१ आश्विन २०७८ शुक्रबार
विचार

रेशम फिरिरि...

मिथिला क्षेत्र सभ्यताको केन्द्र थियो। प्रत्येक घर सफा थिए। पाहुना, आदरणीय, अनुज, अग्रज सबैको आफ्नो स्थान थियो। साँझमा दीप प्रज्वलन गरेपछि पूजा, भजन, आरती हुन्थ्यो घर–घरमा। जनकपुरधाम मिथिलाको केन्द्र थियो। तिरहुतिया ब्राह्मणहरू मिश्र, झा आदि शिक्षक, पण्डित र मान्यजन कचहरि (पंचेती) प्रमुख हुन्थे। घरैपिच्छे नेता थिएनन्। मार्गदर्शन उही हुन्थे जसले धर्मशास्त्र, नीति र त्यसको सारांश बुझ्ने गर्थे। त्यो उज्यालो युग अर्कै थियो।

अधिवक्ता रामनारायण देव लेख्छन्– ‘मिथिला प्रदेश हिमालयको पादप्रदेशदेखि गंगा नदीसम्म, पूर्वमा कोसीदेखि पश्चिममा गण्डकी (नारायणी) सम्म विस्तीर्ण थियो।’ हिमालयको पादप्रदेशदेखि गंगातटसम्म फैलिएकाले यसलाई ‘मध्यदेश’ भनियो। अपभ्रंस भएर मधेश भयो। तसर्थ, सभ्यताको आदिम भूमिमा बस्ने मध्यदेशी (मधेशी) कुनै गाली होइन। पुरानो पुस्तालाई काठमाडौँ उपत्यका र मिथिलाको सुमधुर सम्बन्धको इतिहास सिकाउन जरुरी छ।

राजा प्रताप मल्लकी आमा मिथिलाकी राजकुमारी थिइन् भने प्रतापकी रानी कुचबिहारकी राजकुमारी। वाल्मीकि रामायणमा निमीका पुत्र ‘मिथि’ नामका राजाले स्थापना गरेको राज्य भएकाले मिथिला भनियो। जनक शब्दको अर्थ पिता भएकाले हरेक राजालाई जनताले ‘जनक’ भन्थे। राजा–प्रजा एउटै घरका अभिभावक र सन्तति थिए।

डा. रामानन्दन गिरी (वि.सं. २००४–७४) ले विद्यावारिधि उपाधिका लागि तयार पारेको ‘राजर्षेजनकस्य विद्रोह सिद्धान्तस्य समीक्षात्मक अध्ययनम्’ ग्रन्थमा भविष्य पुराणलाई उद्धृत गर्दै राजा मिथिद्वारा स्थापित देश भएकाले मिथिला भनिएको उल्लेख छ। राजा मिथिको सैँतीसौँ पुस्ताका सीताका बाबु राजा जनक पैदा भएको विद्वान्हरूको मत छ। उनको वास्तविक नाम शिरध्वज थियो। जनकका भाइ कुशध्वजकी छोरी उर्मिला रामका भाइ लक्ष्मणकी पत्नी थिइन्। थाइल्यान्डको राजवंशले आफ्ना पुर्खाको रगतको साइनो मिथिलासँग भएको दाबी गरेको त्यहाँको इतिहासमा उल्लेख छ। हालको बंगलादेश र भारतको पश्चिम बंगालको अधिकांश भागमा प्रचलित बंगाली लिपिसँग मिल्दोजुल्दो ‘मैथिली लिपि’ समान संस्कृतिको प्रतीक मानिन्छ। राजा जयस्थिति मल्लले कानुन बनाउँदा मिथिला क्षेत्रका विद्वान्हरूको राय लिएको उल्लेख छ।

वि.सं. १४३७ मा राजा भएका जयस्थिति मल्लले एघार वर्षको छँदा राजल्लदेवी नामकी आठ वर्षकी कन्न्यासँग विवाह गरे। राजल्लदेवी सिम्रौनगढको राजवंशकी सन्तान भएको इतिहासकारहरूको मत छ। कोसी–गण्डकीबीचको समथर भागको सभ्यता, काठमाडौँ उपत्यकाको सभ्यता र कर्णाली प्रदेशको सभ्यता जस्तै हिमालय क्षेत्रको ऊबेलाको सभ्यताबारे प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले बिहान–विदुषीलाई सक्रिय गराएर गहन ग्रन्थहरू तयार पार्न सक्थ्यो। बितेका कैयन् वर्षयता धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा देखिएको विकार हेर्दा पतनको सिलसिला स्पष्ट देखिन्छ। जब राष्ट्रिय चेतनाको प्राण रहँदैन तब राष्ट्र निष्प्रमाण बन्छ। हजारौँ वर्ष पुरानो इतिहासलाई पुर्खाको मनोरञ्जन वा तत्कालीन राजाहरूले ‘लोकप्रिय’ देखाउनका लागि स्थापना गरेका कीर्तिस्तम्भ मात्र ठान्नु अज्ञानी हुनुको प्रमाणमात्र हो। त्यो युग अँध्यारो थियो भनेर हामीलाई आज पनि ढाँटिदैछ।

काठमाडाैं–पाटन–भक्तपुरका हजारौँ मठमन्दिर, हिमाली क्षेत्रका प्राचीन गुम्बा, मिथिला र कर्णाली प्रदेशका धरोहर विदेशीको सहयोगमा खडा भएका होइन। नेपालको धर्म–संस्कृति र सभ्यताको संरक्षण, सम्वद्र्धन र सम्पोषण नेपाली आफैँले गरे। पतन त तब सुरु भयो जब शौचालय र वाचनालय बनाउन पनि विदेशीसँग भीख माग्न थालियो। त्यो युगका मानिस यति निर्लज्ज र नंगा थिएनन्।

२०६ वर्षपहिले देहरादुन नजिक नालापानीमा किल्ला बनाएर अंग्रेज साम्राज्यसँग युद्ध गरेको हामीले नै होइन ? मलाउ, नाहान, काँगडा, अमरगढी, सिन्धुली, मकवानपुर, नुवाकोटलगायत धेरै ठाउँमा किल्ला र गढी बनाएर नेपाल आमालाई शत्रुबाट सुरक्षित राख्ने नेपाली सभ्य, चेतनशील र वीर थिए कि शत्रुलाई माला लगाएर घरभित्र हुल्ने आजका हर्ताकर्ता ? त्यो युग प्राञ्जवल थियो कि यो युग ? इतिहासले भोलि हामीलाई प्रश्न गर्छ।

२००७ सालपछि मात्र उज्यालो भयो भनियो। कसैले २०१७ र २०४६ सालपछि मात्र स्वर्णयुग सुरु भयो भने। २०६२÷६३ सालपछि मात्रै नेपालले सही मार्ग पायो भनिँदैछ आज पनि। त्यसो भए त्यो भन्दा अघिको युग निष्पट्ट अन्धकार थियो ? के पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान अपराध थियो? प्रतापसिंह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, कालु पाँडे, भीमसेन थापा अपराधी थिए त ? नेपाल एकीकरण अभियानको त्यो लामो कालखण्ड ‘अँध्यारो युग थियो’ भन्ने अनि ‘अनेकीकरण अभियान’ सही छ, उज्यालोपथमा अग्रसर छ भन्नेहरूलाई किन लाज लाग्दैन ?

झण्डै एक सय साठी दल दर्ता छन्, नेपालको निर्वाचन आयोगमा। त्यहाँ कति जना दामोदर पाँडे छन् ? कति छन् रामकृष्ण कुँवर ? वंशराज पाँडे, अभिमानसिंह बस्न्यात, अमरसिंह थापा, शिवरामसिंह बस्न्यात र वंशु गुरुङहरू कति छन् ? बलभद्र कुँवर, भक्ति थापा, नैनसिंह थापा, उजिरसिंह थापा कति छन् ? ‘म बाघको छोरा हुँ, सिनो खाने स्याल नसम्झ’ भनेर विश्वविजयी अंग्रेजलाई समेत हाँक दिन सक्नेका सन्तान किन बिक्छन् विदेशीको जुठोमा ? इतिहासले यस्ता हजार प्रश्न गर्नेछ।

एक जना विद्वानले लेखेका छन्– ‘लासले जवाफ दिँदैन र ज्युँदो लासले प्रश्न गर्दैन ?’ नेपाल र नेपालीका लागि जम्मा गरिएको अर्बौँ रुपियाँ कहाँ, किन र कुन उद्देश्यमा खर्च भयो ? हामीले सडकमा उभिएर प्रश्न गरेनाैं। कसलाई कुर्सीमा चढाउने र कसलाई लडाउने खेलमा हामीलाई विभाजित गराएर नेपाललाई सडाउने काम कसले गर्दैछ, हामीले त्यो पनि सोधेनौँ। आफूलाई बाघ ठान्ने तर मज्जालो ‘हरियो घाँस’ चपाउनेहरूले जेसुकै तर्क गरुन्, झुप्रामा बसेर हाम्रा पुर्खाले राष्ट्र बनाए। महलमा बस्नेले राष्ट्रलाई जीर्ण झुप्रो बनाए। त्यसैले जताततैबाट सर्प, विच्छी र हिंस्रक जनावर भेला भएका छन्, हाम्रो घर–आँगनमा।

धेरै पर नजाउँ। सन् १९४८ मा जन्मेको इजरायल शून्यबाट उठेर कहाँ पुग्यो। नेपालका दुई÷चार हजार मानिसलाई उसले रोजगारी दिँदा यहाँ हर्ष मनाइन्छ। सय वर्षको समेत इतिहास नभएको इजरायललाई अठोटले उठायो। उनीहरू राष्ट्र सर्वोच्च हुन्छ भन्ने सशक्त र सचेत मानसिकताले जुरुक्क उठे। युद्धमा हजारौँले प्राणोत्सर्ग गरे। लाखौँ घाइते भए तर राष्ट्र ढल्न दिएनन्। समृद्ध छ, सबल छ र समर्थ छ– इजरायल। हामी जे थियो, त्यो रहेनौँ। 

सिंहदरवारमा फर्फराइरहेको राष्ट्रिय झण्डाको कपडा पनि ‘मेड इन नेपाल’ होइन। अर्थात, हामी मानसिक, भौतिक, नैतिक र आर्थिक हिसाबले पनि पराधीन भइरहेका छाैं। सरकार पाल्ने र ढाल्ने सबै काम विदेशीले गरिरहेका छन्।  पहिले आफ्नै नेत्रज्योति पर्याप्त थियो। अहिले विदेशीले बालेको टर्चलाइटमा हातगोडा घिसार्दै बामे सरिरहेका छौँ हामी। धेरैलाई यो उदास कथा (ग्लुमी स्टोरी) लाग्न सक्छ तर सत्य यही हो।

यमन, सोमालिया, सिरिया, सुडान, कंगो, इथियोपिया, नाइजेरिया, इरिट्रिया, मोजाम्बिक, युगान्डा, लेबनान, बुर्किनाफासो आदिको लिस्टमा उभिएको छ नेपाल। हिमाल सर्वोच्च छ र राष्ट्रिय एकता निचो। कसैलाई पनि नेपाल असफल राष्ट्रमा दर्ता भएकामा पीडा छैन। पटक्कै पश्चाताप छैन। अग्लो भिरबाट राष्ट्र खसिरहेकै छ तर राष्ट्र धकेलेर तल पुर्‍याउने नेतालाई माला लगाइदिन्छन् जनता। संसारमा यति चेतनशील, विवेकशील र प्रजातन्त्रवादी जनता कहाँ होलान् ?

नर्वे, स्विडेन, जर्मनी, डेनमार्क, स्विट्जरल्यान्ड, हल्यान्ड, क्यानडा हाम्रा बुद्धिजीवीहरूको कफी गफ बन्छ। दलको पिँजराबाट बाहिर जान नचाहने ती ‘आजाद’ मध्ये धेरैजसो अतीतलाई गाली गर्छन्। किन गाली गर्छन, यो अल्पज्ञले बुझ्दैन। डुंगामा एउटा प्वालबाट पानी पसेर भरिँदै गर्दा त्यो पानीलाई निकास दिन अरू प्वाल पार्नुपर्छ भनेर नेपालका ज्ञानी, चेतनशील, राजनीतिज्ञ र बुद्धिजीवी मिलेर गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जस्ता प्वाल बनाए। हामी सबै आज त्यही डुंगामा गीत गाउँदै, नाच्दै, रमाउँदै सयर गरिरहेका छौँ। जंगी, निजामती, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कूटनीतिज्ञ, पत्रकार, वकिल, राजनीतिज्ञ सबै अटाएका छन् ठूलो डुंगामा। प्रशन्न मुद्रामा सबैले गीत गाएको सुनिन्छ– रेशम फिरिरि, रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भञ्ज्याङ, रेमश फिरिरि...।

प्रकाशित: १५ श्रावण २०७८ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App