७ वैशाख २०८१ शुक्रबार
विचार

गाली र अभिव्यक्ति स्वतन्त्रता

अभिव्यक्ति स्वतन्त्रताको सीमा के हो ? यो निरपेक्ष हुन्छ वा यसका केही सापेक्षिक सीमा हुन्छन् ? जसलाई जे मन लाग्यो, त्यही भाषाशैलीमा प्रस्तुत हुनु वा हुन पाउनु अभिव्यक्ति स्वतन्त्रता हो वा नागरिक, समाज र राष्ट्रप्रति जिम्मेवारपूर्ण ढंगमा बोल्न पाउनुचाहिँ अभिव्यक्ति स्वतन्त्रता हो ? अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा भोल्तेयरको एउटा प्रसिद्ध भनाइ छ– म तिम्रो विचारसँग असहमत छु तर तिम्रो विचार व्यक्त गर्ने स्वतन्त्रताका पक्षमा सधैंँ लडिरहने छु।अग्रेजी भाषामा ‘फ्रिडम अफ स्पिच’ र ‘फ्रिडम अफ एक्सप्रेसन’को फरक अर्थ छ। व्यक्तिको बोल्न पाउने स्वतन्त्रतालाई ‘फ्रिडम अफ स्पिच’ भनेर बुझिन्छ। यो बोल्न पाउने स्वतन्त्रता व्यक्तिले आफूलाई लागेको कुरा निर्वाध, कुनै डर, त्रास वा कानुनी बन्देजविना बोल्न पाउने अधिकारको अर्थमा बुझिन्छ। ‘फ्रिडम अफ एक्सप्रेसन’चाहिँ कुनै माध्यम प्रयोग गरेर आफ्ना कुरा अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हो।  

संयुक्त राष्ट्र संघको घोषणापत्रमा रहेको धारा १९ (आर्टिकल नाइन्टिन) को परिभाषाले हरेक व्यक्तिलाई कसैको हस्तक्षेपविना आफ्नो विचार अभिव्यक्त गर्न पाउने एवं कुनै माध्यमबाट कुनै सीमाको पर्वाह नगरी विचार अभिव्यक्त गर्न तथा सूचना माग्न, पाउन र सम्प्रेषण गर्न पाउने अधिकारका रूपमा व्याख्या गरेको छ। राष्ट्र संघको यो परिभाषा मूलतः सत्रौँ शताव्दीका ब्रिटिस कवि जोन मिल्टनको तर्कमा आधारित छ। उनले बोल्न पाएर मात्र हँुदैन, सूचना माग्न र पाउन पर्छ र त्यसरी प्राप्त सूचना एकअर्कामा कुनै माध्यम प्रयोग गरेर वा नगरेर सम्प्रेषण वा प्रवाह गर्न पाउनुपर्छ भनेका छन्। यो सन्दर्भलाई सूचनाको हकमा लगेर अहिले व्याख्या गरिँदै आएको छ।  

यो व्याख्या गरिरहँदा एउटा अर्को प्रसिद्ध भनाइ छ– तिम्रो स्वतन्त्रताको सीमा त्यहाँ अन्त्य हुन्छ, जतिबेला तिम्रो हातले अर्काको नाकमा छुन्छ। यो भनाइले अभिव्यक्ति स्वतन्त्रता सीमारहित हँुदैन भन्ने मान्यताको विकास गरेको छ। अर्थात्, अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता होइन, कानुनी आधारमा यसको सीमा निर्धारण गरिएको हुन्छ। खासगरी अर्काको अधिकार र संरक्षणमा बाधा नपुग्ने गरी स्वतन्त्रताको सीमा निर्धारण गरिन्छ। दुनियाँमा गाली, बेइज्जती, मानहानि, अश्लीलता आदि विषयका कानुन पनि यही सन्दर्भमा तयार भएका हुन्। एकले अर्कालाई कुनै कारण भएर वा नभई पनि गरिने गालीगलौज अभिव्यक्ति स्वतन्त्रता मानिँदैन। आफ्नो प्रशंसा गर्ने छूट त्यसबेलासम्म रहन्छ, जतिबेला अर्काले गालीको अनुभूति गर्दैन।  

अभिव्यक्ति स्वतन्त्रता वा सूचनाको हकसँगै वैयक्तिक सुरक्षा वा गोपनीयताको हक पनि यस सन्दर्भमा उत्तिकै महŒवका साथ उठेको छ। समाजलाई अराजकताबाट जोगाउनुपर्छ र नागरिकले सही सूचना पाउन अवरोध हुनुहँुदैन भन्ने मान्यताका साथ यी दुवै पक्ष एकअर्काका परिपूरक वा समपूरकका रूपमा आउने गरेका हुन्। त्यसैले व्यक्तिका सन्दर्भमा पनि सार्वजनिक व्यक्ति र सामान्य व्यक्तिका बीच भेद गरेर सीमा निर्धारण गरिएका हुन्छन्। सार्वजनिक सरोकार नहुने वा सामाजिक असर वा प्रभाव नपर्ने विषयमा कसले के भन्छ वा गर्छ भन्ने कुरालाई गौण मान्ने पनि गरिएको छ। घरभित्र अभिव्यक्त हुने कतिपय विचार वा क्रिया समाजमा त्यही ढंगमा अभिव्यक्त गर्न सकिँदैन वा मिल्दैन। घरभित्र हुने झगडा सार्वजनिक जीवन वा अदालतमा प्रवेश नगरेसम्म अपराध पनि नहुन सक्छ। आन्तरिक असहमतिहरू आन्तरिकरूपमा नै समाधान खोज्ने गरिन्छ।  

यहाँ अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा उठाउन खोजिएको प्रसंग राजनीतिक दलका नेताबीच प्रयोग हँुदै आएको अभिव्यक्ति स्वतन्त्रताको हो। औपचारिक विभाजनको तयारीमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको सार्वजनिक अभिव्यक्ति यतिबेला बोल्नेलाई भन्दा सुन्नेलाई लाज लाग्नेखालका छन्। अत्यन्त तल्लो स्तरमा ओर्लिएर सार्वजनिक मञ्चबाट गरिने अभिव्यक्तिले बोल्न पाउने अधिकारको स्वतन्त्रताको रक्षा गरिरहेको छ वा अरूलाई खुइल्याउने अभिव्यक्ति आइरहेका छन् भन्ने छुट्याउन कठिन हुन थालेको छ। कुम जोडुन्जेल र अंगालो हालुन्जेल सुगन्धित ठानिएका सम्बन्ध स्वार्थ बाँझिनासाथ दुर्गन्धित हुनु आश्चर्य होइन। तर दुर्गन्धका रूप कसरी प्रस्तुत गर्ने भन्ने कुरा अभिव्यक्ति स्वतन्त्रताका सीमाभित्र पर्ने कि नपर्ने ?सुगन्धित सम्बन्धका बेला गरिएका नाजायज क्रियाकलाप कति सार्वजनिक गर्ने र नगर्ने भन्ने लक्ष्मण रेखा राख्ने कि नराख्ने ?

लोकतन्त्र शासनको एउटा विधि मात्रै हो, शासनको एउटा स्वरूप हो, पद्धति हो। यस अर्थमा लोकतन्त्र राजनीतिक साधन मात्र हो। नागरिकले गर्ने परिवर्तनको अनुभूति साध्यको लक्ष्य हो। राजनीतिक दलका नेताहरूले दिने नीति र कार्यक्रम साध्य हुन्। यस्तो नीति राजनेताहरूले खोज्ने हो। अझ लोकतन्त्रमा राजनीति संस्कार सबैभन्दा बढी अपेक्षा गरिने विषय हो। लोकतन्त्र लिखत कानुन र संविधानका आधारमा मात्र चल्दैन। यसका केही संस्कारजन्य चरित्र हुन्छन्। अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रका गहनाका रूपमा लिइरहँदा यसका सीमा निर्धारण गर्ने काम पनि लोकतन्त्रले नै गर्छ जसले लोकतन्त्रका मूल्य र मान्यतामा अवरोधको कल्पना गर्दैन। ती मूल्य÷मान्यतालाई व्यवहारमा उतार्न सहजीकरणको काम गर्छ।  

नेकपाभित्र एकले अर्कालाई खुइल्याउँदै जाँदा नागरिकले उनीहरूको असली चरित्र त देख्न र बुझ्न पाएका छन् नै, सर्वहारा वर्गको कथित नेतृत्वले मात्र नागरिकको कल्याण गर्छ भन्ने भ्रम चिर्न पनि नेकपाको सत्ता स्वार्थको राजनीतिले नागरिकलाई सहज बनाइदिएको छ। स्वार्थका लागि राजनीतिको उपभोग गर्ने व्यक्ति केही कालखण्डमा आफैँ समाप्त भएर जान्छ। नागरिकले यस्ता स्वार्थी नेतालाई कहिल्यै माथि उठ्न दिँदैनन्। महाराजा ज्ञानेन्द्र यसको पछिल्लो जाज्वल्यमान उदाहरण हुन्। तर यसले प्रवृत्तिको आकार ग्रहण गर्दा नागरिकमा वितृष्णा उत्पन्न गर्छ। यो रोगलाई अन्ततः लोकतान्त्रिक पद्धतिले स्थापित गरेका राजनीतिक दलहरूको चरित्रका रूपमा बुझिँदा प्रकारान्तरमा पद्धतिमाथि प्रश्न उठाउनेलाई नै मलजल मिल्नेछ। नागरिकमा नेता र दलप्रति मात्र होइन, लोकतन्त्रका प्रति प्रश्न उठ्ने र निरंकुश शासकहरूको प्रशंसा गर्ने दिन आउने खतरा रहन्छ।  

हिजो दुइटा कम्युनिस्ट पार्टी मिलेर एउटा नेकपा बनिरहँदा र सरकार हाँक्ने तीव्र बहुमत पाइरहँदा नेकपा फुट्न मात्र होइन, जुट्न पनि जान्दछ भनेर फुर्ती लगाउने यिनै नेता हुन्। आज अहिले एकले अर्कोलाई लुच्चा र फटाहा, लोभी र पापी देख्ने आँखा पनि यिनै नेताका हुन्। हिजोका ‘गद्दार पुष्पलाल’लाई आजका ‘आदर्श नेता पुष्पलाल’ मान्ने नेकपा यो एउटा मात्रै पार्टी होइन। पुष्पलालको जति योगदान गर्न सक्ने कोही नेता निस्कन नसक्दा आफूलाई पुष्पलालका अगाडि लिलिपुट ठान्नु उनीहरूको आत्मालोचनाको प्रवृत्ति हो। भोलि उनीहरूले अर्को कुनै नाममा फेरि आत्मालोचना गरे र एकै हुने प्रतिबद्धता जाहेर गरे भने कुनै नौलो प्रवृत्ति मान्नुपर्ने छैन।  

यो कुरा आमनागरिकले बुझेका छन् भने नेकपा नेताहरूले नबुझेका होलान् भन्ने होइन। तर जुन (तल्लो) स्तरको गालीगलौजको प्रवृत्ति यी नेतामा देखापरेको छ, यसले राजनीतिक नेताहरूमा संस्कारको अभाव देखाएको छ। त्यसो त जुन कारणबाट नेकपामा विभाजन जस्तै देखिएको छ, त्यो नै राजनीतिक संस्कार अभावको परिणाम हो। उनीहरूको यो रमिताले अभिव्यक्तिस्वतन्त्रताका पक्षधरहरूलाई लज्जाबोध गराएको छ। यसबाट अभिव्यक्ति स्वतन्त्रतालाई राजनीतिक अवरोध ठान्नेहरूका लागि प्रेरणा मिलेको हुनुपर्छ। अहिलेको मूल प्रश्नचाहिँं राजनीतिलाई लोकतान्त्रिक बाटोमा कसरी डोहो¥याउने भन्ने छँदैछ, त्यस अतिरिक्त दल र नेताका चरित्र र आचरणलाई कसरी लोकतान्त्रिक बनाउने भन्ने हो।  

प्रकाशित: १० फाल्गुन २०७७ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App