१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोना, अक्सिजन र विकासे मोडेल

अक्सिजनविनाको जीवन कति अकल्पनीय रहेछ यतिखेर छिमेकी देश भारतपछि नेपालका अस्पतालहरूमा अक्सिजनको हाहाकारले हामी सबैलाई सोचमग्न बनाएको छ। कुनै पनि महामारी सामना गर्न स्वास्थ्य सामग्री, राम्रो अस्पताल, कुशल स्वास्थ्य व्यवस्था, देशका लागि कति ठूलो रहेछ, सम्झने बेला आएको छ। हिजो हामीले आफ्ना नेताका पछि लगेर उनीहरूका सेयर भएको स्वास्थ्य प्रतिष्ठानलाई मेडिकल कलेजको स्वीकृति दिन कसरी डा. गोविन्द केसीलाई पागल भनियो र पटक–पटक सत्याग्रह गर्न बाध्य बनाइयो ? आज सरकारी अस्पतालहरू जनस्वास्थ्यका लागि कति ठूला देवालय रहेछन् भन्ने कुरा सहरमा बग्रेल्ती खुलेका निजी अस्पतालले लगाएका चर्को शुल्कले सबैका आँखा खुलाएको छ।

अक्सिजनको महत्व

‘अस्पतालमा प्रत्येक दिन बिरामीको बढी भिड छ। सबैको उही खोकी, ज्वरो र न्युमोनिया तथा स्वास फेर्न कठीन, शरीरमा अक्सिजनको मात्रा धेरैको ९२ भन्दा कम। कोही स्वस्थ छैनौँ, १६ वर्षमाथिका सबैलाई छोएको छ। बिरामी भएका प्रत्येक दुईमा एकलाई छ कोरोना’– डा. बद्री पौडेल, चरक हस्पिटल पोखरा। इटालीका ९३ वर्षका वृद्ध अस्पताल भर्ना भएर कोभिडलाई जितेपछि उनीसँग एक दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा उनी रुन थाले। एकाएक रोएको देखेर डाक्टरहरूले उनलाई सम्झाइबुझाइ गरी बिल मिनाह गर्ने कुरा सुनाएपछि उनले भने– ‘म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर मैले यो ९३ वर्षसम्म आइपुग्दा प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपियाँ पनि कतै तिरिन। आज एक दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु। ममाथि कति ठूलो ऋण रहेछ प्रकृतिको, यो म कसरी तिरुँला? यो सम्झेर रोएको हुँ!’  

सामाजिक सञ्जालमा भाइरल भएको यो भनाइले कोरोनामा अक्सिजनको महत्व र प्रकृतिमा बढ्दो कार्बन उत्सर्जनलाई घटाउन कति आवश्यक छ भन्ने ठूलो सन्देश दिएको छ। ‘त्यसैले कृपया जति जना पनि कोभिडलाई जितेर घर फर्कनुहुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घर वरिपरि एक रुख अवश्य लगाउनुहोला।’ हामी सबैले वातावरणीय, पर्यावरणीय, जैविक विविधतालाई सम्मान गर्नुपर्ने बेला आइसकेको छ। धरतीका ८४ लाख योनीमा मान्छे एउटा प्राणी हो उसका कृत्यहरूले बाँकी प्राणीको अस्तित्वमा धावा बोल्ने अधिकार कसैलाई छैन।

विकास मोडेल

हाम्रा विकासका मोडेल अग्ला धरहरा, महँगा रंगशाला, भ्यु टावर, पार्टी प्यालेस होइनन्, सुपथ स्वास्थ्य र शिक्षा रहेछन्। कारहरू मात्र घुइँकिने चाक्ला सडकहरू नभएर सुरक्षित साइकल लेन, फराकिला पैदलमैत्री संरचना जसले देशका दुईतिहाइ मान्छेको प्रतिनिधित्व गरेको छ, तीन प्रतिशत मान्छेले चढ्ने कारले ९७ प्रतिशतलाई प्रदूषण थोपरेर रोगी बनाइरहेको छ। आठ वर्षअगाडि शिलान्यास गरिएको भक्तपुरको दुवाकोटस्थित २००० बेड क्षमताको अत्याधुनिक सेवासहितको ७०० रोपनी जग्गामा फैलिएको विस्तारित वीर अस्पताल। आज  त्यो  बनाइएको  भए  यस्ता  महामारीबाट कतिलाई  बचाउन  सकिन्थ्यो? थिनप्रसाद काफ्लेले एम्बुलेन्स नपाएर अकालमै ज्यान गुमाउनुपर्‍यो। पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिका–१३ का काफ्लेले ट्याक्टरको ट्रलीमा आफ्नो अमूल्य जीवन त्यागे। संक्रमण देखिएपछि घरमै आइसोलेसन बसिरहेका उनी थला परेपछि परिवारका सदस्यले जिल्लाका सबै एम्बुलेन्सलाई खबर गरे। तर कुनै एम्बुलेन्स आएनन्।  

ओम्नीको अर्बौँ रकमले अस्पतालहरूको भौतिक पूर्वाधार सुधार गरेका भए, सेक्युरिटी प्रेसको ७० करोडले आइसोलेसन बनाएको भए, सीताराम रथयात्राको पैसाले हस्पिटलका बेड थपेको भए, पशुपतिको जलारीको करोडौँ खर्चले अक्सिजन प्लान्ट बनेको भए, फास्ट ट्रयाकमा भएको ६ अर्ब हिनामिना राम्रो अस्पतालमा खर्चेको भए, चितवनको रामपुरमा भएको कृषि विश्वविद्यालयको प्रयोगात्मक जग्गा हडपेर क्रिकेट स्टेडियम बनाउन उठाइएको अरबौँ रुपियाँले दुर्गम ठाउँमा  अस्पताल बनाएको भए आजको दूर्भाग्यपूर्ण  दिन देख्नुपर्ने थिएन। 

हरेक ठाउँमा भ्यु टावर बनाउने पैसाले एम्बुलेन्स  किनेका  भए, पार्टी  प्यालेस खोल्नु भन्दा अघि हरेक गाउँमा दमकल किनेका भए जल्ने थिएनन् अमूल्य रुख, कमी हुने थिएन अक्सिजन। ससाना विकासका मोडेलबाट सिक्दै र बढ्दै जानुपर्ने नेपालले ठूला गफ गरिरह्यौँ रेल र पानीजहाजका तर कुनै पनि पूरा भएनन्। हरेक वडामा पुस्तकालय, एउटा व्यायामशाला, हरेक सप्ताहन्तमा ५ किमि दौड पार्क रन सञ्चालन गर्न सके हामी सबै स्वस्थ हुन्थ्यौँ। हामीलाई हनुमान बनाएर सीताराम ! सीताराम! भन्दै माडीतिर दौडाइयो, कोरोना सल्काइयो। नेताका पछि होइन, अब आफ्नो स्वास्थ्यका लागि दौडौँ। कसैको वाइसिएल होइन, आफ्ना लागि दौडने विवेकी समूह भनेर चिनियौँ।            

जैविक विविधता  

जैविक विविधता भनेको  जीवजन्तु र वनस्पतिका विभिन्न प्रजातिबीचको अन्तरसम्बन्ध हो। प्रकृतिका असंख्य  जीवजन्तु  र वनस्पतिबीच एकअर्कामा अन्योन्याश्रित सम्बन्ध छ सदियौँदेखि। यस्तो अन्तरसम्बन्धमा जब कुनै प्रकारको दरार आउँछ त्यसले प्रकृतिको वातावरणीय सन्तुलनमा असर पुग्छ। फलस्वरूप अनेकखाले समस्या देखिन्छन् जसले सुन्दर मानव जीवनमा कुप्रभाव ल्याउँछ। कोभिड–१९ त्यही जैविक विविधतामाथि गरिएको नाङ्गो आक्रमणको एउटा प्रतिफल हो।  

विश्वको ४० प्रतिशत अर्थव्यवस्था र गरिबहरूको आवश्यकताको ८० प्रतिशत माग जैविक संसाधनबाट पूरा हुने गर्छन्। यसबाहेक जीवनका विविधताका धेरै चिकित्सासम्बन्धी खोज, आर्थिक विकास र जलवायु परिवर्तनका चुनौतीहरूलाई  सामना गर्नसमेत यसको महत्व  बुझ्न, मनन गर्न आवश्यक छ।

जैविक विविधताले पारिस्थितिक उत्पादकतालाई बढाउँछ जहाँ प्रत्येक प्रजाति, चाहे जतिसुकै सानो होस्, उसले वातावरण चक्रमा महत्वपूर्ण भूमिका खेल्छ। उदाहरणका लागि बोटबिरुवाका प्रजातिको एक ठूलो संख्याले बालीको ठूलो विविधतालाई सन्तुलन गर्छ। प्रजातिहरूको विविधताले सबै जीवन रूपहरूका लागि प्राकृतिक स्थिरता सुनिश्चित गर्छ। एक स्वस्थ इकोसिस्टम विभिन्न प्रकारका प्रकोपहरूको सामना गर्न र पुनः प्राप्त गर्न सक्छ। एक स्वस्थ जैविक विविधताले सबैका लागि धेरै प्राकृतिक सेवा प्रदान गर्छ।

स्ट्याफोर्ड विश्वविद्यालयका प्रोफसर पालआर इहरिच र रोडोल्फो डिरजोले गरेको अनुसन्धानअनुसार यो गणना पद्धति जसलाई इन्टरनेसनल युनियन अफ कन्जर्वेसन अफ नेचर जस्ता संस्थाले प्रयोग गर्छन्। उक्त रिपोर्टअनुसार ४१ हजार ४ सय १५ पशुपक्षी र रुख÷वनस्पतिका  प्रजाति खतरामा छन्।  अन्त्यमा,

नेपाल यतिखेर कोरोनाको तीव्र फैलावटबाट गुज्रिरहेको छ। संसद्मा सरकार गिराउने र जोगाउने टाउका गनिरहँदा देशको कोरोना मृत्युले रेकर्ड तोड्यो १३९ मृत्यु एकै दिन भएर। कोरोना संक्रमितहरू दिनानुदिन युद्धस्तरमा बढेर देश कहालीलाग्दो स्थितिमा पुगे पनि देशका प्रधानमन्त्रीले विदेशी समाचार एजेन्सीहरूसँग झुट बोलेका छन्। यो सबै बेथितिको जस आफू भए पनि जनताको लापरबाही भनेर पन्छिएका छन्।  

सबै भन्दा ठूलो समस्या अक्सिजनको आपूर्ति भएको छ। जीवनदायिनी अक्सिजन मान्छेलाई कति महत्वपूर्ण रहेछ भन्ने सन्देश यो महामारीले सिकाएको छ। आज हामी सबैले अक्सिजन बढाउने रुखलाई सम्मान गर्न संरक्षण गर्ने प्रण गरौँ। भारत सरकारले अक्सिजन कमी भएका बिरामीलाई प्रयोग गर्ने औषधि २ डिआक्सी–डि–ग्लुकोज (जसलाई छोटकरीमा २–डिजिभी भनिन्छ) को प्रयोगलाई स्वीकृति दिएको छ। नेपाल सरकारले तुरुन्त भारतसँग यो औषधि सहयोग मागोस् आफ्ना जनता बचाउन। अनावश्यक अक्सिजन ओगटेर  नाराखुँ घरमा/कारखानामा। त्यसले धेरैको जीवन बाँच्छ। कोरोनाका औषधि कालोबजारी गर्नेलाई सख्त कारबाही  गरौँ सबै मिलेर।

यो विषम परिस्थितिमा देशका सबै मिल्नु आवश्यक छ। एकअर्कालाई  दोषारोपण गरेर केही हुँदैन। अहिले यो वैश्विक महामारी सकारात्मकता र आत्मअनुशासनले जित्न सकिन्छ जसरी महाभारतमा पाण्डवहरू आफ्नी आमा कुन्तीसँग वार्णावर्त नगरमा महादेवको मेलामा गएको मौका छोपी आफ्ना  मन्त्री पुरोचनलाई त्यहाँ पठाएर एउटा लाक्षागृह बनाएर त्यसैमा पाण्डव सबैलाई जलाएर मार्ने विचार गरे तथापि त्यो घर देखेर नितिज्ञ विदुरले अनिष्टको संकेत गर्दै भाग्नका लागि एउटा गुप्त सुरुङ खनाए। यही गुप्त सुरुङमा लुक्दै दुर्योधनको जलाएर भष्म बनाउने दुष्ट सोचबाट पाण्डवहरू बचेका थिए। हामी पनि हाम्रा शास्त्रीय सन्देशबाट सिक्दै केही हप्ता लुकौँ। अध्ययन गरौँ घरभित्रको गुप्तवासमा। पारिवारिक समयको अवसर मानेर घरभित्रै अनुशासित भएर कोरोनाको आततायीबाट बचौँ र अरूलाई पनि बचाउँ।

प्रकाशित: २९ वैशाख २०७८ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App