१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

कमजोर सामाजिक चेतना

सामाजिक रूपान्तरणको प्रक्रिया स्वतर्स्फुत हुँदैन। यसलाई गति दिनुपर्छ, र त्यो गतिको लक्ष्य सामाजिक चेतनाको निर्माणप्रति लक्षित रहेको हुनुपर्छ। हरेक समाजको गठन निश्चित सामाजिक चेतनाको जगमा खडा भएको हुन्छ। जबसम्म स्थापित सामाजिक चेतनाको परिवर्तनको आवश्यकता महसुस हुँदैन, तबसम्म सामाजिक संरचनामा परिवर्तनका घटना सिर्जना हुन सक्दैनन्। कारण सामाजिक संरचनाको स्वरूप सामाजिक चेतनामा आधारित रहेको हुन्छ। तर, सामाजिक चेतना स्वयं पनि केही आधारभूत सिद्धान्त तथा मान्यतामाथि परनिर्भर रहेको हुन्छ। जबसम्म त्यस्ता सिद्धान्तमाथि मानिसको विभिन्न कारणले आस्था कायम रहिरहन्छ वा तिनीहरूलाई जबर्जस्ती पक्षपोषण गरिरहन्छ, सामाजिक चेतनामा परिवर्तन हुन सक्दैन। यसरी संकीर्ण एवं जडवादी चेतनाको प्रभाव कायम रहेसम्म सामाजिक संरचनाको परिवर्तन हुन सक्दैन।
नेपाली समाजको वर्तमान विशृंखलता, अराजकता र जडताका कारण खोज्दा कुन त्यस्ता सिद्धान्त वा मान्यता हुन्, जसमा यसको चेतनाको आधार कायम रहेको छ भन्ने कुराको विहंगम विश्लेषण गर्नु पहिलो आवश्यकता हो। तर, हाम्रो चिन्तनको संस्कृति अन्यन्त कमजोर भएको छ। वर्तमान स्थितिमा हाम्रो समाजमा आत्मगत भावना वा संवेदनाद्वारा प्रभावित भई विचारको प्रक्षेपण गर्ने प्रवृत्तिको विकासले त्यस्ता सिद्धान्त वा मान्यताहरूको पर्दाफास गर्ने आकांक्षा र प्रयास अत्यन्तै फितला भएका छन्। जब मानिसका सोच-विचार तार्किक, विवेक र भौतिक यथार्थवादी समालोचनात्मक दृष्टिकोणबाट बन्न छाड्छन्, दिमागले निर्माण गर्ने वस्तु त आग्रह वा पूर्वाग्रह मात्रै हुन्छन्, वैज्ञानिक चेतनायुक्त दृष्टिकोण होइन। त्यसैले नेपाली राजनीति, समाज र व्यवसायिक बजारमा अहिले केवल आग्रह र पूर्वाग्रहको उत्पादन मात्र भइरहेको छ। सबै मानिस आफूले ठीकठाक विचार दिएको ठान्छन्, तर त्यसको सैद्धान्तिक आधार दिँदैनन्।
यस्ता प्रवृत्तिहरूकै बारेमा पनि सामाजिक चेतनाका आधारको खोजी गरिँदैन। एउटा सामाजिक यथार्थ के हो भने मानिसले बोकेका संस्कृति र संस्कार सामाजिक चेतनाका प्रकट स्वरूप मात्र हुन्। त्यसैले नेपाली संस्कारको रूपान्तरण वा परिवर्तन तिनीहरू कायम रहेको सामजिक चेतनाका आधारभूत सिद्धान्तको परिवर्तनबिना सम्भव हुँदैन। भैतिक संसारमा कुनै एउटा वस्तुलाई अर्को वस्तुसँगको ठक्करबाट भत्काउन सकिन्छ, तर सामाजिक संसारमा कुनै एउटा विचारलाई हटाउन/भत्काउन अर्को विचारको रोपण गर्नुपर्छ। तर, नयाँ विचार पनि वैज्ञानिक हुन नसकी केवल स्वप्नवादी (युटोपिया) हुनसक्ने खतरा भने रहिरहन्छ।
यस सामाजिक विज्ञानको तार्किक विश्लेषण पद्धतिबाट अध्ययन गर्दा नेपाली समाजका केही आधारभूत सैद्धान्तिक आधारको विश्लेषणबिना वर्तमान संकट र अवरोधबार सही दृष्टिकोण निर्माण गर्न सकिँदैन। अतः नेपाली समाजले ग्रहण गरिरहेका त्यस्ता सिद्धान्तहरूको विश्लेषणमा नेपाली बौद्धिक समाजले देखाइरहेको आलस्य र निराशावादी पलायनवादी प्रवृत्तिलाई दोष दिनैपर्छ, जसले पुराना मान्यताको संरक्षणमा भूमिका खेलिरहेको छ र समाजलाई अस्तव्यस्त पार्नमा परोक्ष योगदान गरिरहेको छ। वर्तमान नेपाली सामाजिक चेतनाको प्रवृत्ति मूलतः जडताउन्मुख, अर्थात् परिवर्तनवाट डराउने र अतितमुखी रहेको छ। यसको निर्माणमा जीवनलाई आध्यात्मिकताद्वारा निर्माण गर्ने नाममा ग्रहण गरिएका रहस्यवादी दर्शन (जगत मिथ्या हो, सबै कुरा भगवानले तय गर्ने मेरो कुरा हुन भन्ने सोच), भाग्यवादी चिन्तन (मैले जे पाएको छु, त्यो मेरो अघिल्लो जन्मको फल हो भन्ने चिन्तन), आस्थावादी विचार (श्रम गर्नुभन्दा गणेशलाई लड्डु चढाउदा फाइदा हुन्छ भन्ने भावना) र लम्पट प्रवृत्ति (विभिन्न किसिमका पत्थरजडित औंठी लगाई बिग्रिएको भाग्य सपार्न सकिन्छ भन्ने अठोट) ले घनघोर भूमिका खेलेका छन्। अतः नेपाली समाजिक चेतना अन्धविश्वास, भूतलक्षी चिन्तन र जडवादी प्रवृत्तिबाट पूर्ण रूपमा प्रभावित छ।
केही उदाहरण हेरौं। नेपालीहरू जापानीज कार किनेर घरमा ल्याउँछन्। त्यसको इन्जिनले कसरी राम्रो काम गर्छ भन्ने कुरा जान्न चाहँदैनन्। त्यसको संरक्षणका लागि बोका काटेर इन्जिनमा रगत चढाउँछन्। वामपन्थी दलका नेतासमेत आफ्नो सफलताका लागि भैंसी र बोका बलि दिन्छन्। मानव कल्याणका लागि भन्दै मन्दिर, पोखरी, खोला, रुखमा जनावरको हत्या गर्दै रगतको खोला बगाएर प्राणीको कल्याणको कल्पना गर्छन्। पानी परेन भने भ्यागुताको विवाह गरिदिन्छन्। गाउँको टोलको सुधार गर्न स्कुल होइन, मन्दिर स्थापना गर्छन्। तीज, स्वस्थानी, सरस्वतीपूजा, इन्द्रजात्रा इत्यादि हाम्रा जीवनका आवश्यता मानिएका छन्। त्यसैले बोक्सी प्रथामाथि विश्वास कायम छ। छुवाछूत प्रथालाई धर्म भनिएको छ। नेता र राजकीय पदमा पुग्नुलाई जीवनको सफलता भाग्य वा पुरुषार्थ मानिन्छ। यस्तै दर्शन र रुढीवादले पितृसत्ता, भाग्यवाद र सामन्ती हैकमवादलाई एक ठाउँमा जोडेका छन्। त्यसैले नेता हुन लोग्ने मानिस, कुलीन परिवारको निरकुंश प्रवृत्तिको मानिस हुनुपर्छ।
नेतालाई माननीय भन्दै नमस्कार वा अभिवादन गर्नुपर्छ। उसले जनताप्रति जवाफदेही हुनुपर्दैन, किनभने ऊ जनताको सेवक होइन, मालिक हो। त्यसैले त्यो नेता जनताका जस्तो सामान्य खाना खाँदैन, उसले परिकार खानुपर्छ। जनताका जस्ता घरमा बस्तैन, उसले दरबारमा बस्नुपर्छ, त्यसले जनताको जस्तो पारदर्शी काम गर्नु हँुदैन, उसले सबै कुरा लुकेर गर्नुपर्छ, उसले जनताको जसरी देश र राष्ट्रियताको माया गर्नुहँुदैन अर्थात् उसले जनताको जस्तो बानीव्यहोरा देखाउनु हुँदैन, उसको रूपरंग, आनीबानी, प्रवृत्ति राणाको जस्तो हुनुपर्छ। त्यसैले उसलाई गरिब देशमा पजेरो चढ्नुपर्छ, जति बढी क्रान्तिकारी कुरा गर्छ, उसको पार्टी सबैभन्दा धनी, उसका गाडी सबैभन्दा महँगा र उसको बानी सबैभन्दा विलासी हुनुपर्छ।
रहस्यवादी, भाग्यवादी, अतितमुखी दैवत्ववादी चिन्तनले मानिसमा पाखण्डलाई जन्म दिन्छ। यस पाखण्डले मानिसलाई श्रमप्रति अनास्था, लुट र भ्रष्टाचार अनि सस्तो कमाइप्रति आकर्षण पैदा गर्दछ। यस पाखण्डले मानिसमा भित्री र बाहिरी गरी दुई भिन्न संसारको निर्माण
गर्दछ। त्यसैले मानिस दोहोरो भूमिका बोकेर हिँड्छ। यस पाखण्डले मानिसलाई स्वावलम्बी होइन, परनिर्भर परजीवी बनाउँछ, त्यसैले उद्योग र उत्पादनका साधनको निर्माणका सिर्जना होइन, लुटको खेतीले प्राथमिकता पाउँछ। यस पाखण्डले मानिसलाई हीनताबोधी बनाउँछ, त्यसले मानिस आफ्नो ठाउँमा सिर्जना गर्ने स्रष्टा होइन, अर्को ठाँउमा गएर जालझेल गर्ने फटाहा बन्छ। मानिस पलायनवादी हुन्छ। ऊ आधुनिकीकरणका नाममा आफ्ना पुराना परम्परा बदलेर नयाँ बनाउँदैन, बरु नाम वा छोराछोरीको नाम कोसी, मेची, महाकाली, जनकपुर, वीरगन्ज, पाल्पा, इलामसँग जोड्दैन। बरु, पेन्टागन, ह्वाइट हाउस, इम्यानुल, स्यामुल, मेड्रीड, चेल्सीसँग जोड्छ। अनि कसैले यसो भन्यो भनेे उसलाई रिस उठ्छ। उसलाई आफ्नो वस्तुभन्दा अरुको वस्तु मनपर्ने मनोरोग सिर्जना हुन्छ।
किन यस्तो हुन्छ? जब समाजले भौतिक उत्पादकत्व र भौतिक उत्पादनको विकासलाई रूपान्तरण वा परिवर्तनको आधार बनाउँदैन, त्यसले बोकेका मान्यतामा परिवर्तन हुन सक्दैन। तसर्थ समाजको विकासका लागि भौतिक वस्तुको सदुपयोगद्वारा जीवनलाई उन्नत बनाउने चिन्तनको खेती गर्नैपर्छ। र, त्यसका लागि वैज्ञानिक सिद्धान्तमाथि विश्वासको निर्माण हुनैपर्छ। किनभने चीनले अहिले आर्थिक विकासको वैभव प्राप्त गर्योध? यदि चिनियाँ चिन्तन प्रणालीको विकासलाई हेर्ने हो भने र त्यसैगरी युरोपको वैज्ञानिक विकासलाई हेर्ने हो भने चीनमा 'आत्माको अवसान' र युरोपमा 'देवताको मृत्यु' जस्ता दर्शनहरू सत्रौं शताब्दीमा नै जन्मिए र जगतको यथार्थतासँग गाँसेर मानिसको सिर्जना र श्रमको सम्मान गर्ने चिन्तन विकास गरे। तर, हामी अहिले पनि सरकारी कोषबाट 'साधुलाई गाँजा' वितरण गरिरहेकै छौं। अहिले पनि हामी संस्कृतिको आधुनिकीकरण होइन, संरक्षणको कुरा गरिरहेका छौ। जापानले अठारौं शताब्दीमा जापानीजहरूलाई आधुनिकता सिकायो। ब्रुसको प्रयोगबाट दाँत मा‰न र सजिला लुगा लगाउन सिकायो। उद्योगमा लगानी गर्न सिकायो। तर, नेपालीहरू नेपालमा कमाएको धन हुन्डीबाट अस्टे्रलियामा घर किन्न लाँदैछन्, र कमाएको धनले उनीहरू गहना किन्दैछन्। हाम्रो संस्कृति आफ्नै समाज र राष्ट्रियताको अविश्वासमा आधारित छ।
हाम्रो सामाजिक चेतना भौतिक उत्पादनको विकासद्वारा सांस्कृतिक उत्थानको भौतिकवादी, वैज्ञानिक चिन्तनमा होइन, भाग्यवादी रुढीवादी संस्कारमा आधारित छ। त्यसैले राजनीतिक पदका नेता उनीहरूका कार्यकर्ताले उद्यमी कुटेर उद्योगमा आगो लगाउँदा, शिक्षक कुटेर स्कुल बन्द गर्दा त्यहाँ जाँदैनन्। तर, जब कुनै धार्मिक भिक्षुको आश्रम वा पुराण सुरु हुन्छ, त्यहाँ पुगेर शान्ति र प्रगतिको कुरा गर्छन्। देशमा अहिले युवाहरूलाई श्रमप्रति सम्मान बढाउने शिविरहरू चल्दैनन्। बरु जीवनको योजना र निर्णय दुवै भगवानले गर्छन् भन्ने शिविरहरू चल्छन्। यस्ता शिविरबाट मात्र प्रति वर्ष दस अरब रूपैयाँ भारत गइरहेको छ। यही रुग्ण सामाजिक चेतनाले हाम्रो राष्ट्रियता कमजोर भएको छ। भाग्यवादी चिन्तनले हाम्रो श्रमप्रतिको सम्मान गुमेको छ। अनि आर्थिक विकास अवरुद्ध छ। हामी गरिब छौं। त्यसैले जडवादी राजनीतिका फूटबल बनेका छौं। अब त नेपाली जनताको निद्रा खुल्नुपर्ने हो। यो निद्रा नखुलेसम्म देशमा यस्तै भइरहन्छ, जो अहिले भइरहेको छ।

प्रकाशित: ५ चैत्र २०६९ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %