८ कार्तिक २०७८ सोमबार
विचार

नर्क जाने बाटो

कुनैबेला भियतनाममा सनातन धर्मावलम्बीको चम्पा अधिराज्य थियो। त्यहाँ मुसलमान र सनातन धर्म मान्ने ‘चाम’ धेरै छन्। विष्णु, महादेव र कृष्णको आराधना गर्नेहरूका मन्दिर अझै पनि छन्। इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, बर्मा (म्यान्मार) आदि राष्ट्रका सनातनी जस्तै चम्पादेशको राजधानी ‘सिंहपुर’ र त्यसवरपर बसेका शिक्षित, सभ्य, सुसंस्कृत नागरिक वैभवशाली पनि थिए।

नेपालका लिच्छविकालीन मठमन्दिरझैँ चम्पादेशमा एक हजार वर्षअघिका शिवलिंग, मन्दिर छँदैछन्। उनीहरू त्यसमा गर्व गर्छन्। ब्रह्मा, विष्णु र महेशका प्राचीन मूर्ति छँदैछन्। सहरलाई समष्टिगतरूपमा ‘मण्डल’ भनिन्थ्यो। सौरमण्डल, वायुमण्डल, पृथ्वीमण्डल जस्तो ‘एउटै’ भनेर बुझाउने ‘मण्डल’ शब्द वेदबाट लिइएको हो।

चम्पा अधिराज्य रहेको इन्द्रपुरमा झण्डै एघार सय वर्ष पुरानो शिवजीको मूर्ति त्यहाँका जनताको गुहारसँग मिल्दोजुल्दो छ। कलाकारले देवी–देवता देखेको हुँदैन, त्यसैले आफू र आफन्तको मुहार जस्तै मूर्ति कुद्ने गर्छन्। आफूलाई मीठो लाग्ने खाने कुरा प्रसादका रूपमा चढाउँछन्।

नेपाल, ब्रिटेन, मरिसस, अमेरिका, श्रीलंका, पाकिस्तान, बंगलादेश, भारत, भुटान आदि कैयन् राष्ट्रमा सनातन धर्मका अनुयायी प्रशस्त छन्। सनातन धर्ममा जे छ, त्यो अरू धर्ममा छैन भन्ने ठहर गरेर हार्वर्ड विश्वविद्यालयले पतञ्जली दर्शनलगायतका दर्शन बढाउँदै आएको छ। भारतका पूर्वराष्ट्रपति डा. शंकरदयाल शर्माले राजा वीरेन्द्रलाई दिल्लीमा स्वागत गर्दै प्रयागसम्म फैलिएको नेपाल प्राचीनकालमा जगतप्रसिद्ध ज्ञानभूमि भएको उल्लेख गरेका छन्।  

सम्राट अकबरले प्रयागलाई अल्लाहवाद बनाए, अंग्रेजले इलाहवाद बनाए। शंकराचार्य र मण्डन मिश्रबीच गहिरो धार्मिक बहस भएको गंगा–जमुना दोभानमा हरेक बाह्र वर्षमा कुम्भमेला लाग्छ। केही वर्षअघि पंक्तिकारसँगको कुराकानीमा प्रयागका एक प्राध्यापकले नेपालले गंगा नदी स्पर्श गथ्र्यो भन्ने थुप्रै प्रमाण छन् भनेका थिए। प्रयागमा रहेको समुद्रगुप्ताको शीलालेख यसको सजीव प्रमाण हो।

युरोप, अमेरिकाका पर्यटकहरू काठमाडौँमा भेट हुँदा प्रायः सोध्ने गर्छन्– ‘तपाईँहरूको धर्मको संस्थापक को हुन ?’ एक वृद्ध पर्यटकसँग आएकी उनकी प्रेमिकाले ठमेलको क्याफेमा कलम र डायरी निकाल्दै प्रश्न गरिन्– ‘हु एक्ज्याक्टली फाउन्डेड हिन्दुइज्म ?’ (हिन्दु धर्मको वास्तविक संस्थापक को हुन् ?) मैले हाँसेर जवाफ दिएँ– क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएको र अक्टोबर १२ कोलम्बस दिवसका रूपमा मनाइन्छ भनेर मैले स्कुलमा पढेको तर अमेरिका त पहिलेदेखि नै थियो नि, होइन र ? त्यस्तै सत्य, त्रेता, द्वापर युगमा ईश्वरका प्रतिनिधि बनेर कैयन् आए। मानव शरीरमा अवतार लिएका राम, कृष्ण, बुद्धलगायत मरेर जानेहरू पनि सत्कर्मले ‘देवता’ कहलिए। उनीहरू पनि सनातन धर्मका जन्मदाता होइनन्, मर्यादापालक र अनुयायी हुन। 

हजारौँ साल पुराना ग्रन्थहरूमा भएको व्याख्या हेर्दा सत्य, न्याय र सदाचारपूर्वक कर्तव्य पालना गर्ने प्रणाली वा जीवनपद्धति हो– सनातन धर्म। त्यसले संसार एउटा घर हो भनेको छ। मानव अधिकार (ह्युमन राइट्स) भन्ने नाराको इतिहास लामो छैन तर प्रणालीको वध नगर्नु तर राष्ट्रको शत्रु हो भने मारे हुन्छ भनेको छ, प्राचीन शास्त्रले। आफू, आफ्नो समाज र राष्ट्रलाई पतनको मार्ग रोज्नु नर्क जाने बाटो हो। सनातन धर्ममा मात्र होइन, बाइबलमा समेत स्वर्ग र नर्कको चर्चा छ।

कुनै पनि राष्ट्रलाई शिथिल, प्रभावहीन, नांगो र परावलम्बी बनाउन धर्म÷संस्कृतिको जरा मासे पुग्छ। स्कुल÷कलेजमा प्राचीन धर्म, संस्कृति, इतिहास र मूल्य÷मान्यता राम्रोसँग सिकाउन नचाहने शिक्षा प्रणाली नै द्वेषपूर्ण र प्रायोजित षडयन्त्रको सिकार बनेको छ।

सन् १८८७ मा निकोलास नोटोभिच नामका रुसी लेखकले बाह्र÷तेह्र वर्षमा देश त्यागेर हिँडेका जिसस क्राइस्ट स्वर्ग खोज्दै उडिसाको कृष्णमन्दिर (पुरीको जगन्नाथ पुरी) पुगे भनेका छन्। त्यहाँका बाहुनहरूले उनलाई सनातन धर्म सिकाए र त्यसलाई जिससले कृष्णनीति (क्रिस्चियनिटी) भनेको उल्लेख गरेका छन्। सन् १८९४ मा उनको ग्रन्थ फ्रेन्च भाषामा छापिएपछि युरोपमा हल्लीखल्ली भयो। पुरी सहर (उडिसा) मा ६ वर्ष र राजगृह (विहारी), लद्दाख र हिमाली क्षेत्र (नेपाल) घुमेर ज्ञान खोज्दै क्राइस्टले केही वर्ष बिताएको र इजरायलमा उनी अठार वर्ष बेपत्ता भएको लेखकहरूको तर्क छ।  

जर्मन लेखक होल्गर कस्र्टलेको ‘जिसस लिभ्ड इन इन्डिया’ ग्रन्थको सारांश छ– ‘क्राइस्टले भारत र हिमाली क्षेत्रमा प्रशस्त ज्ञान लिए। जीवनदर्शन बुझे। सनातन धर्म र बौद्ध धर्म अध्ययन गरे।’ लामो अनुसन्धान र अध्ययनको निचोडका रूपमा आएका यस्ता ग्रन्थलाई आधार मानेर बिबिसीले वृत्तचित्र बनायो। ती सामग्री पढ्न, हेर्न र सुन्न सकिन्छ।क्रिस्चियन र मुसलमान धर्मका प्राचीन अभिलेखममा इजरायलबाट हिँडेका क्राइस्ट भारत पुगेको उल्लेख छ। ‘जिस इन इन्डिया’ पुस्तकमा मिर्जा गुलाम अहमदले प्रमाण प्रस्तुत गरेका छन्। इरान, अफगानिस्तान, काश्मीर हुँदा क्राइस्ट दक्षिण एसियातिर लागेको पुस्तकमा भनिएको छ।

इस्लामभित्रको ‘अहमदिया पन्थ’ स्थापना गर्ने गुरु हुन, मिर्जा गुलाम अहमद। सन् १९०८ मा लाहोर (हाल पाकिस्तान) मा ७३ वर्षमा उनी परलोक भए। उनले धर्मका बारेमा नब्बे वटा पुस्तक लेखेका छन्। अकबरको दरवारका कवि अब्दुल फजल फैजले त भारतमा भेष बदलेर बसेका जिससले शत्रुबाट बच्न नामसमेत बदलेर ‘युज असफ’ राखेका थिए भनेका छन्। अहमदियाहरू क्राइस्टलाई झुण्ड्याएर मारिएको स्वीकार गर्दैनन्। श्रीनगर (काश्मीर) स्थित युज असफको समाधि नै क्राइस्टको समाधि हो भन्छन्। उनीहरूको तर्क छ– स्वर्ग र नर्कका बारेमा बाल्यकालदेखि सुनेका क्राइस्टले हिमालय क्षेत्र, प्राचीन मन्दिर नै स्वर्गका ढोका मानेर इजरायल त्यागेको हुनुपर्छ।

स्वर्ग, नर्क र धर्मका बारेमा मिहिन, ज्ञान भएका पश्चिमी लेखकहरू किम तट् र क्रायन ह्याचारले समेत सनातन धर्म भनेको अनन्त (टाइमलेस) भनेका छन्। स्वामी विवेकानन्दलाई उत्प्रेरित गरेर पश्चिमाहरूले ‘सर्व धर्म समभाव’ भन्ने नारा अघि सारे। इसाई, मुसलमान, सनातन धर्म आदि/इत्यादि उस्तै हुन भनियो। दुई हजार वर्ष पुरानो ‘पंथ’ (जुन रिलिजन मात्रै हो, धर्म होइन) कसरी अनन्तकाल पुरानो सनातन धर्मको समकक्षी हुन्छ ? प्रश्न विचारणीय छ। यो षडयन्त्र बुझेपछि धेरैले विरोध पनि गरे। नेपालमा पनि धेरैले सर्व धर्म समभाव भनेका छन्, बुझेर वा नबुझेर। तसर्थ, सनातन धर्मको महत्व घटाउन कसरी हमला भइरहेको छ भन्ने बुझ्न आवश्यक छ।

रामकृष्ण, महात्मा गान्धी र विवेकानन्दले सर्वाधिक प्रयोग गरे– ‘सर्व धर्म सभाव।’ सनातन धर्म भनेको अरू भन्दा प्राचीन र उच्च होइन भन्ने प्रमाणित गर्न प्रायोजितरूपमा यस्तो प्रचार गरिएको कैयन् भारतीयले लेखेका छन्। भारतीय संविधानको चवालीसौँ संशोधनमा सर्व धर्म समभाव भन्नाले ‘धर्म निरपेक्ष’ बुझ्नुपर्छ भन्ने व्याख्या छ। नेपालमा पनि गाई देखाएर सनातन धर्मावलम्बीको भोट बटुल्ने दलका कतिपय अगुवाले ‘सर्वधर्म समभाव’ भन्ने गरेका छन्। हाइड्रोसिल र पञ्चशील झट्ट सुन्दा दाजुभाइ जस्तो लाग्छ तर होइन। ‘सर्वधर्म समभाव’ मान्थे भने किन नेपाल–भारतलगायतका राष्ट्रमा लाखौँ सनातनी जनतालाई क्रिस्चियन धर्ममा परिवर्तन गराइयो ? यति बुझे पुग्छ।

कुनै पनि राष्ट्रलाई शिथिल, प्रभावहीन, नांगो र परावलम्बी बनाउन धर्म÷संस्कृतिको जरा मासे पुग्छ। स्कुल÷कलेजमा प्राचीन धर्म, संस्कृति, इतिहास र मूल्य/मान्यता राम्रोसँग सिकाउन नचाहने शिक्षा प्रणाली नै द्वेषपूर्ण र प्रायोजित षडयन्त्रको सिकार बनेको छ। सनातन धर्मको केन्द्र बनेर संसारलाई सही मार्ग देखाउनुपर्नेमा धर्म चिन्दिनँ भन्ने सत्तामा गए।

ईश्वर मान्दिनँ, पञ्चामृत खान्न, बरु होली वाइन खान्छु भन्नेहरूले देश चलाए। नर्क जाने बाटो त्यही हो। समयमा असल राजनेता चिन्न नसक्ने जनता आज पनि उनकै पछि–पछि हिँडेका छन्। ठूला मान्छे जता लाग्छन, बाटो त्यही हो (महाजनो येन गतः स पन्थाः) भन्दैछौ। हामी पो मूर्ख !

प्रकाशित: १ श्रावण २०७८ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App