१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
विचार

संसदीय सर्वोच्चता र न्याय परिषद्को निर्णय

न्याय परिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको आठ जनालाई संसदले झिकाउने भएको छ।यसअघिको व्यवहार हेर्दा संसदीय सुनुवाई अभ्यास औपचारिकतामा सीमित थियो जसले स्वतन्त्र न्यायपालिका र न्यायिक स्वतन्त्रताको प्रत्याभूति दिन्थ्यो। न्याय परिषद्को निर्णयमा गम्भीर ध्यानाकर्षण भएकाले विगतको अभ्यासमा कटौती भएको भन्न सकिन्छ। यो स्वतन्त्र न्यायपालिकाका लागि सुखद् अवस्था होइन। संसद्लगायत हरेक शक्तिले न्याय परिषद् र अदालतको निर्णयलाई अन्तिम मान्दै आएको अवस्थामा न्याय परिषद्को निर्णयमा संसदको ग्ाम्भीर ध्यानाकर्षण हुनुले निश्चितरूपमा न्यायिक स्वतन्त्रतामा कमी ल्याउनेछ। यो दुःखद् त हँुदै हो सबैभन्दा चिन्ताजनक कुरा त के छ भने यस्तो अवस्था न्यायालयसँग सम्बन्धित निकाय र व्यक्तिहरुकै कमजोरीले आएको छ। न्याय परिषद्का सदस्यहरु आफनै निर्णयमा सर्वसम्मत हुन नसक्नु, नेपाल बार एसोसिएसन र अदालत सम्बद्ध कर्मचारीले पनि निर्णय सच्याउन दबाब दिनु आदिले न्यायपालिकाको आफ्नै शक्ति एकजुट छैन र सर्वस्वीकार्य निर्णायक क्षमता अभाव छ भन्ने पुष्टि हुन्छ। यसर्थ न्यायपालिकासँग सम्बद्ध निकायका हालका नेतृत्वको सक्षमतामा प्रश्न उत्पन्न गरेको छ। न्याय परिषद्को निर्णय हुनेबित्तिकै केही न्यायाधीशले असन्तुष्टि जनाई राजीनामा दिने गरेका छन्। परिषद्बाट पटकपटक तय गरिने मापदण्डमा पनि असन्तुष्टि जनाइएका छन्। यसअघि जिल्ला, पुनरावेदनको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाई अवधारणापत्र मागिएको थियो भने उमेदवारहरुको अन्तर्वार्ता पनि लिइएको थियो तर पछि नियुक्ति गर्दा राजनीतिक दलहरुको भागबन्डाअनुसार नियुक्त गरेको सामाचार आए। तर त्यसको उचित प्रतिक्रिया पनि परिषद्बाट आएन। परिषद् चुस्त र दुरुस्त रहँदारहँदै सर्वोच्च अदालत जस्ता जनताको अन्तिम आस्थाको केन्द्रका रूपमा रहेको निकाय दुई दुई पटक न्यायाधीश अभावको असह्य पीडा सहन बाध्य भयो। राज्यले लगानी गरी उत्पादन गरेको केही दर्जन दक्ष न्यायमूर्तिले अवकाश पाए। यो सबै न्याय परिषद्ले समयमै निर्णय लिन नसकेकाले नै भएको हो। यसर्थ ती नेतृत्वले आफ्नो निर्णायक क्षमताको समीक्षा गर्न जरुरी छ भने त्यस्ता नेतृत्वको क्षमता र दक्षताको पनि मूल्यांकन गर्ने बेला आएको भन्न सकिन्छ। न्याय सम्बद्ध शक्तिहरु यसरी विभाजित रहने अवस्था रहिरह्यो भने स्वतन्त्र न्यायपालिकाको भविष्य सुरक्षित छैन। 
संसदीय सर्वोच्चताको अवधारणा भनेको संसदलाई कार्यपालिका र न्यायपालिकाको तुलनामा विशेष शक्ति प्रदान गरेको विशेषाधिकार हो। एभी डायसीका अनुसार जुनसुकै विषयमा कानुन बनाउने वा नबनाउने भन्ने पूर्ण अधिकार हुनुका साथै संसद निर्मित कानुनलाई कसैले चुनौती दिन सक्दैन। विश्वमा संसदीय सर्वोच्चता भएका मुलुकका रूपमा बेलायत, फिनल्यान्ड र न्युजिल्यान्ड छन्। बेलायतमा महिलालाई पुरुष तथा पुरुषलाई महिला बनाउनुबाहेक सबै कार्य संसदले गर्ने मान्यता नै छ भने फिनल्यान्डमा राष्ट्रपतिको भिटोलाई अस्वीकार गर्ने, संविधान संशोधन वा बदल्न सक्ने अधिकार छ। उता न्युजिल्यान्डमा संसद निर्मित कानुनलाई कसैले चुनौती दिन नसक्ने अवस्था छ। यद्यपि नेपालमा संसदले बनाएको कानुन पनि अदालतले अमान्य घोषित गर्ने गरेको छ भने कानुन बनाउन आदेश पनि दिन्ो गरेको छ। संसद विघटनसम्बन्धी संसदको निर्णयलाई पनि अदालतले नै अन्तिम फैसला गरेको दृष्टान्त छ भने संविधान सभा जस्तो सर्वोच्च निकायको कार्यकाललगायतको सन्दर्भमा पनि अदालतले गरेको निर्णय नै अन्तिम हुने गरेको छ। 
राजाको शाही आयोग खारेज गर्ने निर्णयले पनि न्यायिक सर्वोच्चता स्थापित थियो। मुलुकले संवैधानिकरूपले संसदीय सर्वोच्चता अंगाले पनि व्यावहारिकरूपमा न्यायिक सर्वोच्चता नै स्थापित हुँदै आएको थियो जुन यतिखेर संकटग्रस्त छ। न्यायालयसँग सम्बद्ध नेतृत्वको गम्भीर त्रुटिले यस्तो भएको हो। न्यायाधीशको नियुक्ति गर्ने एकमात्र संयन्त्र न्याय परिषद्मा कार्यपालिकाकै बहुमत छ। सक्षम शब्द पनि प्रस्तावनामा राखिएको छैन। न्यायालय बजेट, सुरक्षा तथा फैसला कार्यान्वयनलगायतको महत्वपूर्ण कामका लागि सरकारमा आश्रित छ। तथापि यसको सुधारका लागि न बारको सक्रिय भूमिका देखिएको छ न त परिषद्को, न अदालत नेतृत्वकै। न्याय परिषद्बाट हुन्छ भने संसदीय सुनुवाई पनि हुन्छ। सर्वोच्च अदालतले राष्ट्रपतिसमक्ष प्रतिवेदन पनि बुझाउनुपर्छ भने न्यायालयले न आफ्नो बजेट तय गर्ने अधिकार छ न त फैसला कार्यान्वयन नै गर्ने। अदालतले गरेको फैसला कार्यान्वयन गर्ने कि सजाय माफी, मुल्तवी वा परिवर्तन गर्ने अधिकार कार्यापालिकामा छ। सुरक्षा जस्ता संवेदनशील र आवश्यक कार्य पनि कार्यपालिकामै निर्भर छ। यसले न्यायिक सर्वोच्चताको पूर्ण प्रत्याभूति गर्दैन। 
न्यायिक सर्वोच्चताले स्वतन्त्र न्यायपालिका, कानुनको शासन र समान कानुनी संरक्षणलाई जोड दिएको हुन्छ। मुख्य विशिष्टता न्यायिक पुनरावलोकन हो जसको माध्यमबाट कार्यपालिकीय काम/कारबाहीदेखि विधायिकी निर्मित कानुनलगायत न्याय र स्थापित सिद्धान्त अनुकूल छ/छैन जाँच्ने अधिकार राख्छ। र, विपरित देखिए अवैध घोषणा पनि गर्न सक्छ। यसका अतिरिक्त कानुनको अभाव देखिएमा कानुन निर्माण गर्न व्यवस्थापिकालाई सिफरिस गर्नुका साथै निर्मित कानुन कार्यान्वयन गर्न कार्यपालिकालाई निर्देशनसमेत दिन सक्छ। यो विशुद्ध अमेरिकी अवधारणा मानिन्छ। सन् १८०० अघि यस्तो अधिकार कुनै मुलुकमा थिएन। संवैधानिक सर्वोच्चता भनेको नागरिकको हक अधिकार संरक्षण, शासन शक्तिको बाँडफाँट, सन्तुलन र नियन्त्रणलाई संवैधानिक प्रावधानबाटै नियन्त्रित गरिएको हुन्छ। राज्यका तीनवटै अंगले समान महत्व पाएका हुन्छन्। संविधानको खास कुरालाई अपरिवर्तनीय बनाइन्छ। जस्तैे जर्मनीको संविधानमा समाजवादी गणतन्त्र हटाउन वा परिवर्तन गर्न नपाइने छ भने नेपालको २०४७ को संविधानमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई असंशोधनीय भनिएको थियो। संविधानको व्याख्या पूर्णरूपले पालना गराउन हेतु शक्तिशाली संवैधानिक अदालत व्यवस्था हुनुपर्छ। दक्षिण अफ्रिकी संविधानले संवैधानिक सर्वोच्चताको सिद्धान्त बोकेको छ। संसद र राज्य विधान सभाबाट निर्मित कानुन संवैधानिकता जाँचको माग संवैधानिक अदालतमा गर्न सक्ने प्रावधान हुन्छ। वर्तमान संविधानमा असंशोधनीय प्रावधान नरहेकाले संवैधानिक सर्वोच्चताको पनि बलियो आधार भेटिन्न।
सैनिक सर्वोच्चताको कुरा गर्दा अनिश्चितकालीन संकटकालको घोषणा, नागरिक अधिकारको उपेक्षा, नागरिक नेतृत्वको दमन विशेषताका रूपमा छन्। सैनिक बललाई विशेष अधिकार र प्रधानता प्रदान हुन्छ। मुलुकका सेना वा सेनासहितको दलले शासन हातमा लिने गरेको हुन्छ। कहिलेकाहीँ नागरिक सरकारलाई सत्ता पनि हस्तान्तरण गरेका इतिहास छन्। म्यानमार, लिबिया र वर्तमान सरकार भन्दा अगाडिको बंगलादेशको सैनिक शासन सैनिक सर्वोच्चताको उदाहरणका रूपमा छ। वर्तमान समयमा सैनिक सर्वोच्चता विश्व समुदायलाई मान्य छैन र यसलाई अप्रजातन्त्रिक पनि मानिन्छ। जनताको चाहनालाई उपेक्षा गर्ने, जनादेशअनुकूलको काम नगर्ने जस्तोसुकै शासक तानाशाहको श्रेणीमा पर्छन्। त्यसले तानाशाही सर्वोच्चता स्थापित गर्छ। आफ्नो मनपरी गर्ने जो कोही पनि तानाशाहभन्दा फरक हुँदैन।

प्रकाशित: ५ जेष्ठ २०७१ २१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %