७ वैशाख २०७८ मंगलबार
विचार

नेपाली : को र कता?

साँच्चिकै भन्ने हो भने नेपालीलाई एकताबद्ध राख्न नेपाल नै काफी छ

नेपालका नेपालीले संसारका सबै नेपालीको एकता, सामीप्यता र उन्नतिका लागि ठाउँ बनाउनुपर्छ । नेपालको संविधानले राजनीतिक अधिकार छाडेर अरू सबै अधिकार पाउने गरी प्रवासी नेपालीलाई नेपालको नागरिकता दिने भनेको छ । यस अधिकारअन्तर्गत नेपालीले नेपालमा केही सम्पत्ति, आवागमन र बसोबास गर्न पाउने छन् । यसले विश्वका नेपालीबीच एकता, सामीप्यता र उन्नतिमा सहभागिता बढ्नेछ ।

हुन त नेपालीले विभिन्न मुलुकमा विभिन्न प्रकारका समस्या भोग्नुपरेको छ । सिक्किमका नेपाली झुक्किएको आज अनुभव गर्दैछन् । ८० प्रतिशत भन्दा धेरै नेपाली जनसंख्या भएको मुलुक केही वर्षअगाडि भारतको एक भाग भएको छ । उनीहरूले त्यहाँका राजा चोग्यालको विरोध गरे । प्रजातन्त्रका लागि लामो संघर्ष गरे । तर यसै संघर्षको दौरान राष्ट्रियता गुमाए । एक स्वतन्त्र राष्ट्रका रूपमा बस्ने मौका गुमाए । यस कुरामा सिक्किमका नेपालीले पछुताव गरेका छन् । तर अब धेरै अबेला भइसकेको छ । उनीहरू भारतीय भएर नै बाँच्न र बस्न सिक्नुपर्छ ।

भारत छाडेर जाने समयमा दार्जिलिंगका नेपालीलाई नेपालमा गाभिदिने कुरा गरेका रहेछन् । तर नेपालका शासकले त्यहाँका नेपाली धेरै जान्ने सुन्ने छन् भनेर नेपालमा ल्याउन मानेनछन् । आज त्यहाँका नेपालीले गोरखालैन्ड बनाउने भनेर धेरै संघर्ष गरे तर सो हासिल गर्न सकेका छैनन् । उनीहरू पनि भारतीय नै भएर बसेका छन् । नेपाली भारतीय हुनु कुनै नौलो कुरा होइन । तर नेपालीले आफ्नो भाषा, संस्कृति र रहनसहन यथावत राखेका छन् । यिनै चीजहरूले पनि नेपाल र नेपालीसित सम्बन्ध र सम्पर्क राख्ने गरेका छन् । यसैलाई कसरी प्रभावकारी र नजिक बनाउन सकिन्छ त्यसमा ध्यान दिनुपर्छ ।

भुटानमा पनि नेपाली थुप्रै छन् । उनीहरूले पनि नेपाली भाषा, संस्कृति र रहनसहन संरक्षित राखेका छन् । राजनीतिक तनाव र संघर्षले एक लाख भन्दा बढी नेपाली नेपालमा आएर वर्षौँसम्म शरणार्थी भएर बसे । उनीहरूलाई भुटानमै फर्काउन धेरै कोसिस भयो तर सफल भएन । उनीहरू आखिर संसारका विभिन्न देशमा गए र बस्ती बसाले । सबभन्दा ठूलो संख्या अमेरिकामा बस्न गए । प्रजातन्त्रको चक्करमा परेर भुटानी नेपालीको दुर्गति भएको भनिन्छ । जे भए पनि उनीहरूले पनि आफ्नो भाषा, संस्कृति र रहनसहन कायमै राखेका छन् ।  

बर्मा त्यस्तो देश हो जहाँ नेपाली धेरै वर्षअगाडि गएर बसे, खेती गरे र बर्मेली भएर नै बसे । त्यहाँ पनि राजनीतिक परिवर्तनको चपेटामा परेर केही नेपाली नेपाल फर्केर आएका थिए । उनीहरू आएको नै दुई चार पुस्ता भइसकेको छ । तर केही नेपाली अझ पनि बर्मामै बसोबास गरेर बसेका छन् । उनीहरू बर्मेली भए पनि नेपाली भाषा, संस्कृति र रहनसहन छाडेका छैनन् । उनीहरूको पहिचान आज पनि नेपाली भन्ने नै छ ।

पैसेफिक समुद्रको एकछेउमा फिजी टापु पर्छ । सो टापुमा भारतबाट आप्रबासीहरू ठूलो संख्यामा बसोबास गरेका छन् । भारतका आप्रबासीहरूसित घुलमिल गरेर नेपाली पनि त्यस टापुमा पुगेका थिए र त्यहीँ बसोबास गरे । तर कालान्तरमा उनीहरूले नेपाली भाषा बोल्न छाडेका थिए । उनीहरूले आफूलाई बिर्सिसकेका थिए । तर हालसालै उनीहरूले आफूलाई चिन्दै आए । उनीहरूको एक प्रकारले पुनर्जागरण भएको छ । त्यहाँबाट आएको खबरअनुसार उनीहरूले नेपाली भाषा, संस्कृति र रहनसहनको पुनरावृति गर्न थालेका छन् । आखिर आफ्नो पुर्खाको खोजी ढिलो/चाँडो मानिसले गरिहाल्छन् ।

विगत ५० वर्षमा नेपाली संसारका विभिन्न मुलुकमा स्थायी बसोबास गर्नका लागि नै गएका छन् । शायद संसारको कुनै भाग होला जहाँ नेपाली नपुगेको होस् । अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता विकसित देशमा नेपाली आप्रबासी थुप्रै पुगेका छन् । ती मुलुकमा अध्ययन गरिसकेपछि त्यहीँ रोजगारी गरेर बसेका नेपाली पनि छन् । नेपालका खासगरी पढे/लेखेका परिवारका केटाकेटी ती मुलुकमा बसोबास गरेका पाइन्छ । त्यसैगरी मध्यपूर्वका देश मलेसिया, दक्षिण कोरिया र जापानमा रोजगारीका लागि नेपाली लाखौँको संख्यामा गएका छन् ।  

नेपालीका लागि संसारका सबै ढोका खुलेको छ । यस्तो बखतमा नेपाल र नेपालीको इज्जत राख्न गाह्रो पनि छ । कारण नेपालीलाई मुख्यरूपले एक इमान्दार र बहादुर भएको मान्छन् । तर नेपालीको नाउँमा कसैले बेइमानी गरिदियो भने नेपालीको नै बदनामी हुन्छ । भएको पनि यस्तै हो । खासगरी नेपाली सत्ताधारीले कुनै दिन रातो पासपोर्ट नै बिक्री गरे । नेपाली प्रायः तस्करी र अवैध ड्रगको ओसारपोसारमा समातिए । त्यसले गर्दा इमान्दार नेपालीमाथि पनि शंका गरियो र उनीहरूमाथि कडा निगरानी राखियो । तैपनि नेपाली आधारभूतरूपमा इमान्दार नै हुन्छन् भन्ने विश्वासले संसारभर काम पाएका छन् ।  

हुन त नेपाली कर परेर कामका लागि विदेश लागेका हुन् । त्यसको दोष यदि कसैलाई जान्छ भने त्यो नेपालका शासकलाई जान्छ । किनभने उनीहरूले राजनीतिक, आर्थिक, सामाजिक अव्यवस्था गरेकाले नेपाली युवक अरूका मुलुकमा भौतारिन पुगेका हुन् । गरिब भए पनि नेपालका मानिस इमान्दार हुन्छन् भन्ने विश्वभर फैलिएको छ ।  

नेपाली जता र जहाँ गए पनि उनीहरूको एउटा देश छ भनेर गौरव गर्न सक्छन् । संसारमा सबै जातजातिको आफ्नो देश भन्ने छैन । जस्तो– कुर्दहरू । उनीहरू इराक, इरान, टर्की आदि देशमा फैलिएर बसेका छन् । तर आजसम्म कुर्दहरूको अलग देश छैन । कुर्दिस्तान बनाउन कुर्दहरूले धेरै कोसिस गरे तर सफल हुन सकेका छैनन् । जिउहरूको देश, इजरायल दोस्रो विश्व युद्धपछि मात्र खडा हुन सक्यो । त्यो पनि संसारका शक्तिशाली देशले सहमति र सहयोग गरेकाले मात्र यो सम्भव भयो । यस्तो सहमति र सहयोग कुर्दहरूले जुटाउन सकेका छैनन् । यस मानेमा नेपाली भाग्यमानी छन् । एउटा स्वतन्त्र राष्ट्र पाएको, कहिले पनि अरू कुनै राष्ट्रको अधीनमा नपरेको र इमान्दार र बहादुर कहलिएका नेपाली सिर ठाडो गरी बाँच्न सक्छ ।

नेपालको यस्तो अस्तित्व पृथ्वीनारायण शाहबाट सुरु भएको हो । नेपाली जहाँ भए पनि यो देशमाथि गौरव गर्न सक्छन् । यो अर्कै कुरा हो कि नेपालका नेपाली प्रजातन्त्र, गणतन्त्र, संघीयता, समाजवाद, साम्यवाद आदि चाहिने÷नचाहिने सिद्धान्तमा अल्झिएर बसेका छन् । गर्दा गर्दा यी आधुनिक शब्दावलीको चक्करमा देशको अस्तित्व नै खतरामा परिसकेको छ ।  

साँच्चिकै भन्ने हो भने नेपालीलाई एकताबद्ध राख्न नेपाल नै काफी छ । नेपालका लागि पृथ्वीनारायण शाह र उनका दिव्योपदेश नै काफी छ । नेपालीले घुमिफिरी उनकै कथन सुन्ने र परिपालन गर्नुपर्नेछ । विभिन्न जातजाति र भाषाभाषी भए पनि उनीहरूमा नेपालीपन पाइन्छ ।

विश्वमा छरिएर रहेका नेपालीलाई एकताबद्ध पार्नका लागि गैरआवासीय नेपाली संघ खडा भयो । तर यो आज सम्पन्न नेपालीको मात्र संगठन हुन पुग्यो । भारतमा रहेका लाखौँ नेपालीलाई यसले समेट्न सकेन । असलमा भारतमा बसेका नेपालीको भारतीय हुन् र को नेपालका नेपाली हुन् भनेर छुट्याउन गाह्रो छ । अब भने त्यो छुट्याउने बेला आएको छ ।

संसारको जुन मुलुकमा बसे पनि नेपालीलाई एकताबद्ध राख्नु र नेपालको गौरवसित परिचित राख्नु आवश्यक छ । सो काम ७० वर्षअगाडि एक जना नेपालीले कोसिस गरेका थिए । उनी थिए– ललितजंग सिजापती । उनी वनारसमा बस्थे । उनले विश्व नेपाली संघ भनेर सन् १९६० मा खडा गरेका थिए । हुन त उनले त्यो समयमा यसलाई धेरै अगाडि बढाउन सकेनन् तर आजको सन्दर्भमा यो अत्यन्त आवश्यक छ ।

प्रकाशित: २२ माघ २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?