१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
विचार

हाम्रा तेन्जिङ शेर्पा

नेपाललाई चिनाउने धेरै कुरा छन् तैपनि विश्वले नेपाललाई मुख्यतः तीन कारणले चिन्छजस्तो लाग्छ। नेपाल बुद्धको जन्मभूमि हो। नेपाल 'माउन्ट एभरेस्ट'को देश हो। नेपाल हातमा नांगो खुकुरी बोकेर 'आयो गोर्खाली' भन्दै विश्वयुद्धमा शत्रुको सातो खानेहरूको देश  हो।
पक्कै पनि, सगरमाथा चढ्नु भर्याशङ चढ्नुजस्तो सजिलो काम होइन। सानो मुटु र कम ताकत भएको मान्छेले सगरमाथा चढ्न सत्तै्कन भन्ने हिजो पनि सत्य थियो र आज पनि सत्य छ। भए पनि हिजोभन्दा आज सगरमाथा चढ्न निकै सजिलो भएको छ। एउटा खुट्टा नहुने मान्छे पनि सगरमाथा चढेका छन्। दुवै हात नहुनेले पनि सगरमाथा चढेका छन्। बुद्धबृद्धाहरू पनि सगरमाथा चढेका छन्। भर्खरका युवायुवती पनि सगरमाथा चढेका  छन्। पत्रकार कर्मचारी  राजीतिकर्मी, विद्यार्थी यहाँसम्म कि सिनेमाका नायक नायिकासमेत सगरमाथा चढेका छन्। यसले हामीलाई सगरमाथा चढ्नु कुनै ठूलो काम होइन भन्ने लाग्न सक्छ। एउटा मुसा पनि सजिलै सगरमाथा चढ्न सक्छ भन्ने भान पर्न सक्छ। कसैलाई यस्तो लागे पनि वास्तवमा सगरमाथा चढ्न त्यति सजिलो चाहिँ छैन। जीवनलाई हत्केलामा राखेर चढ्नु पर्छ सगरमाथा।  ज्यानलाई खुकुरीको धारमा राखेर सगरमाथा चढ्नु पर्छ।  सगरमाथा चढ्न  गएको मान्छे फर्केर नआउन पनि सक्छ। तर पनि मान्छेलाई सगरमाथाले सधैँ चुनौती दिएजस्तो लाग्छ। सधैँ आकर्षित गरेजस्तो लाग्छ। यसैले उनीहरू सगरमाथाको चुनौतीलाई स्वीकार गर्दै शिखर आरोहणका लागि तयार हुन्छन्। कोही आफ्नो लक्ष्यमा सफल हुन्छन् र कोही विफल पनि हुन्छन्।
यति चाहिँ हो, सगरमाथा चढ्न आज जति सजिलो छ हिजो थिएन। सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पा नोर्गेलाई जति कठिन थियो त्यति अर्जुन कार्की र  निशा अधिकारीलाई भएन।
सगरमाथामा मानिसले पाइलो टेकेको साठी बर्ष पुगिसकेछ। यसको हिरक जयन्ती मनाउने बेलासमेत आइसकेछ । यसैले पनि अहिले धेरैको ध्यान सगरमाथातिर आकर्षित भएको छ। सगरमाथा भन्नेबित्तिकै म तेन्जिङ शेर्पालाई सम्भि्कन्छु। एडमन्ड हिलारीलाई पनि सम्भि्कन्छु। अहिले सगरमाथामाथि हजारौँ मान्छे चढे पनि सुरुमा सगरमाथा चढ्ने त आखिर सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पा नै न हुन्। यिनीहरू हाम्रो सगरमाथा गाथाका आदि पुरुष हुन्। नेपाली साहित्यका भानुभक्त हुन्।
मैले सर एडमन्ड हिलारीलाई त कहिले भेट्न पाइन। तर तेन्जिङ शेर्पालाई भने एकपल्ट भेट्ने मौका पाएको थिएँ। उनीसित हात मिलाउने मौका पनि पाएको थिएँ।  उनको अन्तर्वार्ता लिने मौका पाएको थिएँ।  त्यो अन्तर्वार्ता आसामबाट प्रकाशित हुने साहित्यिक पत्रिकामा प्रकाशित भएको छ। यो सन् १९७२ तिरको कुरा हो। त्यतिबेला हामी केही लेखकसाहित्य सेमिनारमा भाग लिन दार्जिलिङ गएका थियौँ। मलाई संझना भएसम्म त्यतिबेला मसित तेन्जिङ सेर्पालाई भेट्न जाने लेखक कविमा धर्मलाल भुसाल, ईश्वरी खनाल, गोपालबहादुर नेपाली, होम तिम्सिना, तुलसी क्षेत्री, श्याम लिवाङ, अनुराग प्रधान आदि थिए।
हामीले तेन्जिङ शेर्पालाई उनले संचालन गरेको हिमालयन माउन्टिनियरिङ इन्स्टिच्युटमा भेट गरेका थियौँ। त्यस इन्स्टिच्युटमा एउटा अग्लो कृत्रिम पहाड थियो। त्यसको बगलमा एउटा म्युजियम थियो। त्यस म्युजियमा तेन्जिङ शेर्पाले सगरमाथा चढ्दा  प्रयोग गरेका लुगाफाटा र सरसमान संंग्रहित थिए। हामी तेन्जिङ शेर्पाले संचालन गरेको इन्स्टिच्युटमा पुग्दा उनी त्यहाँ आइपुगेका थिएनन्। मैले त्यहाँबाट उनको घरमा फोन गर्दा संभवतः उनकी छोरीले जबाब दिएकी थिइन् –तेन्जिङ घरबाट हिंडिसकेका छन्। इन्स्टिच्युटतिर आउँदैछन्।
हाम्रो केही बेरको प्रतीक्षापछि तेन्जिङ शेर्पा त्यहाँ आइपुगे। मलाई उनी निकै फुर्तिला व्यक्ति लागे। मुसुक्क हाँसेर कुराकानी गर्ने तेन्जिङ शेर्पाले बडो फुर्तीसाथ हामीसित हात मिलाए।
मैले त्यतिबेला तेन्जिङ शेर्पासित यस्तै तीन चारवटा जति प्रश्न गरेको थिएंँ। उनले मेरा प्रश्नको उत्तर अंग्रेजी र नेपाली भाषामा दिएका थिए। उनी मसित नेपाली र अंग्रेजी दुवै भाषामा बोलेका थिए। मलाई के थाहा भयो भने तेन्जिङ शेर्पाको नेपालीभन्दा अंग्रेजी भाषा राम्रो थियो। उनी  नेपाली बोल्दा अनपढ नेपालीले बोलेजस्तो बोल्थे।  तर अंंंग्रेजीमा बोल्दा राम्रै पढे लेखेको शिक्षित व्यक्तिजस्तै बोल्थे। उनको अंग्रेजी उच्चारण राम्रो थियो।  मेरो पहिलो प्रश्न थियो उनी किन गुवाहाटी आसामको भ्रमणमा गएका थिए।  मेरो यस प्रश्नको उत्तरमा उनले मलाई भनेका थिए – किनभने त्यहाँ हाम्रा मान्छे छन्। हाम्रा मान्छे भन्नाले उनको संकेत नेपालीसित थियो।  मैले त्यतिबेला तेन्जिङ शेर्पा गुवाहाटी (आसाम)तिर  आएका  छन् भन्ने खबर पाएको हुनाले नै उनीसित यस्तो प्रश्न गरेको थिएँ। मलाई याद भएसम्म मेरो दोस्रो प्रश्न थियो – तपाईँको जीवनको लक्ष्य के हो? यस प्रश्नको उत्तरमा उनले भनेका थिए – पण्डित जवाहरलाल नेहरूले मलाई भनेका थिए ' तेन्जिङ तिमीले हजारौं हजार तेन्जिङ शेर्पा जन्माउनु पर्छ।' नेहरुको यस भनाइले मलाई निकै प्रेरणा दियो। म नेहरुको त्यही सपना पूरा गर्ने लक्ष्यमा लागेको छु। म थुप्रै पर्वतारोहीलाई जन्माउन चाहन्छु। यसैको निम्ति नेहरुले यस इन्टिच्युटको स्थापना गरिदिएका हुन्।
मेरो अर्को  प्रश्न थियो– सगरमाथामा  पाइला टेक्दा तपाईँले के सोच्नुभयो ? मेरो यस प्रश्नको उत्तरमा उनले निकै भावकु हुँदै भनेका थिए – सगरमाथाको चुचुरोमा पाइला राख्नेबित्तिकै उनी यति हर्षिंत  भए कि उनले कुनै पनि कुरा सोच्नै सकेनन्। उनले मलाई यो यसरी अंग्रेजीमा भनेका थिए – म यति खुसी भएँ कि 'आई वाज सो ओवरज्वायड द्याट आई वाज इन् द स्टेट अफ थिन्कलेसनेस।' तेन्जिङ शेर्पाले यति सटीकरूपमा त्यस बेलाको आफ्नो मनोदशाको चित्रण गरेका थिए।
जे होस्, आजभन्दा यस्तै चार दशक अघि तेन्जिङ शेर्पाले हामीसित कुराकानी हुँदा गरेका धेरै कुरा मैले यतिबेला बिर्से पनि मुख्यत यी तीन कुरा बिर्सन सकेको छैन। सबभन्दा पछिल्लो कुरा त मेरो मनमा निकै गढेको छ। सायद कुनै पनि मान्छे 'थिन्कलेसनेस'को अवस्थामा पुग्नु भनेको या त ध्यानको अवस्था हो या दर्शनको।  तर तेन्जिङले मसित ध्यानका कुरा पनि गरिरहेका थिएनन्। दर्शनका कुरा पनि गरिहेका थिएनन्। उनले मसित उनको मनविज्ञानका कुरा गरेका थिए। मलाई त्यतिबेला के ज्ञान हुन गयो भने मान्छे अत्यन्त उल्लासित वा हर्षित भयो भने ऊ थिन्कलेसनेसको अवस्थामा पुग्दोरहेछ। म कहिले कहिँ आफँैसित प्रश्न गर्छु, तेन्जिङ सेर्पाले सगरमाथा चढे  यता थुप्रै मान्छेले चढिसेका छन्। के तिनीहरू पनि तेन्जिङ सेर्पाजस्तै थिन्कलेसनेसको अवस्थामा पुगेका होलान्? एक प्रकारको विचार शून्यताको अवस्थामा पुगेका होलान्?
सगरमाथा चढ्नु निकै ठूलो कार्य हो। साहसिक काम हो। संसारमा यसभन्दा बढी साहसिक कार्य केही हो भने पहिलो अन्तरिक्ष भ्रमण र जुनमा पाइलो टेक्नु नै हो। सायद, १९६९ मा एपोलो –११ म्ाा चढेर चन्द्रमामा पाइला टेक्दा नील आर्मस्ट्रन्ङ पनि तेन्जिङ सेर्पाजस्तै थिंकलेसनेसको अवस्थामा पुगेका थिए होलान्। आखिर मानव स्वभाव त सबैको एकै न हुन्छ।
तेन्जिङ सेर्पा सगरमाथाको चुचुरोमा पुग्दा उनी आफैँमात्र हर्षोल्लासित भएनन्। उनीसित सारा देश नै हषित हुन पुग्यो। यसको प्रमाण धर्मराज थापाको यो गीत हो –
'हाम्रो तेन्जिङ शेर्पाले  चढ्यो हिमाल चुचुरा
गम्केर बज्यो खैंजडी झम्केर नाच्यो मुजुरा।'
 दुर्भाग्य, हामीले हाम्रा तेन्जिङ शेर्पालाई हाम्रै बनाइराख्न सकेनौं। तै पनि हामीले उनलाई बिरानो भने कहिल्यै ठानेका छैनौ।

प्रकाशित: २५ जेष्ठ २०७० २३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %