१५ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

बीपी विचारमा 'जीवन' को खोज

नेपाली माटोमा विचारको क्रान्ति गर्ने विश्वेश्वरप्रसाद (बीपी) कोइराला जन्मिएको सय वर्ष र दिवंगत भएको ३२ वर्ष पुगेको छ। बीपीले नै जन्माई हुर्काएको नेपाली कांग्रेसले हरेक वर्ष विविध कार्यक्रम गरेर जन्मजयन्ति र स्मृति दिवस मनाउने गरेकामा यस वर्ष नीति तथा प्रशिक्षण प्रतिष्ठानले बीपीको गृहनगर विराटनगरदेखि उनलाई राणा शासनले पैदल हिँडाएको बाटो हुँदै जेल जीवन बिताएको काठमाडौंको सुन्दरीजलसम्म बीपी विचार नामक पैदल यात्रा गरेर नयाँ ढंगले उनको सम्झना गर्योठ। हरेक वर्ष बीपी सम्झनुको अर्थ नयाँ पुस्तासमक्ष उनका विचार परिचित गराउनु हो। जनतामा जागरण पैदा गराउनु हो। तर के यो कार्यक्रम वैज्ञानिक र व्यावहारिक छ? यसलाई निरन्तरता दिने योजना र सम्भावना छ कि छैन? छलफल हुनु जरुरी छ। राजनीतिक विचारको सफलता र असफलता त्यसको प्रयोगात्मक पक्षसँग सम्बन्धित हुन्छ। के बीपी विचार आजको राजनीतिमा लागु भएको छ? उनका अनुयायीको जीवनमा बीपी विम्ब देखिन्छ? आत्मसमीक्षा गर्नुपर्ने हुन्छ। नेपालको नयाँ पुस्ता बीपी विचारसँग नजिक हुनसकेको छैन। उनीहरुले बीपी चिन्ने एउटा माध्यम संग्रहालय हो। के बीपीका नाममा खुलेको संग्रहालयले आगन्तुकलाई बीपीको जीवन बुझाउन सक्छ? 
कांग्रेसभित्र बीपी विचारको प्रयोग
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई बीपीलाई बीसौं शताब्दीको उत्कृष्ट नेता भन्नुहुन्थ्यो। राजनीतिमा इमानदार, नैतिकवान र अनुशासित बीपी आफ्ना कार्यकर्तामा पनि निष्ठा र इमान खोज्थे। उता कांग्रेसीले भने २०१५ सालतिरै सिद्धान्तविपरीत आचरण देखाउन थालिसकेका थिए। त्यसबेलै बीपीले कांग्रेसका सात खराबी पहिल्याउँदै तिनलाई हटाउन आग्रह गरेका थिए। आत्मकेन्द्रित सोच, जिम्मेवारीबोधको अभाव, चाकरीको प्रोत्साहन, ठालु प्रवृत्ति, जनतासँग टाढिने, अध्ययनशीलताको अभाव र नैतिकताको खडेरीलाई कांग्रेसका खराबी ठानेका थिए बीपीले। कांग्रेसीहरु अहिले पनि बीपीले औँल्याएका सात र अन्य खराबीमै लट्पटिएका छन्। पार्टीका त्यागी र निष्ठावान कार्यकर्ता पाखा लगाइएका छन्। पैसाको बिटो बुझाउने कांग्रेस नेताका प्रिय भएका छन्। कांग्रेस नेता र कार्यकर्तामा अनुशासन र इमानदारी हराएको छ। तिनले पैसाकै निम्ति नीति, सिद्धान्त र आचरणलाई तिलाञ्जली दिएका छन्। आफूलाई बीपीका चेला ठान्नेहरूले आफूभित्रका दुगर्णबाट मुक्त हुनुपर्दैन र? अनैतिकता, व्यभिचार र भ्रष्टाचारबाट मुक्त हुनुपर्दैन? 
बीपी राष्ट्रियतालाई हावा, पानी, माटो र भूगोलका आधारमा होइन, जनजीविकासँग गाँसेर हेर्ने गर्थे। नेपाली जनताको विपन्नता र गरिबी बीपीलाई नराम्ररी बिझेकोे थियो। पहाडी जीवनभित्रको गरिबीमा उनी करुण बनेका थिए। जनतालाई गरिबीभन्दा माथि राख्न बीपीले नेपाली सपनाको मानचित्र कोरे। बस्ने घर, दुई छाक खाने बन्दोबस्त, शिक्षा र स्वास्थ्यको व्यवस्था प्रत्येक नेपालीको आवश्यकता र अधिकार ठानेका थिए बीपीले। विसं २०४६ सालपछि धेरै समय नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको छ तर समतामूलक राज्य निर्माणको दिशामा अघि बढ्न सकेको छैन। गरिबी यथावत् छ। सीमान्तकृत समुदायले बीपीले भनेजस्तो बस्ने घर, दुहुनो गाई र औषधीमूलोको अभाव झेलिरहेको छ। समतामूलक समाजको जग सर्वसुुलभ शिक्षा र स्वास्थ्यमा हुन्छ। बीपीले यी दुवैमा जोड दिएका थिए तर शिक्षा र स्वास्थ्य दुवै व्यापार भएको छ। विश्वविद्यालयहरू भ्रष्टाचारमा डुबेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महिनैपिच्छे छापा मारेको छ। उपकुलपतिहरु निर्लज्ज भएर भ्रष्टाचारविरुद्धको कारबाइलाई प्राज्ञिक स्वतन्त्रतामाथिको प्रहार भनी प्रधानमन्त्री गुहार्न पुगेका छन्। सरकारले २५ लाख रुपियाँ शुल्क तोकेको एमबीबीएस पढाइ पूरा गर्न मेडिकल कलेजहरुले एकमुष्ट ५५ लाख रुपियाँ उठाइरहेका छन्। बीपीकै पार्टीकी शिक्षा मन्त्री चित्रलेखा यादव किन यो भ्रष्टाचारविरुद्ध बोल्न सक्तिनन्? बीपी शतवार्षिकी मनाइरहेको कांग्रेस पार्टी उनलाई प्रश्न सोध्न किन सत्तै्कन?
जीवनहीन संग्रहालय
के बीपी संग्रहालयले बीपी विचारको, बीपीले बाँचेको जीवनको र बीपीले नेतृत्व गरेको समयको प्रतिनिधित्व गरेको छ? के बीपी संग्रहालयमा आजका युवा र बालबालिकाले खोजेजस्तो बीपीको जीवन प्रतिविम्बित भएको छ? केही दिनअघि आमा र सानो छोरासहित म सुन्दरीजलस्थित बीपी संग्रहालय छिरेँ। यस्तो लाग्यो, हामीले संग्रहालय कस्तो हुनुपर्छ भनेर सपना नै देखेनौं। बरु बीपीका नाममा औपचारिकता पूरा गर्ने धृष्टतामात्र गर्यौँ । विसं २०१९ सालमा बीपी भेट्न सुन्दरीजल पुगेकी र लामो समय पिताजीसँगै भारतको लामो प्रवास बसाइमा बीपी जीवन देखेकी मेरी आमाले पटकपटक संग्रहालयले पुरानो झल्को नदिएको बताउनुभयो। बाल्यकाल विदेशमै बिताएको मेरो छोरो बीपी बुझ्न संग्रहालय पुगेको थियो। संग्रहालयले उसको मस्तिष्क र हृदय हल्लाएन। अन्य कैयौँ आगन्तुकले पनि बीपी संग्रहालयमा हामीले जस्तै जीवन नभेटेका हुन् सक्छन्। 
समाजशास्त्री हर्वट स्पेन्सरले समाजलाई सामाजिक जीव (सोसल अर्गानिज्म) भनेका छन्। अन्य जीव जस्तै समाजका एकाइ पनि अन्तरक्रिया गर्छन् भन्ने अर्थ राख्छ उनको समाजशास्त्रीय भनाइले। विश्व भूमण्डलीकरण र 'डिजिटलाइज्ड' भएको आजको परिवेशमा संग्रहालयहरु अन्तरक्रिया गर्नेखालको हुन आवश्यक छ। विश्वका धेरै देशले संग्रहालयलाई जीवन्त बनाएका पनि छन्। अमेरिकाको डेट्रोइटमा रहेको हेनरी फड म्युजियमले इतिहास र वर्तमान सजीव देखाउँछ। दक्षिण कोरियाका संग्रहालयहरु कति जीवन्त छन् भने त्यहाँ किताबमा पढेजस्तै दृश्य हेर्न पाइन्छ। छनानको इन्डिपेन्डेन्स हल होस् वा ग्वाहामुनको वार म्युजियम आगन्तुकको मन र मस्तिष्कलाई खिच्ने सामर्थ्य तिनमा छन्। संग्रहालय परिवर्तन र विकासको वाहक हुन सक्नुपर्छ। संग्रहालय समाजमा एकता र सहकार्य प्रवर्द्धन गर्नेखालको हुनपर्छ। बीपी संग्रहालयमा बीपीसँगै जेल बसेका जनजाति र वामपन्थीलाई स्थान दिइएको छैन। समग्रमा भन्नुुपर्दा बीपी संग्रहालय बीपी जीवन र विचारको अध्ययन केन्द्र हुनुपर्छ। संग्रहालय सहरी जीवनमा अन्योन्याश्रित अंग हुन्। कमनवेल्थ म्युजियमका अध्यक्षले गरिब देशमा संग्रहालय अनावश्यक सामान थुपार्ने केन्द्र बनेको बताएका छन्। बीपी संग्रहालय पनि भ्रमण गर्ने आकर्षक स्थान बन्नुको सट्टा अनावश्यक सामान थुपार्ने ठाँउ नहोस् भन्नेमा सतर्क हुनु जरुरी छ।
बीपी विचार यात्राको निरन्तरता
शतवार्षिकीमा बीपी विचार यात्रा जस्तो नवीन कार्य गर्नु सकारात्मक हो। विसं २००३ सालमा विराटनगरको जुट मिलमा भएको मजदुर आन्दोलनका क्रममा गिरफ्तार भएका बीपीलगायतका नेतालाई पैदल हिँडाएर अड्डासार गरिएको बाटोमा आयोजित लामो र कठिन पदयात्रा बुधबार सकिएको छ। जनजागरण गर्ने उद्देश्य राखिएको पदयात्रा उपलब्धिमूलक भयो कि भएन? आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने समीक्षा गर्ने बेला भएको छ अब। हुन त वर्षायामको बाढी/पहिरोको आतंक र खेतीपातीको चटारोले सोचेजति सफलता प्राप्त हुन नसकेका समाचार र विचार सार्वजनिक भइसकेका छन्। कार्यक्रमकै बीचमा सिन्धुपाल्चोकको जिरेमा भीषण पहिरो गएकाले कांग्रेसले पदयात्रा स्थगन गरी मानवीय विपत्तिमा समावेश हुनुपर्ने आवाज पनि उठेको थियो। 
आगामी वर्षमा पनि यो विचार यात्रालाई निरन्तरता दिने हो भने सुविधाजनक र सुरुचिपूर्ण हुनेगरी पुनर्योजना बनाउनु जरुरी छ। आगामी वर्षदेखि लामो र पट्यारलाग्दो पदयात्राको सट्टा छोटो र आकर्षक कार्यक्रम आयोजना गर्न सकिन्छ। छोटोमा ५ किमी र लामोमा १५ किमी सम्मको पदयात्रा आयोजना गरियो भने भिन्न उमेर समूह र स्वास्थ्य समस्या झेलिरहेका शीर्ष नेतासमेत पनि सहभागी हुने सम्भावना रहन्छ। बीपी विचार यात्रालाई स्वस्थ, एकता र रोमाञ्चक बनाउन जरुरी छ। दक्षिण अफ्रिकाको लेनसियामा २९ वर्षदेखि 'गान्धी वाक' आयोजना गरेर भारतका शान्तिवादी नेता महात्मा गान्धीको सम्झना गरिँदै आएको छ। सन् २०१४ को गान्धी वाक त्यहाँका प्रिय नेता मादिवा अर्थात् नेल्सन मन्डेलाको सम्झनामा समर्पित गरिएको थियो। उक्त गान्धी वाक तीन दशकसम्म निरन्तर सञ्चालित हुनुको कारण व्यावहारिक र आकर्षक कार्यक्रम समावेश हुनु हो। कांग्रेसले पनि बीपी विचार यात्रालाई छोटो पदयात्रा र आकर्षक बनाउने हो भने यसको निरन्तरता सम्भव छ।

प्रकाशित: २५ भाद्र २०७१ २०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App