बृहत् आलोकमा हेर्दा समग्र ब्रह्माण्डीय विज्ञानलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ : बाह्य विज्ञान र अन्तरजगत्को विज्ञान । बाह्य विज्ञानअन्तर्गत सबैखाले प्राकृतिक विज्ञान र समाज विज्ञान पर्छन् । प्राकृतिक विज्ञानले भौतिक जगत्का यावत् अवयव र प्रक्रियाबारे बुझ्ने र व्याख्या गर्ने गर्छ भने समाज विज्ञानले मानव समाज सञ्चालनका निमित्त आवश्यक सबै संरचनाहरूको व्यवस्थापनको अध्ययन गर्छ ।
हामीकहाँ भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, इन्जिनियरिङ आदि समेटिएको प्राकृतिक विज्ञानलाई मात्र विज्ञान मान्ने गरिएको छ । अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, कानुन, इतिहास आदि सम्मिलित समाज विज्ञानलाई विज्ञानका रूपमा स्वीकारिए तापनि आत्मसात गर्न नसकिएको सत्य हो । अहिलेका जटिल सामाजिक समस्याहरू हल गर्न प्राकृतिक विज्ञान एक्लैले मात्र सम्भव नभएकाले समाज विज्ञानलाई पनि समेटेर विज्ञानको बृहत् परिभाषाभित्र स्वीकारी सहकार्य गर्नुपर्ने तर्क छिट्पुटरूपमा उठ्न थालेका छन् । तर नेपाली बौद्धिक तप्का र नीति निर्माताहरूको विज्ञानप्रतिको साँघुरो बुझाइका कारण विज्ञानको समग्र पक्षमाथि मनन गर्न भुलेझैँ भान हुन्छ ।
यहाँनेर ‘अध्यात्मविनाको विज्ञान अन्धो र विज्ञानविनाको अध्यात्म लंगडो हुन्छ’ भन्ने आइन्सटाइनको उक्ति बारम्बार सम्झन लायकको छ । आजको युगमा हामीलाई अन्धो वा लंगडो दुवै हुन छूट छैन ।
प्रकृतिमा निहित पदार्थ र जीवजन्तु तथा तिनका अन्तरसम्बन्धको जति गहिरो ज्ञान हुन्छ त्यही अनुपातमा समाजका लागि उपयोगी साधनहरू विकास गर्न सकिन्छ । जुन प्राकृतिक विज्ञानले गरिरहेको छ । अर्कोतिर समाज विज्ञानको उपर्युक्तकौशलताले सामाजिक संरचनामा परिआउने यावत् समस्या हल गर्न सहयोग पुग्छ । यी दुवैको सामञ्जस्यपूर्ण मिलन वा सहकार्य हुन सके मानव समाजले सकारात्मक परिणाम भोग्ने कुरामा दुई मत भएन ।
प्राकृतिक र समाज विज्ञानको लौकिक घेरा भन्दा पर हामीले आत्मसात गर्न नसकेको तर औधि महŒवको अन्तरजगत्को आध्यात्मिक विज्ञान छ जसले हाम्रा विचार, चेतना, करुणा, प्राण आदिको प्रतिनिधित्व गर्छ । जसलाई भौतिकवादीहरूले स्वीकार गर्न सकिरहेका छैनन् । हामीले हाम्रै चेतनालाई विज्ञानका रूपमा स्वीकार गर्न नसकेकाले आजसम्म पनि यो रहस्यको विषय बनेको छ । यो आलेखले त्यही अपुरो पक्षसहित समग्र विज्ञानको चर्चा गर्ने प्रयत्न गर्नेछ ।
आज भौतिक विज्ञान स्थूल पदार्थको घेराबाट निस्केर अति सूक्ष्म उपपरमाणविक संरचना र इनर्जीको रहस्यमयी सञ्जालभित्र छिरिसकेको छ । क्वान्टम भौतिकीका सिद्धान्तहरू कुनै रहस्यमय कल्पना भन्दा फरक प्रतीत हुन्नन् । जस्तो कि क्वान्टम भौतिकीका अनुसार एउटै इलेक्ट्रोनको अस्तित्व एकैपल्ट धेरै ठाउँमा हुन सक्छ । यो फेरि कुनै तार्किक निष्कर्ष मात्र हुँदै होइन बरु क्वान्टम भौतिकीको प्रयोगसिद्ध तथ्य हो । यसैमा टेकेर न्यानोटेक्नोलोजीले चामत्कारिक प्रयोगहरू गरेको छ । त्यसो त क्वान्टम मेकानिक्सका कुनै पनि सिद्धान्त तार्किक आलोकमा बुझ्नै सकिन्नन् । भौतिक विज्ञानको यो रहस्योद्घाटन भन्दा पहिले यस्तो कुरा काल्पनिक साहित्य वा आध्यात्मिक लेखनमा मात्र सुन्न पाइन्थ्यो । परमहंस योगानन्दले आफ्नो प्रसिद्ध पुस्तक ‘अटोग्राफी अफ योगी’ मा एक भन्दा बढी शरीर धारण गर्न सक्ने योगीहरूको चर्चा गरेका छन् । अलौकिक लाग्ने यस्ता घटना उपपरमाणविक तहमै भए पनि क्वान्टम भौतिकीमा प्रयोगिकरूपमै सिद्ध भएका छन् । आधुनिक क्वान्टम भौतिकी र पूर्वीय अध्यात्मबीचको समानताबारे भौतिकशास्त्री फ्रिटजोफ काप्राले आफ्नो पुस्तक ‘ताओ अफ फिजिक्स’ मा सविस्तार वर्णन गरेका छन् ।
महर्षि पतञ्जलीले अध्यात्मको पहिलोपल्ट वैज्ञानिकीकरण गरे । उनको पतञ्जली योगसूत्रमा यम, नियम, प्राणायाम आसन, प्रत्याहार, धारणा, ध्यान र समाधि जस्ता अष्टाङ्ग मार्गको विस्तृत व्याख्या छ । अध्यात्म विज्ञान जस्तो सूक्ष्म विषयलाई उनले शरीर विज्ञानसँग एकाकार गरिदिनाले अचेल अध्यात्म विज्ञानको विरोध गर्ने वैज्ञानिक वा अध्यात्मको नाम सुन्न नचाहने कम्न्युस्टहरूसमेत बिहान/बेलुकी सुसुफुफु गर्दै जिउ तन्काएर योग गर्दै गरेका दृश्य देख्न पाइन्छन्। आजको दुनियाँमा योग सारा विश्वले स्वीकारेको विषय हो । बुद्धले अध्यात्मलाई धार्मिक मतान्धहरूको भिडबाट निकालेर विशुद्ध विज्ञानसम्मत प्रयोग गरे । उनका देशमा कुनै पनि कर्मकाण्डी पाखन्ड र रुढीबाट मुक्त छन् । त्यसैले बुद्ध धर्मलाई पश्चिमा वैज्ञानिकहरूले समेत मुग्धकण्ठले प्रशंसा गरेका छन । प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले मतान्धता र रुढीवादबाट मुक्त धर्म भन्दै बौद्ध धर्मलाई भविष्यको एक मात्र सम्भावित विश्वधर्म भनेका छन् । यसलाई अर्का विख्यात भौतिकशास्त्री मिचियो काकुले आफ्ना लेखन र प्रवचनमार्फत समर्थन गरेका छन् । बुद्धको ध्यान आज पश्चिमा जगतमा ‘माइन्डफुलनेस’ का नामले फैलिँदो छ । आज ध्यानमाथि हावर्ड मेडिकल सेन्टरलगायत कैयौँ प्रयोगशालामा अनुसन्धान भएका छन् । ती सबै अनुसन्धानले ध्यानले मानिसको मानसिक स्वास्थ्यमा अतुलनीय सकारात्मक प्रभाव पार्ने कुरा पुष्टि गरेका छन् ।
हावर्ड मेडिकल सेन्टरको रिपोर्टअनुसार सन् २०१५ मा कडाखालको डिप्रेसनको सिकार अमेरिकीहरूको संख्या १६.१ मिलियन थियो । यसमा मध्यम र सामान्य डिप्रेसनका रोगीहरूको संख्या थप्ने हो भने यो झन् कति धेरै होला सहजै अनुमान गर्न सकिन्छ । बढ्दो सहरीकरणसँगै सारा विश्वभरि नै डिप्रेसनका रोगीहरूको संख्या आकासिँदो छ । यो विषादको भूमरीबाट मानिसलाई मुक्त गर्न योग वा ध्यान जस्ता आध्यात्मिक साधनाको विकल्प छैन ।
हाम्रो भौतिक शरीर सन्तुलित पोषणले स्वस्थ र बलियो हुन्छ । बाह्य विज्ञानले दिने हरेक यन्त्रका सहाराले हामी हाम्रो जीवन सहज बनाउन सक्छौँ । भौतिक शरीरको सीमासम्म मात्र बाह्य विज्ञानले सहायता प्रदान गर्छ । हाम्रो भौतिक शरीरलाई हरदम फुर्तिलो राख्न शक्ति चाहिन्छ । हामीले खाएको खानाबाट शक्ति निसृत हुन अक्सिजन चाहिन्छ । प्राणायामले हाम्रो शरीरको ग्लुकोज दोहन गरी शक्तिमा बदल्छ । हामी जतिसुकै सम्पन्न किन नहोउँ, हाम्रा अनियन्त्रित विचारले सधैँ पिरोलिरहन्छन् । यस्तै अनियन्त्रित विचार र दम्भका कारण मानिस युद्ध गर्छ । यही अनियन्त्रित विचार रोक्न पतञ्जलीले योगको महत्व दर्साएका हुन् । पतञ्जली योग सूत्रको दोस्रो सूत्रमै ‘योगश्य चित्त वृत्ति निरोध’ अर्थात् योगले अनियन्त्रित विचारको भेल रोक्छ भनिएको छ । यौगिक साधनाले चित्तका वृत्ति रोक्ने कुरा वैज्ञानिक प्रयोगले सही सावित गरेका छन् । चौबीसै घण्टा अनियन्त्रित भएर मच्चिरहने मन नियन्त्रण गर्ने साधन योग र ध्यान भन्दा अरू छँदै छैन ।
त्यस्तै अतृप्त बाह्य संसारको अन्तहीन दौडमा मानिसले आफैँलाई बिर्सिएको छ । र त ऊ आनन्दित हुनै सक्दैन । यसका निमित्त स्वयंप्रतिको बोध र ध्यान जोडिनु अपरिहार्य छ । त्यसैले अध्यात्म विज्ञानको यो जग बसाल्न यसलाई रहस्य होइन, प्रयोगको विषय बनाइनुपर्छ ।
प्राकृतिक विज्ञान र समाज विज्ञानको समुचित प्रयोगबाट हामी निसन्देह आर्थिक समृद्धि त हासिल गर्न सकौँला तर त्यसबाट मानसिक शान्ति भने मिल्ने छैन । अहिलेसम्म हामिले आध्यात्मिक विज्ञानलाई समाज भन्दा पर गएर जोगीहरूले गर्ने कर्मकाण्डका रूपमा मात्र बुझ्यौँ । यो त हरेक मनुस्यको चेतनाको विज्ञान थियो । मानसिक शान्तिको विज्ञान थियो । अब यसलाई विशुद्ध विज्ञानका रूपमा स्वीकार गरी अनुसन्धानको दायराभित्र ल्याउन ढिला गर्नहुन्न । वास्तवमा विज्ञान भनेकै प्रयोगबाट जे सिद्ध हुन्छ त्यसको स्वीकारोक्ति हो ।
ओशोले पहिलोपल्ट पलायनवादी अध्यात्मविरुद्ध संघर्ष गर्नुभयो । संसारमै बसेर परिवारसँगै रमाएर आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने सफल प्रयोग उहाँकै पालामा भयो । साथै आधुनिक विज्ञानको उनले समर्थन मात्र गरेनन्, आफ्ना आग्नेय प्रवचनहरूमा विज्ञानको सुगन्ध दिएर आधुनिक मनुष्यका लागि अध्यात्म श्रवण प्रिय विषय पनि बनाइदिए । उहाँको ‘जोर्बा दी बुद्दा’ अभियानले मानसिकरूपमा शान्त र भौतिकरूपमा सम्पन्न मनुष्यताको वकालत गर्छ । उहाँले विज्ञान वा अध्यात्म मात्रको एकांगी विकासले मनुष्यताको हानि गरेको तर्क गर्दै दुवै एकसाथ जानुपर्ने जिकिर गर्नु भएको छ ।
हामीले हाम्रा पुर्खाहरूसँग अहिलेको भौतिक उन्नयन दाँज्ने हो भने निश्चय नै शिखर चुमेका छौँ । आजको मनुष्य समाज विज्ञानका क्षेत्रमा पनि एक हदसम्म जानकार छ । भौतिक–सामाजिक उन्नयनको चुचुरोमा नै समाज सहजताका साथ अन्तरआनन्दमा डुब्न सक्छ । हाम्रो बाह्य प्रगतिको अन्तिम चाह पनि त आनन्दित हुनु नै हो । त्यसैले बाह्य र अन्तरजगत्को विज्ञानको सहज सहकार्य र स्वीकारोक्ति आजको आवश्यक्ता हो ।
एक्काइसौँ शताब्दीका समस्या हाम्रा पुर्खाहरूका जस्ता सरलरेखीय छैनन् । ती बहुआयामिक र बहुपक्षीय छन् । तिनका समाधानका खातिर आजको मनुष्यको बायाँ मस्तिष्कले आइन्सटाइन र दायाँले बुद्धको प्रतिनिधित्व गर्न सक्नुपर्छ । यहाँनेर ‘अध्यात्मविनाको विज्ञान अन्धो र विज्ञानविनाको अध्यात्म लंगडो हुन्छ’ भन्ने आइन्सटाइनको उक्ति बारम्बार सम्झन लायकको छ । आजको युगमा हामीलाई अन्धो वा लंगडो दुवै हुन छूट छैन ।
नासभिल स्टेट कलेज, टेनेस (अमेरिका) मा प्राध्यापनरत
प्रकाशित: २५ मंसिर २०७७ ०३:४२ बिहीबार

