैसामा तौलिँदै किनेर राजनीति गरेका छन्। जसको दलदलमा आजका युवा वर्ग नै पर्छन् जसले आफ्नो स्वाभिमान बेच्नलाई समेत तयार हुन खोज्छन् तसर्थ सचेत नागरिक बनेर शुद्धीकरण गर्न युवाले नै महाधिवेशनभित्र सकारात्मक भूमिका खेल्न जरुरी छ।  

८५ प्रतिशत जनतालाई राजनीति के हो भन्ने न बुझ्न सक्ने फुर्सद छ न त बुझ्नै चाहेका छन्। उनीहरूलाई त कसरी जीविकोपार्जन चलाउने भनेर काम गर्दै र त्यही सोच्दै ठिक्क छ। बाँकी १५ प्रतिशत जनता जुन व्यपारी र धनाढ्य छन्, उनीहरूले ८५ प्रतिशत जनतामाथि शासन गर्न खोज्छन् न उनीहरूलाई दुःख के हो थाहा छ,न संघर्ष के हो थाहा हुन्छ।

दुःख बुझेको मान्छेले दुःख बुझेका व्यक्तिलाई अर्थात तल्लो वर्गलाई लिएर तल्लो वर्गकै प्रतिनिधि बनेर राजनीति गर्न सक्ने अब्बल युवा नेताको जरुरी छ। धनाढ्य व्यक्तिको एकाधिकार तोडेर सबल, सक्षम र वैचारिक व्यक्ति राजनीतिमा प्रवेश गर्नु आजको आवश्यकता हो।

दलभित्र युवा आवाज

युवामा जोश र इच्छाशक्ति हुने हो भने यसले नै अवसरको खोजी गर्न सिकाउँछ। देशकै ठूला राजनीतिक दल महाधिवेशनको संघारमा छन्। नेपाली काँग्रेस र नेकपा एमाले दुवै पार्टीभित्रका युवा पङ्तिले युवा नीति बनाएर नेतृत्वमात्र चयन होइन,विधानमाथिको बहसलाई अगाडि सारेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्दा अवसर पक्कै पनि आउँछ।

आगामी पुस्ताभन्दा नया पुस्ता अब्बल हुन्छन् नै। अबको युगमा युवाभित्र भएको जोश, बल र उमेरले मात्र पुग्दैन,राजनीति सोचले चल्छ।विचारले चल्छ। तसर्थ सचेत युवा राजनीतिमा आउनुपर्छ र महाधिवेशनमा युवा नीतिसँगै बेरोजगारी समस्या हल गर्ने विषयमा बहस चलाउनुपर्छ।

हाल एकदमै कम युवा पङ्ति राजनीतिमा छन् र उनीहरू अरूको पछिपछि राजनीतिको नाममा दौडिरहेका छन्। आफ्नै घर वरपर विकासका पूर्वाधार कसरी निर्माण भैरहेका छन् रेखदेख गर्ने,अनुगमन गर्ने,राज्यको स्रोत र साधन सही ठाउँमा सही तरीकाले सही सदुपयोग भएका छन् कि छैनन् निगरानी गर्ने युवाको भूमिका हो।

आजका युवा दिगो विकासको उत्प्रेरक हुन्। युवाले नै कुन संरचना कति समयसम्म टिकाउन बनाइएको हो त्यति समयसम्म टिक्छ कि नाइ? अनुगमन गर्न, भोलिका पुस्तालाई आजका पूर्वाधारले कतिसम्म फाइदा पुग्छ,विचार गरेर आवाज बुलन्द पार्न आवश्यक पनि छ किनकि विगत र भविष्यको संयोजन गरेर अघि बढ्दै आजको अनुभव भोलिका पुस्तालाई पुस्तान्तरण गर्ने आजका युवाले नै हो।

स्वरोजगार ऋण र सिपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न आवाज उठाउनै पर्छ। जहाँ आवाज कमजोर हुन्छ त्यहाँ विकास ठप्प हुन्छ,परिवर्तन ठप्प हुन्छ। तसर्थ आवाज उठाउँदै, नेतृत्व विकास गर्दै युवा राजनीतिमा आएर हस्तक्षेपकारी भूमिका प्रवाह गर्नुपर्छ।

अवसर प्राप्त गरेमा नेतृत्वमा युवाहरू अब्बल पक्कै हुनेछन्। विश्व समुदायमा नै हेर्दा पाकिस्तानी नागरिक मलाल युसफजइले १७ वर्षको उमेरमा नै नोबेल पुरस्कार जितिन्। नेपोलियन बोनापार्ट पनि युवा अवस्थामै सम्राट बने। अस्ट्रियाका सेवस्टियन कुर्जले ३१ वर्षको उमेरमा राष्ट्र प्रमुख भए।

हाम्रो देशमा पनि युवा अवस्थामा नै पृथ्वीनारायण शाहले एकीकरणको सुरुवात गरेका थिए।लि क्वान युले सिंगापुर बनाएजस्तै हाम्रो देशलाई समृद्धितिर अघि बढाउन युवा नेतृत्वको खोजी गर्ने बेला आएको छ। उमेरले मात्र युवा होइन, सोचले युवा हुनुपर्छ। जुन भोलिको पुस्ताका निम्ति मार्गप्रदर्शक बन्न पनि सकून्।

युवा हिजो नि प्रयोगशालामा भए आज नि प्रयोगशालामा नै छन्। भोलिचाहिँ प्रयोगशालामा नहुन्। रुवान्डा २० वर्षसम्मको जातीय द्वन्द्वपछि समृद्ध राष्ट्रमा उक्लन खोजिरहेको छ भने हाम्रो देश पनि अवश्य नै उक्लनेछ। देशका ठूला पार्टीका हुँदै गरेका महाधिवेशनबाट सचेत युवाहरू राजनीतिमा आउन् र देशको फड्को मार्न सफल होउन,शुभकामना।

(महाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस एवम् अध्यक्ष नेवि संघ तनहुँ)  

प्रकाशित: ३ मंसिर २०७८ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App