१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
विचार

अनुसन्धान र विकास

निर्दिष्ट मापदण्डको अभावका कारण वैज्ञानिक अनुसन्धानले कुनै देशको समग्र आर्थिक विकासमा गर्ने योगदानलाई ठीकसँग मापन गर्न नसकिए पनि अनुसन्धान र विकासका बीच ठूलो सम्बन्ध रहेको तथ्य विशेषगरी विकसित देशका प्रगति विवरणले पुष्टि गरेका छन्। यसै तथ्यलाई ध्यानमा राख्दै विकसित एवं कतिपय विकासोन्मुख देशले वैज्ञानिक अनुसन्धानको आवश्यकतालाई पूर्णरूपमा आत्मसात् गरिसकेका छन्। तर नेपालका नीति निर्माताले देशको विकासमा वैज्ञानिक अनुसन्धानको भूमिकालाई राम्ररी आत्मसात गर्न सकेका छैनन्। उनीहरू वैज्ञानिक अनुसन्धान धनी र सक्षम देशका लागिमात्र हुन् भन्ने सोच राख्छन्। नेपालजस्ता विकासोन्मुख देशले भोगिरहेका सबै समस्याको समाधान विकसित देशमा भएका अनुसन्धानबाट प्राप्त गर्न सकिने भएकाले नेपालले छुट्टै अनुसन्धान गर्नु जरुरी नभएको कतिपय हाम्रा राजनीतिज्ञ एवं नीति निर्माता विश्वास गर्छन्। वास्तवमा यस प्रकारको सोच त्रुटिपूर्ण छन्। यस्तै सोचका कारण नेपाल वैज्ञानिक अनुसन्धानमा सबैभन्दा कम लगानी गर्ने विश्वका राष्ट्रमध्ये पर्छ।

हरेक राष्ट्रको भूगोल, वातावरण, प्राकृतिक स्रोत, सामाजिक/सांस्कृतिक परम्परा र राजनीतिक संरचना पृथक प्रकृतिका हुन्छन्। त्यसैले कुनै एउटा देशको अनुभव र उपलब्धिलाई अर्को देशको समस्या समाधान गर्न पूर्णरूपले उपयोगी हुने सम्भावना कम रहन्छ। त्यसैले प्रत्येक राष्ट्रले आफ्नो समस्या समाधान बाह्य संसारबाट नभई आफैंले गर्ने क्षमता विकास गर्नु जरुरी छ। नेपालको पनि आफ्नै विशेष प्रकारका विकाससम्बन्धी समस्या छन्। तिनको समाधान स्थानीय अनुसन्धानले मात्र गर्न सकिन्छ। तसर्थ हामीले पनि आफ्ना स्थानीय समस्या समाधान गर्न आफ्नै वैज्ञानिक अनुसन्धानको क्षमता विकास गर्नु आवश्यक छ।

नेपालमा वैज्ञानिक अनुसन्धानको स्थिति कमजोर छ। हाम्रो देशमा वैज्ञानिक अनुसन्धानलाई केही सीमित व्यक्तिको बौद्धिक विलासका रूपमा पनि हेर्ने गरिन्छ। त्यसैले वैज्ञानिक अनुसन्धानको आवश्यकता र महŒवलाई राज्यले राम्ररी आत्मसात गर्न सकेको छैन। वैज्ञानिक अनुसन्धानका लागि राष्ट्रिय नीतिको अभाव छ। विज्ञान तथा प्रविधिका अनुसन्धानलाई व्यापक विकास गर्न आवश्यक पर्ने राष्ट्रिय स्तरको प्रभावकारी संरचनाको अभाव छ। देशमा अनुसन्धानका पूर्वाधार, वातावरण एवं सुविधाको अभाव भएकाले नेपाली वैज्ञानिक विदेश पलायन हुने क्रम तीव्र छ।

नेपालमा अनुसन्धानका क्रियाकलापहरू विशेषगरी विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद् आदिजस्ता स्वायत्त संस्था तथा नेपाल सरकारअन्तर्गतका विज्ञान प्रविधिसँग सम्बन्धित निकायमा सञ्चालन भइरहेका छन्। विकसित मुलुकमा निजी क्षेत्रले पनि वैज्ञानिक अनुसन्धानको प्रायोजन गरेका हुन्छन्। तथापि नेपालमा निजी क्षेत्रबाट सञ्चालित वा प्रायोजित अनुसन्धान कार्य शून्य प्रायः छन्। नेपालका प्रायः सबै अनुसन्धान केन्द्रमा उपलब्ध गराइने सीमित बजेटको अधिकांश भाग तलब भत्ता र प्रशासनिक काममा खर्च हुने गर्छ। अनुसन्धानका लागि खर्च गरिने वास्तविक रकम अति न्युन छ। सीमित र खण्डित हुने गरेकाले अनुसन्धानका क्रियाकलापले राष्ट्रिय स्तरमा देखिनेगरी खासै प्रभाव पार्न सकेका छैनन्।

देशमा अनुसन्धानका लागि चाहिने पूर्वाधारको ठूलो अभाव छ। प्रयोगशालामा पानी र बिजुली नियमित आपूर्ति नभएको परिस्थिति छ। विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था गरिएको हुँदैनन्। त्यसैले निरन्तर विद्युत् र पानी आवश्यक भइरहने अनुसन्धान नेपालमा सञ्चालन गर्न असम्भव प्रायः भएको छ। नेपालमा वैज्ञानिक उपकरणको मर्मत र सम्भारका लागि आवश्यक दक्ष जनशक्तिको ठूलो अभाव छ। उपकरणहरू एक पटक बिग्रिएपछि मर्मत गर्ने प्राविधिकको अभावमा त्यसै थन्किने र अन्ततः काम नलाग्ने भएर जाने गर्छन्। एकातिर आर्थिक अभावमा पुराना र काम नलागेका उपकरण विस्थापित गर्न सकिने परिस्थिति छैन भने अर्कातिर कतिपय महँगा उपकरण उपयोग गर्ने अनुसन्धानकर्ताको अभावमा वा प्रयोगका लागि आवश्यक अन्य सामाग्रीको अभावमा सजावटका वस्तु बनेका हुन्छन्।

अनुसन्धानकर्ताले सम्बन्धित विषयको ज्ञानलाई निरन्तर आवधिक र वृद्धि गर्नुपर्ने हुन्छ र यसका लागि सुविधायुक्त पुस्तकालय आवश्यक पर्छ। नेपालका प्रायःजसो पुस्तकालय आर्थिक अभावका कारण महत्वपूर्ण जर्नल, शोधमूलक पत्रपत्रिका र समसामयिक पुस्तक खरिद गर्न असमर्थ छन्। पुस्तकालयमा प्राप्य सन्दर्भ सामग्रीहरू धेरैजसो पुराना छन्। धेरैजसो पुस्तकालयमा इन्टरनेट सुविधा उपलब्ध छैनन्। इन्टरनेट सुविधा उपलब्ध भइहाले पनि अधिकांश पुस्तकालय अनलाइन जर्नलको सदस्य नबनेकाले यस्ता जर्नलमा प्रकाशित शोधकार्यहरू नेपाली अनुसन्धानकर्तालाई उपलब्ध गर्न नसकिने अवस्था छ। इन्टरनेट सुविधा र जर्नलहरूको अनलाइन सदस्यता शुल्क महँगो भएकाले अनुसन्धानकर्ताले व्यक्तिगतरूपमा प्रयोग गर्न असम्भवप्रायः छ।

विकसित देशका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका प्रयोगशालाहरूमा चौबीसै घण्टा अनुसन्धान हुने र त्यस्ता प्रयोगशाला विरलै बन्द हुने गर्छन् तर नेपालमा अनुसन्धान कर्मलाई दशदेखि पाँच बजेसम्मको जागिरको रूपमा लिने गरिन्छ। कार्यालय समयभन्दा अघि वा पछि प्रयोगशालाहरू रित्ता र शून्य देखिन्छन्। प्रशासनिक झमेला र अप्ठेराका कारण अनुसन्धान गर्ने संस्थाहरू कार्यालय समय, अघि-पछि र बिदाका दिनमा खुलेका हुँदैनन्। नेपालमा अनुसन्धानकर्ताले बिदाको समय प्रयोगशालामा बिताएका दृष्टान्त बिरलै देख्न/सुन्न पाइन्छ। अनुसन्धानकर्तालाई आफ्नो कर्मप्रति समर्पित गराउन चाहिने सेवा सुविधाको पनि अभाव छ। त्यसैले अनुसन्धानकर्म पेसागत भन्दा पनि मूलतः व्यक्तिगत इच्छामा हुने गरेको पाइन्छ।

हिजोआज वैज्ञानिक अनुसन्धान समूहमा गर्ने चलन विकसित भएको छ। तर नेपालमा अनुसन्धानकर्ताहरू प्रायः एकलरूपमा अनुसन्धान गर्छन्। समूहमा अनुसन्धान गर्ने/गराउने संस्कारको उचित विकास भइसकेको छैन। अनुसन्धानकर्ताबीच आपसी समन्वय, सहकार्य र सहयोग नभएकाले विद्यमान अनुसन्धानका सुविधाहरू मिलेर प्रयोग गर्ने संस्कारको पनि विकास हुन पाएको छैन। एउटै प्रकृतिका अनुसन्धान हुने संस्था र व्यक्तिका बीचमा समेत आपसी संवाद र सहकर्म त्यति पाइँदैन। अनुसन्धानकर्ताहरू आपसमा नियमित भेटघाट गर्ने अनि आफ्ना अनुसन्धानबारे छलफल गर्ने प्रवृत्ति र अवसरको पनि अभाव छ। देशका महŒवपूर्ण अनुसन्धान केन्द्रका बीच पनि आपसी सहकार्य र समन्वयको अभाव देखिन्छ। फलस्वरूप कतिपयः अनुसन्धान कार्य दोहोरिने गरेका छन्।

नेपाली वैज्ञानिकहरूलाई अनुसन्धानको सफलताका लागि आवश्यक उत्प्रेरणा र सुविधा जस्ता आधारभूत तŒवको अभाव छ। कतिपय अवस्थामा पदोन्नति र उच्च पदमा हुने नियुक्ति जस्ता सम्मान र सुविधाबाट अनुसन्धानकर्ता वञ्चित छन्। विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थामा समेत प्राध्यापकहरूको पदोन्नतिमा उनीहरूले गरेको अनुसन्धान कार्यप्रति उचित मूल्याङ्कन गरेको पाइँदैन। यस्ता अवसरहरूमा अनुसन्धान क्षमताभन्दा वरिष्ठतालाई बढी महŒव दिइएको पाइन्छ। कहिल्यै अनुसन्धान कार्यमा संलग्न नभएका र जीवनमा एउटा पनि सोधपत्र प्रकाशित नगरेका शिक्षकहरूसमेत विश्वविद्यालयको प्रोफेसर बनेका उदाहरणहरू हामीकहाँ धेरै पाइन्छ। अन्य मुलुकमा अनुसन्धान नगरेका र गहकिला शोधपत्र प्रकाशित नगरेका व्यक्तिले विश्वविद्यालयमा प्रोफेसर बन्ने सपना पनि देखेका हुँदैनन्।

सरकारी विभागका अनुसन्धानकर्तालाई निर्वाधरूपमा आफ्नो अनुसन्धानको विषय चयन गर्न र अनुसन्धान वृत्ति प्राप्त गर्ने स्वतन्त्रता छैन। अनुसन्धानमा समय खर्च गर्नुभन्दा आर्थिक आर्जन गर्न विश्वविद्यालयका कतिपय शिक्षकहरू प्रयोगशालामा भन्दा विभिन्न उच्च माध्यमिक विद्यालयमा आंशिक शिक्षकको रूपमा अध्यापन गर्न रुचि राख्छन्। नेपालका अनुसन्धानकर्तालाई 'पब्लिस अर पेरिस' (प्रकाशन गर वा नाश होऊ) भन्ने अन्तर्राष्ट्रिय सिद्धान्त लागु हुँदैन। कतिपय अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानका अन्तिम परिणाम कुनै जर्नलमा प्रकाशित गर्नुपर्ने कुराप्रति पनि खास चासो देखाएको पाइँदैन। अनुसन्धानका परिणामहरू प्रतिवेदनका रूपमा अनुसन्धान वृत्ति प्रदान गर्ने सम्बन्धित निकायमा थन्किने गर्छन्। अनुसन्धानकर्ता र प्रयोगकर्ताबीच आपसी संवाद र समन्वयको अभावमा वैज्ञानिकका कतिपय महत्वपूर्ण एवं उपयागी अनुसन्धानका नतिजाहरूसमेत व्यवहारमा उपयोग हुँदैनन्।

नेपालमा अनुसन्धान क्रियाकलापको अनुगमन र प्रबर्द्धन गर्ने कुनै राष्ट्रिय निकाय छैन। मन्त्रालय, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, विज्ञान प्रतिष्ठान, आदि जस्ता निकायबाट प्राप्त अनुसन्धान वृत्तिमा सुरु गरिएका कतिपय अनुसन्धानहरू बीचमा नै अलपत्र पारेर छाड्ने चलन पनि पाइएको छ। अनुसन्धान पूर्ण नगरेर अनुसन्धान वृत्तिको दुरूपयोग गर्नेहरू कुनै कार्यबाहीको भागीदार नहुने भएकाले पनि एक पटक सुरु भएका अनुसन्धानले पूर्णता प्राप्त गर्ने कुरामा विश्वस्त हुन नसकिने अवस्था छ।

राष्ट्रको विकासका लागि आवश्यक पर्ने अनुसन्धानका प्राथमिक क्षेत्रहरू पहिचान गर्ने दिशामा ज्यादै कम प्रयत्न भएका छन्। सन् १९७८ मा त्रिभुवन विश्वविद्यालयले र सन् १९८३ मा नास्टले सम्बन्धित विषयका वैज्ञानिकहरूको कार्यटोली बनाई आ-आफ्ना विषयका पूर्वाधार, उपलब्ध जनशक्ति र अनुसन्धानात्मक क्रियाकलापबारे अध्ययन गरेर तत्सम्बन्धी समस्या र तिनका निराकरणका बारेमा अध्ययन गर्न लगाएका थिए। त्यसपश्चात् यस प्रकारको कुनै उल्लेखनीय प्रयास गरिएको छैन। त्रिवि र नास्टद्वारा त्यतिबेला गठित ती कार्यदलले दिएका राय सुझावको कार्यान्वयनतर्फ पनि खासै प्रयत्न गरिएको थिएन। ती राय सुझावको समेत अध्ययन गरी आजको सन्दर्भमा राष्ट्र विकासका लागि आवश्यक पर्ने अनुसन्धानका प्राथमिक क्षेत्रहरू पहिचान गर्ने नयाँ प्रयास हुनु अत्यन्त जरुरी छ।

अनुसन्धानका लागि आवश्यक पूर्वाधार, लगानी र वातावरणको अभाव भए पनि देशमा अनुसन्धानका गतिविधिमा निरन्तर वृद्धि भइरहेको विरोधाभास संकेत समय-समयमा आयोजना गरिने राष्ट्रिय स्तरका विज्ञान सम्मेलनले देखाएका छन्। उदाहरणका लागि प्रत्येक सम्मेलनमा प्रस्तुत गरिने शोधपत्रको संख्या अघिल्लो सम्मेलनमा प्रस्तुत गरिएका शोधपत्रको संख्याभन्दा बढी भएको पाइन्छ। तर सम्मेलनमा प्रस्तुत हुने गरेका धेरैजसो यस्ता शोधपत्र विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीको थेसिसमा आधारित भएको पाइन्छ। तीमध्ये थोरैमात्र शोधपत्र अन्तर्राष्ट्रिय स्तरको हुने गरेको पाइन्छ।

विज्ञहरूका अनुसार एक्काइसौँ शताब्दीको समाज ज्ञानमा आधारित हुनेछ। नवीन ज्ञानको स्रोत भनेकै वैज्ञानिक अनुसन्धान हो। विकसित र कम विकसित सबै राष्ट्रको यथोचित आर्थिक-सामाजिक विकासमा वैज्ञानिक अनुसन्धानको उत्तिकै महŒवपूर्ण भूमिका रहन्छ। तसर्थ राज्यले वैज्ञानिक अनुसन्धानको महत्व बुझेर देशका अनुसन्धान केन्द्रहरूलाई आवश्यक स्रोत र साधन उपलब्ध गराई अनुसन्धानकर्तालाई उत्पादकमूलक अनुसन्धानको अवसर प्रदान गर्ने र प्रतिभा पलायन रोक्ने नीति अवलम्बन गर्नु देशको हितमा हुनेछ।

प्रकाशित: १५ चैत्र २०६९ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %