१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
विचार

नेकपा एमालेका संगठनात्मक समस्या

नेकपा (एमाले) भित्र संगठनात्मक क्षेत्रमा अहिले केही गम्भीर प्रकृतिका समस्या देखिएका छन् । यसैले अबको नवौं महाधिवेशन अन्य विविध महत्वपूर्ण सैद्धान्तिक र वैचारिक विषयमा बहसका साथ संगठनात्मक सुदृढीकरण र एकताको महाधिवेशन हुनु नितान्त आवश्यक छ । सन् १९०३ मा सम्पन्न रुसी सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा संगठनात्मक सिद्धान्तबारे गम्भीर बहस भएका थिए । विशेषतः लेनिन र मार्ताेवका बीच सैद्धान्तिक, संगठनात्मक र नेतृत्व निर्माणका विषयमा आमनेसामनेको कडा संघर्ष भएको थियो । यस महाधिवेशनका विषयमा सन् १९०४ मा प्रकाशित ‘एक पाइलो अगाडि, दुई पाइला पछाडि’ भन्ने आफ्नो चर्चित पुस्तकमा लेनिनले सविस्तार व्याख्या गर्नुभएको छ । सो महाधिवेशनमा मार्तोवले “यदि प्रत्येक हड्तालकर्ता, प्रत्येक प्रदर्शनकारीले आफ्नो कामको उत्तरदायित्व आफैंले बहन गर्दै आफूलाई पार्टी सदस्य घोषित गर्न सक्छ भने हामीलाई खुसी नै लाग्नेछ” भन्ने जस्तो हल्काफुल्का र उट्फट्याङ् दृष्टिकोण अघि सारेका थिए । पार्टी सदस्य हुनका लागि पार्टीका कुनै पनि कमिटीमा संगठित हुन र पार्टी अनुशासन मानिरहनु आवश्यक छैन भन्ने मार्ताेवको धारणा थियो । उनी पार्टीलाई होलो, खुकुलोरूपमा संचालन गर्ने र पार्टी सदस्यहरुले कुनै जिम्मेवारी दायित्व लिनु नपर्ने पक्षमा थिए । 
तर लेनिन रुसी सामाजिक जनवादी मजदुर पार्टीको सदस्य बन्ने प्रत्येक व्यक्तिले पार्टीको नीति—सिद्धान्तलाई मान्नुपर्ने, कुनै न कुनै कमिटीमा संगठित हुनुपर्ने र पार्टीका हरेक निर्देशनलाई बिनासर्त पालना गर्नु आवश्यक छ भन्ने दरो अडानमा हुनुहुन्थ्यो । साथै कुनै व्यक्तिले आफूखुसी पार्टी सदस्यताको घोषणा गर्दैमा उक्त व्यक्ति पार्टी सदस्य हुन सक्दैन । पार्टी सदस्य बन्नका लागि पार्टी कमिटीको निर्णय अनिवार्य हुन्छ भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो । लेनिन ‘अल्पमत—बहुमतको अधिनमा रहनुपर्ने, तल्लो कमिटीले माथिल्लो कमिटीका र सम्पूर्ण पार्टी सदस्यले पार्टी कमिटीका निर्णयहरु मान्नुपर्ने, पार्टीको महाधिवेशनका फैसला सबै कमिटी र पार्टी सदस्यले अनुशरण गर्नुपर्ने, पार्टी सदस्य कुनै एक कमिटीमा संगठित हुनुपर्ने र प्रत्येक पार्टी सदस्यले नियमितरूपमा पार्टीलाई शुल्क र लेबी बुझाउनुपर्ने’ जस्ता सिद्धान्तका पक्षपाती हुनुहुन्थ्यो । अर्थात उहाँ पार्टीलाई अनुशासित, जुझारु र कामकाजी बनाउन चाहनुहुन्थ्यो । संगठन सञ्चालनमा लेनिनले अघि सार्नुभएका यिनै महत्वपूर्ण र सारगर्भित प्रस्तावनाहरुलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ । 
संगठनात्मक संरचनाका हिसाबले नेकपा(एमाले) अन्य पार्टीभन्दा सवल र व्यवस्थित देखिन्छ तर व्यावहारिकरूपमा यसको आन्तरिक संगठनात्मक जीवन समस्याग्रस्त बनिरहेछ । सिद्धान्ततः लेनिनवादी भने पनि व्यवहारमा कतै हामी मार्तोवका अनुयायी त भएका छैनौ ? हाम्रा सामु गम्भीर प्रश्न तेर्सिएको छ । कार्यालयको रेकर्डमा पार्टीको संगठित सदस्य रहेको व्यक्ति स्वयंलाई आफू पार्टी सदस्य भएको जानकारीसम्म नहुनु, कतिपय संगठित सदस्यलाई पार्टीले आयोजना गर्ने कार्यक्रमको जानकारी नभई एउटा पनि कार्यक्रममा उपस्थित नहुनु र पार्टी सदस्यता शुल्क र लेबी सम्बन्धित व्यक्तिले नतिरी कैयौं सदस्यको एकै व्यक्तिले भुक्तानी गर्ने ठेकेदारी प्रथा रहनु जस्तो अवस्था मनन गर्दा हामी हाम्रा पार्टी सदस्यको स्तरबारे सहज अनुमान गर्न सक्छौं । त्यसैगरी पार्टी कार्यकर्तामा अध्ययनशील बानीको अभाव छ । यस्तै प्रकृतिका पार्टी सदस्यको बाहुल्यता हुँदै गयो भने हाम्रो पार्टीको भविष्य कस्तो होला ? पार्टी कार्यकर्ता र जिम्मेवार नेताहरु नै पार्टीका नीति र निर्णयहरुका विपक्षमा सार्वजानिक अभिव्यक्ति दिँदै हिँड्नु अब कुनै नौलो विषय रहेन । पार्टीलाई देखाएर आर्थिक उपार्जनका गलत धन्दा संचालन गरी नवधनाढ्य बनेका व्यक्तिहरुकोे रवाफका अगाडि निष्ठावान कार्यकर्ता निरिह बन्दैछन् । 
कार्यकर्ताबीचका अन्तर्विरोधहरु समयमा नै हल नगरिँदा एक आपसमा भौतिक भिडन्त, जसरी पनि एकले अर्कालाई निषेध गर्ने प्रवृत्तिका साथ बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएका छन् । संविधान सभाको दोस्रो निर्वाचन २०७० को सिलसिलामा पनि माथि उल्लेख गरिएका प्रवृत्ति कतिपय निर्वाचन क्षेत्रहरुमा नकारात्मक परिणाम आउनुको मुख्य कारण बनेका हुन सक्छन् । यद्यपि वि.सं. २०६५ फागुनमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनको राजनीतिक प्रतिवेदनमा हामीले “हाम्रो पार्टीमा पार्टी सदस्यता दिने वा लिने कुरा बडो सस्तो बन्दै गएको छ । यो एउटा क्रान्तिकारी पार्टीको सदस्य बन्ने तरिका होइन । यस्तो तरिका खास व्यक्तिले आफ्ना निम्ति मतदाता जम्मा गर्ने तरिकामात्र हो । पार्टी सदस्यता वितरणमा देखापरेको यो गम्भीर दक्षिणपन्थी विचलन हो” भन्ने उल्लेख गर्दै विचार, संगठन र कार्यशैलीमा पुनर्गठनको विषयलाई प्रवेश गरायौं तर आजसम्म पनि यसको व्यावहारिक प्रयोग र समाधानमा हाम्रो ध्यान पुग्न सकेको छैन । 
बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा हामीले नेतृत्व चयनमा लोकतान्त्रिक विधिलाई उच्च महत्वका साथ प्रयोग ग¥यौं । यसपछि पार्टी र मोर्चा संगठनका अधिवेशन र सम्मेलनहरुमा पनि नेतृत्व चयनका लागि लोकतान्त्रिक विधि प्रयोग गर्दै खुला प्रतिस्पर्धालाई निरन्तरता दिइरहेका छौं । लोकतान्त्रिक विधि र पद्धतिप्रति सैद्धान्तिकरूपमा असहमति जनाउनुपर्ने कुनै कारण छैन । तर हाम्रा व्यवहार र संस्कार पूर्णरूपमा लोकतान्त्रिक हुन सकेको पाइँदैन । लोकतान्त्रिक विधि र पद्धतिका नाममा व्यावहारिकरूपमा प्रकट भएका गलत प्रवृत्तिका कारण इमानदार पार्टी कार्यकर्ता उत्साहित बन्दै पार्टी काममा लाग्ने अवस्था नै देखिँदैन ।
अधिवेशन र सम्मेलनहरुमा नेतृत्व चयनमा प्रष्टसित दुई वा सोभन्दा बढी प्यानल खडा हुने, ती प्यानलबीच अस्वस्थ र अराजनीतिक प्रतिस्पर्धा भई भौतिक भिडन्तको स्थिति बन्ने, परिणाम प्राप्त भइसकेपछि पनि तेरो र मेरोको स्थिति बनिरहने, विजयी बन्नेले अन्यलाई समेट्ने, सम्मान गर्ने र पराजितले काममा सकारात्मक सहयोग गर्ने कुरा हुनै नसकी गुटहरु निर्माण भई दीर्घकालसम्म नकारात्मक असर परिरहने जस्ता गम्भीर समस्या यो बीचमा हामीले राम्रैगरी भोगेका छौंै । अझ दुखद् पक्ष त के छ भने पार्टी केन्द्रका शीर्ष नेताहरुले नै तल तलसम्म आफ्ना मान्छे तयार पार्न कसरत गर्ने र कार्यकर्ताहरुको इतिहास, त्याग र क्षमताको कदर भन्दा आफ्नो पछि लाग्नेहरुलाई प्रोत्साहित गर्ने प्रवृत्ति बढ्दो छ । राणाकालको चाकरी प्रथालाई बिर्साउने गरी महिनाँै, वर्षौँ नेताहरुका व्यक्तिगत निवासमा धाउनेहरुले आशीर्वाद प्राप्त गर्ने परम्परा प्रोत्साहित गरिँदैछ । पार्टीको शीर्ष नेतृत्व र पार्टीभित्र हुर्किरहेको गलत सोच र प्रवृत्तिका कारण पार्टीका इमानदार कार्यकर्ताले कि त्यस्ता प्रवृत्तिसामु आत्मसमर्पण गर्नुपर्ने कि त राजनीतिबाट नै पलायन हुनुपर्ने परिस्थिति सिर्जना हुँदैछ । 
पार्टीको मूल नेतृत्व चयन र कमिटी निर्माणको प्रक्रिया र पद्धतिका विषयमा पनि हामीले गहिरो चिन्तन मनन गरी विशेष दृष्टिकोण बनाउनु आवश्यक छ । भागबन्डा र तेरो÷मेरोको आधारमा नेतृत्व चयन गरिनुहुँदैन । यो कसैलाई पालो दिने र कसैको रहर पूरा गर्ने विषय पनि होइन । कमिटीको मूल नेतृत्व योग्यता, क्षमता र कार्यकुशलताका आधारमा नै चयन गरिनुपर्छ । बरु हामीले विस्तारै क्षमता अभिवृद्धि गर्दै मूल नेतृत्वका लागि वैकल्पिक नेतृत्वको विकास र सहज नेतृत्व हस्तान्तरणको निश्चित विधि र पद्धतिको खोजी गर्नुपर्ने भएको छ । हाम्रा विगतका अनुभव र अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुले गरेका नेतृत्व निर्माणका विविध प्रयोगबाट हामीले धेरै सिक्न सक्छौं । सायद उत्तर कोरिया र क्युबाको नेतृत्व हस्तान्तरणसम्बन्धी पद्धति हाम्रा लागि अनुकरणीय नहुन सक्छ । तर चिनियाँ कम्युनिष्ट पार्टीले जसरी वैकल्पिक नेतृत्व तयार पार्दै सहज नेतृत्व हस्तान्तरण गर्ने परिपार्टी बसालेको छ, त्यो पद्धति हाम्रा लागि अध्ययन र प्रयोगको सकारात्मक शिक्षा हुनसक्छ । अन्य भाइचारा पार्टीहरुका प्रयोगबाट पनि हामी धेरै शिक्षा लिन सक्छौँ ।
गण्डकी अञ्चल सदस्य, एमाले

प्रकाशित: २१ वैशाख २०७१ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %