१५ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

यथास्थिति र परिवर्तनकोबीच महिला

हिन्दु महिलाको विशेष पर्व भए पनि बाल्यकालदेखि मैले प्रेम र स्नेहपूर्वक तीज मनाएको छैन। न त यस पर्वलाई घृणा गर्दै महिलालाई कमजोर बनाउने परम्परा भनी बहिष्कारै गरेकी छु। विवाहपछि पनि मैले तीजमा व्रत बस्न र पूजापाठ गर्न कुनै दबाब सहनु परेन। विवाह गरेकै वर्ष बिरामी भएकाले सासू आमाले नै व्रत बस्नुपर्दैन भनेपछि तीज मेरालागि सामान्य बन्न पुुग्यो। यसरी आफू प्रत्यक्षरूपमा संलग्न नभए पनि तीजका नाममा हुने अन्धसमर्थन र विरोधबाट अप्रभावितचाहिँ रहिन। एकातिर तीजविरुद्ध नाराबाजी गर्ने र अर्कोतिर अन्धविश्वासमा जकडिएर निराहार व्रत बस्ने र श्रीमान्को खुट्टाको पानी खाने दुुई अतिवादको माझमा हुर्किएका कारण तीज सधैँ एउटा रहस्य र कौतुहल बन्यो मेरा लागि। तीजको ऐतिहासिक पक्ष र वर्तमानलाई नियाल्दा लाग्छ– आधुनिकता र परम्पराका बीचमा उभिएका छन् महिला। 
बदलिँदो समाज र तीज 
नेपाल विकासको कुन चरणमा छ भन्नेमा एक मत नभए पनि यो पुँजीवादी समाज हो भन्ने स्वीकारिएको छ। सामन्तवादबाट पुँजीवादमा आइपुुग्दा समाजमा उपभोक्तावादी संस्कारले प्रभाव जमाएको छ। ऐतिहासिक, सामाजिक, सांस्कृतिक पर्वहरू बजार निर्देशित भएका छन्। त्यसो त बढ्दो शिक्षा र चेतनासँगै महिलाका पक्षमा कानुनी र सामाजिक परिवर्तन पनि भएका छन्। पुँजीवादी समाज र परिवर्तनको प्रभाव दैनिक जीवनका विभिन्न पक्षमा प्रतिविम्बित भएको छ। 
विगतमा महिला बाल र अनमेल विवाहबाट पीडित थिए। यातायातको अभावले जन्मघरको यात्रा सहज थिएन। शिक्षा र सम्पत्तिबाट सबैजसो महिला वञ्चित थिए। पिता, पति र पुत्रको अधीनमा बस्ने अधिकांश महिलाले स्वतन्त्रता के हो अनुभव गर्न पाएका थिएनन्। सासू र नन्द/आमाजुबाट पनि भाउजू/बुहारी निसास्सिएका थिए। माइती गाउँको वरपीपलको चौतारीमा चेलीहरू विरहका गीत पोख्थे। अहिले समाज बदलिएको छ। शिक्षा र सम्पत्तिमाथि महिलाको पहुँुच बढेको छ। संयुक्त परिवारको बढ्दो विघटनले पनि महिलालाई स्वतन्त्रता दिएको छ। पैतृक सम्पत्तिमा महिलाको समान हक स्थापित भएपछि तीज र तिहार जस्ता चाडपर्वमा माइतीबाट पाउने आतिथ्य घट्दै गएको छ। फलस्वरूप महिलाहरूको तीज 'सेलिब्रेसन' कार्यालय, सामाजिक क्लब र अन्य ठाउँतर्फ विस्तार भएको छ। अब त महिलाको ढिलो विवाह पो सामाजिक समस्या बन्न लाग्दैछ। त्यसैले माइती घर छोड्नुपर्दाको पीडाभन्दा बिहे नभएको पीडा तीज गीतमा पोखिएका छन्। यसैगरी दरको परिकारमा पनि परिवर्तन आएको छ। पुलाउ, मिठाइ र मासुमा मात्र होइन बियर, वाइन र रक्सीका गिलासमा पनि भरिएको हुन्छ तीजको दर आजकाल। फेसन र शृंगार त बजार निर्देशित भइहाल्यो। भरिभराउ गरिएका महङ्गा सारीले तीजका महिलाको मन छोएको छ। पक्कै पनि महँगो सारी र गहनामा तडकभडक प्रदर्शन गर्नु तीजको नाममा विकृति नै हो। तैपनि यथार्थ के हो भने पुँजीवादमा बजार स्वतन्त्र हुन्छ र नाफा मुख्य उद्देश्य हुन्छ जहाँ बजारका माग र आवश्यकता हेरेर उत्पादन वा वितरण गर्नुपर्ने हुन्छ। तीजमा पनि त्यही भइरहेकेा छ जुन अन्य नेपाली चाडपर्वमा भएको छ।
नारीवाद, तीज र महिला सशक्तीकरण
तीजले महिलालाइ बलियो बनाउँछ कि कमजोर? विगतदेखि नै यो विषयमा विवाद हुँदैआएको छ। तीजको समर्थन गर्ने महिला यसले स्वतन्त्रता र उन्मुक्ति दिएको ठान्थे भने विरोध गर्नेहरू पितृसत्तात्मक संरचनाको तीजले महिलालाई दबाउने तर्क अघि सार्थे। खासगरी २०४६ सालमा बहुदल आएपछि र २०५२ सालमा माओवादी 'जनयुद्ध' सुरु भएपछि तीजलगायत अन्य सांस्कृतिक सामाजिक पर्वमाथि निर्मम प्रहार भयो। एकथरी महिला सिन्दुर र पोतेले महिलामाथि दासता लादेको टिप्पणी गर्थे। अर्कोथरी सौभाग्यका प्रतीक भन्दै चुरा पोते नलगाई बस्दैनथे। तीजका विरोधीलाई समाज (खासगरी पुरुष) ले चाहिँ नारीवादी भन्ने उपाधी झुन्ड्याइदिन्थ्यो। नारीवादले पुरुषभन्दा महिला कमजोर र तल्लो दर्जाका हुन्छन् भन्ने अस्वीकार गर्छ र महिलाको मानव अधिकारको पैरवी गर्छ। महिलाले पुरुष समान अधिकार र स्वतन्त्र जीवन यापन गर्न पाउनुपर्ने माग गर्छ। फेरि नारीवाद पनि विभिन्न धारका छन्। उग्र नारीवादले विद्यमान संरचनामा आमूल परिवर्तनको खोजी गर्छ भने अर्को धारले विद्यमान संरचनामै सुधारको खोजी गर्छ। 
हामी नारीवादी हौँ कि होइनौँ र तीजले महिला सशक्तीकरण गर्छ कि गर्दैन भन्ने विषय तीजलाई हामीले कसरी ग्रहण गरेका छौं भन्नेमा भर पर्छ। तीजलगायत कुनै पनि पर्व मनाउने र नमनाउने छुट महिला स्वयंलाई हुनुुपर्छ। तीज पुरुष हैकमवादलाई नारीकै माध्यमबाट वैधानिकता दिलाउने पर्व हुनुुहुँदैन। अझै पनि पत्नीको सिउँदोको सिन्दुर, गलाको पोते र हातको चुरामै आफ्नो दीर्घायु अडिएको छ भन्ने अन्धविश्वासमा छन् धेरै पति। जुन पुरुष पत्नीको भोको र गलेको शरीरमा आफू बाँच्ने आयु खोज्छ उसले पुरातन सोचको अन्त्य चाहेकै हुँदैन। तीजलाई हामी कसरी ग्रहण गर्छौं र कसरी मनाउँछौं त्यसमै महिलाको अपमान, सम्मान र सशक्तीकरण लुकेको हुन्छ। हामीले पूरै परम्परागतरूपमै तीजलाई ग्रहण गर्यौंल भने यसले महिलालाई कमजोर पनि बनाउन सक्छ तर हिजोआज जुनरूपमा उद्देश्यमूलक कार्यक्रम भइरहेका छन्, महिला महिलाको सञ्जाल निर्माण भइरहेको छ त्यसले महिलालाई हानि नभएर फाइदा नै भएको छ। 
प्रवासी समुदायमा तीज
नेपाली समाज अब संसारभर छरिएको छ। युरोप, अमेरिका एसिया र अफ्रिकाका सबै देशमा नेपाली 'डायस्पोरा' निर्माण भइरहेका छन्। विगतमा विदेशीसामुु नेपाल चिनाउने माध्यम भनेको हिमाल, पहाड र गरिबीमात्रै थिए। वाग्मतीको फोहोर, चट्टान फुटाउँदै गरेका बालबालिका र यतीको किम्बदन्ती विदेशमा नेपाल प्रचारको माध्यम थियो। विदेशमा नेपाल आफ्नो सांस्कृतिक, सामाजिक र साहित्यिक आयामबाट चिनिन सकेको छैन। न त हाम्रा परम्परागत कला र शिल्पकलाका माध्यमबाटै चिनिन सकेको छ। पछिल्ला वर्षमा भने नेपालीका सांस्कृतिक पर्वहरू विदेशमा धूमधामसँग मनाउन थालिएका छन्। रंगीचंगी पोसाकमा सजिएका महिला र तीजको नाचगानको आकर्षण विदेशीका माझ अन्य कुनै पनि पर्वभन्दा बढी छ। यही आकर्षणबाट प्रभावित कैयौं विदेशीले तीजबारे अनुसन्धान पनि गरेका छन्। संसारभर छरिएका प्रवासी नेपाली समुदायमा पनि तीज परम्परालाई निरन्तरता दिने र फेसन तथा गहना प्रदर्शन गर्ने एउटा अवसर हुन पुगेको छ। नेपालबाट वर्षेनि सारी र गहना तीजकै लागि ओसारिन्छन्। 
नेपाली समाजमा मनोरञ्जन दैनिक जीवनको अंग बन्न सकेको छैन। पुरुषहरूले तास खेल्ने, जाँड/रक्सी खाने गर्दा महिला भने घरेलु कामधन्दाबाट मुक्त हुन नपाउने हाम्रो सामाजिक परिवेश छ। त्यसैले तीज महिलाको स्वतन्त्रता, उन्मुक्ति र मनोरञ्जनको समवेत पर्व हुन पुगेको देखिन्छ। तीज गहना र सारीको प्रदर्शन गर्ने प्रतिस्पर्धाको नभई विशुद्ध मनोरञ्जनात्मक, नारी स्वतन्त्रता, मुक्ति र सशक्तीकरणको पर्व हो भन्ने सन्देश दिन सक्नुपर्ने देखिन्छ। यसैगरी तीजलाई रातो रङको पर्व बनाउनुको सट्टा सप्तरंगी बनाउन सकियो भने यसले महिलालाई सधवा र विधवाका रूपमा विभाजित गर्ने छैन। आजका जागरुक नेपाली नारी परिवर्तनका पक्षमा त उभिएका छन् तर परम्परालाई पनि त्याग्न सकेका छैनन्। यही वास्तविकता तीजमा पनि देखिएको छ।

प्रकाशित: ११ भाद्र २०७१ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App