१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
विचार

शान्ति स्थापनामा प्रहरी

नेपालले विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्र संघको अभियानमा सेना तथा प्रहरी पठाएर आफ्नो अन्तर्राष्ट्रिय दायित्व र छविलाई विश्वमै उजागर गर्ने काम गरिरहेको छ। सन् १९५८ देखि सुरक्षा परिषद्को अनुरोधमा शान्ति स्थापना र युद्धविरामको रेखदेखका लािग ५ जना सैनिक अधिकृतको टोली लेबनान पठाएर सुरु भएको यो अभियानले अहिलेसम्म निरन्तरता पाएको छ। अहिले विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ सेना/प्रहरी पठाउने गरिएको छ।
नेपाल प्रहरीले सन् १९९२ मार्च १२ मा सुरक्षा परिषद्को अनुरोधमा पूर्व युगोस्लाभिया मिसन (युएनप्रोफर) अन्तर्गतका क्रोएसिया, बोस्निया-हर्जगोभिना र स्लोभानियाबाट संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा आफ्नो संलग्नता सुरु गरेको देखिन्छ। जसमा फर्मड पुलिस युनिट मिसनअन्तर्गत सन् २००४ सेप्टेम्बर १६ मा संयुक्त राष्ट्र संघीय हाइटी मिसन (मिनुस्था) र सन् २००८ सेप्टेम्बर २० मा अफ्रिकन युनियन मिसन (युनामिड) अन्तरगत डार्फरमा नेपाल प्रहरीको संलग्नता भएबाट अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाल प्रहरीको योगदान ठूलो संख्यामा भएको देखिन्छ।
विश्वका धेरै द्वन्द्वग्रस्त तथा संकटग्रस्त क्षेत्रहरुमा काम गरी विश्व शान्ति तथा सुरक्षा स्थापना कार्यमा गरेको योगदानले नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च, सक्षम र अनुशासित रहेको देखिन्छ। अहिले नेपाल संयुक्त राष्ट्र संघलाई सुरक्षाकर्मी सहयोग गर्ने राष्ट्रहरुमध्ये छैटौं ठूलो राष्ट्रका रूपमा स्थापित भएको छ। संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा समेत नेपाल प्रहरीका कर्मचारी कार्यरत् रहेबाट नेपाल प्रहरीको अन्तर्राष्ट्रिय प्रतिष्ठामा बढोत्तरी भएको छ। संयुक्त राष्ट्र संघको सहयात्राकै कारण नेपालमा संयुक्त राष्ट्र संघको स्थायी कार्यालय र शान्ति सेनाको क्षेत्रीय प्रशिक्षण केन्द्र पनि स्थापना भइसकेको छ। त्यसैगरी नेपालले संयुक्त राष्ट्र संघसँग २०० सेना र २०० प्रहरीलाई संयुक्त राष्ट्र संघको आह्वानमा कुनै पनि बेला खटाउन सकिने गरी तयारी हालतमा राख्ने सन्धिमा पनि हस्ताक्षर गरेको छ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा २० वर्ष अवधि पार गरेको नेपाल प्रहरीले विभिन्न २४ वटा शान्ति मिसनअन्तर्गत सिभिल प्रहरी आइपिओज २५०२ र २ वटा फर्मड पुलिस युनिट मिसनअन्तर्गत ३२१० ज्ानाले योगदान पुर्याहएको पाइन्छ। सशस्त्र प्रहरीको हकमा भने सन् २००२ अक्टोबर १९ मा संयुक्त राष्ट्र संघीय इराक मिसन (युएनजिसिआइ) बाट शान्ति स्थापना कार्यमा सहभागी भएको देखिन्छ।
संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा नेपाल प्रहरीको सहभागिताबाट विश्वका धेरै द्वन्द्व र युद्धग्रस्त क्षेत्रहरूमा शान्ति कायम भएको छ। त्यस्ता सङ्कटग्रस्त स्थानहरूमा खटिँदा नेपाल प्रहरीले मानवीय सहयोग प्रदान, मानव अधिकारको सम्मान र रक्षा, जातीय सद्भाव कायम राख्न सहयोग, सामाजिक न्याय कायम गराउन सघाउने, चुनावको सञ्चालन र अनुगमन, निशस्त्रीकरण र पुनर्स्थापनामा सहयोग गर्छन्। त्यस्तै स्थानीय प्रहरी प्रशासनलाई सहयोग, युद्धविरामको अनुगमन तथा प्रमाणीकरण, नियम र कानुुनको पालना गराउने जस्ता कार्य पनि गर्छन्।
सामुदायिक प्रहरी अवधारणा र अनुगमन, स्थानीय प्रहरीलाई तालिम तथा निर्देशन, समायोजन, पुननिर्माण तथा पुनर्स्थापनामा सहयोग, अपराध अनुसन्धान, सर्वेक्षेकीय भूमिका, कानुनी राज्य स्थापनामा सहयोग, निर्वाचन अनुगमन तालिम, सरकारी पक्ष र विद्रोहीबीच भएको शान्ति सम्झौता कार्यान्वयनको अनुगमन गर्ने काम पनि मिसनअन्तर्गत रहेका हुन्छन्। त्यस्तै मानव अधिकारको अवस्था अनुगमन तथा संरक्षण, कानुनी शासन स्थापना गर्न सहयोग तथा सीमावर्ती क्षेत्रहरुसहितको अवस्थाबारे रिपोर्टिङ गर्ने काम पनि मिसनमा खटिएका सुरक्षाकर्मीले गर्ने गर्छन्।
एफपियु (फर्मड पुलिस युनिट)अन्तर्गत खटिने संयुक्त राष्ट्र सङ्घीय नेपाल प्रहरीहरुले नियमित गस्ती गर्ने, सिभिल प्रहरी, सिभिलियन स्टाफ तथा राष्ट्र संघको सम्पत्तिको सुरक्षा र ओसारपसार वा आवतजावतमा 'कन्भोय प्रोटेक्सन', महत्त्वपूर्ण व्यक्तिहरु तथा नागरिकको सुरक्षा, चुनावको समयमा सुरक्षाका साथै स्थानीय आदेशहरुको व्यवस्थापन गर्ने काम गर्छन्। त्यस्तै सुरक्षा प्रदान गर्ने सवालमा विभिन्न निकायसमक्ष सहयोग र समन्वय, आकस्मिक अवस्था अथवा धरापमा परेका घाइतेलाई 'रेस्क्यु' गर्ने, स्थानीय प्रहरीलाई क्षमता अभिवृद्धिमा सहयोगका साथै प्राकृतिक विपत्तिविरुद्ध मानवीय सहायता जस्ता कार्य पनि रहेका हुन्छन्।
विश्वमा शान्ति तथा सुरक्षा कायम गर्ने संयुक्त राष्ट्र सङ्घको कार्यमा नेपाल प्रहरीको सहभागिताबाट धेरै सङ्कटग्रस्त स्थानमा शान्ति कायम भएका दृष्टान्त छन्। मिसनमा सहभागिता जनाउनुपछिको महत्त्वपूर्ण उपलब्धि पनि यही नै हो। मिसनहरूमा सहभागिता जनाएर एकातिर नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहँुच र क्षमता विस्तार गरेको छ भने अर्काेतिर आर्थिक, सामाजिक, पेशागत तथा व्यक्तित्व्ा विकासको काम पनि एकैसाथ गरेको छ। इमानदारिता, बहादुरीपन, कर्तव्यनिष्ट, सहयोगीपन जस्ता स्वभावले मिसनमा नेपाल प्रहरीका शान्तिकर्मीहरुको उच्च्ा कदर हँुदै आएको छ।
लेखक दरबारमार्ग प्रहरी प्रमुखमा कार्यरत् प्रहरी निरीक्षक हुन्।

प्रकाशित: २७ फाल्गुन २०६९ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %