८ वैशाख २०८१ शनिबार
विचार

नेपालमा चैते धान

नेपालको कृषि अर्थतन्त्रमा धान एक महत्वपूर्ण खाद्यान्नका रूपमा स्थापित छ। कृषि तथा पशुपन्छी विकास मन्त्रातलयको तथ्यांकअनुसार देशको कुल गार्हस्थ्य उत्पादनको धानले मात्र ७% ओगटेको छ भने कृषि गार्हस्थ्य उत्पादनमा २०% ओगटेको छ। नेपालमा तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाड क्षेत्रमा धान खेती गरिँदै आएको छ। त्यस्तै तत्कालीन बाली विकास निर्देशानलयको तथ्यांकअनुसार चैते धानको हकमा तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रमा मात्र नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने देखिएको छ।

करिब ९२% धान खेती असारमा अर्थात बर्खेका रूपमा गरिँदै आएको छ भने करिब ७% चैतेका रूपमा र १% जाडो मौसम अर्थात माघको अन्तिममा रोपिँदै आएको छ। विशेषगरी पहाडको खोँच वा बेसी जहाँ पर्याप्त सिँचाइ हुन्छ, चाडबाडको खर्च जुटाउने हेतुले निरन्तर चैते धान लगाएपनि असारको जस्तो चर्चा सुनिँदैन।

२०७४ सालमा ११२,००० हेक्टरमा मात्र चैते धान लगाइएको तथ्यांकमा उल्लिखित छ। त्यसपछिका वर्षहरूमा नेपाललाई खाद्यन्नमा आत्मनिर्भर बनाउने कार्यक्रमअन्तर्गत केही वर्षभित्र २००,००० हेक्टर क्षेत्रफलमा चैते धान लगाउने उद्देश्य नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानको सुपर जोन,जोन, बल्क र पकेट कार्यक्रम छुट्याइ चैते धानमा चक्लाबन्दी जस्तो प्रभावकारी कार्यक्रम कार्यान्वयनमा छ।  

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट प्रकाशित नेपाली कृषि तथ्यांक २०७५/२०७६ अनुसार नेपालमा चैते धानको उत्पादन ५४०,१०५ मेट्रिक टन र उत्पादकत्व ४.५% छ।

चैते धानको प्रदेशीय क्षेत्रफल तथ्यांक

प्रदेश क्षेत्रफल (हेक्टर)  

प्रदेश १ ५२,८२७

प्रदेश २ ३६,२७१

वाग्मती प्रदेश १८,५४७

गण्डकी प्रदेश ६,००३

लुम्बिनी  ३,८१४

कर्णाली १४२

सुदूर–पश्चिम २,४१४

जम्मा  १२०,०३८

चैत दिन लामो र रात छोटो हुने महीना हो। आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुन्छ। आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले रोगको समस्या पनि कम हुन्छ। चैते धानको ब्याड फागुन महिनाको दोस्रो सातासम्म राख्नुपर्ने हुँदा यस महिनामा मध्यपहाड र उच्चपहाडमा तापक्रम १०–२०से हुन्छ। अझ बेलुकाको र बिहानको समयमा ४–०से सम्म घट्ने हुन्छ। बाहिर तापक्रम कमी भएकाले बेर्ना नउम्रने, उम्रन ढिला गर्ने र उम्रेको पनि रोग,कीराको चाँडै सिकार हुने हुन्छ। यस समस्या समाधान गर्न गुमोजमा बेर्ना उमार्नुपर्छ। गुमोजभित्र तापक्रम चाहिएअनुसार उच्च स्थिर बनाउन सकिन्छ। जसले गर्दा बेर्नाको विकास छिटो हुने र रोपाइ अलिक छिटो गर्न सकिन्छ।  

धानमा नयाँ प्रविधिका रूपमा सिस्टम अप राइस इन्टेन्सिफिकेसन (एसआरआइ) प्रविधि अपनाउन सके ५ किलो धानको बिउले १ हेक्टरसम्म बेर्ना पुर्‍याउन सकिन्छ। कम उमेर करिब ८–१० दिनको बेर्नालाई २५–२५ सेमीको दूरीमा एउटा एउटाको दरले रोप्दा हाम्रो परम्परागत प्रविधिले रोपेको भन्दा धेरै उत्पादन लिन सकिन्छ। परम्परागत भन्दा करिब ५०% कम पानी आवश्यक पर्ने यस प्रविधिबाट चैते धान लगाउँदा सिँचाइका लागि पानी तान्नुपर्ने ठाउँमा केही सहज अवस्था हुन्छ।बिउमा लाग्ने लागत खर्च कम हुनुका साथै छोटो समयमा बेर्ना तयार हुने यस प्रविधिबारे किसानलाई तालिम दिनुपर्ने आवश्यकता देखिन्छ।  

गहुँखेती गरेका धेरै क्षेत्रमा चैत अन्तिमसम्म नै गहुँ नपाकेको अवस्था छ। कात्तिक १५ पछि अन्तिम साता नलाग्दै गहुँ बाली छर्दा ११५ देखि१२५ दिनमा तयार हुने गहुँका जात, जस्तै– वाणगंगा,गौतम, भृकुटी बिएल ११३५, आदित्य सजिलै पाक्छ र ढीला गरी सुरु गरेको भन्दा धेरै फल्नुका साथै चैत दोस्रो साताभित्र जमिन खाली हुन्छ। यसरी बाली पात्रोको पालना गर्दा चैते धान रोप्न गहुँबालीका लागि प्रयोग भएको जग्गा नै प्रयोगमा आउँछ र एकै जग्गाबाट बर्सेनि ३ बाली भित्र्याउन सकिन्छ। असारमा बाढी/पहिरो अत्यन्त जोखिम भएको ठाउँमा चैते धान लगाइ असारे धान नलगाउने वैज्ञानिक परम्परा स्थापित गर्न सके पनि माटोको संरक्षण एवम् बाढी÷पहीरोको जोखिम कम गर्न सकिन्छ।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउँदै आइरहेको छ। नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) ले निकालेका नयाँ जातहरू ग्रामीण किसानकोमा पुग्न र स्थापित हुन अलिक समय लाग्ने गर्छ। पुराना सजिलै पाइने चैते धानका जात खाँदा त्यति मीठो नहुने किसानको गुनासो सुनिन्छ।यस्तो समस्याका लागि चैते मोटा धानलाई चामलको रूपमा भन्दा चिउराका रूपमा प्रयोग गर्ने र मसिनो जातलाई चामलका रूपमा प्रयोग गर्न सकिन्छ।त्यसैपनि चैते धानका जात कम छन्, सिफारिस गरिएका जातमा सिएच ४५,चैते २,चैते ६, हर्दिनाथ १,चिते ५ मात्र हुन्। अझ मसिनो र छिटो पाक्ने जातहरू अत्यन्त न्यून छन्, भएका जात पनि मोटा भएकाले किसान एवम् उपभोक्तामाझ त्यति लोकप्रिय छैनन्। २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्र सतहदेखि ७५० मिटरसम्म चैते ५ लगाउन सिफारिस गरिरहेको छ। यो धानको दाना मसिनो,धेरै फल्ने, रोग र कीरा कम लाग्ने भनेर प्रमाणित गरिएको छ। विकल्पका रूपमा कीरा कम लाग्ने, मोटो दाना भएको चैते ४, यसैगरी मसिनो दाना हुने, रोग कीरा नियन्त्रण गर्न सक्ने हर्दिनाथ ३ लाई पनि जोड दिएको छ।

बर्खे धान भन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिँचाइको कमीले किसानहरू आकर्षित हुन नसकेका हुन्। चाहिएको समयमा मलखादको व्यवस्था मिलाउन नसक्दा पनि सोचेअनुरूपको उत्पादन हासिल गर्न नसकिएको हो। कतिपय ठाउँमा सिँचाइ नहरको व्यवस्था भए पनि कृषिमा व्यावसायिकरूपमा लाग्न नसक्नु,भएका सिँचाइ नहरको मर्मत संहारमा सरोकारवाला निकाय मौन रहनु, निर्वाहका लागि बर्खेले नै पुग्नु, किसानहरू चैते धान खेतीमा आकर्षित नहुनुका अरू कारण हुन्। पशुपालनका हिसाबले गाईवस्तुलाई चाहिने परालको उत्पादनका लागि पनि चैते धानको महत्व विगतमा धेरै थियो तर अहिले बर्सिम, टिवसेंटी,नेपियर जस्ता घाँसका जातको बाक्लो आकर्षणले परालको महत्व बुझेर चैते धान लगाउनेको संख्यामा निकै कमी आएको हो।  

कतिपय क्षेत्रमा शहरीकरण बढेकाले किसानहरू व्यापार/व्यवसायमा लाग्नु, खेतीयोग्य जमिन घर/घडेरीका रूपमा प्रयोग गर्नु, प्लटिङले जग्गा ध्रवीकरणको समस्या बढ्नु जसले गर्दा चैते धान लगाउने भूगोल घट्नु, चैते धान खेती एवम् चैते धान उत्पादन घट्नुका अरू समस्या हुन्। नेपालका हरेक किसानले ५ टनभन्दा बढी धान उत्पादन गरेबापत प्रतिव्यक्ति ५,००० दिने घोषणा गरे पनि सरकारी काम अत्यत झन्झटिलो भएको किसानको गुनासो छ। धानखेतीका लागि आवश्यक न्यूनतम किसान समर्थन मूल्य तोक्ने गरिएपनि त्यसको कार्यान्वयनमा धेरै ठूलो समस्या देखिन्छ र यस्ता कार्यक्रमले किसानलाई खासै आकर्षित गर्न सकेको छैन।  

समस्या सँगसँगै केही उल्लेखनीय काम पनि कार्यान्वयनमा छन्। सरकारले चलाएको बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धान खेतीलाई परापूर्वकालमा जस्तै परम्परागतरूपमा विकास गर्ने उद्देश्यले किसानलाई सहकारी या अन्यकुनै किसान समूहमा जोड्ने काम भइरहेको छ। जसले गर्दा कृषि यान्त्रिकीकरण, अनुदानका लागि कृषक छनोट, प्राविधिक सहयोगमा सहजता आउँछ र कृषिमा चक्लाबन्दीको साझा अवधारणा प्राप्तिमा पनि सहजता आउँछ। युवा पलायनले कृषि क्षेत्रमा चाहिने जनशक्तिको कमी भएको अवस्थामा कृषि उपकरण अनुदानमा पाउँदा जनशक्तिको कमी पूर्ति हुनुका साथै समयको बचत एवम् किसानलाई हौसला पनि मिल्ने गर्छ। 

२०७७सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर–जोन, जोन, बल्क, पाकेट कार्यक्रममा कृषकलाई समूहगतरूपमा जोडेर चक्लाबन्दी कार्यक्रम गरिएको छ। कृषि यन्त्र एवम् बिउविजनमा अनुदान, प्राविधिक सहयोग प्रदान गरिएको छ। जसले गर्दा बर्सेनिचैते धानको क्षेत्रफल र उत्पादन बढ्ने अवस्थामा छ। नेपालमा केही स्थानमा चक्लाबन्दीबाट धान खेती गरे पनि धान सुकाउने घरको व्यवस्था गर्न हालसम्म सकिएको छैन। यदि सुकाउने सुविधा दिने हो भने चैतेमा अझ आकर्षण बढाइ आयात निकै घटाउन सकिन्छ।

चैते धान समयमै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सक्दा बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ। विशेषसगरी चैते धान भित्राउँदा पानी पर्ने, किसान बेफुर्सदिला हुने,पानी परिरहने र घाममा राम्रोसँग सुकाउन नसकिने हुँदा किसानले त्यति जागर गर्दैनन्। चैते धानलाई विचार गरी धान सुकाउने प्राविधिको व्यवस्था गरिदिँदा केही हदसम्म उत्पादनमा जोड पुग्छ। जेठको अन्तिम वा असार मध्यमा काटिने यो धान सुकाउन, विशेषगरी सुकाउने मेसिनको व्यवस्था गर्नुपर्ने देखिन्छ। किसानले चैते धान असारमा भित्र्याउन भ्याइ/नभ्याइ भएर आवश्यक सुकाइ गर्न नसक्ने हुँदा धानलाई अर्को वर्षका लागि बिउका रूपमा प्रयोग गर्न सकेका छैनन्।

नार्कसँग अन्न सुकाउने प्लास्टिक सोलर ड्रायर र ग्लास सोलर ड्रायर भए तापनि यसको जानकारी न्यून छ। नेपालमा अन्न सुकाउने प्राविधि भित्रिएपनि यसबाट थोरै किसानले मात्र जानकारी लिएर प्रयोगमा ल्याएका छन्। किसानलाई यदि यी ड्रायरको महत्वबारे जानकारी हुने हो भने धेरै अन्न घुन कीरा लागेर कुहिएर जाने अवस्था आउँदैन। अन्ततः सिँचित जमिन, समृद्ध किसानको कार्यदिशामा कृषिलाई डोराउन सकियो भने मात्र पनि छिट्टै नै खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ।

(प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन, प्युठानमा कृषि इन्टर्नका रूपमा कार्यरत)

प्रकाशित: ७ वैशाख २०७८ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App