२३ फाल्गुन २०७७ आइतबार
विचार

‘इन्टर्मिटेन्ट फास्टिङ’का फाइदा

आयुर्विज्ञान अनुसन्धानको अन्तिम लक्ष्य मानिसलाई कसरी स्वस्थ र दीर्घजीवी बनाउने भन्ने हो । कोरोना भाइरस महामारीपछि वैज्ञानिकहरू खोपको अनुसन्धान पूरा गरेका छन् । यसमा उपलब्ध स्रोत–साधन र ज्ञानको प्रयोग भएको छ । प्रभावकारी खोप बनाउन वैज्ञानिक सामथ्र्य देखिएको छ । खोपले वितरण अनुमति पाइसकेको छ । छिटै कोभिड–१९ बाट विश्वले छुट्कारा पाउने आशा गरिएको छ । समस्या देखिए समाधान खोज्नु विज्ञानको धर्म हो ।  

रोग निको पार्न अथवा समस्या न्यूनीकरण गर्न पछिल्लो शताब्दीमा धेरै औषधि बनेका छन् । अधिकांश ओखतीको ‘साइड इफेक्ट’ देखिएको छ । बाह्य रासायनिक पदार्थ सेवन गर्दा तिनले शरीरमा नकारात्मक प्रभाव पार्ने भएकाले ओखतीको प्रयोग नगरी केवल आनीबानी र खानपिनमा हेरफेर गरेर कसरी स्वस्थ तथा दीर्घजीवी हुने भन्ने विषयमा धेरै उत्खननसमेत भएका छन् । त्यसै दिशामा भएका अध्ययन अनुसन्धानको एउटा पाटो पस्कनु यो आलेखको लक्ष्य हो ।  

आयुर्विज्ञानका अध्ययन अनुसन्धानका क्रममा मानिसलाई नकारात्मक तथा दीर्घकालीन असर नपरोस् भन्नका लागि कुनै पनि उपचारको मानवीय परीक्षणअघि मान्छेसँग ‘बायोलोजिकल’ हिसाबले मिल्दोजुल्दो मुसा, बाँदरजस्ता जीवमा प्रथम प्रयोग गरिन्छ । उदाहरणका लागि सर्वाधिक चर्चाको कोभिड–१९ खोप मानवमा सीधै क्लिनिकल परीक्षण गर्दा धेरै जनको खती हुन्छ कि भनी परीक्षणको पूर्वाद्र्धमा बाँदरलाई भाइरस संक्रमण गराई बिरामी बनाएर ओखतीको प्रभावकारिता र असरको परीक्षण गरिएको थियो । बाँदरमा गरिएको अनुसन्धानले मानवमा खोपले नकारात्मक नतिजा नदिने यकिन गरेपछि मात्र क्लिनिकल परीक्षण गरिएको हो । अहिले मात्र होइन, ठूूलो अनर्थबाट जोगाउन दशकौँ अघिदेखि मुसा, बाँदर, खरायो लगायत जीवजन्तुमा औषधि परीक्षण गर्ने चलन छ ।  

‘इन्टर्मिटेन्ट फास्टिङ’का बेला परिस्थिति फेरिन्छ । शरीरले लामो समयसम्म खाना नपाउँदा इनर्जीका लागि ग्लुकोज उपलब्ध हुँदैन । त्यस्तो अवस्थामा शरीरमा रहेको ‘ट्राइ ग्लिसराइड्स’ले ऊर्जाको आपूर्ति गर्नुपर्ने हुन्छ ।

सन् १९९७ मा संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ् विस्कन्सिन’का डा. रिचर्ड विन्डरच लगायत वैज्ञानिकको समूहले मुसालाई अनुसन्धान जीवका रूपमा प्रयोग गर्दै खानाको ढाँचा र प्राणीको आयुको अन्तर्सम्बन्ध स्थापित गर्दै एउटा लेख प्रकाशित गरेका थिए । आयुर्विज्ञान क्षेत्रको प्रतिष्ठित पत्रिका ‘न्यु इंग्ल्यान्ड जर्नल अफ् मेडिसिन’ मा प्रकाशित मुसामा गरिएको उक्त अनुसन्धानको निचोडले मेडिकल साइन्समा खलबली ल्यायो । उक्त अनुसन्धानमा मुसालाई दुई समूहमा राखी एक समूहलाई दैनिक एकै प्रकृतिको खान्की बराबर मात्रामा दिइयो । अर्को समूहलाई उल्लिखित मात्राको भोजन एकैपटक दिई बाँकी २० घन्टा भोकै राखियो । खानपिनले मुसाको आयु र स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने ठहर गर्न दुवै समूहका जीवलाई जीवनभर एकै खुराकको ढाँचामा राखियो । उक्त संहितामा रहेकामध्ये दिनको चार घन्टा खान पाउने अनि बाँकी अवधि भोकै बस्न बाध्य भएका अथवा ‘इन्टर्मिटेन्ट फास्टिङ’ (सविराम भोजन अर्थात् केही घन्टा भोकै बसेर गरिने भोजन)मा रहेको समूहका मुसा धेरै समय मात्र बाँचेनन्, उनीहरू अर्को पक्षभन्दा स्वस्थ समेत देखिए । मुसामा गरिएको उक्त अनुसन्धानको निचोड मेडिकल साइन्सको त्यसबेलाको संहिताभन्दा अत्यन्तै फरक थियो ।  

त्यसबेला मेडिकल लाइनमा ‘कुल खानाको मात्रा बराबर भए पनि थोरैथोरै गरी धेरैपटक भोजन गर्दा एकैपटक टन्न हुने गरी खानु भन्दा असल हो’ भन्ने मान्यता स्थापित थियो । अनि, त्यसै अनुसार चिकित्सकले सल्लाह दिन्थे, सर्वसाधारणलाई । डाक्टरले थोरैथोरै भोजन पटकपटक खान सल्लाह दिने गरेका बखत धेरैपटक तर सानो मात्रामा खाना खाने मुसाभन्दा एकैपटक रास भोजन खाने अनि लगातार २० घन्टा केही पनि खाना नपाएका जनावर बढी स्वस्थ अनि दीर्घजीवी भएको खबरले आयुर्विज्ञानमा तरंग ल्याएको छ । मुसामा देखिएको नतिजा उच्च प्राणी मानिसको हकमा सही नहुने एक पक्षको राय थियो । मुसा र मानिसको बायोलोजी समान प्रकृतिको भएकाले ‘माउस मोडल’मा देखिएको परिणाम मानवको हकमा सत्य हुन सक्ने ठानी थप उत्खननमा लाग्यो अर्को समूह ।

डाक्टरले थोरैथोरै भोजन पटकपटक खान सल्लाह दिने गरेका थिए, त्यहीबेला धेरैपटक तर सानो मात्रामा खाना खाने मुसाभन्दा एकैपटक रास भोजन खाने अनि लगातार २० घन्टा केही पनि खाना नपाएका जनावर बढी स्वस्थ अनि दीर्घजीवी भएको खबरले आयुर्विज्ञानमा तरंग ल्याएको छ ।  

त्यसै क्रममा खान्की र मानव स्वास्थ्यको उत्खनन गर्ने क्रममा रमादानका बखत सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने मुस्लिम धर्मावलम्बीको स्वास्थ्यमा एक महिना व्रत बस्दा के कस्तो असर पा¥यो भनी हेर्दा अनौठो नतिजा देखियो । केवल एक महिना अवधिको धार्मिक मासमा १२ घन्टा निराहारी व्रत बस्ने मानिसको स्वास्थ्य अवस्था अर्को समूहको दाँजोमा निकै सुधार भएको देखियो । सविराम खान्कीका कारण तौल घटेको, चिनी रोगका कारण झन्डै ‘इन्सुलिन’ घोच्नुपर्ने अवस्थामा पुगेका बिरामीको ‘डायबेटिक कन्डिसन’मा सुधार आएको, अनि पेटका रोगीको अवस्था पनि सुध्रिएको पाइयो । दिनभर केही नखाए पनि सूर्यास्त हुनेबित्तिकै एक्कासि धेरै खाना खाँदा त्यसले खराब असर पर्ने आकलनको बदला उनीहरूको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको देख्दा मुसामा देखिएको नतिजा मानिसको हकमा पनि ठीक हो भन्ने लाग्नु अन्यथा भएन । रमादान मान्ने सानो समुदायमा गरिएको अध्ययनले १२–१४ घन्टा भोकै बस्दा स्वास्थ्यमा उल्लेख्य सुधार भएको देख्दा के साँच्चिकै त्यसो हुन्छ त भन्ने उत्सुकता जाग्यो, वैज्ञानिक समुदायमा । संसारका धेरै अनुसन्धानात्मक टोलीले ‘इन्टर्मिटेन्ट फास्टिङ’का विविध आयाम उजागर गरे । त्यसैबीचमा सविराम भोजन र स्वास्थ्यको अन्तर्सम्बन्ध स्थापनाका खातिर जनावरमा सयौँ अनुसन्धान भए । अनि दर्जनौ अन्वेषण मानिसमा गरिए । मुसा, बाँदर लगायत जनावर तथा मानिसमा गरिएका सबै अनुसन्धानले अविचलित रूपले ‘इन्टर्मिटेन्ट फास्टिङ’ले स्वस्थ जीवन बिताउन सहायक सिद्ध भएको देखाएको छ ।  

आखिर ‘इन्टर्मिटेन्ट फास्टिङ’ले कसरी काम गर्छ ? त्यता हेरौँ । ग्लुकोज तथा चिल्लो पदार्थ प्राणीलाई चाहिने ऊर्जाका मुख्य स्रोत हुन् । खानामार्फत शरीरमा पुगेपछि ग्लुकोजको दहन प्रक्रिया सुरु हुन्छ भने बोसो ‘एडिपोज टिस्यु’मा ‘ट्राइग्लिसराइड्स’का रूपमा भण्डारण हुन्छ । ग्लुकोज र चिल्लो दुवै उपलब्ध भएका बखत ऊर्जाको आपूर्ति गर्ने काम ग्लुकोजको हो । दैनिक धेरैपटक खाना खाँदा ग्लुकोजले ऊर्जाको आपूर्ति गर्ने भएकाले चिल्लो पदार्थको भण्डार बढ्दै जान्छ, मानिस मोटो हुँदै जान्छ ।  

‘इन्टर्मिटेन्ट फास्टिङ’का बेला परिस्थिति फेरिन्छ । शरीरले लामो समयसम्म खाना नपाउँदा इनर्जीका लागि ग्लुकोज उपलब्ध हँुदैन । त्यस्तो अवस्थामा शरीरमा रहेको ‘ट्राइ ग्लिसराइड्स’ले ऊर्जाको आपूर्ति गर्नुपर्ने हुन्छ । त्यही क्रममा ‘ट्राइग्लिसराइड्स’ सर्वप्रथम ‘फ्याट्टी एसिड’ तथा ‘ग्लिसरोल’मा टुक्रन्छ । त्यसपछि फयाट्टी एसिडलाई कलेजोले ‘किटोन’मा रूपान्तरण गर्छ । अन्त्यमा किटोनले ऊर्जाको आपूर्ति गर्छ । उल्लिखित दहन प्रक्रिया हेर्दा ग्लुकोज उपलब्ध हुन्जेल शरीरको बोसो पग्लने अवस्था आउन्न । तसर्थ, शरीरमा बोसोको मात्रा घटाउने हो भने कम्तीमा १२–१४ घन्टा निराहारी व्रत बस्नु अपरिहार्य हुन्छ ।  

दैनिक तीन–चारपटक खाना खाने बानी भएका मानिसमा शरीरलाई अविरल चाहिने ऊर्जा ‘ग्लुकोज’ दहनले पूर्ति गर्छ । ‘इन्टर्मिटेन्ट फास्टिङ’मा रहेका व्यक्तिमा इनर्जीको आपूर्ति शरीरको बोसोले धान्छ । ग्लुकोज मेटाबोलिजम्का बखत ‘इन्सुलिन’ चाहिने भएकाले आवश्यक इन्जाइम आपूर्तिका लागि ‘पेन्क्रियाज’ले अत्यधिक काम गर्नुपर्छ । ग्लुकोज पाचनका खातिर पेन्क्रियाजले अधिक इन्सुलिन बनाउनुपर्दा व्यक्तिलाई चिनीरोग लाग्ने सम्भावना बढ्नु अस्वाभाविक भएन । तर, ‘इन्टर्मिटेन्ट फास्टिङ’मा रहेका व्यक्तिको हकमा चाहिने ऊर्जाको मुख्य स्रोत ग्लुकोज मेटाबोलिजम्को बदला बोसो दहन हो । बोसो दहनका क्रममा फ्याट्टी एसिड तथा किटोन मेटाबोलिजम्को मार्ग खुल्ने भएकाले शरीरलाई इन्सिुलिन आवश्यक पर्दैन । इन्सुलिन उत्पादन गर्नुपर्ने दबाब नहुने भएकाले ‘इन्टर्र्मिटेन्ट फास्टिङ’ले ‘डायबेटिज’को सम्भावना कम हुन्छ । त्यसैले पुर्खामा चिनीरोग भएका कारण आनुवंशिक हिसाबले डायबिटिज हुने सम्भावना प्रबल रहेकाले जीवनको पूर्वाद्र्धमा ‘इन्टर्मिटेन्ट फास्टिङ’ गरे जीवनको उत्तराद्र्धमा चिनीरोगको सम्भावना न्यून हुनु अस्वाभाविक रहेन । तसर्थ, चिनीरोगबाट बच्न समयमै ‘इन्टर्मिटेन्ट फास्टिङ’को अभ्यास गर्न उचित देखिन्छ ।  

बेलाबेला खाइरहँदा ग्लुकोज दहनले गति लिने अनि उक्त क्रममा विषाक्त ‘रेडिकल्स’हरू समेत बन्छन् । ‘रेडिकल्स’हरू अत्यधिक ऊर्जावान् हुने भएकाले समीपमा रहेका प्रोटिन, आनुवंशिक पदार्थ डिएनए लगायत ‘बायो मोलिक्युल्स’सँग अन्तक्र्रिया गर्छन् । रेडिकल्स र बायो मोलिक्युल्स बीचको समागमका कारण शरीरका महत्वपूर्ण प्रोटिन तथा आनुवंंशिक पदार्थ ‘अक्सिडेटिभ ड्यामेज’को चपेटामा पर्छन् । ‘अक्सिडेटिभ ड्यामेज’ले बायो मोलिक्युल्सको आकृति परिवर्तन हुन्छ । बनोटमा त्रुटि हँुदा इन्जाइम तथा डिएनएले आफ्ना दायित्व राम्रोसँग पूरा गर्न सक्दैनन् । स्वस्थ राख्न अनवरत रूपले खटिने इन्जाइम स्वयं नै खोटो भएका बखत हामीलाई रोग लाग्नु अस्वाभाविक होइन । तसर्थ, निष्कर्षमा भन्नुपर्दा जति धेरैपटक खाना खायो, त्यही अनुपातमा ‘रेडिकल्स’हरू उत्पादन हुने र अत्यावश्यक बायोमोलिक्युल्सहरू ‘अक्सिडेटिभ ड्यामेज’को चपेटामा परी हामी बिरामी हुने सम्भावना समेत बढ्ने भएकाले ‘इन्टर्मिटेन्ट फास्टिङ’को औचित्य बायोलोजिकल हिसाबले समेत लाभप्रद देखियो ।  

‘इन्टर्मिटेन्ट फास्टिङ’का बखत उत्पादन हुने किटोनले केवल ऊर्जा उत्पादनमा मात्र भूमिका खेलेको देखिएन, बरु तिनले धेरै किसिमका सूचना प्रवाहमा समेत काम गरेको पाइयो । उदाहरणका लागि शरीरमा कुनै भाइरसले संक्रमण गरेको सन्देश प्रतिरक्षा प्रणालीमा पु-याउने लगायतको काम गर्ने प्रोटिनलाई उत्प्रेरित गर्ने काम समेत किटोनले गर्ने गरेकाले ‘इन्टर्मिटेन्ट फास्टिङ’ले हामीलाई धेरै किसिमको रोगबाट बचाउन भूमिका खेल्ने ठान्छन् विशेषज्ञहरू ।

खाना नखाई बस्दा मुटुका मुख्य चार शत्रु ब्लड प्रेसर, मधुमेह, कोलेस्ट्रोल तथा मोटोपन सबैलाई एकैपटक नियन्त्रणमा राख्न सकिने भएकाले ‘हार्ट प्रोब्लम’ तथा अन्य धेरै किसिमका शारीरिक समाधानका खातिर ‘फास्टिङ’ फाइदाजनक देखिन्छ । तर ‘इन्टर्मिटेन्ट फास्टिङ’का क्रममा शरीरमा लवणको मात्रा घट्न गई थप समस्या नहोस्् भन्नाका खातिर ‘इलेक्ट्रोलाइट’ सेवन गर्नुपर्ने देखिन्छ । साथै, अध्ययनले ‘इन्टर्र्मिटेन्ट फास्टिङ’ले सबै समूहलाई समान रूपले फाइदा दिँदैन भन्ने समेत देखिएको छ । तसर्थ, गर्भवती तथा सुत्केरी महिला, बच्चा, चिनीरोगी तथा अव्यवस्थित खाने बानी भएका मानिसको हकमा ‘इन्टर्र्मिटेन्ट फास्टिङ’ खतरनाक साबित हुने भएकाले उक्त दिशामा भने सम्बन्धित पक्ष सजग हुन आवश्यक छ ।

प्रकाशित: २३ मंसिर २०७७ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App