राजनीतिक दलका सभामा उपस्थिति बढाउन चुँडेका चप्पल लगाएर मजदुर आउँछन्, टाउकोमा कपडा बाँधेर जोसिला नारा लगाउँछन् । तर समावेशी अभ्यासको यो बेला टे«ड युनियनको मूल प्रवाहीकरणमा महिला र युवाको सहभागिता कति छ ? नीति निर्माण तहमा तिनको सार्थक उपस्थिति कस्तो छ ? उत्तर कतै खोजिँदैन । संवेदनाको व्यापार र आस्थाको दलालीभन्दा माथि हुन्छ मान्छे र मजदुर सार्वभौम मान्छे हुन खोजिरहेका हुन्छन् । तर, मर्दा कात्रो नदिने दलका नेताहरु तिनैलाई आफ्ना झण्डा ओढाएर सत्ता गणितको हिसाब गर्छन् । एकाथरीको भनाइ छ – मजदुर नै मजदुर युनियनको नेता नभएसम्म र आगन्तुक ठेकेदार मजदुर नेता भइरहेसम्म कहिल्यै सुघ्रिन्न मजदुरको जीवन । आफ्नै थाप्लोमा परेपछि मात्र थाहा हुन्छ थाप्लोमा नाम्लोको डाम । आगोमा घन नठोक्नेलाई के थाहा तातेको फलाम राप ? राष्ट्रिय राजनीति र नीति निर्माणजस्तो हैन व्यावसायिक संगठन । व्यावसायिक संगठनमा त्यहीँको मान्छे चाहिन्छ । नत्र त किन हुन्थे चिकित्सक संघमा डाक्टरहरु, इन्जिनियर्स एसोसियसनमा इन्जिनियरहरु र शिक्षक र प्राध्यापकहरुको संगठनमा शिक्षक र प्राध्यापक । कि मजदुरले भनून् – हामी जान्दैनौँ, बुझ्दैनौ, सक्तैनौँ, हामीलाई प्रभुमहाप्रभु चाहिन्छ । हामी दास हौँ । हैन भने किन मजदुरहरु आफैँ नेता हुँदैनन् मजदुर संगठनमा । खुलेआम म मजदुर हैन भन्नेहरु मजदुरकै पसिनाको लेबी उठाएर गाडी चढ्छन् । जनताको पसिनामा रमाउने मालिक दरबारबाट फालेर गणतन्त्र ल्याइएको मजदुर नेता नामका नयाँ राजा जन्माउन हो र ? अचम्म त के छ भने कतैबाट प्रतिनिधि हुन नसक्ने भएपछि असंगठित कुनै ठाउँ वा नाउँमा ५ सय फर्जी नाम लेख्यो, प्रतिनिधि आयो र नेता भयो । ठूलाठालुको मजदुर राजनीतिक सूत्र हो यो ।
मजदुरको कुरा गर्दा विदेशिएकालाई पनि भुल्नुहुन्न । दिनहुँ करिब २ हजार युवा मजदुर हुन विदेश जान्छन् । काठको बाकसमा लास भएर फर्कन्छन् कति । ती श्रमिकका बारे बोल्नु पर्दैन ? विदेश जानुअघि होसियार हौ भनेर चेतना फैलाउन सकिँदैन ? श्रम ऐन, श्रम कानुन तथा श्रम सम्बन्धित निर्णयमा मजदुरलाई सहभागी गराउनु पर्दैन ? विभिन्न देशमा युनियनका सम्पर्क कार्यालय खोलेर विपद्मा परेका मजदुरको उद्धारको प्रयास हुन सक्तैन ? युरोप र एसियाका धेरै संस्थासँग दोस्ती जोडेर रासन पानी माग्न सकिन्छ भने विदेश पुगेकाको संरक्षणमा तिनै संस्थाको उपयोग गर्न केले छेक्छ ? यी सबै किन हुँदैनन् भने विदेश पुगेकाहरु यहाँ युनियनका भोटर हैनन् । यहाँ राजनीतिलाई टाउको गन्न संगठन चाहिएको हो । आफू बलियो हुन र चुनावी राजनीतिमा अर्थसहितको शक्ति सञ्चय गर्न युनियन चाहिएको हो । आजसम्म मजदुरका नाममा अरबौँको दान, अनुदान, चन्दा र सहयोग आए तर आजसम्म एउटा कुनै कल्याणकारी कोष छैन । अझै मजदुरहरु एउटा घर देखाएर नेतृत्व किन्न खोज्नेहरुकै बँधुवा भइरहून् र कतिपय नेता आफू चाहिँ फ्याक्ट्री साहुका करिया र हली बनूँ भन्ने चाहन्छन् । दासहरु नै आफू ठूलाका दास हुन र अरुलाई दास बनाउन रुचाउँछन्, सिपालु हुन्छन् ।
विसं २००३ सालमा विराटनगरमा भएजस्तो मजदुर आन्दोलन त्यसपछि कहिल्यै भएको छैन । त्यसपछिका आन्दोलनमा उपस्थित मजदुरको संख्या प्रशस्त छ तर नारा, मुद्दा र निर्णय तिनको छैन । उनीहरु टाउको गनिने वस्तु भएका हुन्छन् । तिनलाई कतिपय मजदुर नेताले आफ्नो पार्टीमा चाकरी गर्ने लाइसेन्स वा तुरुप बनाउने गरेका छन् । एउटा नेताले युनियनमा कब्जा जमाएपछि लोकसेवा पास गरेजस्तो पद छोड्दैन र त्यही पद टेकेर सुख सयलको ठूलो कारखाना खोल्छ र मालिक भइरहन्छ । नेपाली काँग्रस निकट श्रमिक संगठन नेपाल ट्रेड युनियन कांग्रेस– स्वतन्त्र पनि यसको अपवाद बनेको छैन । विसं २०४७ देखि लक्ष्मण बस्नेत निरन्तर अध्यक्ष छन् । उनले धेरै राम्रा काम पनि गरे होलान्, केही गर्ने रहर र संकल्प पनि थिए होलान् तर उनका पछि लागेका धेरै मान्छे नक्कली सर्टिफिकेट लिएर सरकारी श्रमिक हुन पुगे । जीवनभर समाचार र विचार नलेख्ने पत्रकारमा दरिए । कतिपय गैरश्रमिक श्रमिक बनेर लाभको पदमा पुगेका छन् । चुनाव हार्ने स्थिति बन्यो भने बस्नेतले नेतालाई प्रयोग गर्छन् र सुरक्षित हुन्छन् भन्ने आरोप उनलाई लागिरहेको छ। वीरगञ्जमा भएको अघिल्लो महाधिवेशनमा उनले गिरिजाप्रसाद कोइराला समेतलाई दुरुपयोग गरेको देखियो । मजदुर आन्दोलनका प्रणेता तथा त्यतिखेर सबै दलका साझा नेता भएका कोइराला संविधान सभाको निर्वाचनमा पार्टीका पक्षमा समेत मत माग्न ननिस्केका बेला वीरगञ्जमा चैते लामखुट्टेको टोकाइ सहेर लक्ष्मण बस्नेतलाई भोट माग्न पुगे । तिनै गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा मजदुरका पक्षमा के कस्ता नीतिगत निर्णय गर्नुपथ्र्यो लक्ष्मण बस्नेत र उनको केन्द्रीय समूहले कोइरालालाई भनेको कहिल्यै सुनिएन । मजदुरको पक्षमा निर्णय भए मालिक रिसाउन सक्थे । कतिपय मजदुर नेता मालिकलाई चिढ्याउन चाहन्नथे र अझै चाहन्नन् । होटलहरुमा मजदुरहरुलाई १० प्रतिशत सेवाशुल्क उठाउने प्रस्ताब बस्नेतहरु कै कारण तुहियो तर माओवादीले त्यसैलाई मुद्दा बनाएर संगठन बढायो र कतिपय कांग्रेसनिकट मजदुरलाई समेत आकर्षित गर्योु।
नेपाल ट्रेड युनियन कांग्रेस – स्वतन्त्र महाधिवेशनको संघारमा छ । अब के हुन्छ ? अन्तर मन्थन चलिरहेछ मजदुरहरुका माझमा । विभिन्न समूह निर्वाचनको मैदानमा देखिएका छन् । टे«ड युनियन राजनीतिलाई नजिकबाट बुझ्नेहरु भने त्यसलाई पुरानै रणनीतिको नयाँ संस्करण ठान्छन् । महाधिवेशनको संघारमा रहेको नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका मजदुर आफैँ कति स्वतन्त्र र विवेकवान् छन् ? परिवर्तनका पक्षमा कति वकालत गर्छन् र सक्रिय हुन्छन् ? उत्तरका लागि परीक्षा गरूँ र हेरूँ तिनले कसलाई र कुन विधिले आफ्नो नेता छान्छन् ! संक्रमणमा रहेको नेपालजस्तो मुलुकमा यति ठूलो मजदुर महासंघले अझै ठूलो अर्थ र महत्ता छ । आखिर बुझ्नुपर्ने त मजदुरहरुले नै हो।
प्रकाशित: ८ भाद्र २०७० २२:१४ शनिबार

