१६ चैत्र २०८० शुक्रबार
विचार

विश्व शक्तिमा कहाँ छ रुस ?

दोस्रो विश्व युद्धपछि शीतयुद्धको अवस्थामा सोभियत युनियनअन्तर्गत रुस जुन विकास र प्रगति हात पार्न सफल बन्यो, त्यो रुसको इतिहासमा स्वर्णकाल थियो। रुसले सोभियत संघ मातहत रहेर गरेको खोज अनुसन्धान तथा विकास र प्रगतिकै कारण दोस्रो युद्धपछि विश्व मानचित्रमा सोभियत संघ ‘महाशक्ति’ का रूपमा उदाएको थियो। 

त्यतिबेला विश्व शक्तिका रूपमा सोभियत संघले एउटा छुट्टै ध्रुव विकास गर्न सफल भएको थियो। दोस्रो विश्व युद्धपछि एउटा ध्रुवको नेतृत्व सोभियत संघ र अर्काेको नेतृत्व अमेरिकाले गरेको थियो। सन १९४५ पछि सोभियत संघ विघटन अर्थात १९८९ सम्म विश्वको राजनीतिक व्यवस्थामा सोभियत संघले दबदबा बनाइराखेको थियो।  

त्यसबीचमा अमेरिका र सोभियत संघ विचारका हिसाबले मात्र नभएर सैन्य शक्तिका हिसाबले पनि आमनेसामने रहे। जसको नतिजा सन् १९४९ मा अमेरिकी नेतृत्वमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) र सन १९५५ मा सोभियत संघका तर्फबाट वार्सा प्याक्ट गठन गरियो। त्यो अवधि सोभियत संघअन्तर्गतको रुसका लागि शस्त्र अस्त्र, विज्ञान प्रविधि, वैज्ञानिक आविष्कार र विकास निर्माणका हिसाबले पनि स्वर्ण काल मानिन्छ। तर जब सन् १९९० मा सोभियत संघ विघटन भयो, त्यससँगै छुट्टै ध्रुवको नेतृत्व गरेको रुसको शक्ति स्वाभाविकरूपले कमजोर भयो। तथापि रुसले विश्व राजनीतिमा आफ्नो उपस्थिति सशक्त बनाउन प्रयास जारी राख्यो।  

कुनैबेलाको महाशक्ति रुस आज कहाँ छ ? यो धेरैको चासोको विषय हो। भ्लादिमिर पुटिनको नेतृत्वमा अघि बढिरहेको रुस पछिल्लो समय मौन हिसाबले अघि बढिरहेको देखिन्छ। कतिपयले यसलाई रुस कमजोर भएका रूपमा पनि अथ्र्याउने गरेका छन्। तर विभिन्न तथ्य विश्लेषण गर्दा रुस कमजोर भएको भन्ने भाष्य पुष्टि गर्दैन। बरु रुसले शालीन ढंगले विश्व राजनीतिमा आफ्नो उपस्थिति र प्रभाव बलियो बनाउँदै गएको देखिन्छ।  

अहिले पनि रुस संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्यको एक हो। विश्व शक्ति भनिएको अमेरिका करिब दुई दशक लामो अफगान युद्धबाट निराशाजनक ढंगले फर्किएको छ। विश्व राजनीतिमा आक्रामक उपस्थितिका माध्यमबाट प्रभाव विस्तार गरिरहेको अमेरिकाले हालैमात्र अरूको मुलुक बनाउन अमेरिकी सेना खटिने युग अन्त भएको घोषणा गरेको छ।

यसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले अमेरिकाको शक्ति खुम्चँदै गइरहेको रूपमा समेत विश्लेषण गर्न थालेका छन्। जबकि सोभियत युनियन विघटनपछि कमजोर बनेको रुसले आफ्नो प्रभाव बढाउँदै गएको देखिन्छ। एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकहरूमा रुसको बलियो उपस्थितिले त्यसलाई पुष्टि गर्छ। विश्व राजनीतिमा रुसको बलियो उपस्थितिमात्र छैन, आज पनि रुस विश्वमा हतियार निर्यातकर्ता प्रमुख मुलुकमध्यको एक हो।  

युरोपेली मुलुकहरूमा आपूर्ति हुने ठूलो परिणामको जैविक इन्धन रुसबाटै निर्यात हुने गर्छ। रुस विश्वको सबै भन्दा ठूलो मुलुकमात्र नभएर सबै भन्दा ठूलो तेल उत्पादक मुलुक पनि हो। जसले गर्दा उसले आफ्नो अर्थतन्त्रलाई बलियो बनाइराख्न सफल बनिरहेको छ। सन् २०२१ को तथ्यांकअनुसार जिडिपीका हिसाबले सबै भन्दा ठूलो अर्थतन्त्रमध्ये रुस मुख्य १२ औँ स्थानमा छ।  

वर्तमान राष्ट्रपति पुटिन जब सन् १९९९ मा शक्तिमा आए, उनले रुसमा बोरिस यल्तसिनको नेतृत्वमा रहेको अराजकता अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए। यल्तसिन सोभियत संघको विघटन भएपछि बनेको रुसको पहिलो राष्ट्रपति हुन् जसले सन् १९९१ देखि १९९९ सम्म राष्ट्रपतिका रूपमा काम गरे। पुटिन नेतृत्वमा आएपछिको दुई दशकमा रसियन नागरिकको जीवनशैलीमा धेरै सुधार आएको छ। विगतमा रुसमा गरिबी चुनौतीका रूपमा देखिएको थियो।  

विश्वमा सैन्य शक्तिका हिसाबले पनि रुसले आफूलाई सशक्त बनाउँदै लगेको छ। सन् २००८ मा जर्जियासँग भएको युद्धपछि रुसले आफ्ना कमजोरी सुधार गर्दै व्यावसायिक र आधुनिक सेना निर्माणमा जोड दिएको छ। अहिले रुसले आफ्ना पुराना सैन्य उपकरण पूर्णरूपमा विस्थापित गर्दै आधुनिकीकरण गरिसकेको छ। 

रुससँग अहिले पनि अमेरिकासँग भन्दा धेरै परमाणु हतियार छन्। शस्त्रअस्त्रसम्बन्धी अध्ययन/अनुसन्धान गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्सिच्युटको सन् २०२१ तथ्यांकअनुसार विश्वभर अनुमानित १३ हजार ८० परमाणु हतियार रहेकामा सबै भन्दा धेरै अर्थात रुससँग मात्र ६ हजार २ सय ५५ त्यस्ता हतियार छन्। जसमध्ये १ हजार ६ सय २५ परमाणु हतियार तयारी अवस्थामा छन्। जबकि विश्व शक्ति भनिएको अमेरिकासँग ५ हजार ५ सय ५० परमाणु हतियार रहेको तथ्यांकमा उल्लेख छ।  

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुस पक्षले प्रभाव पार्छ भन्ने त्रास अमेरिकी राजनीतिज्ञमा देखिन्छ। सन् २०१६ को अमेरिकी राष्ट्रपति निवार्चनपछि यस्तो भाष्य सिर्जना भएको छ। भलै रुसले अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।  

रुसले आन्तरिक तथा बाह्य सुरक्षामा महत्वपूर्ण मानिने गुप्तचर निकायलाई निकै सशक्त बनाइरहेको छ। विश्वका प्रमुख १० शक्तिशाली गुप्तचर संस्थामा रुसको फेड्रल सेक्युरिटी सर्भिस पनि पर्छ। सोभियत युनियनको विघटनपछि त्यसको प्रभाव नपरेको एउटा निकाय रुसको गुप्तचर संस्था हो। वर्तमान राष्ट्रपति पुटिन आफँै पनि गुप्तचर निकायका पूर्व अधिकारी हुन्। त्यसैले रुसले विश्व परिस्थितिको मूल्यांकन गर्दै आफ्नो गुप्तचर निकायलाई समायानुकूल परिमार्जन तथा परिष्कृत गर्दै आएको छ। अहिले पनि रुसको गुप्तचर विभाग सोभियत संघ हुँदाकै जस्तो शक्तिशाली अवस्थामा रहेको बताइन्छ।  

रुसले पछिल्लो समय विज्ञान र प्रविधि तथा खोज र नवप्रवद्र्धनका क्षेत्रमा पनि निकै ठूलो फड्को मारेको छ। अन्तरिक्ष प्रविधि, उड्डयन, सैन्य उपकरण, कम्युटर उपकरण, रसायन विज्ञान, जीव विज्ञानलगायतका क्षेत्रमा पहिलोदेखि नै उल्लेख्य अनुसन्धान तथा विकास गर्दै आएको रुसले पछिल्लो समय सूचना प्रविधि, कृतिम बौद्धिकता तथा साइबर सुरक्षाका क्षेत्रमा महत्वपूर्ण विकास गर्दै गएको छ। रुसी सरकारी तथ्यांकअनुसार हाल अनुसन्धान तथा विकासका क्षेत्रमा काम गर्ने करिब ४ हजार संघ÷संस्था मातहत १० लाख भन्दा बढी जनशक्ति अनुसन्धान र खोजमा लागिरहेका छन्।  

सिआइए वल्र्ड प्याक्टबुकलाई आधार मान्ने हो भने साक्षरताका हिसाबले रुस अमेरिका भन्दा अघि छ। सन १९१७ मा त्यहाँको बोल्सेविक पार्टीले सत्ता कब्जा गरेसँगै रुसमा साक्षरता अभियान सुरु गरिएको थियो। रुसले पठन संस्कृतिलाई प्रोत्साहन गर्न मेट्रो रेलहरूमा समेत भर्चुअल लाइबे्ररी स्थापना गरेको छ।  

विश्व कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला रुस पनि यसबाट अछूतो रहेन तर रुसले कोरोनाविरुद्धको लडाइँमा आफूलाई अब्बल राख्ने प्रयास ग¥यो। झण्डै साढे १४ करोड जनसंख्या भएको रुसले ३० प्रतिशतलाई कम्तीमा १ डोज र २५ प्रतिशत जनसंख्यालाई पूर्ण डोज खोप उपलब्ध गराएको छ।  

रुस कोरोनाविरुद्धको खोप उत्पादक र निर्यातकर्ता मुलुकका रूपमा पनि बलियो बनेको छ। रुसले कोरोनाविरुद्धको खोपलाई कूटनीतिका रूपमा प्रयोग गर्दै आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनेतर्फ पनि प्रयास गरिरहेको छ। यसरी रुसले विभिन्न क्षेत्रमा गरिरहेको विकास र प्रगतिको अवस्था मूल्यांकन तथा विश्लेषण गर्दा अहिले पनि रुस शक्तिशाली विश्व शक्तिका रूपमा देखिन्छ। र, शक्ति आर्जनका क्षेत्रमा थप प्रगति गरिरहेको देख्न सकिन्छ। 

प्रकाशित: २२ भाद्र २०७८ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App