रिचार्ड एल हगिज, रोवर्ट सि गिनेट र जोर्डन जे कर्फीले लेखेको ‘लिडरसिप' पुस्तकले नेतृत्वलाई नेता, अनुुयायी र परिस्थिति समावेश हुने कम्प्लेक्स फेनोमेना मानेको छ। यो परिभाषा मोदीलेे नेपाली संसदमा गरेको सम्बोधनका क्रममा ठ्याक्कै प्रयोग भएको छ। किनकि त्यहाँ उनले परिस्थितिको सही मूल्याकंन गर्दै नेपाली अन्तर्मनको आवाज र प्रतीक्षालाई वाणी दिएका छन्। नेपालीजनले अपेक्षा गरेका विविध विषयलाई सम्बोधन गरेका छन्। अझ बढी मोदीले नेपाली राष्ट्रियता र साँस्कृतिक धरोहर र भावनामाथि पटकपटक बुट बजार्ने भारतीय ब्युरोक्र्याट र डिप्लोम्याटको हेपाहा प्रवृत्तिलाई एक हदसम्म निरुत्साहित गरेका छन्। त्यही भएर त नेपाली मिडियामा भंगेरे अक्षरमा छापिएका समाचारहरु भारतीय प्रमुख अखबारले बेवास्ता गरेका। मोदीले ४५ मिनेट लामो भाषणमा पटकपटक बुद्ध नेपालमा जन्मेका हुन् भने। नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भने। भ्रमणकै क्रममा मधेसी दलका नेताहरुलाई पहाड विरोधी राजनीति त्याग्न आग्रह गरे। यो मोदीले पशुपतिनाथमा चढाएको करिब ३ करोड रुपियाँ बराबरको चन्दन, ४० करोडको सहयोग र विकासका निम्ति प्रस्तावित गरेको १० हजार करोड रुपियाँ ऋण सहयोगभन्दा पनि उच्च महत्वको छ। यसले मोदी क्षेत्रीय नेताका रूपमा उदाउने सन्देश दिएको छ। नेपालीहरु उनका फलोअर बनेका छन।
तर केही मिडिया र व्यक्तिले बुद्ध नेपालमा जन्मेको तथ्य भएकाले यसलाई मोदीको अनुमोदन जरुरी नभएको टिप्पणी पनि गरेका छन्। यसैगरी इतिहासदेखि नै स्वतन्त्र र स्वाधीन रहेको नेपाललाई सार्वभौम राष्ट्र भनी मोदीले अनुमोदन गर्नुलाई पनि हास्यास्पद ठानेका छन्। मोदीले मधेसी नेतालाई पहाड विरोधी राजनीति त्याग्न सुुझाएकामा पनि नकारात्मक विचार राख्नेहरु छन्। के मोदीले नेपालको संसदमा उभिएर बुद्ध नेपालमा जन्मिएको र नेपाल राष्ट्रलाइ सार्वभौम भनी अनुमोदन गर्नु आवश्यक थिएन? पक्कै पनि आवश्यक थियो। भारतीय डिप्लोम्याट र ब्युरोक्र्याटहरुले पटकपटक बुद्ध भारतमा जन्मिएका हुन् भन्ने आसयका वक्तव्यहरु भ्ाारतीय र विदेशी मिडियाबाट दिने गरेका छन्। विभिन्न देशका पाठ्यक्रममा समेत बुुद्ध भारतमा जन्मिएका हुन् भनी लेखिएको छ र त्यही पढाइन्छ। सगरमाथा भारतमा पर्छ भनी अफवाह पटकपटक फैलाइएका छन्। जसका कारण नेपालको सांस्कृतिक र जोग्राफिकल इमेज डिस्ट्रक्सन भएको छ। नेपाली सार्वभौमिकता र सा“स्कृतिक धरोहरहरुको इमेज के हो? यो कसरी कन्स्ट्रक्सन र डिस्ट्रक्सन भइरहेको छ? नेपाली राष्ट्रियताको कन्सट्रक्सन र डिस्ट्रक्सन कागजका दस्तावेजबाट मात्र हुने होइन। नेपाली राष्ट्रियता र साँस्कृतिक धरोहर हाम्रो भावना र आत्मसम्मान हो जसमा पटकपटक प्रहार गरिएको छ।
केही वर्षअघि अन्तर्राष्टिय समाचार संस्था बिबिसीले नेपाललाई भारतको एउटा प्रान्त लेखेको थियो। कोरियाका लागि भारतीय राजदूत विष्णुप्रकाशले त्यहाँको लोकप्रिय अंग्रेजी पत्रिका कोरिया टाइम्समा ह्वाइ इन्डिया वर्थ टु भिजिट भन्ने लेखमा सगरमाथा भारतमा पर्छ भनी लेखे। जसको खण्डन मैले सोही पत्रिकामार्फत गरेकी थिएँ। कोरियाकै पाठ्यपुुस्तकमा बुद्ध भारतमा जन्मिएका हुन् भनी लेखिएको छ र त्यहीअनुरूप पढाइन्छ। बुद्ध नेपालमा जन्मेका हुन् भन्न भारतीय अधिकारीहरु सधैँ हिच्किचाउँछन्। मोदीले नेपाली संसदमा जे बोले त्यो ऐतिहासिक दस्तावेज हो। सम्भवत अब भारतीय अधिकारीहरुले बुद्ध भारतमा जन्मेको हो भनी विवादास्पद वा कुटिल विचार व्यक्त गर्ने छैनन्।
मोदीले नेपाल–भारत सम्बन्ध हिमाल र गंगाजस्तै पुरानो भएको बताए। भाषणको अधिकांश समय संविधान निर्माणमा जोड दिएका उनले संविधान देश तोड्नका लागि नभई जोड्नका लागि हुनुपर्ने बताए। संविधान लेख्दा कमा, निशान आदिका कारण पनि विष वृक्ष उम्रन दिन नहुनेतर्फ पनि उनले सचेत गराए। नेपाल भ्रमणका क्रममा उनले सम्बन्धको ऐतिहासिक पाटोमात्र उजागर गरेनन् बरु भारतप्रति नेपालको सन्देहलाई पनि कम गराए। भारत नेपाल विभाजन गर्न चाहन्छ भन्नेहरुलाई उनले मधेसी नेताहरुलाई पहाड विरोधी राजनीति नगर्न दिएको सल्लाहले शान्त बनाएको हुनुपर्छ। यसबाहेक नेपाल–भारत टेलिफोन सेवा महँगो भएको जानकारी राख्ने र त्यसलाई सर्वसुलभ बनाउनुपर्छ भन्ने मोदी जनस्तरमा कति राम्ररी भिजेका छन् भन्ने देखिन्छ। यसैगरी नेपाली नेता मिडिया र प्रशासनलाई अहिलेसम्म कुनै चासो र चेतना नभएको सोइल हेल्पकार्डबारे पनि मोदीले कुरा उठाए।
विश्वमा कमै नेताहरुमा मात्र त्यस्तो जादू र करिश्मा भेटिन्छ जसले हजारौँको मन जित्न सक्छ। विभिन्न व्यक्तिका बीचमा केही त्यस्ता व्यक्ति हुन्छन् जसमा अन्तर्निहीत विभिन्न विशेषताले उसलाई ट्रान्सफर्मेसनल र करिश्म्याटिक नेता बनाउँछ। अफ्रिकाका नेल्सन मन्डेला, अमेरिकाका अब्राहम लिंकन, मार्टिन लुथर किग एशियामा किम दायजुग, महात्मा गान्धी आङ सान सुचीलगायतका नेताहरु करिश्म्याटिक नेता हुन्। नेपालकै बीपी कोइरालाई टक्कर दिने नेता नजन्मिएकै कारण उनी पछिल्लो ६ दशकभर नेपाली राजनीतिको विचारको नेतृत्व गरिरहेका छन्।
नेता वा नेतृत्व जन्मसिद्ध गुण हो भन्ने पुरानो मान्यता हो। अहिले नेता जन्मँदैन बरु आफैँ बन्छ वा बनाइन्छ भन्ने विचार अगाडि छ। चाहे जन्मसिद्धरूपमा विशेष खुबी बोकेर आएको होस् वा पछि अध्ययन अनुुभवबाट निखारिएको, उसमा नेतृत्वका विभिन्न विशेषता अन्तर्निहीत हुनैपर्छ। एक्काइसौँ शताब्दीको नेतामा खोजिने गुण वा विशेषता बीसौं शताब्दीको भन्दा फरक छ। पश्चिमा जगतमा हुने नेताका गुणभन्दा एशियाली नेताहरुमा खोजिने गुण पनि फरक छ। किनकि नेता पनि सामाजिक सांस्कृतिक परिवेशले निर्धारण गरेको हुन्छ। त्यसैले होला मोदी अलि बढी नै धार्मिक देखिए। उनमा हिन्दु धर्मप्रतिको अगाध श्रद्धा छताछुल्ल भयो। कतिले यसलाइ नकारात्मक लिएका छन्। तर के अमेरिका वा युरोपमा धर्मभिरु कम छन्? अमेरिकी राष्ट्रपति बाराक ओवामा क्रिश्चियन धर्मप्रति कम श्रद्धा राख्छन् र? सन् १९६० पछि अमेरिकामा धार्मिकता कसरी रिभाइभ भएको छ भन्ने बुझ्न अमेरिकी समाजशास्त्री फ्रेड ब्लकको आर्टिकल पढे पुग्छ।
मोदीले थाती रहेका अनगिन्ती समस्याबारे छोटो नेपाल भ्रमणमा छलफल गरेनन् भन्ने गुनासो पनि छ। के कुरा बिर्सनुहुँदैन भने कुनै पनि असल नेताले प्रसंशायोग्य कुरामात्रै सार्वजनिक ठाँउमा उठाउँछ। समस्याबारे गोप्यरूपमा छलफल गर्छ। मौदीले तयसै गरे र आफूलाइ फर्वार्ड लुकिङ अर्थात अग्रगामी दृष्टिकोणको नेता भन्ने पनि प्रमाणित गरे।
प्रकाशित: २० श्रावण २०७१ २१:३२ मंगलबार

