संयोग हो वा नियति, जुद्ध वारुण यन्त्र (काठमाडौं दमकल) स्थापना भएदेखि अहिलेसम्म विदेशी दातृ निकायका सहायताबाट प्राप्त दमकल तथा उपकरणबाटै अग्नि नियन्त्रण तथा उद्धार सेवा दिइरहेको छ।
भनिन्छ, विपद बाजा बजाएर आउँदैन। विपदपछि समयमा प्रतिकार्य गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ। यसका लागि आवश्यक औजार–उपकरणसहितको दमकल कार्यालयको पूर्वतयारी महत्वपूर्ण हुन्छ। विकसित मुलुकमा अग्नि नियन्त्रण गर्ने कार्यालयलाई उच्च्ा प्राथमिकताका साथ आवश्यक स्रोतसाधन र जनशक्तिले सुसज्जित गरिएको हुन्छ। हाम्रोमा भने दमकल सेवा सरकारी प्राथमिकतामा नपरेको यसको विकासक्रमले पुष्टि गर्छ।
हामीसँग दमकल सेवासम्बन्धी स्पष्ट कानुन छैन। यसको अभावमा विद्यमान दमकल तथा जनशक्ति व्यवस्थित गरी क्षमता अभिवृद्धि गर्न सकिएको छैन। दमकलसम्बन्धी ऐननियम बनाई दमकललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुको सट्टा दमकल सञ्चालन गर्ने निकायले राजनीतिक परिवर्तनसँगै दमकल सञ्चालनको जिम्मेवारी हस्तान्तरण गर्ने गरेकेा इतिहासले देखाएको छ। यसरी दमकल सञ्चालन गर्ने निकाय परिवर्तन भइरहँदा दमकलको क्षमता अभिवृद्धि तथा दीर्घकालीन विकासमा बाधा पुगेको छ।
राणा शासन अन्त्यपछि बडाहाकिम र अञ्चलाधीश कार्यालयमातहत सञ्चालन भयो। विसं २०४६ सालको जनआन्दोलनपछि यो संस्था गृह मन्त्रालयअन्तर्गत चल्न थाल्यो। अहिले २ ०६२/६३ को राजनीतिक परिवर्तनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुने प्रक्रिया सुरु भई २०६५ कात्तिक ९ को मन्त्रिपरिषद् निर्णयले भक्तपुर दमकल कार्यालयबाहेक सबै दमकल कार्यालय स्थानीय निकाय मातहत परिचालित छन्। स्थानीय निकायलाई दमकल सञ्चालन अधिकारमात्र हस्तान्तरण भएको छ। यसमा कार्यरत साबिक कर्मचारीको वृत्ति विकासको स्पष्ट व्यवस्था छैन भने तिनलाई स्थानीय निकायमा काजमा राखिएको छ।
ऐननियम तथा पूर्वाधार अभावमा दमकल कार्यालयले आफ्नो क्षमता अभिवृद्धिका लागि व्यावसायिक अग्नि नियन्त्रक नियुक्त गर्न सकिरहेका छैनन्। दमकललगायत औजार–उपकरणका लागि पनि विदेशी दातृ निकायको भरपर्नु परेको छ। विसं २००१ सालमा पुनः बेलायतले सहयोग स्वरूप दिएको डेनिस कम्पनीमा निर्मित दमकल प्राप्त भएपछि ललितपुर र भक्तपुरमा दमकल सेवा विस्तार गरियो। विसं २०३१ सालमा जर्मनीबाट उपहार स्वरुप प्राप्त सातवटा म्यागिरस कम्पनीको डज दमकल आएपछि काठमाडौं बाहिर पनि दमकल सेवा पुर्यापउन थालियो।
काठमाडौं महानगरपालिकाले जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौं सञ्चालन गर्न थालेपछि जापान र बेलायतबाट एक–एक भल्बो इन्जिनयुक्त दमकल प्राप्त भएका छन्। इटालीको बोजेन बोल्जाने सहरबाट सहयोग स्वरुप एक दमकल, दुईवटा रेस्क्यु ट्रक, एक रेस्क्यु जिप, एक एरियल ल्याडर प्राप्त भई सञ्चालनमा छन्। ती देशबाट अग्नि पीडितलाई उद्धार सामग्रीलगायत अग्नि समन प्रतिकार्यमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि प्राप्त भएका छन्। जुद्ध वारुण यन्त्र कार्यालय ललितपुरलाई पनि यसअघि नै जापानले मोरिता कम्पनीको एउटा दमकल उपलब्ध गराएको छ। हालै पोखरा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई बेलायतको डिभोन एन्ड समरसेट फायर एन्ड रेस्क्यु सर्भिसले एक एकवटा दमकल उपलब्ध गराएको छ।
यसरी हेर्दा के देखिन्छ भने हामी अग्नि नियन्त्रण तथा विपद व्यवस्थापनजस्तो अति संवेदनशील आपतकालीन मानवीय सेवा प्रदायक दमकल कार्यालय अहिले पनि आकस्मिक रूपमा विदेशीबाट प्राप्त हुने ...रिकन्डिसन' दमकल तथा औजार उपकरणमा निर्भर छौँ। तर, यो दमकल सेवाको विकास र विस्तारका लागि सुखद विषय भने होइन। दमकल तथा औजार–उपकरणका लागि हामीले दमकल कार्यालयलाई नै आफैंमा आत्मनिर्भर हुने व्यवस्था गर्न अत्यन्त जरुरी भइसकेको छ।
दमकल सेवाको आत्मनिर्भरता
दमकल सेवा आपतकालीन मानवीय सेवा हो। त्यसैले राज्यले यसलाई स्वायत्तता दिनु उपयुक्त हुन्छ। नेपालको सन्दर्भमा विपदमा कार्य गर्ने दमकलजस्ता साधन महँगा हुने हुँदा दमकल कार्यालयले आफ्नो क्षमता अभिवृद्धिका लागि निजी क्षेत्र र सर्वसाधारणसँग सहकार्य गर्न जरुरी छ। निजी क्षेत्रसँगको सहकार्यमा स्रोतसाधन व्यवस्था गर्ने र सर्वसाधारणलाई अग्नि नियन्त्रण तथा उद्धार स्वयंसेवक तालिम दिई आकस्मिक आइपर्नसक्ने ठूला अग्नि विपद व्यवस्थापन गर्न आवश्यक जनशक्ति तयार गर्नुपर्छ। भविष्यमा कुनै ठूला आगलागीका घटना भए अग्नि विपद व्यवस्थापन तथा क्षति न्यूनीकरण गर्न यस्तो जनशक्ति दमकलको सहयोगी हुनसक्छ।
दमकल सञ्चालन गर्न सबैभन्दा ठूलो समस्या अहिले आवश्यक बजेट नै हो। त्यसैले दमकल सेवालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन अग्नि विपद व्यवस्थापनबापत शुल्क लिनुपर्छ। जसले बढी अग्नि जोखिम सिर्जना गर्छ, त्यसलाई अग्नि विपद व्यवस्थापनमा पनि बढी जिम्मेवार बनाउनुपर्छ। यो शुल्क दमकल कार्यालयले दमकल परिचालन गरेवापत वा अग्नि नियन्त्रण गरेवापत सर्वसाधारणबाट लिने चाहिँ होइन। यसबाट सर्वसाधारणलाई निःशुल्क दमकल सेवा प्रवाह हुनेछ तर सहरमा भएका सपिङ मल, तारे होटल, पेट्रोल पम्प, स्कुल, कलेज, अस्पताल, अर्पाटमेन्ट, हाउजिङ, पार्टी प्यालेस, सिनेमा हल, बैंक, कर्पोरेट हाउस तथा १० वर्गफिटभन्दा बढी क्षेत्रफल भएका भवनमा नियमअनुसार राख्नुपर्ने स्थायी अग्नि नियन्त्रण उपकरण राइजर, स्पि्रङकलर, होज, होज रिल, अग्नि पूर्वचेतावनीका साधन, आगलागी भएमा भाग्ने वैकल्पिक बाटो तथा अन्य उपकरण अनिवार्य राख्न लगाउने, राखेकाको हकमा वार्षिक जाँच गरी नियमित र अद्यावधिक गर्न लगाइ अग्नि सुरक्षा प्रमाणपत्र दिने। यो सेवा प्रदान गरे वापत दमकल कार्यालयले यस्ता भवनलाई वार्षिक निश्चित सेवा शुल्क लगाउने। यो व्यवस्थाबाट आगलागीका घटना भइहाले जनधनको क्षति न्यूनीकरण हुनेछ, अन्यथा यस्ता भवनमा आगलागी भए दमकलको २ हजार लिटर पानीले अग्नि नियन्त्रणमा कठिनाइ उत्पन्न हुनेछ।
यसरी प्राप्त हुने सेवा शुल्क दमकल कार्यालयको क्षमता अभिवृद्धि तथा दमकल लगायत औजार–उपकरण खरिदमा उपयोग गर्न सके दमकल कार्यालय साधस्रोतमा आत्मनिर्भर हुनसक्छन्। दमकलका लागि विदेशीको मुख ताक्नेभन्दा पनि आफ्नै स्रोत परिचालन गरी केही गरौं भन्ने भावना विकास हुनेछ। यो व्यवस्थापछि पनि त्यस्ता भवनमा आगलागी भए त्यही भवनमा रहेको स्थायी अग्नि नियन्त्रण प्रणालीबाट फायर फाइटरले अग्नि नियन्त्रण गरी जनधनको क्षति न्यूनीकरण गनेछन्। पीडितको उद्धार गर्न आवश्यक औजार–उपकरण दमकल कार्यालयले व्यवस्था मिलाउने छ। यसबाट त्यस्ता भवन अग्नि विपदबाट बढी सुरक्षित हुन्छन्। दमकल कार्यालय पनि अग्नि विपद व्यवस्थापनका लागि आवश्यक साधन–स्रोतमा आत्मनिर्भर हुनसक्छन्।
(प्रमुख, काठमाडौं महानगरपालिका जुद्ध वारुण यन्त्र कार्यालय)
प्रकाशित: १९ भाद्र २०७१ २०:०७ बिहीबार