२० मंसिर २०७८ सोमबार
विचार

कोरोना, बिपी र गाउँ

कोरोनाको दोस्रो लहरले अहिले विश्व फेरि आतंकित भइरहेका बेला मानिसको जीवन यापनको नियमित चक्र नै अप्रत्याशित गतिले प्रभावित भइरहेको छ। दोस्रो लहरको यो महाव्याधिले तुलनात्मकरूपमा दक्षिण एसियाली मुलुकहरू बढी नै प्रभावित र प्रताडित भइरहेका छन्। दक्षिणी छिमेकी मुलुक भारतमा दैनिक तीन लाखदेखि चार लाख मानिसमा सक्रिय संक्रमण देखा परिराखेको छ भने मृत्यु हुनेको संख्या पनि निरन्तर चार अंकमा छ। यो आफैंमा विषम र कहालीलाग्दो अवस्था हो जसबाट मानव जातिले अप्रत्याशित मूल्य चुकाइरहेको छ।  

हाम्रै देशको अवस्था पनि अत्यन्तै नाजुक र भयाबह छ। दैनिक नेपालमा ८–९ हजारको संख्यामा संक्रमित व्यक्ति थपिइरहेका छन् भने २०० भन्दा बढी संक्रमित बिरामीको मृत्यु भइरहेको छ। संक्रमित बिरामीको संख्या यसरी बढिराखेको छ कि अस्पतालका शैया अपुग भइराखेका छन् भने समयमै चिकित्सकको उचित परामर्श र पहुँच नपाउँदा अकालमै जीवन गुमाइरहेका छन्। भौतिकरूपमा मानवीय क्षति मात्र नभएर सामाजिक, आर्थिक र मनोवैज्ञानिकतवरबाट यतिबेला नेपाली समाज विक्षिप्त छ।  

सरकारले उपत्यकामा बन्दाबन्दी घोषणा गरिरहँदा भने उपत्यकाबासी आफ्नो गाउँ फर्कन हतारो गरिरहेका दृश्य सार्वजनिक भइरहँदा नेपालको विकासको परम्परा र पद्धतिमाथि गम्भीर प्रश्न उब्जेको छ। कस्तोखालको विकासमा हामीले जोड दिएका रहेछौँ वा दिइरहेका छाैं, सजिलो हुँदा सहर अनि अप्ठ्यारो पर्दा गाउँ रोज्नुपर्ने बाध्यता आइरहेको छ ? असमान विकास र बजेटको अनुचित बाँडफाँटको मूल असर कोभिड संक्रमणको वृद्धिले सतहमा ल्याइदिएको छ। काठमाडौँमा घर र गाडी हुनु नै जीवन सफलताको मानकका रूपमा बुझ्ने मनोविज्ञान हरेक नेपालीको छ जसले गर्दा अधिकांश नेपालीको संघर्ष मूलतः राजधानीमा स्थायित्वका निम्ति जारी रहन्छ।  

कंक्रिट निर्माणको होडबाजीले स्वच्छतामा ह्रास आइरहेको छ जसका कारण अहिले अस्पतालको शैयामा  प्रायोजित हावा (अक्सिजन) का निम्ति छट्पटाइरहेका छन् कोरोना संक्रमित। प्रायोजित हावाको अभावले गर्दा चार अस्पतालले विज्ञप्ती नै जारी गरी थप बिरामीको उपचार गर्न नसकिने बेहोरा जारी गरिसकेका छन्। सबै प्रकारका सुविधा सम्पन्नताले भरिपूर्ण यो सहरमा अहिले आफन्तले आफ्नो लाश छुने अधिकार गुमाएका छन्। यो कंक्रिट सहरमा कतिपय मानिस भोकले मरिरहेका छन् भने कोही शोकले र कोही रोगले। त्यसैले यी सबै डर र त्रासबाट केही समयका लागि मुक्त हुन अहिले मानिस उपत्यका छाडेर आफ्नै गाउँ फर्कन विवश भएका छन्। २०७२ को भूकम्पले पनि राजाधानीलगायत अन्य केही स्थान थिलथिल भएका बेलासमेत अधिकांश जनताले गाउँ नै रोजेका थिए।

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ? यदि हो भने गाउँले पनि मानिसका अप्ठ्यारोको सारथि बन्नुपर्ने केही बाध्यता छ र ? गाउँलाई रुग्ण बनाएर आफू सजिन खोज्नु मानिसको मुर्खता भन्दा अरू केही हुन सक्दैन। नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले बारम्बार गाउँको विकासलाई महत्व र प्राथमिकता दिँदै आउनुभएको थियो। त्यसैले त उहाले भन्नुभएको थियो– ‘गाउँको मूलभूत विकास नै राष्ट्रको सर्वाङ्गीण विकासको आधार हो।’ त्यतिमात्र नभएर १५ वर्षभित्र हरेक नेपालीलाई प्रधानमन्त्रीको जीवनस्तरसँग पुर्‍याउने संकल्प बोक्नुभएको थियो। तर राजा महेन्द्रको पुस १ गतेको महत्वाकांक्षी कदमका कारण बिपीले आफ्नो योजनामुताबिक काम गर्न पाउनुभएन।    

बिपी बडो सरलतवरले समाजवादको व्याख्या गर्नुहुँदै ‘हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस्’ भन्ने चाहन्थे। मुलुकको विकासको योजना बनाउँदा हलो जोतिरहेको किसानको तस्बिर हेरेर योजना बनाउनू भन्ने उनको निर्देशन थियो। यसको आसय नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरि राखेर विकासमा केन्द्रित हुनु भन्ने थियो। बिपी कोइरालाको त्यो परिभाषाले सरल आकृति दिए पनि बडो गम्भीर र महत्वपूर्ण अर्थ बोकेको छ। दुहुनु गाईको प्रायोजन केवल ताजा दूध पिउनुसँग मात्र सम्बन्धित छैन। यसका धेरै अर्थपूर्ण आयाम छन् जुन हाम्रो जीवनशैली र जीवन यापन गर्ने परिवेशसँग गहिरो अर्थ राख्छ।  

एक हल गोरु र गरिखान पुग्ने जमिनको अर्थ केवल खेतीपातीको क्रियाकलापसँग मात्र सम्बन्धित छैन। यसको पनि सामाजिक र आर्थिक अर्थ गहनरूपमा अन्तर्निहित छ। हिजो गाउँमा खेतीको समयमा आग्रह गर्दा सबै गाउँले सामूहिकरूपमा उपस्थित भएर रोपाइँको काम फत्ते गर्थे। हेर्दा काम मात्र सकिएको भन्ने ठान्छन् होला, जुन सरासर गलत छ। त्यो भन्दा माथि त्यहाँ भावना जोडिएको हुन्छ, अपनत्व झल्किएको हुन्छ। गाउँमा उब्जेको खेती प्रांगारिक मलखाद प्रयोग गरी उत्पादन गर्ने प्रचलन रहेको हुनाले स्वास्थ्यका लागि कम हानिकारक र बढी पोषिलो हुन्छ। अर्गानिक खानपिनले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति वृद्धिमा मद्दत पुर्‍याउँछ। आफैँ खेती उत्पादनमा संलग्न रहेका मानिसले परनिर्भरतामा ह्रास ल्याउँछ भने आधुनिक कृषि उत्पादनका ढाँचा अपनाउँदा मनग्य आम्दानी भएका समाचार हामीले बारम्बार सुनिरहेका हुन्छौँ।  

मित्र राष्ट्रमा गएर भाँडा माझेर महिनाको ५–७ हजार आम्दानी गर्न हामी लालायित हुन्छौँ तर महिनाको लाखौँ उत्पादन गर्न सकिने खेतसँग हामीले मोह निर्माण गर्न सकेका छैनौँ। मानिसको बिग्रँदो खानपान र जीवनशैलीले गर्दा जीवनमा अप्रत्याशित घटना सामना गर्नुपरिरहेको छ। हाम्रो चेतना कसरी विकास भइराखेको छ भने राजाधानीमा ३ आना जमिन खरिद गरेर कंक्रिटको भार निर्माण गर्ने तर गाउँमा रहेको रोपनीका रोपनी जमिन भने बाँझै राख्ने। अनि रोग हामीलाई नलागे कसलाई लाग्छ ?

विभिन्न सुविधाले सम्पन्न सहर आज बिरानो बनिरहेको छ। कोरोनाको यस महामारीमा अस्पतालले बिरामी चिन्न छाडेका छन्, आर्यघाटले लासको लेखाजोखा राख्न छाडिसकेको छ, भौतिक दूरीका नाममा अस्पतालको शैयामा छट्पटाइरहेकी आमाको नजिक जानबाट वञ्चित छन् सन्तानहरू, ठूला सहरका सडक एम्बुलेन्सको आवाज सुनेर थाकिसकेका छन् र चिकित्सक र स्वास्थ्यकर्मीले दिन÷रात नभनी काम गरिरहँदा आफ्नो दूधे बालकको रोदन भुल्न विवश भएका छन्।  

राजधानीको नाममा काठमाडौँमा मात्र अस्पताल, कलेज, स्कुल, राम्रा र आकर्षण भवन, सपिङ मल, विभिन्न कलकारखाना र अन्य भौतिक संरचना निर्माण गर्ने कुरा विकासको प्राथमिकतामा प¥यो। तर गाउँमा भएका स्कुलको स्तरोन्नतिमा ध्यान पुर्‍याउन सकेनौँ। नयाँ अस्पताल र कलेज निर्माण गर्न ध्यान दिएनौँ जसका कारण काठमाडौँ मात्र सबै सम्भावनाको सहरका रूपमा स्थापित भयो। गाउँमा पनि कलकारखाना उत्पादनमा ध्यान दिएको भए स्थानीय स्रोत/साधन उपयोग हुन्थ्यो, उन्नत स्कुल र कलेज निर्माण गरेको भए जीवनस्तर र जनचेतनाको स्तर लोभलाग्दो हुन्थ्यो। सुविधा सम्पन्न अस्पताल खोलेका भए अहिले कोभिडका बिरामी काठमाडौँमा केन्द्रित हुन्थेनन्। गाउँमा भएका जडीबुटीको उचित संकलन र प्रशोधनको व्यवस्था गाउँमै गरेको भए तमाम नागरिकले रोजगार पाउँथे, गाउँको मूल्य वृद्धि हुन्थ्यो अनि गाउँका मानिसको जीवनस्तर उकासिने थियो।  

कोरोनाले अहिले गाउँको महत्व जसरी बढाइदिएको छ, त्यसरी नै आगामी दिनमा गाउँ विकासको खाका निर्माण गर्न जरुरी छ। बिपी कोइरालाले देखाउनुभएको बाटो ‘गाउँको विकास नै मुलुकको विकासको मेरुदण्ड हो’ भन्ने बुझाइलाई आत्मसात गर्दै नेपालको समग्र विकासको आयाममा केन्द्रित हुन सके कोरोना त के, जस्तोसुकै प्रतिकूल अवस्थालाई नेपालले सहजै पराजित गर्न सक्छ। किनभने कोरोना मात्रै नभएर कुनै पनि अप्ठ्यारोलाई परास्त गर्न आवश्यक पर्ने अचुक तत्वहरू– सद्भाव, एकता, सामूहिक भावना, आफ्नोपन, निस्वार्थीपन, ढाडस, मनोबल र सहयोगी हातहरू सबै गाउँमा सहजै र मनैदेखि उपलब्ध हुन्छन्। बाँकी तत्वहरू– सहरमा जे/जे निर्माण गरेका छौँ ती कुरा गाउँमा निर्माण गर्न योजना तयार पार्नु अपरिहार्य छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App