३० आश्विन २०७८ शनिबार
विचार

यमलोक चियाउँदै मास्कको भिड

सन्दर्भ अहिलेको कोभिड–१९ बाट सिर्जित सर्व–महामारी (प्यान्डेमिक) मा मानिसले आफूलाई सुरक्षित राख्न फेसियल मास्क (विद्यानाथ कोइराला सरको भाषामा मुखौटो) किन प्रभावकारी छ भन्ने विषयको छलफल थियो। इ–प्लेटफर्म (फेसबुकचाहिँ हैन किनकि हामीले त्यो प्रयोग गर्ने गरेका छैनौँ) को एउटा समूहमा एक जना चिकित्सक साथीले एउटा ठट्टा पोस्ट गर्नुभयो। हिन्दु धर्मशास्त्रमा उल्लिखित मृत्यु र न्यायका भगवान वा यमलोकका राजा यमराजले पृथ्वीलोकबाट मानिस लिएर फर्किँदै गरेका आफ्ना यमदूतलाई सोधनी भएछ– ‘किन यति मात्रै, के समस्या पर्‍यो ?’ यमदूतले कारण बताएछन्– ‘मानिस चिन्नै गाह्रो भयो महाराज, धेरैले मास्क लगाएका रहेछन्। जजसले लगाएका थिएनन् उनीहरूलाई मात्र चिनियो र लिएर आएँ।’ भन्नुको मतलब मास्क नलाउँदा यमदूतले सजिलै लैजाँदोरहेछ। यसकारण मास्क लगाऔँ र कोरोना मृत्युबाट बचौँ।

मृत्युपछिको यमलोक वा परलोक यात्रा र त्यसमा ईश्वरको सत्ता विज्ञानको परिदृष्यमा देखिन्नन्। वैज्ञानिक व्याख्यामा ती अनुपस्थित नै हुन्छन्। तर हाम्रो सांस्कृतिक धरातलमा उभिँदा उल्लिखित ‘ठट्टा’ सान्दर्भिक देखिन्छ। यो कसैलाई व्यंग्य वा धार्मिक आक्षेप होइन, कतै नरकको भय देखाउँदा मानिस कुरा सुन्दा हुन् कि भन्ने हो। कोरोनाको दोस्रो लहर आउँदै गर्दाको पूर्वसन्ध्यामा हाम्रा प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट राम, सीताको मूर्ति लिएर अयोध्यापुरीतर्फ जाँदै गरेको कलश यात्रामा सहभागी हुने भक्तजनहरूलाई वा धरहरा उद्घाटन बेला जम्मा भएका हजारौँको भिडलाई मास्क लगाएर बस्न भनिदिएका भए अरू नभए पनि उहाँकै अनुयायीहरूको भलो हुने थियो।  

अनुयायीबीच भारतका प्रधानमन्त्री मोदी पनि धार्मिक प्रवचनको शैलीमा भाषण गर्न रुचाउनुहुन्छ। उहाँले नेतृत्व गर्नुहुने बिजेपी हिन्दु धर्म पृष्ठपोषण गर्ने राजनीतिक दल हो। अघि–पछि पौराणिक कथाहरूलाई ‘विज्ञानसम्मत’ व्याख्या गरे जस्तै अस्ति भर्खर सम्पन्न कुम्भमेलाका अवसरमा उहाँले पनि धार्मिक शैलीमा मास्कको उपयोगिताबारे बोलिदिएको भए भारतका करोडौँ नागरिकको हित हुने थियो। आखिर ती उहाँहरूकै मतदाता हुन्। महाभारतको कथामा गान्धारीले आँखा छोपेकी थिइँन्, प्रसङ्ग कोरोनाका लागि नभएर आफ्ना पतिकै लागि भए पनि। सरकारी तथ्याङ्कअनुसार कुम्भमेला शाही स्नानमा ३५ लाख भक्तालुले हरिद्वार गंगाजीमा डुबुल्की मारे।  

गंगाजीबाट सिँचित भारत अहिले कोरोनाको ग्राफमा विश्वकै अग्रपंक्तिमा छ। त्यहाँ अप्रिलको चौथो साता कुम्भमेला सकियो, अप्रिलको ३० मा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो। त्यस दिन नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६ थियो। भारतको तुलनामा यो संख्या धेरै कम देखिएला तर एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने दर ‘आर’ को मान नेपालको २.०८ छ जुन भारतको भन्दा झण्डै दुगुना हो। त्यसमा कुम्भमेला र अयोध्यापुरी रथयात्राको योगदान कति रह्यो भन्न त गाह्रो छ तर यस्तै क्रियाकलापबाट नै समुदायमा कोरोना भाइरस फैलने हो। नेपालका पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारमा कुम्भमेला भरेर आएपछि नै कोरोना भाइरस देखापरेको हो।  

भाइरसको प्रकृति भन्नु नै जति सकिन्छ चाँडै एउटा मानिसबाट अर्कोमा सर्ने हो। मानिसबिना तिनको वृद्धि असम्भव छ। त्यसकारण मानिसबाट मानिसमा सर्ने भाइरसको जुन रणनीतिक शृंखला छ, त्यसलाई तोड्नु नै यो रोगको अन्त्य हो।

भाइरसको प्रकृति भन्नु नै जति सकिन्छ चाँडै एउटा मानिसबाट अर्कोमा सर्ने हो। मानिसबिना तिनको वृद्धि असम्भव छ। त्यसकारण मानिसबाट मानिसमा सर्ने भाइरसको जुन रणनीतिक शृंखला छ, त्यसलाई तोड्नु नै यो रोगको अन्त्य हो। मानिसको समस्या के हो भने ऊ सामाजिक प्राणी भैदियो। समाजबिना ऊ बस्न सक्दैन। ठूलठूला सहरबजार, मानव आवादि, झुरुप्प बस्तीहरू उसको सभ्यताको परिचय भएको छ। घना बस्ती भाइरसका लागि असाध्य अनुकूल वातावरण हो। अझ यसो भनौँ, भाइरसको विकास भिड अनुकूल भएको हो। यसैले भारतमा मात्र होइन, नेपाल र संसारका जुनसुकै देशमा कोभिड–१९ को संक्रमण राजधानी र व्यापारिक सहरतिर धेरै छ। अप्रिल ३० कै तथ्याङ्क केलाउँदा नेपालको कुल संक्रमितको संख्यामा ४४ प्रतिशत काठमाडौँ उपत्यकामा थियो। भिडमा हुने भाइरल संक्रमण रोक्ने दुइवटा उपाय वैज्ञानिकले सुझाएका छन्– सामाजिक दूरी र फेसियल मास्क।

सामाजिक दूरी कायम गर्ने सिद्धान्तको पछाडि सन् १९३४ मा विकसित एउटा काल्पनिक ग्राफ छ– वेल्स ग्राफ। बिल वेल्स सरसफाइ प्रविधिका वैज्ञानिक थिए। उनले के विचार गरे भने मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा तिनले असंख्य मात्रामा श्वास–थोपा (रेस्पिरेटरी ड्रपलेट्स) पैदा गर्छ। वेल्सले के पनि अनुमान लगाए भने यसरी निस्केको श्वास–थोपा भुइँमा खस्नलाई दुईवटा कारकले असर पु¥याउँछ– एक गुरुत्वाकर्षण र अर्को वाष्पीकरण। यस्ता श्वास–थोपाहरूमा सरुवा रोगका कीटाणु हुने भएकाले यो परिकल्पनामाथि थुप्रै प्रयोगात्मक अनुसन्धान भए। सन् २००७ मा हङकङ विश्वविद्यालयमा स्याओच्यान सिएको टोलीले गरेको एक प्रयोग मुताबिक सामान्यतः यस्तो थोपा २ मिटर परसम्म पुग्न सक्छ। पछिल्लोपल्ट सन् २०२० म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका लिदिया बुरैबाले गरेको अनुसन्धानअनुसार जोडले हाच्छ्युँ गर्दा ८ मिटर परसम्म पुग्ने देखियो।  

यस प्रकार कुनै पनि भाइरल ज्वरबाट जोगिन सामान्य अवस्थामा २ मिटरको सामाजिक दूरीले काम गर्ने भयो तर संक्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा यो दूरीले नपुग्ने देखियो। साथै रोगीको सेवामा खट्नुपर्दा दूरी कायम गरेर संभव हुँदैन। नाक र मुख छोप्नेगरी लाउने फेसियल मास्क यस्तै अवस्थाका लागि सुझाइएको हो। अस्पतालहरूमा मास्क लाउने चलन अघिल्लो सर्वमहामारी स्पेनिस फ्लु (सन् १९१८–१९१९) देखि भएको देखिन्छ। यसअघि मन्चुरियन फ्लु (१९१०–१९११) का बेला पनि मास्क प्रयोग भएको कहीँकतै पढ्न पाइन्छ। युरोपतिर बुबोनिक प्लेग (१३४६–१३५३) का बेला पनि मास्क लगाउने गरेको चित्र संग्रहालयहरूमा देख्न पाइन्छ। तिनको आकार चराको ठुँड जस्ता हुन्थे। खासमा ती कीटाणु छेक्नका लागि नभइ गन्ध हटाउनका लागि प्रयोग हुन्थे किनकि तिनमा वासनादार तेल राखिन्थ्यो। श्वास–थोपाबाट रोगका कीटाणु सर्छन् भन्ने कुरा सन् १८९० पछिको विज्ञान हो।  

मास्कको विज्ञान कोरोना कालमा राजनीतिसित जोडिन पुगेको छ। अघिल्लो वर्ष अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रष्टै देखियो– रिपब्लिकन पार्टी समर्थकहरू मास्क नलगाउने, डिमोक्रेटिक पार्टी समर्थकहरू मास्क लगाउने। रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मास्क लाउनै मानेनन्, उनलाई कोरोना संक्रमित भयो, चुनाव पनि हारे। जर्मनीमा गत वर्ष अप्रिलदेखि र नेदरल्यान्डमा जुनदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरियो। इथियोपियामा मास्क नलाउनेलाई २ वर्षसम्मको जेल सजाय हुने कानुन आयो। अमेरिकाको न्युयोर्क र न्युजर्सी विमानस्थलहरूमा मास्क नलाउनेलाई ५० डलर जरिवाना लाग्छ।  रुसले पनि कडाइका साथ मास्कको संहिता लागु गरेको छ। भारतमा त्यहाँका प्रथम महिला सविता कोभिन्दले आफैँ सिलाइ मेसिन चलाएर कपडाको मास्क बनाइ गरिबका झोपडीहरूमा बाँड्नुभएको थियो। नेपालबाट मध्यपुर–थिमि नगरपालिकाले चीनको सानयुआन नगरलाई मास्क पठाएर मित्रता र सहयोग भाव प्रदर्शन गरेको थियो। महामारीको सुरुतिर मास्कको अभाव जताततै खट्किएको थियो, नेपालमा पनि।

नेपालमा मास्कको नाफाखोरी हुँदै गर्दा केही जागरुक वैज्ञानिक भने गुणस्तरीय मास्क उत्पादनको अनुसन्धान तथा विकासमा व्यस्त थिए। बजारमा कम्तिमा तीन किसिमका मास्क किन्न पाइन्छ– १) कपडाको मास्क, २) सर्जिकल मास्क र ३) एन–९५ मास्क। सबभन्दा किफायती कपडाको मास्क हो। यसलाई धोएर फेरि–फेरि प्रयोग गर्न सकिन्छ। रिसोर्सेस हिमालयसित आबद्ध नेपाली युवा वैज्ञानिकहरूको सञ्जालले घरमा आफूसित भएका पुरानो कपडा दोबारेर मास्क बनाउने विधि युट्युबमा हालेका थिए। सबभन्दा भरपर्दो एन–९५ मास्क बनाउन भने विशेष सामग्री चाहिने भयो र यो बनाउन लागिप¥यो काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको रिकास्ट। यसैबीच राष्ट्रिय आविष्कार केन्द्रमा महावीर पुनको टिमले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) बनाइसकेको थियो। तर त्यसको छिद्र परीक्षण हुन सकिरहेको थिएन। एन–९५ मास्कको सामग्रीको पनि छिद्र परीक्षण जरुरी हुन्छ।

पिपिइ र एन–९५ मास्कको सामग्रीको छिद्र परीक्षणमा लागे रामेश्वर अधिकारी, नानोटेक्नोलजीका प्राध्यापक। कोरोना भाइरसको आकार ०.१२५ माइक्रोन हुन्छ। तुलना गरौँ, मानिसको मसिनो कपाल पनि ७५ माइक्रोन हुन्छ। यसकारण पिपिइ र एन–९५ मास्कको छिद्र ०.१ माइक्रोन भन्दा ठूलो हुनुभएन। यस्तो मसिनो प्वालको जाँच इलेक्ट्रन माइक्रोस्कोपबाट मात्र संभव हुन्छ। खुसीको कुरा बिरलै पाइने त्यस्तो इलेक्ट्रन माइक्रोस्कोप नेपाल कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्रमा चालु अवास्थामै रहेछ। काम बन्यो। पिपिइ र एन–९५ मास्कको सामग्रीको छिद्र परीक्षण भयो। दुवै उत्तीर्ण भयो। काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार सुवोध शर्माले हर्षित हुँदै त्यो उत्पादन कतिपयलाई बाँड्नुभयो। किनकि त्यो मेड इन नेपाल थियो र जनहितका लागि दुइटा विश्वविद्यालयको सहकार्य थियो महामारीले जुराइदिएको।  

महामारीबाट छुट्कारा पाउन मास्क कत्तिको सहयोगी छ त ? गत वर्ष जुनको कुरा हो, अमेरिकाको मिसौरीमा कपाल बनाउने दुई जना स्टाफमा कोभिड पोजिटिभ देखिएछ। तिनका परिवार पनि संक्रमित भएछन् तर ग्राहक भने बचे। किन त भन्दा ती स्टाफले डबल मास्क लगाएर काम गर्दा रहेछन्। यद्यपि नेचर जर्नलमा प्रकशित यो सानो समाचार थियो यसले ठूलो कुराको संकेत दियो। कोभिड फैलिन थालेयता मास्कसम्बन्धी थुप्रै अनुसन्धान भएका छन्। एउटा अन्तर्राष्ट्रिय जर्नलमा हालै प्रकाशित एक लेखमा मास्क र संक्रमणबारे ८४ वटा अनुसन्धानपत्रको समीक्षा गरिएको छ। ती अनुसन्धान विभिन्न परिस्थिति र मापदण्ड अपनाएर गरिएका थिए। तिनको एउटा नतिजा भने साझा देखिन्छ–  मास्कले संक्रमण घटाउँछ जुन कुरा अधिकांश मानिसलाई थाहा छ तर पनि लाउन भने अल्छी गर्छन्।

हालै गरिएको एउटा सर्वेक्षणअनुसार भारतमा ९० प्रतिशत मानिसलाई मास्क लाउनुपर्छ भनेर थाहा छ तर लाउनेचाहिँ ४४ प्रतिशत मात्र। त्यसमाथि पनि उनीहरू ढङ्गले लाउँदैनन्। कोही चिउँडोमा लाउँछन्, कोही कानमा झुण्ड्याउँछन्। नेपालको स्थिति योभन्दा फरक नहोला। पहिलो लहर सकिएपछि सहरबजार, सार्वजनिक यातायात, बाटो, चोक कहीँ पनि स्वास्थ्य मापदण्ड पालना भएको देखिएन। सांस्कृतिक पर्व, भोजभतेर र व्यापार व्यवसाय अरू सामान्य अवस्थामा जस्तै फर्किए जबकि स्थिति त्यस्तो होइन भनेर वैज्ञानिक समुदाय बताउँदै थियो। तर वैज्ञानिक प्रमाणलाई हाँक दिने कोरा परम्पराको चर्को आवाज, पदमा बस्नेहरूको गैरजिम्मेवार हल्काफुल्का टिप्पणी अनि ‘अजासु’ हरूले दिने उपचार विधिको सुझावबीच वैज्ञानिक समुदायको यस्तो चेतनामूलक आवाज नसुनिने भयो।  

कोरोनाको जनचेतना र नीति निर्माताहरूको ध्यानाकर्षण गर्न लेखक, कलाकार आदिले पनि आफ्ना सिर्जनामार्फत कलम र कुची चलाइरहेका छन्। जब डोनाल्ड ट्रम्पले मास्क लाउन इन्कार गरे, मेरियन कामेन्स्किले मास्क लगाएको कोरोना भाइरस ट्रम्पसित डराएको कार्टुन बनाए जुन अत्यन्त लोकप्रिय भयो। गत महिनामात्रै रविन सायमीले बनाएको एउटा कार्टुन नागरिकमा छापियो जसमा कोरोना भाइरसले झाँक्रीलाई भाले कुखुरा चढाउँदै गरेको देखिन्छ जसमा भाइरसको बोली छ– ‘बेसार पानी, नून पानी, अम्बाको पात हालेर उमालेको पानी यस्तै नयाँ उपचारको खोज जारी रहोस् डासाप !’ भन्नु परोइन कार्टुनको चस्मावाल झाँक्री को हुन्। तर त्यस्ता रचना पनि अखबारमा छापिने वस्तुका रूपमा बिक्री भएझैँ लाग्छ जसरी विज्ञान जीवनमा प्रयोगका लागि हैन कि कुनै एउटा परीक्षामा दिइने पाठ्यांश भारको वस्तु हुन गए जस्तो।    

यतिखेर नसुन्नेहरूको भिडमा विज्ञान एक्लो, लखेटिएको र निसहाय जस्तो प्रतीत हुन्छ। इब्सेनको प्रख्यात नाटक ‘जनताका शत्रु’ मा एउटा संवाद छ– ‘तिमीलाई म भन्छु कि संसारमा सबभन्दा बलियो मानिस उनै हुन् जो एक्लै निर्भिक उभिन सक्छ।’ जनस्वास्थ्यलाई तिलाञ्जलि दिने नाफाखोर भ्रष्ट जनप्रतिनिधिहरूसितको लामो लडाइँपश्चात विज्ञानको पक्षमा बोल्ने डा. स्टकमनको मुखबाट निस्केको संवाद हो त्यो। शायद मास्क लाउनेको भिडमा यमलोकबाट उनी दृष्टिगोचर हुँदैनन्।  (प्राज्ञ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान)

प्रकाशित: २३ वैशाख २०७८ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App