७ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

राष्ट्रिय स्वाभिमानको क्षयीकरण

देश अहिले संक्रमणकालमा छ। परिवर्तन पूर्वको अवस्था संक्रमणकाल हो। समाज, प्रकृति र प्राकृतिक प्रणाली परिवर्तनशील हुन्छ। संक्रमण पनि अनिवार्य सत्य हो। परिवर्तनका क्रममा देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति पनि संक्रमणकालमा प्रवेश गर्छ। सुझ बुझ भएका दूरदर्शी राजनेताले राज्य सञ्चालन गरे, तत्तत् विषयका विशेषज्ञ बुद्धिजीवी वर्ग भए र आत्मबल भएका जनता भए भने संक्रमणकालको उचित व्यवस्थापन हुन्छ। नत्र त्यही संक्रमणकाल खण्डमा गृह युद्ध भड्किने, जनताको आत्म सम्मान घट्ने तथा कालान्तरमा मुलुकको विखण्डन हुनेसम्म देखिएको छ। 
गत वर्ष प्रधानमन्त्री भट्टराईले चीनका समकक्षी नेतालाई नेपाल भ्रमण गर्ने निम्ता गरे। निहोरा गर्दा गर्दा बल्ल उनी आउने त भए, तर आए पनि बर्माको भ्रमण गरिसकेर नेपालमा एक दिन पनि नबसी पाँच घन्टामात्र बसेर गए। उनको कार्यव्यस्तताले वा सुरक्षाको दृष्टिले त्यसो गरेका भए पनि भट्टराई बहुत कृतार्थ भए, ठूला देशका बडे नेतालाई नेपाल ल्याउन सकेकोमा। चीनका नेता बेलामौकामा आउँछन्, नेपाली नेतालाई पनि बोलाउँछन्। पोहोर विदेश मामिला हेर्ने मन्त्री आइ पिङ आए, केही अघि काउन्सिलर जेइची आएर गए। उनले के सल्लाह दिए अरू त थाहा भएन, चुनाव चाँडै गराउने र आफ्नो सहयोग त्यसमा रहने पनि भने। आइपिङले नेपाल सङ्घीयतामा जानु हुँदैन, यसो गरे नेपाल फस्छ भन्ने सल्लाह दिएको प्रकाशमै आएको थियो। चीनको नीतिलाई उनले प्रकट गरेको हो।
चीन सवा अर्ब जनसंख्या भएको विशाल देश सङ्घीयतामा नगएर एकात्मकै रहने तर दुई करोड अठसठ्ठी लाख जनसंख्या भएको डेढ सय किलोमिटर जति चौडा बिहान सबेरै पूर्वबाट मोटरमा हिँडे बेलुका ठूलो साँझमा पश्चिम सीमामा पुगिने देशलाई दस पन्ध्र टुक्रामा बाँड्ने कार्य विडम्बना नै हुन्छ। आफ्नो आन्तरिक सुरक्षा स्वार्थ र नेपालको स्थिरताको चीनले चिन्ता गर्नु दुवै देशको भलाइकै लागि हो। चीनलाई नेपालमा क्षेत्रीयता र सङ्घीयताको जालो को को बुन्दैछन्, कहाँ कहाँबाट यो योजना सञ्चालित हुँदैछ भन्ने पनि स्पष्ट थाहा छ। परन्तु, चीनको यो मनसाय, यो सल्लाह छ भन्ने प्रकाशित भए पनि यस विषयमा ठूला नेता भन्नेहरू मुखै फोर्दैनन्।
चार वर्षसम्म वादविवाद तर्कवितर्क गर्दा कहिल्यै सहमतीय सरकार बनेन। संविधानको अन्तर्वस्तुमा सहमति नभए पछि त्यो पनि बन्ने कुरै भएन। संविधानै नबनाई संविधान सभा भङ्ग गरी स्वार्थी मधेसी दल र आफ्ना गण हुलेर जम्बो मन्त्रिपरिषद् र त्यस्तै सल्लाहकार समूह सम्मिलित गरी बलिया बनेका प्रधानमन्त्री बाबुराम भट्टराई दसबीस बर्ष ढुक्कसँग एकाधिकार चलाउने पक्षमा थिए। उनलाई चुनाव गराउन दिइयो भने विहारी शैली अपनाउँछन् भनेर सबै दल डराए। सत्ताबाट उनलाई ओराल्नका लागि अरू दलको नेतालाई सत्ता सुम्पन माओवादी मरिगए नमानेकाले आजित भएर दाहाल भट्टराईकै बहालवाला प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलील सबैदलले स्वीकार गर्न बाध्य बन्नुपर्‍यो। संविधानको विधि पुर्‍याएर बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा पूर्व प्रशासक सम्मिलित निर्दलीय मन्त्रीमण्डल गठन गरियो। उसलाई निर्देशन दिन भनेर चार दलको समिति पनि बन्यो। त्यसको तुरून्तै दाहाल निम्तो मान्न चीनतर्फ उँडे। नेपालको प्रतिनिधि हुँ, समितिकोे अध्यक्ष हुँ भनेर चीनमा ठूलै सत्कार सम्मान पनि पाए। उता बाट फिरेलगत्तै भारतबाट निम्तो पठाइदिनु पर्‍यो भनेर दूतावास धाउन थाले। भारतले पनि ठूलै दलको ठूलै नेता भेट गर्न चाहन्छ, आफूले भनेको मान्छ, विधेय छ भने किन निषेध गर्ने भनेर निम्ता दियो। त्यहाँ सम्मान राम्रै पाए। त्यहाँबाट फर्केर उनले भारतले 'जातीय होइन भाषिक राज्य' बनाऊ भन्यो भने। यतिमात्र होइन अब मधेसबाटै चुनाउ लड्छु पनि भन्न थाले। यो मन्त्र उनले उतैबाट सुनेको हो वा बाबुरामको झल्को आएको हो?  प्रधानमन्त्रीको चुनावमा आफूले आठपल्ट, कांग्रेसले सत्रपल्ट हारेकोमा भारतले एकै वचनमा लोभी पापीको मोर्चा मिलाई बाबुरामलाई सजिलै सत्तारोहण गराइदिएको थियो। बाबुराम मोर्चाका गणहरूले पनि राम्रै सत्तासुख र शुभलाभ लिएका थिए। यसैले दाहाल पनि उतै लहसिएका हुनुपर्छ। साँच्चै उता गए ठूला बृक्षको छाहारी पनि पाइने, चुनाउमा सहयोग पनि हुने, जित्ने निश्चितता पनि हुने भन्ने ठाने। यसबाटै नेपाली जनताका नेता हुँ भन्नेहरूको आत्मबल कति गिर्दो छ भन्ने स्पष्ट देखिन्छ भने राष्ट्रिय स्वाभिमानको त कुरै हरायो!
अर्को घटना हेरौँ। चीनबाट नेताहरू नेपाल आउने यताबाट पनि जानेे क्रम चलिरहने। भारतमा चाहिँ यताबाट एकोहोरो जानेमात्र भएको थियो। उताबाट त्यस्तो उच्च नेता नेपाल नआएको धेरै भएपछि यसपाली भारतका विदेशमन्त्री दुई दिनका लागि नेपाल आउने भए। पछि आउने बेला एक दिनको मात्र कार्यक्रम तय भयो। भारतका विदेशमन्त्री सलमान खुर्सिद आउने निधोमात्र के भयो नेपाली राजनीतिक वृत्तमा ठूलो हलचलै मच्चियो।
उहिल्यै राजा महाराजाको सवारी हुँदा राज्यका ठूला कर्मचारी देशका भए भरका गण्यमान्य भेला भई दर्शन भेटमा हाजिर भएर आफ्ना बिन्ती बिसाउँथे। मागपत्र प्रस्तुत गर्थे। त्यस्तै राणा प्राइमिनिस्टरहरू हिउँदमा जाडो छल्न सिकार खेल्ने भनेर तराई झर्थे। त्यहाँ यस्तै मेला लाग्थ्यो। आआफ्ना दुखेसा पोख्थे। राजधानीमै रहँदा पनि जागिरे, ढाक्रे साँझसबेर ढोकामा लाम लागेर चाकडी बजाउँथे। पद प्रतिष्ठा प्राप्त गर्थे। राजा छउन्जेल यही क्रम थियो दरबार नजीक बनेकाले पद प्रतिष्ठाको लाभ लिन्थे। अलोकप्रिय भएर जनतामा जान भिज्न मिल्न नसक्ने जतिको गति त्यस्तै थियो। अहिले राजा छैनन्। मुखले निन्दा गरेपनि त्यस्तो सामन्ती सोच गएको छैन। ठूलो शक्तिको आड लागेर लाभ लिने होडमा सबै लागेका छन्। यसैले दिल्ली बेइजिङ घाउछन्। दिल्लीकै शक्तिशाली मन्त्री आउँदा सबैले यो मौका छोपे। उनी बसेको द्वारिका होटलमा दर्शन भेटका लागि नेताहरूको मेला लाग्यो। मौका गुम्छ कि भनेर होला मधेसी नेता त झन् जन्तीजस्तै हुल बाँधेर हाजिर भए। छुट्टाछुट्टै भेट गर्न समयाभावले हो वा 'नछुट्टिओ' भन्ने सन्देश दिन हो खुर्सिदले पनि सामूहिकै दर्शन दिए। त्यहीँ निर्देशन दिए भन्ने पनि प्रचारमा आयो। अरूको त के कुरा गर्ने आआफ्नो मान मर्यादा बिर्सेर पूर्वप्रधानमन्त्रीहरू समेत त्यहीँ हाजिर भए। रोग यहाँ निको पार्न नसकिने भएर हो वा हैसियत देखाउन हो सिगापुरको अस्पतालमा पत्नीलाई लिएर गएका पूर्वप्रधानमन्त्री पनि महान् देशका वरिष्ठ मन्त्री आएका छन्, अरूले दर्शन पाए र लाभ लिने भए। मेरो हरिने भो भनिठानेर हाँपझाँप गर्दै आइपुगे। दर्शन भेट पाए।
यिनले केे के पाए? अब पाउँदै पनि जालान्। तर राष्ट्रभक्त स्वातन्त्र्यप्रेमी प्रबुद्ध जनताले चाहिँ यसरी राष्ट्रिय स्वाभिमान गुमेकोमा अवसाद पाए, अपमानित भएको ठाने। आफ्नो खुट्टामा उभिन नसक्ने, जनताको लोकप्रियताको भर नपर्ने, विदेशीको मुख ताक्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानको ख्याल नराख्ने नेताबाट देश विकासको जनताको जीवनस्तर उचाल्ने कुराको के आशा राख्ने? नेपालको आधुनिक इतिहासमा उन्नाईसांै शताब्दीको सात दशक जागरणको समय थियो। त्यस युगका शासकका त के कुरा गर्नु? सुगौली सन्धिपछिकै थापा, राणा शासकले पनि राष्ट्रियतामा आँच आउने स्वाभिमानको क्षति पुग्ने यस्ता कायै गरेका थिएनन्। एकाध उदाहरण हेरौं।
१. भीमसेन थापाको शासनको पछिल्लो कालमा राजा वयस्क भएर शक्तिशाली बन्न खोजे पछि दरबारमा उनको साख गिर्दै गयो। चीनको सहयोगले अंग्रेजलाई जितेर गुमेको भूमि फिर्ता गर्ने योजना सफल नहुने ठानेपछि उनी अलि हरेस खान थाले। बरू अंग्रेजसँग मिलेरै अड्न सक्छु कि भन्ने झिनो आशाका साथ बेलायत जाने मन गरे। अंग्रेज सरकारले जाने अनुमति दियो। तर पछि आफू नगएर भतिज माथवरसिंहको नेतृत्वमा जङ्गबहादुरसहितको प्रतिनिधिमण्डल पठाए। कलकत्ता पुगेपछि देशका प्रतिनिधिको रूपमा उहाँ स्वागत सम्मान नहुने भएपछि उनीहरू फर्केर नेपाल आए। अहिलेका नेता भए यो औसर पक्कै छोड्ने थिएनन्। माथवरमा पनि राष्ट्रिय स्वाभिमानको चुरो जिउँदो थियो। त्यसैले उनी बीच बाटोबाटै फर्केर आए।
२. प्राइममिनिस्टर बनेपछि जङ्गबहादुर सजधजसँग बेलायत गए। उनले पूर्ण राजकीय सत्कार सम्मान पाए, सलामी खाए, यस्तो सम्मान शासनकालभर कायमै राखे। जङ्गबहादुर कलकत्ता जाँदा गभर्नर जनरललाई भेट्न गए। गभर्नर अर्को दिन भेट गर्न आउने भए। उनी आउँदा जङ्गबहादुरले फाटकसम्म जानुपर्ने भयो। म प्राइममिनिष्टर र राजाको प्रतिनिधि, गभर्नर त प्राइम्मिनिष्टरको प्रतिनिधिमात्र हो, उसलाई सम्मान दिन म किन जाने भनेर गभर्नर जनरल आई पुग्ने बेलामा घोडा पड्काएर हिँडे। गभर्नर आइपुगे र पर्खेर बसे। जङ्गबहादुर आधा घन्टापछि हतारिदै आए र 'ए म त साहेबलाई वल्कन परैसम्म जाउँ भनेर हिडेको बाटो फरक परेछ' भनेर उल्टै उनैलाई पर्खाइदिएर आफ्नो सान राखे।
३. जर्ज पञ्चमको राज्याभिषेकका उपलक्ष्यमा निमन्त्रित भई चन्द्रशम्शेर दिल्ली दरबार गएका थिए। त्यहाँ भारतीय राजा महाराजको पंक्तिमै उनको पनि सिट राखिएको रहेछ। त्यो देखेर चन्द्रशमशेरले आफ्नो सिट पर अलग्गै राख्न लगाएर बसे। 'यत्रा बडे बडे राजा महाराजा नबाफ बसेको पंक्तिमा कसरी बसूँ' भनेर व्यङ्ग्य गरे। बुझ्नेले बुझिहाले, उनले आफूलाई एउटा स्वतन्त्र राष्ट्रको प्राइम्मिनिस्टरको हैसियतले प्रस्तुत गरेका थिए।
४. चन्द्रशम्शेरलेे २२ वर्षको प्रयासपछि सुगौली सन्धिमा सुधार गराएर नेपाललाई स्वतन्त्र राष्ट्रको स्वरूप दिलाए। श्री ३ को सम्बोधन सम्मान सुधारियो। बेलायतको आवासीय प्रतिनिधि (रेजिडेन्ट) अब राजदूत (एम्बेस्डर) बने। अन्य देशसँग सम्बन्ध बढ्न लाग्यो। अन्तिम राणा प्राइम्मिनिस्टर दिल्ली जाँदा नेहरू सरकारले भव्य स्वागत गरेको थियो। यसमा भारतको स्वार्थ गासिएको थियो। ब्रिटिसभारतसँगको सन्धिलाई स्वतन्त्र भारतसँग पुर्ननवीकरण गर्नु जो थियो। जे भए पनि नेपाली प्राइममिनिस्टर भारतीय प्रधानमन्त्रीको स्वागत सत्कार र सम्मानले प्रफुल्लित थिए।
४. जनक्रान्तिपछि २००७ साल फागुन ७ गते राणाकांग्रेस सम्मिलित सरकार बन्यो। मोहनशम्शेर प्रधानमन्त्री विश्वेश्वरप्रसाद गृहमन्त्री। अब मर्यादा क्रममा कुरो उठ्यो, पार्टी नेताको हैसियतले विश्वेश्वरले नै दोस्रो दर्जा पाउनुपर्ने थियो। तर रक्षामन्त्री बबर शम्शेरले 'विश्वेश्वर बाबु, हिजोसम्म सेनाको चिफ र श्री ३ पछि दोस्रो मैं थिएँ, अहिले केही समयको लागि भए पनि यो मर्यादा राखिदिनोस्, म सहीमात्र गर्छु, र बम्बई गएर बस्छु' भन्न थाले। संक्रमणकाल व्यवस्थापनका कुशल व्यक्ति विश्वेश्वरले यो कुरा तत्काललाई मानिदिए र केहि समयपछि बबर शम्शेर आफै बम्बई गएर बसे। सामन्ती राज्य व्यवस्थाका उपज भए पनि बबर शमशेरले आफ्नो मर्यादालाई तलमाथि पर्न दिएनन्। बरु पाएको पद नै छाडिदिए।  
एक देशको राजनीतिक नेतृत्वले अर्को देशको राजनीतिक नेतृत्वसँग कस्तो व्यवहार गर्नुपर्छ, मर्यादाक्रम कस्तो हुनुपर्छ भन्ने परापूर्वदेखिनै स्थापित मान्यता हो। हाम्रा देशका यी नयाँ नेतामा मर्यादाको, स्वाभिमानको र राष्ट्रियताको कुनै ख्याल छैन। पद र पैसा पाइन्छ भने अरू सबै गौण भएका छन्। ठूला दलका ठूला नेता र अध्यक्ष, सहसचिव स्तरको राजदूतकोमा चाकरीमा धाउँछन्। राजदूत पनि नेताजस्तो बनेर देश भ्रमण गर्छन्। राणाकालमा जतिको कूटनीतिक मर्यादा पनि रहेन। राष्ट्रियता, राष्ट्रिय स्वाभिमानको त कुरै हरायो। यो सब हुनामा हाम्रै देशका नेता दोषभागी छन्। विदेशीलाई दोष दिन सकिँदैन। अहिले जाज्वल्यमान बनेका नेता दाहाल र भट्टराईको जोडीले भारतमा बसी नेपालमा सशस्त्र आतङ्क मच्चाउदा आतङ्कवादका कट्टरविरोधी भारतीय सत्ताधारी प्रधानमन्त्री अटलविहारी वाजपेयी, प्रणव मुखर्जी र भारतीय खुफिया एजेन्सीसामु कस्ता कस्ता सर्त राखी कस्ता कस्ता भारत अनुकूल प्रस्ताव स्वीकार गरी तिनको चित्त बुझाई सुविधा भोग्न पाएका थिए? ती दस्ताबेज प्रकाशमा न आउन्जेल भारतीयलाई के दोष दिनु? एस डी मुनिले मनन गरी यी कुरा लेखेका होलान् तर किन तिनले ती दस्ताबेजहरू प्रकाश गर्दैनन्? उनैले यो प्रकाशन गर्नुपर्छ। नभए यी नेताले निमुखा जनतालाई अनेक प्रलोभनमा पारी आफ्नो स्वार्थ सिद्ध गर्न नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको मात्र क्षय गर्नुका साथै देशलाई कहाँ पुर्‍याउलान्? चिन्ताको विषय हो।

प्रकाशित: २३ श्रावण २०७० २०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %