८ वैशाख २०८१ शनिबार
विचार

धार्मिक साहित्य र महिला विभेदको अभ्यास

दृष्टिकोण

भर्खरै नेकपा दाहाल–नेपाल समूहका नेता रघु पन्तले गायिका तथा हाल सभासद् रहेकी कोमल वलीको शारीरिक पक्षलाई लिएर टिप्पणी गरे। उनको भनाइ थियो, ‘बिसौँ वर्ष पार्टीमा लागेका महिलाले टिकट पाएनन्, तर कोमल वलीले यसो सारी सर्काएर गोरा पिडौँला देखाउँदै पोइला जान पाम् भनेपछि अवसर पाइन्।’

उनको यो टिप्पणीको सर्वत्र विरोध भयो, उनले माफी पनि मागिसकेका छन्। तर उनको टिप्पणीले संकेत गर्छ– महिलाको व्यक्तित्व, बौद्धिकताप्रति पुरुषले ख्यालै गर्दा रहेनछन्, शारीरिक अवस्थामा मात्र ध्यान जाँदो रहेछ। महिलाहरू बौद्धिकताले होइन, अंग, रूप–रंगले मात्र अगाडि आउँछन् भन्ने चिन्तन रघु पन्तमा पनि रहेछ। सायद पुरुषवादी चिन्तन र संस्कृतिले पुरुषलाई दिएको प्राथमिकताले रघु पन्तलाई पनि डो¥याइरहेको छ।

यही सेरोफेरोमा हामीले सदाझैँ यो वर्ष मार्च ८ मा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। हाम्रो समाजमा भइरहेका राजनीतिक परिवर्तन र बारम्बारका सामाजिक विभेद र अपराधका शृंखला बढ्दै गएपछि विभिन्न कोणबाट आवाज उठ्न थालेका छन्। विशेषगरी बलात्कारका घटनालाई लिएर पुरुष समुदाय या पुरुष नेतृत्व पछाडि हटेर ‘ए, यस्तो त विकसित देशमा पनि भइरहन्छ’ जस्ता अभिव्यक्ति दिनुले महिलालाई पुरुषप्रधान समाजले अझै पनि यौनिक वस्तुकै रूपमा हेर्छ भन्ने देखिन्छ। पुरुषको महिलाप्रतिको चिन्तन वा मानसिकतालाई महिलाले ‘संरचनात्मक विभेद’को रूपमा महसुस गरी बहस हुन थालेको छ। तर, अधिकांश ग्रामीण, गरिब र गृहिणी महिलालाई महिला दिवसमा उठ्ने नाराले छुन सकेको छैन।

संसारमा गैरन्यायिक भनिएका कैयौँ विषयले आन्दोलनको रूप लिएका छन्, जहाँ महिला–पुरुष लगायत सम्पूर्ण शक्तिका कारण व्यवस्था परिवर्तन भएका छन्। समय अनुसार परिमार्जित र परिष्कृत पनि भएका छन्। हाम्रो समाजमा भने महिलालाई मात्रै लक्षित गरिएका धार्मिक संस्कृतिमा बहस गर्दा, या गर्न खोज्दा पनि त्यसको विरोध गरिन्छ।

महिला समस्यामा पिँधदेखिका थुप्रै कारक तत्व छन्। मुख्यतः हाम्रा सांस्कृतिक, धार्मिक चलन, धार्मिक नियम, ग्रन्थमा व्यक्त अवधारणाले नै महिलालाई वर्तमान वैज्ञानिक विश्वमा आइपुग्दा समेत अगाडि बढ्न दिइराखेको छैन।  

हालसालै नागरिक प्रतिरोध कार्यक्रमअन्तर्गत महिला मार्चमा काठमाडौंको भोटाहिटीमा महिला अधिकारकर्मी, कवि–लेखक, कलाकारले सशक्त आवाज बुलन्द गरे। त्यस कार्यक्रममा विशेष गरेर महिलाका यौनिकतालाई लिएर जति पनि घटना घटाइन्छन् या सोचिन्छन्, अब हामी यो सहन्नौँ भन्ने सन्देश थियो। सधैँ महिलालाई यौनिक वस्तुकै रूपमा हेरिन्छ र बौद्धिकतालाई स्वीकार गरिँदैन भने त्यसको जवाफ पनि त्यही रूपमा दिनुपर्छ भन्ने मञ्चमा उपस्थित महिला आवाज थियो। ‘हामी उत्पीडित हौँ, आइन्दा हामी उत्पीडितले सत्ताका अन्याय अत्याचार सहेर बस्दैनौँ। आइन्दा हामी तिमीहरूलाई भोट गरेर त्यो सर्वोच्च स्थानमा पुर्‍याउँदैनौँ। पुरुष सत्ता अब आउट हुनेछ’ भन्ने नै त्यस कार्यक्रमको आवाज थियो।

संयमित भएर हामी तिमीलाई भोट दिँदैनौै भन्दा सुनिएन, त्यसैले त्यो आवेग र विद्रोहलाई देखाउन र सम्बन्धित पक्षलाई सुनाउनकै लागि ‘माई भजाइना विल भोट यु आउट’ भन्ने नारा लागिसकेपछिका प्रतिक्रियामा ‘फेरि महिला अश्लील भए’, ‘पोथी बासेको’, ‘आफ्नो ठाउँमा बस’ जस्ता कमेन्ट व्यापक भयो भन्छन् अभियानकर्ताहरू। महिला अभियन्ताको अभिप्राय महिला दमनकारीलाई आइन्दा महिला वर्गले भोट गरीगरी सत्तामा पुर्‍याउने छैन भन्ने नै थियो।  

सनातनदेखि जुन धर्म र धार्मिक ग्रन्थलाई आदर्श मानेर बसेका समुदाय छन्, तिनीहरूमा महिला नै बढी छन्। महिलाले नै ती कुरालाई विश्लेषण गरेर विभेदित लाग्यो भन्ने आसय व्यक्त गरे या अस्वीकार गर्छु भने भने ती महिला आवाजलाई अनेक तरहले दबाउन या धम्की दिन यो समाज पछि पर्दैन। यस महिला मार्चपछि सामाजिक सञ्जाल लगायतमा आएका हिंसात्मक कमेन्टले प्रस्ट गर्दछ, पुरुषसत्ता कतिसम्म हाबी छ भनेर।  

महिला दिवस मनाउँदै गर्दा महिला मुक्तिका आवाज विभिन्न क्षेत्रबाट उठाउँदै जानुपर्ने आजको आवश्यकता हो। महिलाहरू प्राचीन धार्मिक संस्कारबाट पनि विभेदित छन् भने ती धर्म–समुदायका महिला विभेदबारे नबोल्ने त ?  

मिथिला समाजबाट प्रतिनिधित्व गर्ने कवि तथा अभियन्ता सपना सञ्जीवनीले रामसीता कहानीलाई लिएर एक जागरुक कविता सुनाइन्। जुन कविता रामायणमा सीताले गरेको त्याग र निष्क्रियता, दलन, सहनशीलता अब म स्विकार्दिनँ भन्ने आसयको थियो। यस्ता धार्मिक लेपन र महिलालाई सहनशील बनाइएका थुप्रै मिथक छन्, हिन्दू साहित्यमा। ती ग्रन्थलाई महिलाले मान्दै आएका थिए। महिलाले साँच्चै विश्लेषण गरेर पढेका थिएनन्, अब पढ्न थालेका छन्। महिलालाई यौनको वस्तुकै रूपमा चित्रण गरिएका धार्मिक तथा पुरुष लिखित कथा पनि थुप्रै छन्, यसको महसुस महिलाले गर्न थालेका छन्।  

भर्खरै हिन्दू महिलाहरूको एकमहिने स्वस्थानी व्रत कथा सम्पन्न भएको छ। सदाझैँ कतिपय महिलाले त्यही स्वस्थानी कथा वाचन गर्दै आफ्ना मनोकामना वा भाकल गरे। केही वर्षअगाडि सञ्चारमाध्यममा एक विदेशी महिलाले स्वस्थानी विषयमा पिएचडी गरिन् भन्ने समाचार आयो। एकथरीले ‘नेपाली संस्कृतिप्रति विदेशीको मोह यस्तो छ, नेपालीहरू विरोध गर्छन्’ भन्ने खालका तर्क पनि ल्याउँदै थिए। अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा ‘एसियाली अध्ययन, महिला र यौनिकता’ विषयकी अध्यापक जेसिका भेन्टिन बिकएन्होल्जले स्वस्थानी व्रतकथाबारे पुस्तक नै प्रकाशित गरेकी छन्। जेसिकालाई लाग्थ्यो– गीता, महाभारत, रामायण मात्र हिन्दूहरूका प्रसिद्ध ग्रन्थ हुन्। नेपालमा मात्र मनाइने एकमहिने स्वस्थानी व्रतकथा पनि उत्तिकै चासो दिने खालको उनलाई लागेछ। जेसिकाको अध्ययन अनुसन्धान अनुसार, स्वस्थानीलाई १६औँ शताब्दीतिर नेपाल भाषामा जयन्तदेवले लेखेका हुन्। १८औँ शताब्दीपछि मात्र नेपाली भाषामा स्वस्थानी कथा प्रचलनमा आएको हो भन्ने मान्यता छ।  

स्वस्थानी कथामा गोमाको जन्म, विवाह अनि उनको जीवनमा आएका संकटबारे उल्लेख गरिएको छ। कथा अनुसार, ब्राह्मण दम्पतीकी सन्तान हुन्, गोमा। उनका आमाबाबुले सिद्धि गणेशको पूजाआजा गरेर गरिबीबाट छुटकारा पाउँछन्, तर उनीहरूका सन्तान हुँदैनन्। सम्पत्ति त भयो, सन्तान छैनन् भनेर फेरि ती शिवभक्त र उनकी पत्नीले सिद्धि गणेशलाई याचना गरेपछि गाईको गोबरबाट गोमाको जन्म भयो। कथामा अत्यन्तै सुन्दर स्त्रीका रूपमा गोमालाई चित्रित गरिएको छ।  

गोमा हुर्कंदै थिइन्। एक दिन उनलाई घरमा छाडेर उनका आमाबाबु गंगास्नान गर्न जान्छन्। गोमालाई पूजा गर्ने अक्षता केलाउने काम दिइएको हुन्छ। यस्तैमा महादेव भिक्षुको रूप लिएर गोमाकहाँ आउँछन्। भिक्षा दिन विलम्ब गरेको भनेर भिक्षुरूपी महादेवले गोमालाई ‘सात वर्षकी हुँदा ७० वर्षको बूढोसँग विवाह होस्, अनेक थरीका दुःखकष्ट आइपरोस् र मातापिताको पनि चाँडै मृत्यु होस्’ भनी श्राप दिन्छन्।  

गोमाको उमेर ६ वर्ष भएदेखि उनका आमाबाबुले उनका लागि वर खोज्छन् तर फेला पार्दैनन्। कन्यादान गर्न पाइएन भन्दै तड्पेर यसको भाग्यमै यस्तै लेखेको रहेछ भन्दै उही ७० वर्षीय शिव शर्मा नामक ब्राह्मणलाई छोरी जिम्मा लगाउने निर्णय गर्छन्। आफ्नी कलिली छोरीलाई अन्जान र वृद्धावस्थामा पुगिसकेका व्यक्तिसँग सुम्पनुपरेकामा गोमाका आमाबाबु अलापविलाप गर्दै थिए। तर सम्हालिएर लेखान्त र श्रापका कुरालाई मान्नैपर्छ भनेर चित्त बुझाउँछन्।  

शिवशर्मासँग विवाह गरेर गएपछि गोमाका दुःखका दिन सुरु हुन्छन्। अनेक दुःख–कष्ट झेल्न परोस् भन्ने शिवको श्रापबमोजिम गोमा र उनको वृद्ध पतिका दुःखका शृंखला सुरु हुन्छन्। जब गोमा डोलीमा बसेर शिव शर्माको घर जाँदै हुन्छिन्, बाटोमा थाकेका डोलेहरू पनि निदाउँछन्। गोमाले पहिरिएका गरगहना सबै चोरी हुन्छन्। जब गोमा र उनका पति पर्वतमा पुग्छन्, त्यहाँ खानेकुरा केही हुँदैन। बाटोमा भेटिएका फलफूल खाँदै उनीहरू घर पुग्छन्। माकुराको जालैजालो भएको घरमा पुगेपछि आमाबाबुको घर सम्झेर गोमा अधैर्य हुन्छिन्। फेरि कर्मको फल सम्झिँदै आफूलाई सम्हाल्छिन्।  

जब गोमा गर्भवती हुन्छिन्, उनका श्रीमान्लाई धन कमाउनुपर्ने कुराको बोध हुन्छ। त्यसपछि उनी परदेशतिर लाग्छन्, गर्भवती गोमालाई छाडेर। फल टिप्न रुखमा चढ्दा लडेर उनको मृत्यु हुन्छ, तर यी सब कुरा गोमालाई थाहा हुँदैन। गोमा आफैँ पनि भिक्षा माग्दै आफ्नो दैनिक गुजारा गर्छिन्। संघर्षपूर्ण जीवन जिउँदै उनले राज लक्षणले युक्त पुत्र (नवराज)लाई जन्म दिइन्। छोरालाई हुर्काउन पनि उनले अनेक दुःख गरिन्। पुत्र नवराज पनि आमाको पदचिह्नमा हिँड्ने ज्ञानी हुन्छन्। हुर्कंदै गर्दा नवराजलाई साथीहरूले ‘तिम्रो बाबु खोइ’ भनेर सोध्छन्। विनाबाबुको छोरो भन्दै औँला उठाउँछन्। त्यसपछि बाबुको खोजीमा निस्केका उनले बाबुको मृत्यु भइसकेको खबर पाउँछन्। श्री स्वस्थानीको व्रत र तपले पुनः आमाछोराको जीवन समृद्ध बन्छ।  

यस स्वस्थानी कथाभित्रै अर्को कथा पनि छ, विष्णुले छल गरेर जानन्धर पत्नी वृन्दाको सतित्व हरण गरेको। अन्तमा विष्णुले श्राप पाउँछन्, वृन्दाबाट। श्रापित विष्णु पृथ्वीमा तुलसी, पिपल, शालिग्राम, कुश भएर रहेका हुन् भन्दै यी वनस्पतिलाई विभिन्न हिन्दु संस्कारमा प्रचलनमा ल्याइन्छ। आयुर्वेदमा यी वनस्पतिमा आयुर्वेदीय गुण रहेको पनि मानिन्छ। कथा अनुसार, स्वर्गबाट श्राप पाएर पृथ्वीमा झर्नुपरेको छ विष्णुले तर श्रापित नै भए पनि विष्णुलाई पुज्यनीय भगवान् मानिन्छ।  

मुख्यतः स्वस्थानी कथाभित्र श्राप दिने र आफ्नो भक्ति गर्न लगाउने अनि पुनः वरदान दिने कुरा धेरै देखिन्छन्। गोमा र वृन्दामाथि भएका घटना अझ अमानवीय लाग्छन्। ती अमानवीय घटना पनि देवादिदेव महादेव र विष्णुबाटै गराइएका छन्।  

महिलालाई यौनिक वस्तु र यसैमा मात्रै इच्छुक रहेको पनि पौराणिक साहित्यमा देखाइएको पाइन्छ। पत्नी वियोगमा हिँडेका महादेवलाई देखेर यौन चाहनाले ऋषिपत्नीहरू उनैको पछि लागेका कुरा पनि यसैभित्र छन्।  

स्वस्थानी कथाले समाजमा पितृसत्ताको अभ्यास चरम रूपमा भइरहेको थियो भन्ने पनि संकेत गर्छ। जहाँ एक पुरुषले महिला पात्रलाई आफ्नो कल्पनामा भएका सम्पूर्ण चिन्तन प्रस्तुत गरेको प्रस्टै देखिन्छ। यिनै कथाबाट प्रभावित र व्यवहारमा समेत लागू गरिएको ‘कन्यादान’ प्रमुख चलन हो। हालसम्म विवाहको प्रमुख विधि कन्यादान छँदैछ। छोरीलाई ‘कन्यादान’ गरेपछि बल्ल माइती पक्षले एउटा ठूलो पुण्य काम गरेको ठहरिन्छ। कन्यादान भइसकेकी छोरीले पतिको परिवार या पति जस्तोसुकै असमझदार, अन्यायी भए पनि सहनुपर्छ भन्ने यही स्वस्थानी कथामा उल्लेख गरिएको गोमा र शिव शर्माको विवाह घटनाले पुष्टि गर्छ। गाँजा–भाङ खाएर लट्ठ परेर बस्ने महादेवसँग सतीदेवीको बिहे भएको र त्यसलाई आफ्नो भाग्य भन्दै सहश्र ती नारीले स्वीकार गरेका उदाहरणले नारीलाई त्यागको प्रतिमूर्तिकै रूपमा देखाइएको छ।  

धार्मिक कथाका पात्रहरू वास्तवमै को हुन् ? ती वास्तविक हुन् कि काल्पनिक ? यो बेग्लै खोज–अनुसन्धानको विषय हो। तर, ती कथामा पात्रका चरित्र र व्यवहार कस्ता छन् भनी खुट्ट्याउने आजको विवेकको कुरा हो।  

संसारमा गैरन्यायिक भनिएका कैयौँ विषयले आन्दोलनको रूप लिएका छन्, जहाँ महिला–पुरुष लगायत सम्पूर्ण शक्तिका कारण व्यवस्था परिवर्तन भएका छन्। समय अनुसार परिमार्जित र परिष्कृत पनि भएका छन्। हाम्रो समाजमा भने महिलालाई मात्रै लक्षित गरिएका धार्मिक संस्कृतिमा बहस गर्दा, या गर्न खोज्दा पनि त्यसको विरोध गरिन्छ। ‘यो त सामाजिक प्रकार्य हो, यसै गरी त समाज चल्छ’ जस्ता कुतर्क गरिन्छ।  

धार्मिक (कुनै पनि धर्मको) साहित्य मा भएका भेदभावपूर्ण विषयबारे प्रश्न उठाउनु धर्मविपरीत जानु होइन, नयाँ चेतना र न्यायको पक्षमा बहस गर्नु हो। जसरी धार्मिक साहित्यका राम्रा पक्षलाई अनुशरण गर्न हामी स्वतन्त्र छौँ, त्यसरी नै खराब पक्षमा बहस गर्न पनि स्वतन्त्र हुनुपर्छ। धार्मिक साहित्य तथा विधि–विधानमा मानव मानवबीच विभेद छ भने त्यसमा बहस गरौँ। त्यो बहस स्वस्थानी व्रत कथा लगायतमा हुन सक्छ। पूजाआराधना व्यक्तिगत आस्थाको कुरा हो, व्रतले पनि वैज्ञानिक रूपमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा आएको छ, यी र यस्ता कुरा त्याग्नुपर्छ भन्ने कदापि होइन। बहस त विभेदको जडको हो। हाम्रो समाजमा चलिरहेका परम्परागत हानिकारक अभ्यास (देउकी प्रथा, छाउपडी प्रथा, कुमारी प्रथा, दाइजो प्रथा, बोक्सी प्रथा), जुन विशेष गरेर महिलाप्रति नै लक्षित छन्, यो पनि सोच्न जरुरी छ कि यी प्रथामा तिनै धार्मिक कथाको प्रभाव कतिको होला ! आ–आफ्नो तह र तप्काबाट महिला उत्पीडनको कारण खोजेर त्यसमा व्यापक बहस पैरवी र दबाब सिर्जना गरिनु आजको आवश्यकता हो, यसमै महिला दिवसको सार्थकता छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App