६ आश्विन २०७८ बुधबार
विचार

माधव नेपालका १० स्वमार्गीहरू

बाइरोडको बाटोमा

कुनै बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग भीमबहादुर रावलले किन आफ्नो चर्को विरोध गरेका हुन् भन्ने जिज्ञासा राखेका थिए। नेपालले आफ्नो उही सुपरिचित लवजमा जवाफ दिएका थिए, ‘तपाईंले भेट नदिएर होला। बोलाएर भेट्नुस्।’

ओलीसँग विवाद परिरहेका बेला पनि नेपालले यस्तो सल्लाह दिएका थिए। त्यस्तो नहुँदो हो त अरू नै केही भनेर टार्न सक्थे। नेपालको त्यो सुझाव ओलीले ग्रहण गरे। ओली-नेपाल विवादको उत्कर्षकै बेला रावललाई ओलीले दिएको आश्वासनले उनीसँगको सम्बन्ध मात्र सुध्रिएन, आफूमै समाहित हुने स्थितिमा पु¥याए। ओलीलाई पनि थाहा थियो– किन उनीहरू उनको विरोध गरिरहन्छन् !  

खासमा ओली र नेपालबीचको सम्बन्ध अहिलेजस्तो तीक्ततापूर्ण पहिले कहिल्यै थिएन। हिजो नेपाल पार्टी सत्तामा हुँदा पनि ओलीले राज्यका अनेकन् क्षेत्रमा प्रतिनिधित्व गर्ने मौका पाएका थिए। महाकाली सन्धि गर्ने बेला ओली र नेपालको सहयात्रा थियो। पार्टी विभाजन गरी वामदेव गौतम र सिपी मैनालीले नेकपा (माले) बनाउँदा पनि यी दुईले आपसमा मिलेर स्थितिलाई आफ्नो पक्षमा पारेका थिए। सिद्धान्तकै हिसाबले यी दुईमा कुनै भिन्नता थिएन।  

अहिले आएर नेपाल एमालेमा बस्नै नसक्ने स्थिति आयो। उनी नयाँ दल नेकपा (एकीकृत समाजवादी) निर्माण गर्ने स्थितिमा पुगे। नेपालको अहिलेसम्मको गन्तव्यमा रावल लगायत १० ‘मध्यममार्गी’ भनिएका उनैतिरका नेता थिए। खासमा यिनी मध्यमार्गी होइन ‘स्वमार्गी’ हुन्। यिनीहरू न ओली मार्गका हुन्, न हुन् नेपालकै।  

ओलीसँग समाहित हुन जानुअघिसम्म यी स्वमार्गीले नेपाललाई आजै पार्टी बनाऔँ, अहिल्यै बनाऔँ भनेर निरन्तर ताकेता गरेको धेरैलाई थाहा छ। यो कुरा नेपाल स्वयंले पार्टीको आन्तरिक छलफलमा बताएका छन्। एमालेमा बस्न सकिँदैन भन्दै नयाँ पार्टीका निम्ति बढ्ता जोड लगाउने रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्यजस्ता नेता थिए। रावललाई ओलीले कार्यवाहक अध्यक्ष बनाइदिने आश्वासन दिएसँगै नेपाललाई छाड्ने स्थितिमा पुगेका हुन्। नयाँ दल बनाउन निरन्तर दबाब दिने शाक्य र आचार्यले क्रमशः वाग्मती र प्रदेश १ को मुख्यमन्त्री बनिसकेका छन्। यी दुईले पहिले गरेका भाषण र अभिव्यक्ति के थिए, लोकलाई थाहा छ।  

ओलीसँग नेपालको हिजोको झगडाको एउटा कारण शाक्य र आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्ने थियो। ओलीले नेपालको यो आग्रह कहिल्यै स्वीकार गरेनन्। अहिले आएर उनले निकै सहज ढंगले यी पदको पुरस्कारबाट यी दुवैलाई अनुगृहित तुल्याएका छन्। वास्तवमा यी स्वमार्गी सिद्धान्त होइन, पदका निम्ति लागिरहेका छन् भन्ने ओलीले राम्रोसँग बुझेका रहेछन्।  

नेपाल त पार्टी महाधिवेशनमा ओलीबाट ४४ मतको अन्तरले पराजित भएपछि चुपचाप बसेकै हुन्। उनले दलको बैठकमा चित्त नबुझ्दा त्यसमा ‘असहमतिका बुँदा’ (नोट अफ डिसेन्ट) समेत लेखेका छन्। ओलीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँग एकीकरण गर्दा पनि नेपाल चुप लागेरै बसे। त्यो बेला पनि पार्टीभित्र नेपालको अवस्था खस्किएको थिएन। बेलाबेला चित्त नबुझ्दा दुईजनाले ‘चोचोमोचो मिलाएर मात्र हुँदैन’ भन्दै आपत्ति प्रकट गरेको पनि देखिएकै हो। दलभित्रको सहयात्रालाई सहज बनाउन चाहेका भए ओलीले नेपालसँग यथोचित परामर्श गर्दै अगाडि बढ्न सकिने स्थिति नभएको होइन।  

अहिले आएर प्रस्ट भएको छ– ओली र स्वमार्गी नेताको उद्देश्य नेपाललाई पार्टीबाट हटाउनु थियो। होइन भने तिनले हिजो दलभित्र उरालेको आवाजको सुनुवाइ कहाँनेर भएको छ ? स्थितिमा कहाँ सुधार आएपछि उनीहरू नेपाललाई छाडेर हिँडे ? ओलीले दुई दुईपटक प्रतिनिधिसभा विघटन गरी चालेको असंवैधानिक कदम कसरी सच्चियो ? ओलीले कुन कुरामा आत्मालोचना गरेका छन् ? यिनलाई ठूलो घरमा बसिरहँदा प्राप्त हुने सुविधा सबैभन्दा प्यारो भएको हो, सिद्धान्त वा आफूले हिजो व्यक्त गरेका कुरामा होइन।  

अहिले आएर प्रस्ट भएको छ– ओली र स्वमार्गी नेताको उद्देश्य नेपाललाई पार्टीबाट हटाउनु थियो। होइन भने तिनले हिजो दलभित्र उरालेको आवाजको सुनुवाइ कहाँनेर भएको छ ? स्थितिमा कहाँ सुधार आएपछि उनीहरू नेपाललाई छाडेर हिँडे ? ओलीले दुई दुईपटक प्रतिनिधिसभा विघटन गरी चालेको असंवैधानिक कदम कसरी सच्चियो ?

दुनियाँमा वार्ता गर्न गएका दूतहरू त्यतै गएर बसेको देखिँदैन। रावल लगायत नेपाल पक्षीय स्वमार्गी नेता नेपाललाई देखाएर सधैँ सुविधामा थिए र अहिले फेरि पार्टीमा बसेर आफूलाई एकताका महान् सूत्रधारका रूपमा उभ्याएका छन्। यो तिनको नक्कली स्वरूप हो भन्ने जगतलाई थाहा छ, तैपनि तिनले आफूलाई महान् क्रान्तिकारीका रूपमा उभ्याउनेछन्।  

ओली र नेपालबीच हार्दिकता नहुनाको मुख्य कारण यिनीहरू नै थिए। तिनकै पद र जिम्मेवारीका निम्ति नेपालले निरन्तर लड्नुपथ्र्यो। पद र जिम्मेवारी नपाउँदा ती ओलीलाई सत्तोसराप गर्थे। खासमा माधव नेपाललाई देखाएर उनीहरूले आफ्नो राजनीति सुनिश्चित गरेका रहेछन् भन्ने पुष्टि भएको छ। घनश्याम भुसाल हुन् वा योगेश भट्टराई, तिनलाई जसरी पनि मन्त्री बनाउन नेपालले जहिल्यै लड्नुपरेको जगत्ले देखेको छ। तिनलाई जिम्मेवारीमा पुर्‍याउन नेपाल जहिल्यै चाहिएकै हो। अन्तिम घडीमा नेपाललाई छाडेर तिनले सर्लक्क आफ्नो स्वार्थी अनुहार देखाएका छन्।  

हिजोसम्म अमृत बोहराजस्ता सालीन नेता ओलीका निम्ति कहिल्यै आवश्यक थिएनन्। रघुजी पन्तलाई नेपालले जहिल्यै पार्टी कमिटीमा राख्न सिफारिस गर्दा सर्लक्कसँग उनको नाम ओलीले काट्थे। त्यो देखेर नेपाल मनमनै कुँढिन्थे। गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउन नेपालले नै जोड गर्नुपरेको हो। तर, पार्टी मिलाउन हिँडेका महान् क्रान्तिकारीहरूले ओलीको छेउमा उभिएर रुन्चे हाँसो हाँस्दै खिचेको तस्बिरले यिनको असली राजनीति प्रकट गरिसकेको छ।  

नेपालले कस्ता सेना लिएर ओलीसँग युद्ध लडेका रहेछन्, यसपटक देखिएको छ। कहाँ ओलीका सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेलजस्ता जर्नेल, कहाँ नेपालका ती भगौडा सैनिक। ओलीका जर्नेलहरू जस्तोसुकै भ्वाङ पर्दा पनि रफ्फु भरिरहन तयार रहे। नेपालका ती सिपाही फाइदा हुन्जेल उनीसँग बसे र अन्तिममा पार्टीबाट निकालिने बेला भएपछि नेपाललाई छाडेर हिँडे। नेपाली राजनीतिको यो चरित्र वर्षौं वर्ष सम्झनामा रहिरहनेछ। योबीच नेपालले जस्तो मानसिक तनाव सहे, त्यो तिनकै निम्ति थियो। नेपाललाई आफ्नै निम्ति मात्र भए त ओली बालुवाटारमा कहिले केक खुवाउन, कहिले सारंगी बजाउन तत्पर भएकै हुन्।  

राजनीतिमा यति साह्रो बेइमानी पनि गर्नु हुँदैन, कसैबाट फाइदा लिनसम्म लिएर अप्ठेरो बेला चटक्क छाडेर हिँड्नुजस्तो स्वार्थीपन के हुन्छ र ? यस्तो स्वार्थी समूहलाई लिएर ओली पक्कै पनि अगाडि बढ्दैनन्। उनलाई थाहा छ, अहिले नेपालको पार्टी बन्ने बेलासम्म मात्र तिनको उपयोग हो। खासमा यो समूहले आफ्नो स्वार्थी अनुहार देखाइसकेको छ र यिनीबाट भविष्यसम्म राजनीति चल्दैन। यिनले विश्वास गुमाइसकेका छन्। नेपाललाई पक्कै पनि यतिबेला लाग्दो हो– मैले कस्ता मानिसलाई साथमा लिएर ओलीसँग लड्दै रहेछु !  

ओलीका खास मानिस कहिल्यै उनलाई छाडेर हिँडेका छैनन्। नेपाललाई सधैँ उचाल्ने अनि अन्तिम घडीमा पछारेर हिँड्नेको लामो सूची बन्छ। नेपालले आफ्नो साथमा राखेर टाठाबाठा बनाएका, पदप्रतिष्ठा र सुविधा पाएका यी नेता एउटा वृद्ध उमेर पुगिसकेको व्यक्तिलाई चटक्क छाडेर हिँडेको देखेपछि हिजो तिनले उठाएका अलपत्र मुद्दा आफैँ खित्का छाडेर हाँसिरहेका छन्। 

ओलीलाई तिनले हिजो लगाएका आरोप के मिथ्या थिए ? यस हिसाबमा यिनले आफ्नो राजनीतिक अनुहार गुमाएका छन्। यिनीहरूलाई अविश्वसनीय विदुषकका रूपमा नेपाली राजनीतिले लामो समयसम्म चिनिरहनेछ।  वास्तवमा अन्तिम घडीमा नेपाललाई नयाँ दल बनाउन चाहिने आफ्ना केन्द्रीय सदस्य र सांसद जोगाउन समेत हम्मे पर्‍यो। उनका यिनै नेताले तिनलाई तानेर ओलीको पाउमा चढाउन लागेपछि उनीहरू चन्द्रागिरीमा बास बस्न पुगेका थिए।  

चन्द्रागिरीबाट अगाडि बढेको बसभित्र केही छिनमै जन्मिन लागेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बसिरहेका थिए। स्थिति धेरै धर्मर थियो। त्यहाँ पनि केहीका खुट्टा लुला भइसकेको उनले महसुस गरेका थिए। बीचैमा कसैले आक्रमण गरेर कसैलाई लगिहाल्यो भने पनि एउटा अभियान रोकिनेछ भन्ने चिन्तामा उनी थिए। बहादुरभवनस्थित निर्वाचन आयोगको प्रवेशद्वारबाट भित्र पसेपछि नेपालले ढुक्कको लामो श्वास ताने। एकपछि अर्को प्रहारबाट अन्त्य हुनै लागेको आफ्नो राजनीतिक यात्राको थालनीका निम्ति उनी बेचैन थिए।  

पछिल्ला दुई दिन उनका निम्ति निकै कष्टपूर्ण रहे। त्यही भएर आयोगमा सनाखतका निम्ति जानुअघि उनीहरू चन्द्रगिरी हिल रिसोर्टमा बास बस्न पुगेका थिए। त्योअघिसम्म राजनीतिक सहयात्रीबाट प्रतिद्वन्द्वी बनिसकेका खड्गप्रसाद शर्मा ओलीबाट मात्र नेपाललाई चुनौती थियो। अहिले त आफैँले जिन्दगीभरि साथ र सहयोग दिएर अगाडि बढाएका स्वमार्गीको भय थियो। त्यही भयले मात्र उनी भित्रभित्रै पिरिएका थिए। नयाँ दल बनाउनुपर्ने स्थिति आउँदासम्म नेपालले आफ्ना यी नेतालाई भन्ने गरेका थिए–तपाईंहरूलाई जहाँ सजिलो हुन्छ, त्यहीँ लागे हुन्छ। उनीहरू आफू ओलीतिर लाग्ने मात्र होइन, नेपालको राजनीतिक भविष्य नै डुबाइदिन लागेपछि चन्द्रागिरीका दुई रात उनले अत्यन्तै सकसपूर्ण ढंगले बिताउनुपरेको थियो।  

नेपाल त्यतिबेला केही धर्मराएजस्ता देखिए, जतिबेला उनले सधैँ अगाडि बढाएका ‘दोस्रो र तेस्रो पुस्ताका नेता’ पार्टी एकताका नाममा ओलीसँगै उभिएर फोटो खिचाउन पुगे। नेपाललाई छाडेर हिँडेका १० जना हुन्, जसले उनलाई निरन्तर अर्कै दल बनाएर जानुपर्छ भन्ने गर्थे। उनीहरू ओलीविरुद्ध आगो ओकल्थे। आफूलाई नवक्रान्तिको प्रवद्र्धककै रूपमा तिनले आफूलाई उभ्याएका थिए।  कठै, नेपालले त्यस्ता मानिसलाई साथ लिएर हिँडेका रहेछन्, जसले अति कठिन घडीमा छाडेर हिँडे। ‘बरु गाँस छाड्नू साथ नछाड्नू’ भन्ने हाम्रो प्रचलित मान्यता बदलिएको छ। अब भन्ने गर्नुपर्छ– ‘गाँस जसरी पनि लिनू साथ भन्ने कुरा फेरिँदै गर्छ।’

प्रकाशित: १३ भाद्र २०७८ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App