नेपालको सन्दर्भमा भन्नुपर्दा उत्तरमा हिमाली प्रदेशको शृङ्खलादेखि तलहत्ती (तराई) मा समेत २२ से – २४ से र काठमाडौँ उपत्यकामा मल्ल राज्यहरु, स–साना राज्यका रूपमा आपसमा सिमाना विस्तार गर्न र हैकम जमाउन एकले अर्कामाथि, कहिले खुम्चने र कहिले फैलने गरेर राज्य विस्तार गरिरहेका थिए। यस्तो युगमा २४ से राज्यको एउटा राज्य गोर्खाले पनि राज्य विस्तार गर्ने महत्वकाङ्क्षा लिनु स्वाभाविक थियो। २४ से राज्यमा सबैभन्दा निर्धन राज्य गोर्खा, जसको प्राकृतिक सम्पदा भन्ने, त्यस समयको सन्दर्भमा खेतीयोग्य जमिन, खास गोर्खाको बेँसीबाहेक केही थिएन। त्यस्तो राज्यले नजिकको सम्पन्न तर आन्तरिक कलहले निर्वल भएको उपत्यकाका ३ मल्ल राज्यहरुको आपसी वैमनस्य, कलह, लडाइँ झगडाले गर्दा राज्य विस्तार गर्ने महत्वाकाङ्क्षा जागृत हुनु पनि उत्तिकै महत्वपूर्ण भूमिका थियो। पृथ्वीनारायणले मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग विवाह गरे तापनि जेठान दिग्वन्ध सेनसँग झगडा परेपछि आफ्नो स्वाभिमान राखेर दुलही नलिकनै फर्केर आउँदै थिए। यही बेला चन्द्रागिरीबाट काठमाडाँै उपत्यकालाई हेर्दै “यी तीनै सहरको राजा हुन पाए त हुँदो हो” भन्ने उनको अभिव्यक्तिबाट उनमा राज्य विस्तारको महत्वाकाङ्क्षा देखिन्छ।
निष्कर्षमा पृथ्वीनारायण जस्ता महत्वाकाङ्क्षी र धीर पुरुष पाउनु गोर्खाका लागि ठूलो कुरा थियो भने वर्तमान नेपालका लागि अद्वितीय देन थियो। यसमा त्यस बेलाको गोर्खाली राष्ट्रियताको कुरा पनि पृथ्वी नारायणको महत्वाकाङ्क्षा जत्तिकै महत्वपूर्ण रह्यो जसले गर्दा नेपाल एकीकरणको अभियान दीर्घकालीनरूपले अघि बढ्यो। वि.सं. १८०१ मा नुवाकोट जितेर पृथ्वीनारायणको वि.सं. १८३१ (इ.१७७४) मा देवीघाटमा देहावासन हुँदासम्म पूर्वमा साङ्लिला पर्वत, दक्षिणमा मोरङ–मकवानपुर (तराई), पश्चिममा त्रिशूली नदीपारि धादिङ र उत्तरमा हिमालयको बेँसीसम्म भएको, भौगोलिक र राजनीतिक एकीकरण, विजय अभियान वर्तमान नेपालको उदयका लागि मजबुत शिलान्यासका रूपमा देखियो। त्यसपछि उनकै पनाति, बालक राजा गिर्वाणको राज्यकाल तथा मुख्तियार भीमसेन थापाको शासनकालमा पश्चिममा सत लज नदीको किनार (किला काँगडा), दक्षिणमा देहरादुन–लखनौ, पूर्वमा टिस्टा नदीसम्म सिमाना पुगेको थियो। ब्रिटिस–इन्डिया र नेपालको युद्धपछि इ.सं. १८१६ को सुगौली सन्धि भयो। यो सन्धिअनुसार नेपालको सिमाना खुम्चिएर हालको सम्पूर्ण तराईसमेत गुमेर, पूर्वमा मेची नदी, पश्चिममा महाकाली र दक्षिणमा महाभारत पहाडको फेदीसम्म सीमित रह्यो। तर सुगौली सन्धि भएको एक वर्षमै ब्रिटिस–इन्डिया सरकारले तराई भूमी औलो रोग, गर्मी र व्यवस्थापन गर्न समस्यापूर्ण देखेर पूर्वी र मध्य तराई फिर्ता गर्यो ।
वास्तवमा अंंग्रेजहरु नेपाललाई पहाडमै सीमित राख्न चाहन्थे, पहाडी देश लिन चाहँदैनथे। पछि इ.सं. १८५७ मा ब्रिटिस शासनविरुद्ध, भारतीयहरुको स्वतन्त्रता आन्दोलनलाई दबाउन जङ्गबहादुरले सैनिक सहयोग गरेवापत पुरस्कारका रूपमा पश्चिम तराई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पनि फिर्ता पायो। त्यहाँदेखि आजको नेपालको स्वरूप विद्यमान छ। यो वास्तविकता अतिरञ्जित गर्नुहँुदैन तर विडम्बनाको कुरा, गोर्खा राज्य विस्तार अभियानबारे चर्चा गर्दा आजका बुध्दिजीवी, शिक्षित, विद्वान्हरुले गोर्खाली जनता, योध्दा र वीराङ्गनाहरुको देन उल्लेख गर्दैनन्। केवल पृथ्वीनारायणको मात्र बेलिविस्तार र राष्ट्रियताको अतिरञ्जित कुरा गर्छन्। यसले गर्दा शाहवंशी राजा र राजपरिवारमा जनमुखी विचार र व्यवहार नआएर, आफूलाई राष्ट्र निर्माताको सन्तान नरनारायण (देवता) भन्ने अलौकिक र अवास्तविक पूर्वाग्रह रहँदै आयो, यसले गर्दा पछिल्लो कालमा राजतन्त्रले गर्न सक्ने जनमुखी राजनीतिक कार्य वा परिवर्तनसमेत गरेन।
यसरी अयथार्थ विचारको प्रचारप्रसार एकातिर भयो भने अर्कोतिर नेपाल आधुनिक, लोकतान्त्रिक, राजनीतिक युगमा पदार्पण गरेपछि पनि प्रचारकहरुले पृथ्वीनारायणलाई राष्ट्र निर्माता भएर जन्मेका हुन् र उनको कार्यले नेपाल राष्ट्र निर्माण भयो भनी थप अवास्तविक भ्रमको प्रचार पनि गरिरहेका छन्। यसरी वास्तविकता ओझेलमा पारेर इतिहास अतिरञ्जित गर्नुहँुदैन। यस्तो कार्यले वर्तमान र भविष्यका सन्ततिको उत्थान र बौद्धिक विकास गर्न सकिन्न। अर्कोतिर पृथ्वीनारायणको विरोध गर्नेहरुले उनीहरुका राज्यलाई साम–दाम–दण्ड–भेद नीति अपनाएर आक्रमण गरी हडप गरे भन्ने लाञ्छना लगाएका छन्। यसमा पनि ऐतिहासिक अवास्तविकता छ। आदिवासीहरुको राज्य हडप्ने २२से–२४से का आर्य मूलका रजपुत राजा हुन्। पृथ्वीनारायण र उनका वंशजहरुले तिनैे २२से–२४ से जितेर एकीकरण गरेका हुन्। त्यसैले आदिवासीहरुले पृथ्वीनारायणप्रति लाञ्छना लगाई शत्रुभाव लिनुपर्ने इतिहासले देखाउँदैन।
वास्तविकता के हो भने राष्ट्र निर्माणका लागि त्यो देशका विभिन्न जाति आदिवासी र गैह्र आदिवासी सबैको भाषा, संस्कृति र इतिहासलाई राज्यले, सरकारले संरक्षण र सम्बर्द्धन गरिराख्नुपर्छ। तर त्यो काम पृथ्वीनारायण र उनका वंशजहरुबाट भएन। बरु एकल जाति, आर्यहरुको मौलिक भाषा, संस्कृति र धार्मिक इतिहास जसमा बढी गरेर चटकी–अलौकिक आख्यान छन्, त्यसैलाई नेपालको राष्ट्रिय पहिचान भनी शताब्दिआँैदेखि नेपालीलाई घोकाइयो। ती–ती जातिका सन्ततिलाई अभ्यस्त पारियो। दोस्रो कुरा देशको राष्ट्रियता निर्माण वा एकीकरण गर्नलाई राज्यको सम्पूर्ण जनतामा समानता र स्वतन्त्रताको सामाजिक वातावरण विकास गर्नुपर्छ। तर यो काम पनि पृथ्वीनारायण र उनका उत्तराधिकारीले गरेनन्। बरु पृथ्वीनारायणको …नेपाल ४ वर्ण ३६ जातको साझा फूलबारी हो' भन्ने व्यवस्थाको विभेदवादी तथा सामाजिक विभेदकारी उपदेश पाठ घोकाएर समाजका टाठाबाठा नेताहरुले यही उपदेशलाई नै बहुलजातिको पहिचान हो भन्ने भ्रम फैलाए। अनि एकल आर्य जातिको मात्र पहिचान वर्ण व्यवस्थालाई पञ्चायत कालसम्म पनि प्रचार गरे। यसैको माध्यमबाट आफ्नो दुनो सोझ्याए, जसले गर्दा आजसम्म पनि सामाजिक भेदभाव वर्ण व्यवस्था र लैङ्गिक विभेद यथावत् समाजमा कायमै छ।
वास्तवम आन्तरिक राष्ट्रिय सद्भाव विकास गर्न, ठूलो जात र सानो जात भन्ने वर्ण व्यवस्था ठूलो बाधाको रूपमा देखिएको छ। यस सन्दर्भमा पृथ्वीनारायण र शाहवंशमात्र दोषी छैन। काठमाडौँ उपत्यकाका लिच्छवी राजाहरु, जस्तै– मानदेव, जयदेव आदि र मल्ल राजाहरु यक्ष मल्ल जयस्थिति मल्ल पनि दोषी छन्। उनीहरुले मनुस्मृतिअनुसार वर्णव्यवस्था उपत्यकामा सर्वप्रथम प्रवेश गराएका हुन्। यस्तै शासन पश्चिम नेपालमा हिन्दुस्तानबाट आश्रय खोज्न आएका आर्यमूलका, बाइसे चौबीसे रजपुत राजारजौटाहरु सबैले मनुस्मृतिको आधारमा शासन चलाए।
निष्कर्षमा, नेपालको आन्तरिक राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा पृथ्वीनारायणलाई राष्ट्रनिर्माताको नाम दिन मिल्दैन। बाह्य राष्ट्रियताको कुरामा त झन् उनी अझै पछाडि परेको देखिन्छ। किनभने उनको …नेपाल खासा (चोखो वा असल) हिन्दुस्तान हो' भन्ने तथाकथित दिव्य उपदेश नेपालको बाह्य राष्ट्रियताको सन्दर्भमा आपत्तिजनक देखिन्छ। त्यसो भए तापनि इतिहासमा पृथ्वीनारायणको मूल्य र मान्यता छ। यसमा दुई मत हुन सक्तैन। अहिले हाम्रो कर्तव्य छ, वर्णव्यवस्था, छुवाछुत, लौङ्गिग विभेद आदि सामाजिक भेदभाव हटाएर, समता र स्वतन्त्रतामूलक समाज विकास गरेर आन्तरिक राष्ट्रियता मजवुत पार्दै बाहय राष्ट्रियतामा नेपालको आफ्नै पहिचान राख्दै पृथ्वीनारायणद्वारा गरिएको नेपालको एकीकरणलाई स्थायित्व दिऊँ। त्यसैले पृथ्वी जयन्तीलाई नेपालको एकीकरण दिवसमात्र भनौँ, राष्ट्रिय एकता दिवस नभनौँ।
पूर्व उपप्राध्यापक (इतिहास)
प्रकाशित: ६ माघ २०७० २२:५९ सोमबार

