७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

उच्च सफलताको रहस्य

किंग्स कलेज, लन्डनका न्युरो साइन्सका वैज्ञानिक स्टेफनो स्यान्ड्रोनले संसारकै सर्वोच्च पुरस्कार ‘नोबल प्राइज’ पाएका २४ महावैज्ञानिकसँग साक्षात्कार गरी उनीहरूका जीवनका विविध आयाम समेटी गत जुन महिनामा ‘नोबल लाइफ’ नामक पुस्तक प्रकाशन गरे।

आयुर्विज्ञान,र शायनशास्त्र, भौतिक विज्ञान तथा अर्थशास्त्रका विभिन्न क्षेत्रमा दीर्घकालीन महत्त्वका अनुसन्धान गरी संसारलाई अझ परिस्कृत बनाए बापत नोबल पुरस्कार पाएका वैज्ञानिकहरूले उनीहरूमा अन्तरनिहित केकस्ता चरित्र तथा आनीबानीका कारण आफूलाई संसारकै अब्बल साबित गर्न सफल भए त भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका छन् लेखक स्टेफनोले उक्त पुस्तकमा। 

महामानवका विचारलाई यथास्थितिमा पस्कँदै भावी पुस्तालाई प्रतिकूल अवस्थालाई चिर्दै कसरी आफ्नो भविष्यको मार्गचित्र प्रदान गर्ने भन्ने विषयमा समन्वयकर्ताको भूमिका खेलेका छन उक्त कृतिमा लेखकले।

नोबल पुरस्कार पाएका वैज्ञानिकको जीवनी रोचक र रोमाञ्चक हुने नै भयो। सम्बन्धित क्षेत्रमा जीवनको पूवार्द्धदेखि नै रुचि तथा अनुसन्धानात्मक चाख भएकै कारण सफल अन्वेषणकर्ताहरू उच्च सम्मानको काबिल भए कि समय परिस्थितिले उनीहरूलाई उचाइमा पुर्‍यायो भन्ने सबैको चासो हुन्छ नै।

स्कुले जीवनदेखि नै विज्ञानसँग भाग्ने बच्चालाई साइन्स पढाउने कि नपढाउने? त्यस्तै चाख र वैज्ञानिक ज्ञान हुँदाहुँदै पनि अनुसन्धानको उपयुक्त अवसर नपाए के गर्ने? सानामा औषत तथा निम्न दर्जाको विद्यार्थीले बाह्य समर्थन पाए आफूलाई संसारको अब्बल सावित गर्न सक्छ कि सक्दैन? लगायतका कौतुहलको उत्तर नोबल वैज्ञानिकको भाखामा प्रस्तुत गर्नु यो लेखको मजबुन रह्यो।

अर्जुनदृष्टि भएका व्यक्तिले मात्र सगरमाथा चुम्न सक्छन् भन्ने कुरालाई असत्य ठहर गर्छ सन् २००९ मा रशायनशास्त्रमा नोबल पुरस्कार जित्ने वैज्ञानिक बेंकटारमन रामकृष्णननको साविती बयानले।

फिजिक्समा विद्यावारिधि गरेपछि धेरै प्रयास गर्दासमेत उपयुक्त जागिर नपाएपछि ‘बायोलोजी’ मा दोस्रो विद्यावारिधि गर्न युनिभर्सिटी अफ् क्यालिफोर्निया सान डियागोमा भर्ना भए उनी। अनि जीव विज्ञानमा दीक्षित भएपछि पचासौँ विश्वविद्यालयमा आवेदन हाल्दा बल्लतल्ल संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ् युटहा’ मा प्राध्यापक हुने अवसर पाएको भन्न हिच्किचाउँदैनन् डा रामकृष्णनन।

कदाचित अध्यापनको अवसर नपाएको भए थप तालिम हासिल गरी कम्प्युटर प्रोग्रामर हुने वैकल्पिक योजना आफूसित थियो समेत भन्न भ्याए उनले। आफूले हासिल गरेको फिजिक्स र बायोलोजीको अध्ययन तथा अन्वेषणले आफूलाई नोबल पुरस्कार दिलाउने प्रोटिन बनाउने कारखानाका रूपमा रहेको ‘राइबोजोम’ को आकृति एकीन गर्न मद्दत गर्‍यो भन्छन् उनी।

एक बिदामा हासिल गरेको अनुभवले जीवनको अर्को आयाममा समेत मद्दत गर्ने भएकाले जीवनमा सोचेको कुरा पहिलो चरणमा हासिल गर्न सकिएन भने अर्को विकल्प तयार राख्न सल्लाह दिन्छन् बेंकटारमन। नेपालको सन्दर्भमा भन्नुपर्दा फिजिक्समा उच्च शिक्षा हासिल गरेका सुमन शर्माले कसरी ‘फाइनान्स’ को थप अध्ययनपछि सफल ब्यांकर्सका रूपमा आफूलाई स्थापित गरे भन्ने कुराले बेंकटारमनको वैकल्पिक मार्ग खुला राख्ने सल्लाह सही सावित भयो।

स्कुले परीक्षाको लब्धांकले भविष्यको गति भन्न सक्दैन भन्ने यथार्थ बुझ्न सन् २००३ मा रसायनशास्त्रको नोबल पुरस्कार पाएका पिटर एग्रेको वृतान्त सुन्दा हुन्छ। आफ्नै पिताले पढाएको रसायनशास्त्रको परीक्षामा सधैँ पुछारमा पर्ने पिटरका लागि सबैभन्दा डर लाग्ने विषय थियो रसायनशास्त्र। आफ्नो दुर्बलतालाई सबलतामा बदल्न पिटरले पछिल्ला दिनमा रात्रिकालीन कक्षामा भर्ना भइ ‘केमेस्ट्री’ को थप अध्ययन गरे।

अतिरिक्त मेहनतमार्फत  रसायनशास्त्रमा दक्षता हासिल गरे। आफ्नो कमजोरी सच्याए। विद्यालय पढ्दा केमेस्ट्रीमा सधैँ कमजोर सावित भएका एग्रेले पछिल्लो दिनमा रसायनशास्त्रकै नोबल पुरस्कार पाएपछि परीक्षाको नम्बरले विद्यार्थीको भविष्यबारे केही भन्न सक्दैन बरु ब्यक्तिले आफ्नो कमजोरी सच्याउन थप मेहनत गर्‍यो कि गरेन भन्ने कुराले मात्र उसको भाग्य निर्धारण गर्छ भन्ने देखियो।

स्कुले जीवनको उतारचढावसँग नजुधेका भए त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका डिन विनिल अर्यालले कसरी अहिले आफूलाई फिजिक्सको सफल अनुसन्धानकर्ताका रूपमा दर्‍याउन सक्थे र?

उच्च विचारले तिरस्कार सहनु ठूलो कुरा होइन भन्ने देखाउँछ सन् १९९३ मा केमेस्ट्रीको नोबल पुरस्कार विजेता केरी म्युलिसको बयानले। कोरोना आतंकपछि निकै चर्चामा आयो– पोलिमिरेज चेन रियाक्सन (पिसिआर)। जेरोक्स मेसिनले एक अभिलेखपत्रको धेरै कपी बनाएझैं थोरै संख्यामा उपलब्ध अणुवांशिक पदार्थ,डिएनए तथा आरएनएको लाखौँ कपी बनाउन पिसिआर विधि प्रयोग हुन्छ।

पिसिआर विधि प्रयोग नगर्ने संसारमा शायदै कुनै बायोलोजी तथा मोलिकुलर ल्याब होलान्। त्यस्तो महत्त्वपूर्ण प्रविधि विकास गरेबापत नोबल पुरस्कार पाएका केरीले आफ्नो प्रारम्भिक दिनमा भने धेरै हण्डर खानुपर्‍यो।

पिसिआरको अवधारणा प्रस्तुत गर्दा उनले निकै पटक मूर्खको संज्ञा पाएको कुरा वैज्ञानिक वृत्तमा लुकेको छैन। आफ्नो अवधारणा परीक्षण गर्न आर्थिक सहयोगको याचिका धेरै पटक आधारहीन तर्क भनी अस्वीकृत भयो तर आफ्नो सोचलाई जसरी पनि परीक्षण गर्ने सोचमा थिए उनी।

अपमानित हुँदासमेत अनवरतरूपले त्यही विधामा अन्वेषण गरिरहे उनले। अनि, अन्त्यमा सफलता पाए। पृथक अब्बल सोचको जानकार भएका व्यक्तिको संख्या प्रारम्भिक दिनमा निकै कम हुने भएकाले महान् विचारले पटक पटक कसीमा जाँचिनु पर्ने भएकाले धैर्य गर्नुपर्ने भन्छन् उनी।

इतिहास र साहित्यमा अत्यधिक रुचि भएकाले हार्वार्डमा अध्ययन गर्दा स्नातक तहमा ‘हिस्ट्री र लिट्रेचर’ लाई मुख्य विषयका रूपमा पढेका एरिक क्यान्डेलले सन् २००० मा मेडिकल साइन्सको नोबल पुरस्कार पाए भन्दा उनका विषयगत गुरु छक्क परे। फरक विषयमा रुचि भएको व्यक्ति कसरी पृथक विधामा सफल हुन्छ भन्ने कौतुहलता सबैमा हुन्छ नै। तर एरिक स्वयं भने आफूलाई ‘न्युरोसाइन्स’ को उच्च अनुसन्धानमा इतिहास र साहित्यको अध्ययनले मद्दत गरेको ठान्छन्।

विभिन्न विधाको अध्ययनले धेरै कुरा सिकाउने भएकाले उपलब्ध भएका अध्ययनका सबै अवसरको उपयोग गर्न सल्लाह दिन्छन् उनी। मानविकी संकायमा रुचि भएका विद्यार्थीसमेत विज्ञानको क्लिष्ट अन्वेषणका लागि काबिल हुन सक्छन् है भन्ने देखियो।

गुरुको ज्ञानबाट चेला सिँचित मात्र हुन्छन् भन्ने होइन, बरु शिक्षक–विद्यार्थीको सहयात्राले सफलता चुम्न सकिन्छ भन्ने उदाहरण हो सन् २००९ को मेडिकल साइन्सको नोबल पुरस्कार। अणुवांशिक पदार्थको अन्त्य, टेलोमियर्सको सूक्ष्म अध्ययन गर्ने गुरु/चेला एलिजाबेथ ब्ल्याकबर्न र क्यारोल ग्रेडरको नोबल प्राप्तिले शिक्षक/विद्यार्थीको पवित्र सम्बन्धले कठिन कामलाई सहज बनाउँछ भन्ने देखायो। विज्ञानमा सहयोग र सहकार्यको महत्त्व देखियो।

अनुसन्धानमा ज्ञानको प्रवाह एकोहोरो हुँदैन बरु सहयात्राले सिपको अभिवृद्धि हुन्छ भन्छ। हालका वर्षमा नेपाली विद्वत् वर्गले आफ्ना अनुसन्धानात्मक कृतिहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने क्रम निकै बढेको देखियो। हालका वर्षमा कीर्तिपुरबाट प्रकाशित ‘रिसर्च आर्टिकलको संख्या ह्वात्तै बढ्नुमा कहीँ विगतमा कायम गुरुचेलाबीचको पर्खाल भत्काएर शिक्षक/विद्यार्थीको सेतु बन्नुलाई दिँदा अन्याय नहोला।

उच्च सफलताका लागि भाग्यले डोहोर्‍याएर लान्छ भन्ने यथार्थका लागि रोबर्ट सोलोको जीवनी पढ्दा हुन्छ। सोसियोलोजी तथा एन्थ्रोपोलोजीको प्राध्यापकका रूपमा रोबर्ट म्यासाच्युसेट्स इन्स्टिच्युट अफ् टेक्नोलोजीमा भर्ना भए। त्यहीबेला संयुक्त राज्य अमेरिका दोस्रो विश्व युद्धमा होमियो, देशका लागि युद्ध गर्न उनी इटली पुगे।विश्व युद्धको समाप्तिपछि उनी अमेरिका फर्किए। त्यसैबेला हार्वार्डमा एउटा अर्थशास्त्रको कोर्स पढाउने मास्टरको खोजी हुँदै थियो।

एउटा साथीको करबलमा जागिरका लागि आवेदन दिए अनि पढाउनका लागि उनी छानिए। केही वर्षपछि नै सोसियोलोजीबाट शिक्षण सुरु गरेका रोबर्ट अर्थशास्त्रको चर्चित हस्ती बन्न पुगे। कैयौँ अमेरिकी राष्ट्रपतिका सल्लाहकार बन्न सफल भएका राबर्ट सोलोले सन् १९८७ मा अर्थशास्त्रको नोबल पुरस्कारमात्र पाएनन्, बरु उनले दीक्षा दिएका ८ विद्यार्थीले अर्थशास्त्रको नोबल पुरस्कार पाउन सफल भए।

स्वयं अनि आफूले पढाएका त्यति धेरै विद्यार्थीले संसारकै उच्चतम पुरस्कार पाउनुमा केबल मेहनत तथा लगनशीलतामात्र पर्याप्त हुँदैन, बरु भाग्यको पनि दरोकार पर्छ नै।

अद्वितीय आविष्कार गरे बापत विभिन्न विधामा नोबल पुरस्कार पाएका महामानवका साक्षात्कारका आधारमा उच्च सफलताका लागि भाग्य, सहकार्य, बाह्य विषय अध्ययन तथा धैर्यको भूमिका देखियो। प्रारम्भिक जीवनमा पढाइ कठिन लागे पनि लगनशील भए निकै माथि जान सकिने देखियो।

विषयगत दक्षताभन्दा बाहिरको अध्ययनले अझ माथि लान्छ अनि जीवनमा जहिले पनि वैकल्पिक मार्ग खुला राख्नु फाइदाजनक देखियो। सफलताका लागि विभिन्न बाह्य तत्वले मद्दत गर्ने भए पनि ब्यक्तिको लगनशीलता र विषयगत दक्षताको जगेर्ना भने सबै भन्दा उपल्लो हो भन्ने कुरामा शंका देखिन्न।

प्रकाशित: ३० कार्तिक २०७८ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App