दुःख, आपत, हाँसो या आँसु मानिसको मुखारविन्दबाट पहिलो पटक निस्कने शब्द नै ‘आमा' हो। आनन्दमा सम्झने र आपतमा उच्चारण गरिने शब्द पनि आमा नै हो। आमाको अर्थ र महिमा हरेक समाज र समुदायमा विशिष्ट छ। मानव सृष्टिकालदेखि नै आमाको अहंता र महानताले खेल्दै आएको भूमिकाले समग्र मानव जगतलाई नै ऋणी तुल्याउँदै आएको छ। त्यसैले पनि जगत जननीका रूपमा आमाको स्थान हिन्द धर्मशास्त्रमा उच्च छ।
आज मातातीर्थ औंसी अर्थात् जन्म दिने आमाको सम्मान र सेवा गर्ने दिन। यो चाडले नेपाली समाजमा विशिष्ट महत्व पाउँदै आएको छ। जन्म दिने आमालाई खुसी र सुखी राख्न छोराछोरी कुनै कसर बाँकी राख्दैनन्। आफ्नो गच्छेले भ्याएसम्म उपहार दिने, मीठो मसिनो ख्वाउने र धर्तीमा जन्माएर हुर्काएको ऋण तिर्न सकेसम्मको गुन मान गर्ने चलन छ। तर समाज यहीँमात्र सीमित छैन्। संयोगवश आमाहरुमा समर्पित ‘आमा' टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेकाले पनि आमाहरुको यावत् पाटोमा धेरै देख्ने र सुन्ने अवसर बटुल्दै आएकी छु। असमयमै आमा गुमाउनुको पीडाले आफँै पनि ममताको भोकले छटपटिइरहँदा मैल धेरै आमा भेट्दै आएकी छु। ती आमा कुनै महलमा भेटिए त केही वृद्धाश्रममा। महलका आमा सन्तानप्रतिको स्नेहबाट पुलकित छन् नै तर वृद्धाश्रमका आमा भने सन्तान जन्माएकोप्रति पश्चातापको पीडामा पौडन बाध्य छन्।
दोहोर्यानएर वृद्धाश्रम पुगेँ टेलिभिजन शृंखलाको निरन्तरताका लागि। सोझै तिनै अधिकारी आमा खोज्दै थिएँ। देखेँ– उनी धेरै गलिछिन्। अनुहार मलिन अनि उठबस् गर्न पनि धेरै कठिन। चिन्नुभयो भनेर सोधँे। थाहा छैन चिनिन् या चिनिनन् र पनि भनिन्– अँ। यो पटक पनि हामी आमा कार्यक्रमका लागि कुराकानी गर्न आएको भनेकीमात्र के थिएँ, उनको आँखाबाट आँसुको बलिन्द्र धारा बग्न थाल्यो। उनको आँसुको कारण थियो– छोराको निधन। सोधेँ– आमा कसका लागि रोएको, त्यही छोराले हैन तपाईँलाई बुढेसकालमा यहाँ बस्न बाध्य पारेको? रोइरहिन् र थपिन्– छोराछोरीको माया यस्तै रहेछ। जे गरे पनि मन नमान्ने। आखिर जन्माएको सन्तानप्रतिको ममता र माया न हो, हरेक आमाको मन कहाँ मर्दोरहेछ र? किन आफूलाई यति धेरै पीडा दिने छोराको निधनमा ती आमालाई सन्तोष लागेन? सायद आमाको वात्सल्यता मैले बुझेकै छैन। आमाको मन सन्तानलाई परेेको पीडामा त्यति नै पीडित बन्छ सायद मैले यो पनि बुझेकै छैन। किनकि म आमा होइन।
अधिकारी आमाको यो प्रतिनिधि उदाहरणका पछि धेरै आमाको कथा पनि समाजमा व्याप्त छन् नै। आमाप्रति सन्तानको कर्तव्य झल्कन्छ व्यवहारमा। र, यस्तो व्यवहार वर्षमा एक दिनमात्र होइन प्रत्येक दिन हुन जरुरी छ। मातातीर्थ औंसीमा मात्र नभई आमा हरेक दिन पूजनीय छिन्। आमाप्रतिको सम्मान यो दिनको औपचारिकतामात्र होइन, छोराछोरीको मनमनमा रोपिन आवश्यक छ। आमाको दश धारा दूधको भार औंसीको दिनमा गरिने मात्र निरन्तरको तडकभडकले पक्कै तिरिँदैन। र, तिर्छु भन्ने सोच पाल्नु मानसिक दरिदतासिवाय केही होइन पनि। सन्तानको पछाडि आफू गुमनाम रहेर सन्तानको सुनाम बनाउने प्रयास गर्नु आमाको निस्वार्थपन हो। आमा नहुनेका लागि यी दिनको पीडा सायदै ती सन्तानले बुझ्न सक्छन्। दिवंगत आमाको रूप देख्न पाइन्छ भन्ने विश्वासले धेरैलाई डोहोर्या उँछ मातातीर्थ मन्दिरमा। भाव यही बोक्दै सायद :
आमा खोज्दै कराउँछु हराउँछु कताकता
सबैसामु उज्यालोमै डराउँछु कताकता
आउ आमा भनिभनी छट्पटिन्छु कठैकठै
जहा जान्छु आमा पाउँछु यताउता जताततै।
प्रकाशित: १५ वैशाख २०७१ २०:०५ सोमबार

