४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

नेपाल–श्रीलंका सम्बन्ध

३१ अगस्ट २०२१ देखि दक्षिण एसियाली टापु राष्ट्र श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एअरलाइन्सले काठमाडौं–कोलम्बो हवाई उडान सुरु गरेको छ। यसअघि नेपाल एअरलाइन्सले सन् १९८० को दशकमा सबै सार्क मुलुकका राजधानीलाई काठमाडौंसँग जोड्ने योजनाअनुरूप बोइङ–७२७ विमानबाट काठमाडौं–कोलम्बो उडान सञ्चालन गरेको थियो।

यो नेपाल एअरलाइन्सको स्वर्णकाल थियो। सबै सार्क मुलुकका राजधानीलाई नेपाल एअरलाइन्सको उडानद्वारा जोडेपछि १९८७ को नोभेम्बर २ देखि ४ तारिखसम्म काठमाडौंमा तेस्रो सार्क शिखर सम्मेलन भएको थियो। त्यसपश्चात् हिमालय एअरलाइन्सले पनि केही समय काठमाडौं–कोलम्बो उडान सञ्चालन गरेको थियो, तर त्यो हाल बन्द छ।

१९५७ जुलाई १ मा नेपाल–श्रीलंका कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको छ। नेपालजस्तै श्रीलंका पनि सांस्कृतिक रूपले सम्पन्न र लामो इतिहास बोकेको राष्ट्र हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र श्रीलंका हातेमालो गरेर अघि बढिरहेका छन्। 

नेपालको तीन करोड जनसंख्याभन्दा केही कम अर्थात् दुई करोड ७० लाख १६ हजार जनसंख्या भएको श्रीलंकाको राष्ट्रिय वा राजकीय धर्म बौद्ध हो। यसको संरक्षण र संवद्र्धन गर्नु श्रीलंका सरकारको कर्तव्य हो भनी त्यहाँको संविधानमै उल्लेख गरिएको छ। 

श्रीलंकामा बौद्धधर्मावलम्बीको जनसंख्या ७२ प्रतिशतभन्दा बढी छ। यो नै नेपाल–श्रीलंका सम्बन्धको मुख्य आधार हो। श्रीलंकाली जनता भगवान् बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध श्रद्धा राख्छन्। उनीहरू आफ्नो जीवनमा एकपल्ट लुम्बिनी पुग्ने धोको राख्छन्। नेपाल भ्रमण गर्ने पर्यटकमा शीर्षस्थानमा भारतीय र चिनियाँपछि श्रीलंकाली नागरिक रहेका छन्। 

प्रतिवर्ष लगभग ७५ हजार श्रीलंकाली पर्यटकले लुम्बिनी भ्रमण गर्छन्। सार्क मुलुकहरूमा श्रीलंका माल्दिभ्सपछि दोस्रो सबभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुकमा पर्छ। श्रीलंकाको प्रतिव्यक्ति आय अमेरिकन डलर १३९०९ रहेको छ, जबकि नेपालीको प्रतिव्यक्ति आय मात्र ३४५७ हो। 

श्रीलंकाको प्रमुख आयस्रोत पर्यटन हो। यस्तै प्रमुख निर्यात सामग्रीमा चिया, रबर, कफी, चिनी र अन्य कृषि सामग्री पर्छन्। यसका साथै प्रशोधित खाद्य सामग्री पनि प्रमुख निर्यात सामग्रीमा पर्छ। हालैका दिनमा सांस्कृतिक, धार्मिक समानता र अपनत्वका कारण नेपाली र श्रीलंकाली नागरिकबीच वैवाहिक सम्बन्ध पनि झाँगिदो छ।

यस्तो कोरोना महामारीबीच काठमाडौं–कोलम्बो उडान आफ्नो राष्ट्रिय ध्वजावाहक श्रीलंकन एअरलाइन्सबाट सुरु गरेर मित्रराष्ट्र श्रीलंकाले नेपालप्रति अपनत्व देखाएको छ। सन् १९७९ मा स्थापना भई ५६ देशको एक सय १४ गन्तव्यमा उडान भर्ने श्रीलंकन एअरलाइन्स विश्वको एक प्रमुख एअरलाइन्समा पर्छ। 

यसले गर्दा नेपाल भित्रिने पर्यटकका लागि नयाँ गन्तव्य खुलेको छ भने नेपालीका लागि विदेश जानका लागि एक नयाँ एअर रुट प्राप्त भएको छ। अहिले श्रीलंकन एअरलाइन्सको उडानमा यात्रु भरिभराउ छन्। त्यसैकारण हप्तामा दुई उडानबाट सुरु गरेर हाल चार उडान गरिरहेको छ। 

हालै श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको बधाई सन्देशमा ‘नेपाल श्रीलंकाको सच्चामित्र’ भएको उल्लेख गरेका थिए। यसबाट श्रीलंका वास्तवमै नेपालको सच्चामित्र भएको स्पष्ट हुन्छ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटक तथा तीर्थयात्रीका लागि लक्षित गरी भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ। सबै कुरा ठीकठाक रहेमा यहाँ केही महिनाभित्रै परीक्षण उडान अगाडि बढाइनेछ। तर, उडान सुचारु हुनका लागि भारतले अझसम्म एअररुट नदिएको हुनाले कहिलेदेखि सञ्चालनमा आउँछ, ठ्याक्कै भन्न सक्ने अवस्था छैन। 

किनभने यो विमानस्थल नेपाल–भारत सीमानजिक भएकाले भारतीय वायु क्षेत्रमा प्रवेश नगरीकन अन्तर्राष्ट्रिय उडान अवतरण सम्भव छैन। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तहमा भारतसँग वार्ता गर्न आवश्यक छ। भारतले पनि नेपालको समृद्धिमा बाधक नबनेर सच्चा मित्रता प्रदर्शन गरी आफ्नो छिमेकीलाई सहयोग गर्नुपर्छ। किनभने लुम्बिनीमा आउने पर्यटक तथा तीर्थयात्रीलाई ध्यानमा राखेर होटल, सडक, पूर्वाधार निर्माण आदिमा खर्बौंको लगानी गरिएको छ।

यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै ः श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि। यसमा श्रीलंका र म्यानमार दुई मुलुक मात्रै यस्ता छन्, जसलाई शाक्यमुनि भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको कुरामा कुनै संशय छैन। 

त्यसैकारण यी दुई मुलुकसँग नेपालको गहिरो मित्रवत सम्बन्ध छ। छिमेकी चीन पनि यसबारे स्पष्ट छैन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भलै नेपाल भ्रमणका बेला बुद्ध जन्मेको देश नेपाल भने पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा भगवान् बुद्धको जन्मभूमि भारत हो भन्न कहिले चुक्दैनन्। 

बहुसंख्यक बौद्ध धर्मावलम्बी भएका मुलुक जापान, दक्षिण कोरिया, थाइल्यान्ड आदि विश्वका सम्पन्न मुलुक हुन्, ती देशबाट ठूलो संख्यामा भारतमा बुद्धिस्ट धार्मिक पर्यटक आएर भारतीय अर्थ व्यवस्थामा ठूलो टेवा पुगेको छ। त्यस कारण भारतले बुद्ध जन्मस्थलबारे अन्तर्राष्ट्रिय जगत्मा भ्रम फैलाउने काम गरेको छ। त्यसैकारण उसले लुम्बिनी अन्तर्राष्ट्रिय विमान स्थलका लागि एअर–रुट दिएर आफ्नो मुलुकको आय गुमाउन चाहँदैन। 

यसमा नेपाल सरकारले पनि भारतद्वारा बुद्ध जन्मस्थलबारे अन्तर्राष्ट्रिय जगतमा फैलाइरहेको भ्रमलाई चिर्न आफ्ना कूटनीतिक नियोगको उचित परिचालन गरेको देखिँदैन। राजदूतहरूको काम कूटनीतिक सुख–सुविधा उपयोग गरेर आफ्नो तलबभत्ता पकाउने मात्र होइन, देखिने गरी आफ्नो राष्ट्रको हितमा काम गर्नु हो।

श्रीलंका सरकारले आफ्नो राष्ट्रिय ध्वजावाहक श्रीलंकन एअरलाइन्सको माध्यमबाट नेपाल सरकारसँग जुन सहकार्यको हात बढाएको छ। यसको गम्भीरतालाई बुझेर नेपाल सरकारले श्रीलंकाबाट बढीभन्दा बढी धार्मिक पर्यटक भित्र्याउन र उनीहरूको नेपाल बसाइ कसरी आरामदायक बनाउन सकिन्छ, त्यसमा गम्भीर भई लाग्न ढिलो भइसक्यो। यसका लागि विभिन्न किसिमका प्याकेज ल्याएर यसको सुरुआत गर्नुपर्छ। यसले कोरोनाले थला परेको नेपालको पर्यटन उद्योगलाई उकास्न केही मात्रामा भए पनि सहयोग पुग्नेछ।

यस्तै श्रीलंका सरकारले पनि नेपाल र श्रीलंकाका जनताबीचको सम्बन्ध कसिलो बनाउन नेपाली पर्यटकका लागि किफायती प्याकेज ल्याउनुपर्छ। अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजार छ, जुन दूरीका हिसाबले अत्यन्त महँगो हो। यसको परिमार्जन आवश्यक छ।

प्रकाशित: १२ आश्विन २०७८ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App