नेपाललाई लाभ वा हानि जे भएपनि अहिलेको अवस्थामा नेपाली अर्थतन्त्र आफ्नो मुद्रा पुनर्मूल्यन वा अझ अवमूल्यन गर्न सक्षम छैन। नेपालले चाहँदैमा डलरसँग आफ्नो मुद्राको सटही दर परिवर्तन गर्न सक्दैन। किनभने नेपालले आफ्नो मुद्रालाई भारतीय मुद्रासँग आबद्ध (पेग) गरेको छ। भारतीय मुद्राको अमेरिकी डलरसँगको चाल अनुरूप नेपाली मुद्रा तल वा माथि भइरहन्छ। त्यसैले हाम्रो ध्यान अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दरलाई कसरी आफू अनुकूल बनाउनेभन्दा पनि नेपाली मुद्राको भारतीय रुपियाँसँगको सटही दरमा परिवर्तन गर्ने हो वा अहिलेको भारू सँगको आबद्धता छुटाएर अघि बढ्ने हो भन्ने विषयमा केन्द्रित हुनु जरूरी छ।
नेपाललाई डलरको मूल्यमा भएको विचलनले आर्थिक रूपमा कति फरक पर्छ भन्ने अध्ययन गर्न जरूरी देखिएको छ। यसका लागि नेपालले भारतबाट भारु तिरेर कति आयात गर्छ, डलर तिरेर कति सामान आयात गर्छ र तेस्रो मुलुकबाट कति आयात गर्छ भन्ने तथ्यांक हेर्नु जरुरी देखिन्छ। निर्यात प्रवर्धन केन्द्रको तथ्यांकअनुसार गत वर्ष नेपालले रू. ५६.७२ अर्बका सामान निर्यात गर्यो भने करिब ४४३.८४ अर्बका सामान आयात गरेको छ। नेपालीहरू आफैँले उत्पादन नगर्ने र सधै रेमिट्यान्सको पैसा खर्च गर्दै आयातमा बाँच्ने हो भने मुद्राको पुनर्मूल्यन गरिनुपर्छ। नेपाली मुद्रा बलियो भयोभने हामीलाई आयातित सामान सस्तो पर्छ। तर सँगसँगै रेमिट्यान्सको आम्दानी पनि घट्ने तथ्य भने ख्याल राख्नुपर्छ।
नेपालको व्यापारको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने हामी विश्व बजारमाभन्दा भारतीय बजार आश्रित छौं। हाम्रो कुल निर्यातको ६६.५ प्रतिशत भारतमा हुन्छ। अर्थात् हामीले निर्यात गरेको अधिकांश वस्तुबाट हामी भारतीय रुपियाँ प्राप्त गर्छाैं। त्यस्तै हाम्रो कुल आयातको ६५.२ प्रतिशत पनि भारतबाटै हुन्छ। मूल्यको हिसाबमा हेर्ने हो भने आयात निर्यातभन्दा करिब आठ गुणा धेरै छ। भारतबाट आयात गर्दा भारतीय रूपैयाँमै तिर्नसक्ने हो भने हाम्रो मुद्रा बलियो हुँदा फाइदा हुन्थ्यो। तर अहिले नेपालको उत्पादन क्रमशः घटेर गएको, रोजगारीको अवस्था कम भएको र निर्यात बढ्न नसकेको परिप्रेक्ष्यमा भारतीय रूपैयाँसँग पुनर्मूल्यन गर्नुको तुक देखिदैन। तर यस विषयमा गहन अध्ययन नगरी बनाइएको धारणाले मात्र निर्णय गर्ने आधार पुग्दैन। नेपाल राष्ट्र बैंकले राम्रोसँग अध्ययन गरेर किन नेपालको मुद्रा अहिलेको अवस्थामा आयो र आर्थिक फाइदा लिनका लागि नेपालले के गर्नुपर्छ भनेर जनतालाई प्रष्टसँग भन्नुपर्ने अवस्था देखिएको छ। जति चाँडै यसो गर्न सकिन्छ उति नै राम्रो!
प्रकाशित: १२ असार २०७० २२:१३ बुधबार

