जननिर्वाचित संविधान सभाबाट नेपालको संविधान लेख्ने नेपाली सपनालाई सार्थक तुल्याउन अघिल्लो संविधान सभा गठन भएको थियो। तर नेपालका मुख्य राजनीतिक दल र खासगरी तत्कालीन ठूलो दल एकीकृत नेकपा माओवादीको अभीष्ट, दम्भ र गैरजिम्मेवार चरित्रका कारण प्रथम संविधान सभाले निर्धारित समयभित्र आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। जनभावनाअनुरूप चल्न नसकेको नेपालको राजसंस्थाका कारण नेपालका राजनीतिक दलबीच पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी निर्माण भएको थियो। सोही समझदारीअनुरूप नै ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। नयाँ राजनीतिक व्यवस्था स्थापना त भयो तर यसलाई संस्थागत गर्न बाँकी ने थियो। यसका लागि राष्ट्रको संविधान लेख्न बाँकी थियो र यो जिम्मेवारी प्रथम संविधान सभाको थियो। अन्तरिम संविधानअनुसार संविधान सभासँग २ वर्षको समय थियो। इमानदारीपूर्वक काम गर्दा यो निकै लामो समय हो। दलहरुले निर्वाचनपश्चात काम गरेनन् एकप्रकारले आफूसँग प्रशस्त समय रहेकाले तत्काल काम नथाले पनि हुने भन्ने मानसिकतामा दल अल्भि्कए। अन्य विषयमा दलहरुको शक्ति खर्च भयो। सबैभन्दा जिम्मेवार बन्नुपर्ने एमाओवादीले सत्ता कब्जाका अनेक प्रपञ्च रच्दै गयो। २ वर्ष समय बितेको कसैलाई पत्तै भएन। थपिएको २ वर्षसमेत यसैगरी बित्यो। शान्ति प्रक्रियासँग सम्बन्धित अधिकांश कार्य सम्पन्न भए पनि संविधान निर्माणको मूल काम बाँकी रह्यो। अन्ततः पुनः संविधान सभाको निर्वाचन भयो।
नयाँ संविधान सभाको गठनपश्चात् दलहरुले आगामी माघ ८ गतेसम्मको समयतालिका निर्धारण गरेका छन् र तोकिएकै समयमा संविधान जारी गर्ने घोषणा गरेका छन्। यो निकै स्वागतयोग्य पनि छ। तर काम गर्ने शैली र तौरतरिकामा खासै बदलाव देखिँदैन। वर्ष दिनभित्र संविधान जारी गर्ने र तत्पश्चात वर्तमान संविधानमा व्यवस्थापकीय सदस्यहरुको मनोविज्ञान ढुक्कको देखिन्छ। जनताबाट प्राप्त जिम्मेवारीलाई जतिसक्दो चाँडो पूरा गरौं भन्ने मानसिकता र व्यावहारिक तत्परता देखिँदैन। यो भन्दा विडम्बना अर्थोक हुन सक्दैन। स्टिभ जब्सले आजैबाट काम नथालेका भए एप्पललाई यो उचाइमा पुर्याोउन सक्दैनथे। संसारका विकसित मुलुकले समय
खेर जान दिएनन् र आज उन्नतिको शिखरमा छन्। हामी भने समयको महत्व बुझिरहेका छैनौं। हामीसँग मुस्किलले पाँच महिनामात्र बाँकी छ र झण्डै एक महिना त विभिन्न चाडपर्वमै व्यतीत हुनेवाला छ। चार महिनामा सबै काम सिध्याएर संविधान जारी गर्नुपर्ने अवस्था छ। यस्तो समयको पावन्दीलाई हामीले कति ख्याल गरेका छौं त? हाम्रो अगाडिको यथार्थ त्यति उत्साहजनक देखिँदैन। विवादको केन्द्रमा रहेकेा शासकीय स्वरूप र संघीयताको विषय जस्ताको तस्तै छ। हामी नचाहिने विषयमा अझै पनि शक्ति खर्च गरिरहेका छौं। नेपालले प्रत्यक्ष निर्वाचनबाट आउने राष्ट्रपति र प्रधान मन्त्री झेल्न सक्दैन। सिद्धान्तमा लोकतन्त्रवादी भए पनि चरित्र र व्यवहारले हामी अझै लोकतान्त्रिक भइसकेका छैनौं। जनताबाट सोझै निर्वाचित हुने राष्ट्रपति वा प्रधान मन्त्रीले पूर्ण लोकतान्त्रिक ढंगले शासन सञ्चालन गर्ला भन्ने कुनै ग्यारेन्टी छैन। तसर्थ संसदले निर्वाचित हुने राष्ट्रपति वा प्रधान मन्त्री पूर्ण लोकतान्त्रिक ढंगले शासन गर्ने र हटाउने राष्ट्रपति वा प्रधान मन्त्री नै आजको सर्वोत्तम विकल्प हो। यसमा विवाद गरिरहनुको कुनै औचित्य देखिँदैन। यसैगरी संघीयताका विषयमा पनि लामो बहस र विवाद आवश्यक छैन। राष्ट्रले धान्न सक्ने थोरै प्रदेश र ती प्रदेशमा हिमाल, पहाड र तराईको भौगोलिक समायोजन नै वैज्ञानिक र व्यावहारिक हुनेछ। भूगोल बाँडेर मात्र अधिकार सुनिश्चित हुन सक्दैन। जनतालाई राष्ट्रको वास्तविक मालिक बनाउने भनेको अधिकारले सुसज्जित गरेर हो, प्रदेश दिएर होइन। यहाँको जाति, संस्कृति र भूगोलको ऐतिहासिक पहिचानलाई पनि अधिकारले ने स्थापित गर्ने हो। यो विषयलाई दलहरुले गम्भीररूपमा मनन् गर्नुपर्छ र जनतालाई बुझाउनुपर्छ। जनतालाई राष्ट्रहित र जनहितका बारेमा सम्झाउन/बुझाउन नसक्ने राजनीतिज्ञले राष्ट्रिय नेतृत्व गर्न सक्दैन। जनतालाई अलमल्याएर, झुक्याएर, गुमराहमा पारेर नेता हुन खोज्ने व्यक्ति वा राजनीतिज्ञ वास्तविक राजनीतिज्ञ वा वास्तविक राष्ट्रिय नेता हुन सक्दैन।
हामीले आजैबाट काम थाल्नुपर्छ र तोकिएको समयभित्र संविधान जारी गर्नुपर्छ। यसका लागि संविधान सभाभित्रका राजनीतिक दल, तिनका नेता र सभासद्हरु निकै जागरुक हुनु आवश्यक छ। हामीले हाम्रो जिम्मेवारी सम्पादन गर्दै जाँदा नै हाम्रो पनि प्रतिष्ठा बढ्ने हो। संविधान सभा भनेको भृत्यन्त्र होइन अर्थात् यो नोकरशाहीतन्त्र होइन, जसले दुनियालाई अलमल्याएर आफ्नो स्वार्थ पूरा गर्छ। यो त जनताको आस्था र विश्वासको धरोहर हो। साथै संसारभरका लोकतन्त्रवादीहरुको आत्मा हो। जनताको विश्वास बोकेर संविधान सभामा प्रवेश गरेको हरेक सभासद्ले हरेक क्षण जनतालाई सम्झनुपर्छ। आफ्नो जिम्मेवारी हेक्का राख्नुपर्छ। आजैबाट काम थालेर समयमै सम्पन्न गर्ने हो भने नयाँ नेपालको ढोका चाँडै खुल्छ। देश, जनता र नयाँ पुस्ताका लागि यो ढोका चाँडै खुल्नुपर्छ। संसारका सबै सफल राष्ट्रहरुले कुनै काममा कहिल्यै विलम्ब गरेनन्। बेलायत, अमेरिका, भारतलगायत राष्ट्रमा ठूलाठूला राजनीतिक द्वन्द्व भए। तथापि ती सबै द्वन्द्वको समाधान गरेर ती राष्ट्र समृद्धिको बाटोमा अग्रसर भए। नयाँ पुस्ता आशा भरिएको नजरले हामीलाई हेरिरहेको छ। उसले राजनीतिमा पनि स्टिभ जब्स खोजिरहेकेा छ। अब हामी यो खाँचो पूरा गर्ने कि नगर्ने? स्टिभ जब्स हुने या ज्ञानेन्द्र हुने, चयनको सुविधा हामीलाई नै छ। नायक हुने या खलनायक? आजै र अहिलेबाटै यो विषयमा संविधान सभा र राजनीतिक दल दुवै गम्भीर होऊन्, नेपाल र नेपालीले धेरै दुःख नपाऊन्।
प्रकाशित: १० भाद्र २०७१ २१:५२ मंगलबार