६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

मलालाको भाग्य

विश्व अहिले अशान्त छ। यस ग्रहमा रहेका थुप्रै देशमा युद्ध र द्वन्द्व जारी छ। एसियामा पाकिस्तान, अफगानिस्तान, यमन, सिरिया र इराक, इजिप्टदेखि लिएर अफ्रिकामा लिविया, नाइजेरिया, केन्या, सोमालियादेखि युरोपमा युक्रेनसम्मका देश यस्तै चपेटामा छन्। यता केही दिनदेखि एसियामा इजरायल र हमासबीच युद्ध चलिरहेको छ। युद्ध र द्वन्द्वले उमेर, लिंग, दोषी, निर्दोष केही पनि हेर्दैन। सबैलाई प्रभावित तुल्याउँछ।मलाला युसुफ यस्तै द्वन्द्वग्रस्त देश पाकिस्तानकी नागरिक हुन्। उनी अहिले बेलायतमा बस्छिन्। करिब ३ वर्षअघि उनी पाकिस्तानमा रहँदा तालिवानहरुले उनलाई स्कुल बसभित्रै टाउकोमा गोली हानेका थिए तर त्यसबेला पाकिस्तान सरकारले उनलाई उपचारका लागि सुरुमा दुवइ र त्यसपछि बेलायत लगेको थियो। जसका कारण उनी बाँच्न सकिन। उनका बाबु बेलायतस्थित पाकिस्तानी दूताबासका कर्मचारी हुन्। उनको यो घटनापछि पाकिस्तान सरकारले उनका बाबुलाई जागिर दिएको थियो। पाकिस्तानको अफगानिस्तानसँग जोडिएको पिछडिएको भूभागमा बस्ने मलालाले तालिवानको महिलालाई शिक्षाबाट वञ्चित राख्ने नीतिको विरोध गरेबापत उनीमाथि गोली हानिएको थियो।
उक्त घटनाको पश्चिमी देशहरुले कडारूपमा विरोध पनि जनाएका थिए। केही दिनअघि उनी अफ्रिकी देश नाइजेरिया पुगेकी थिइन्। त्यहाँको राजधानी अवुजामा उनले केही महिनाअघि स्कुलबाट आफूजस्तै उमेरका करिब तीन सय छात्रालाई अपहरणबाट मुक्त गर्न आवाज उठाएकी थिइन् जसलाई त्यहाँको इस्लामिक संगठन बोकोहरामले अपहरण गरेको थियो।नाइजेरिया पनि द्वन्द्वग्रस्त देश हो। उनले अपहरणमा परेका ती अभागी बालिकाहरुका आमा र आफन्तसँग भेट पनि गरेकी थिइन्। दुःख साटेकी थिइन्।
उनले अहिलेसम्म चार ठूला अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकिन्। यसमा सबैभन्दा ठूलो पचास हजार युरो राशिको युरोपियन संसदको आन्द्रेय साखो राव मानव अधिकार पुरस्कार रहेको छ। गत वर्षमात्र उनले अमेरिकाको विश्वव्यापी गुप्तचरीको नेटवर्क विश्वसमक्ष उदांगो पार्ने स्नोडेनलाई उछिनेर उक्त पुरस्कार हात पार्न सफल भएकी थिइन्। यसबाहेक संयुक्त राष्ट्र संघको शिक्षा पुरस्कार र विश्व प्रसिद्ध शिक्षण संस्था अमेरिकास्थित हार्वड विश्वविद्यालयको मानवता पुरस्कार रहेको छ। उनले भर्खरैमात्र अमेरिकाको स्वतन्त्रता पुरस्कार पनि प्राप्त गरेकी छिन्। गत वर्ष नोवेल शान्ति पुरस्कारको दौडमा प्रमुख स्थानमा रहे तापनि यसबाट भने उनी वञ्चित हुनुपर्योछ। भर्खरै १७ वर्ष मात्र पूरा गरेकी मलालाले सानै उमेरमाठूला उपलब्धि हासिल गरेकी छिन्। भविष्यमा पाकिस्तानको राष्ट्रपति बन्ने उद्देश्य रहेकाले उनी कति आत्मविश्वासी छिन् भन्ने पनि थाहा पाउन सकिन्छ।
सबै बालिकाको भाग्य मलालाको जस्तै हुँदैन। भारतको उत्तर प्रदेश राज्यको बदामु जिल्लास्थित कतरासदातगञ्जमा केही समयअघि मात्र १२ र १४ वर्षीया दुई बालिकामाथि भएको घटना यस सन्दर्भमा कोट्याउनु उपयुक्त हुन्छ। उनीहरुलाई अपहरण गरी बलात्कार गरेर शव झुण्ड्याइएको थियो। गत वर्ष दिल्लीमा गुडिरहेको बसमा भएक युवतीमाथि भएको सामूहिक बलात्कारले विश्वव्यापी चर्चै पाएको थियो। बलात्कृत दुवै बालिका पढाइमा लगनशील थिए र उनीहरु डाक्टर बन्न चाहन्थे। तर साँझको समयमा दिशापिशाव गर्न घरनजिकको खेतमा जाँदा चार पुरुषको पञ्जामा परेका थिए। ढिलासुस्ती र अकर्मण्यताका लागि प्रख्याति कमाएको भारतीय प्रहरीको घोर लापरबाहीले गर्दा ती बालिकाले ज्यान गुमाउनुपरेको थियो। जबकि समयमै प्रहरी पुग्न सकेको भए उनीहरु बाँच्न पनि सक्ने अवस्था थियो। यस्तै घटनाले गर्दा अहिले भारत महिलाका लागि असुरक्षित स्थानका रूपमा समेत चिनिन थालेको छ।
भारतका यी दुई बालिकाको कथा जति दर्दनाक छ, गाजाका चार बालकको कथा पनि उत्तिकै हृदयविदारक छ। भूमध्ये समुद्रनजिक बसोबास गर्ने ती चार जना माछा मार्ने माझीका छोरा थिए। इजरायल र हमासबीच युद्ध सुरु भएपछि उनीहरुलाई बाबुआमाले घरबाट बाहिर नजाने सल्लाह दिएका थिए। तर ९ दिन बितिसकेपछि हैरान भएर ती बालक घरबाट निस्केनर समुद्रछेउ पुगेका थिए। त्यही बेला इजरायली हवाईजहाजले हानेको बमले उनीहरु मारिए। पहिलो बमले एक जनाको मृत्यु भएको थियो भने बाँकी बालकहरु भाग्न लाग्दा दोस्रो बम लागेर मारिएका थिए। उनीहरुलाई के थाहा कि खेल्न जाँदैमा बमले मारिइन्छ भन्ने?बुधबारमात्र दुवै मुलुकबीच युद्धविराम भएको यो युद्धमा मात्र ३ सयभन्दा बढी बालबालिका मारिइसकेका छन्। त्यसैगरी इराकमा जारी द्वन्द्वमा लामो यात्रा तय गरेर बाबुआमासँगै शरणार्थी शिविरमा जिन्दगी बिताउन बाध्य बालबालिका हवाईजहाजले खटाएर खसालेको खानेकुरा खाएर बाँच्न बाध्य छन्।
अमेरिकामा गैरकानुनीरूपमा प्रवेश गर्ने सेन्ट्रल अमेरिकाका यी अभागी बालकहरुको दुःखको कथा झनै फरक छ। यो क्षेत्रका तीन देश होन्डुरस, एल साल्भाडोर र ग्वाटेमालाबाट मेक्सिकोको बाटो हुँदै गत वर्षदेखि अहिलेसम्म करिब ५० हजार केटाकेटी अमेरिका प्रवेश गरेका छन्। आमाबाबुबिहीन तिनीहरुको अवस्था दयनीय छ। अमेरिकी सरकारले कतिपयलाई उनीहरुकै देश फर्काएको छ। आफ्नो देशमा लागु औषध कारोबार गर्ने, ड्रग कार्टेल र सडकमा हतियार लिएर समूहगतरूपमा युद्ध गर्ने संगठनको क्रियाकलापबाट भयभित भएर सम्बन्धित बाबुआमाले नै आफ्ना छोराछोरी यसरी पठाएका हुन्।
यस्तैमध्ये एक बालकको त यात्रा गर्ने क्रममा एकदम गर्मीकै कारण मृत्युसमेत भएको थियो। यसरी आउने बालबच्चाहरु अमेरिकाको टेक्सास राज्यको मेक्सिकोको सिमानामा आमाबाबुबिहीन अवस्थामा दुःख तनाव झेल्दै अनिश्चित भविष्य पर्खिरहेका छन्। के यस्ता बालबच्चाको पनि मलालाको जस्तै कदर हुने दिन देख्न पाइएला?
हाल, पेन्सिलभेनिया, अमेरिका

प्रकाशित: १२ भाद्र २०७१ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App