७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रभुले तय गरेका गन्तव्य

केपी ओलीको अति राष्ट्रवाद (छद्मरूपी भए पनि) र प्रचण्डमा अन्तरनिहित कम्युनिस्ट शासनको धङधङीका कारण नेकपा दुर्घटनामा परेको तथ्य लुकाइरहनु पर्दैन । नेपालका कम्युनिस्टलाई एकीकृत गरी आफ्नो प्रभुत्व कायम गर्ने लक्ष्यमा रहेको चीनको उपस्थिति नेकपा सरकार गठनसँगै बाक्लिएको थियो। जुन भारतलाई चित्त बुझेको थिएन । नेकपामा भित्र विग्रह पैदा गरी उनीहरूलाई अलग–अलग बनाउने रणनीतिमा लोकतान्त्रिक शक्ति लागेका थिए । सर्वोच्च अदालतले नेकपालाई ३ वर्ष पछाडि फर्कने गरी आदेश दिएसँगै कम्युनिस्टहरूको गठबन्धनसँग शङ्कित भारत पनि आफ्नो रणनीतिमा सफल भएको देखिन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणमा चीनको विशेष भूमिका थियो भन्ने तथ्य पछिल्लो समयमा नेकपाबीचको विवाद उत्कर्षमा पुग्दै गर्दा उनीहरूलाई मिलाउन चिनिया राजदूत स्वयंले देखाएको अग्रसरताले पुष्टि गर्छ ।  

सशस्त्र आन्दोलनको बलमा सत्ता कब्जा गर्ने दाउमा रहेका प्रचण्डले आफ्नो १० वर्षे जनयुद्ध त्यागी प्रतिस्पर्धी राजनीतिक प्राणालीलाई स्वीकारेसँगै मुलुकको निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बन्न पनि सफल भएका थिए। प्रधानमन्त्री बनेपछि प्रथम पटक भारतको भ्रमण गर्ने विगतका प्रधानमन्त्रीहरूको परम्परालाई  तोडेर आफू प्रधानमन्त्री भएलगत्तै प्रचण्डले चीनको भ्रमण गरेका थिए। उनी चीनको कित्तामा रहेको भन्ने भारतको बुझाइलाई उक्त भ्रमणले थप बल पुर्‍यायो । नेपाली सेनाभित्र प्रचण्डले गर्न खोजेको हस्तक्षेप उनका लागि महँगो सावित भयो। प्रधानमन्त्री नियुक्त भएको ७ महिनामै प्रचण्डले राजीनामा दिनुपरेको इतिहास ताजै छ।

प्रचण्डको शब्दसापटी लिँदा विदेशी प्रभुलाई सत्तोसराप गर्न सिपालु नेपालका अधिकांश कम्युनिस्ट पार्टी उनै प्रभुकै बुइ चढेर आफू सत्तामा टिकिरहने दाउमा रहेको उनीहरूका पछिल्ला गतिविधिले पुष्टि गर्छन् ।   

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको साहसिक निर्णयका कारण माओवादी शान्ति प्रक्रियामा आएसँगै राजनीतिको केन्द्रमा प्रचण्ड उदाउँदै आएका थिए। यसबीचमा सरकार बनाउने र गिराउने खेलमा प्रचण्डको निर्णायक भूमिका रहँदै आएको थियो। एकातिर  लोकतान्त्रिक पद्धतिलाई आफूले पूर्णरूपमा स्वीकारेको अभिव्यक्ति दिने र अर्कोतिर चीनको जस्तो कम्युनिस्ट शासन प्रणाली नेपालमा स्थापित गर्ने लक्ष्यस्वरूप वर्तमान शासन प्रणालीलाई उपयोग मात्र गरेको भन्दै चीनको साथ खोज्ने उनको द्वैध चरित्रकै कारण अमेरिका, भारतलगायत लोकतान्त्रिक शक्तिराष्ट्रहरूसामु उनको विश्वास क्षीण बन्दै गएको हुन सक्छ।  

प्रथमपटक प्रधानमन्त्री नियुक्त भएको सुरुवाती चरणमा चीनसँग  नजिकिने कसरतमा प्रधानमन्त्री केपी ओली लागेसँगै भारत उनीसंँग चिढिँदै गयो । नेपालले नाकाबन्दीको सामना गर्नुपर्‍यो । आफूलाई असल राष्ट्रवादी नेताका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा होमिएका ओली माओवादीसँगको कार्यगत एकताकै बलमा झण्डै दुईतिहाइ सांसद सदस्यको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएलगत्तै नेपालले गुमाएको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटेर नक्सा सार्वजनिक गरी नेपाली जनताबाट वावाइ बटुल्न सफल प्रधानमन्त्री केपी भारतको दबाबका कारण आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका थिए ।  

सत्ता टिकाउनकै लागि विभिन्न हर्कत देखाउँदै आएका ओलीको राष्ट्रवाद पनि खोक्रो सिद्ध भयो । अमेरिका, भारतलगायत लोकतान्त्रिक शक्ति राष्ट्रसँग पौठेजोरी खेलेर सत्तामा टिकिरहन नसकिने निष्कर्षमा पुगेका ओलीले आफूलाई एमसिसीको पक्षमा उभ्याएसँगै उनीहरूको विश्वास जित्न सफल भएका छन् । सुरुमा चीनको कित्तामा उभिएका ओली भारतको निगाहविना प्रधानमन्त्रीमा टिकिरहन नसकिने देखेपछि अहिले भारतपरस्त बनिसकेको तथ्यलाई चीनको कित्तामा उभिँदै आएका प्रचण्डसँगको सम्बन्ध विच्छेदले पुष्टि गर्छ।

प्रचण्डको शब्दसापटी लिँदा विदेशी प्रभुलाई सत्तोसराप गर्न सिपालु नेपालका अधिकांश कम्युनिस्ट पार्टी उनै प्रभुकै बुइ चढेर आफू सत्तामा टिकिरहने दाउमा रहेको उनीहरूका पछिल्ला गतिविधिले पुष्टि गर्छन् ।  नेपालको राजनीतिमा आफ्नो प्रभुत्व स्थापित गर्न खोजिरहेका शक्ति रास्ट्रहरूलाई यिनै कम्युनिस्ट दलले बल पुराउँदै आएका छन् भन्ने तथ्य लुकाइरहनु पर्दैन । २००७ सालदेखि अहिलेसम्मको राजनीतिक घटनाक्रम केलाउँदा मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउन यिनै कम्युनिस्ट दल नै प्रयोग हुँदै आएका छन् । २०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा उत्रनु  र २०५२ सालदेखि १० वर्षसम्म माओवादीले मच्चाएको  विद्रोह पनि तिनै शृंखलामध्येका उदाहरण हुन् ।

जंगबहादुर राणाको मृत्युपछि राणाहरूको भाइभाइको झगडा र एकले अर्कोलाई सिध्याउने खेल हामीले नदेखे पनि पढेका र सुनेका छौँ । यो सबै श्री ३ प्रधानमन्त्रीको पद प्राप्तिका लागि थियो । राणा शासनअघि पनि राजाहरू बालक हुनुका कारणले मुख्तियारी चलाउनेको होडबाजी थियो । सत्ता र शक्ति प्राप्तिका लागि खिचातानी भइरहने भएकाले नेपालमा सामाजिक सेवा र विकास निर्माणका काम प्रायः औपचारिकतामा सीमित भइरहेका छन् । विज्ञान र प्रविधिले फड्को मारिसकेको आधुनिक विश्वमा हामी भने टुलु–टुलु हेर्नुसिवाय अरू केही गर्न सक्दैनौँ ।

हाम्रो काम भनेको सत्तासीनहरूको पक्ष/विपक्षमा लागेर चाकडी बजाउनु मात्र हो । नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रिइरहेको छ । पद, सत्ता र शक्ति सबैभन्दा मुख्य कुरा हो । ‘राष्ट्र र जनता भाणमै जाए’ भन्ने संस्कृति हाम्रो राजनीतिमा छ । राजनीतिमा इमान्दारिता, नीतिगतता र नैतिक अनुशासन कोमामा छ। यसैले गणतन्त्र, लोकतन्त्र र समाजवाद जस्ता शब्दावली केवल सिद्धान्त र किताबमा मात्र सीमित भएको छ । यसले समाज र जनतामा परिवर्तनको तात्विक अनुभूति भएको पाइँदैन ।

कुनै पनि शासन व्यवस्था जब अलोकप्रिय हुन्छ, तब त्यस देशमा विदेशी शक्तिले खेल्ने ठाउँ पाउँछ । जुन देशमा लामो समयसम्म अस्थिरताले घर गरिरहन्छ त्यस देशमा कुनै पनि लोक हितकारी काम पनि हुनै पाउँदैन । अस्थिरता र अलोकप्रियताका कारण सही मार्ग निर्देशन दिने कुनै शक्ति देशभित्र देखा नपरेपछि त्यो परिपूर्ति गर्न तम्सने विदेशी शक्ति हुनु सामान्य कुरा हो । प्रत्येक देशका आ–आफ्ना स्वार्थ हुन्छन् । यस्ता विदेशी स्वार्थलाई आफ्नो देशको राष्ट्रिय स्वार्थले थिच्न सक्नुपर्छ ।

तर नेपालमा त्यसो भएन । नेताहरू शक्ति र सत्ताका लागि विदेशीहरूसँग नै हारगुहार गर्ने भए । सत्ताका लागि दूतावास धाउने ठूला क्रान्तिकारी नेता पनि हाम्रै देशमा छन् । विशेष गरेर नेपालमा प्रजातन्त्र ल्याउन २००७ साल कात्तिक महिनामा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासबाट दिल्ली पुगेपछि नै भारतीय राजनीतिक खेल नेपालमा भित्रिएको इतिहास बताउँछ ।

प्रकाशित: ६ चैत्र २०७७ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App