२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
विचार

नेपाली समाजमा विज्ञान र वैज्ञानिक

यस वर्ष मेक्सिकोमा सम्पन्न ४०औँ अन्तर्राष्ट्रिय भौतिकशास्त्र फिजिक्स ओलम्पियाडमा नेपालबाट विज्ञानका दुई जना विद्यार्थीले मात्र भाग लिने अवसर पाएका थिए। पाँच जना विद्यार्थीलाई सहभागी गराउन सकिने भए पनि सरकारबाट आर्थिक सहयोग नपाएकाले दुई जनाले मात्र भाग लिएका हुन्। कतिपयलाई लाग्दो हो हाम्रो जस्तो गरिब मुलुकले यस्ता वैज्ञानिक कार्यक्रममा भाग लिन रकम उपलब्ध गराउन नसक्नु वा नचाहनु स्वाभाविकै हो। तर केही दिनअघि मात्र बैंककमा एक एसियाली खेल प्रतियोगितामा ७० लाख रुपियाँ खर्चेर भाग लिन भने हाम्रा १८ खेलाडी र २२ प्रशासकलाई मुलुकको 'गरिबी'ले रोकेन। यसरी हेर्दा राष्ट्रसँग पैसा नै नभएको त होइन रहेछ भन्ने बुझ्न सकिन्छ। कुरा प्राथमिकताको रहेछ।

बैंककको खेलमा सहभागी ४० मुलुकमध्ये पदक तालिकामा नेपाल पुछारमा परेको थियो। तीन मुलुकको मात्र सहभागिता रहेको एक खेलमा मात्र एक नेपाली खेलाडीले कास्य पदक प्राप्त गर्न सफल भएका थिए । ७० लाख रुपियाँ खर्च गरेर प्राप्त भएको उपलब्धि यही नै थियो। उता विश्वका अति विकसित मुलुकलगायत ८१ राष्ट्रका ३१४ विद्यार्थी सहभागी भएको मेक्सिकोको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिएका विज्ञानका दुई विद्यार्थीमध्ये रोहन पौडेल फिजिक्स ओलम्पियाडको इतिहासमा नेपालका लागि पहिलोपल्ट कास्य पदक जित्न सफल भए। फिजिक्स ओलम्पियाडमा पदक जित्नु खेलतर्फको ओलम्पिक प्रतियोगितामा पदक जित्नुभन्दा कम कठिन र गौरवको विषय होइन।

ओलम्पिक खेलमा कुनै नेपाली खेलाडी कास्य पदक जित्न सफल भएका भए उक्त खेलाडीको सायद विमानस्थलदेखि नै सिन्दुरे जात्रा गराई सहर परिक्रमा गराइन्थ्यो होला र राष्ट्रले लाखौँको नगद पुरस्कारसहित ठूलो सम्मान गर्ने थियो होला। विभिन्न खेलमा राम्रो प्रदर्शन गरेका नेपाली खेलाडीले यस्तो पुरस्कार र सम्मान पाउँदै आएका पनि छन्। उदाहरणका लागि नेपालका चर्चित तेक्वान्दो खेलाडी संगीना वैद्यले हालै सक्रिय खेलबाट सन्यास लिँदा झन्डै ३० लाख रुपियाँको टोयोटा गाडी उपहार पाएकी थिइन् । तर रोहनले विज्ञानतर्फको ओलम्पिक मानिने मेक्सिकोमा सम्पन्न फिजिक्स ओलम्पियाडमा हासिल गरेको यत्रो ठूलो सफलताको राष्ट्रिय स्तरमा न कुनै सम्मान भयो न साचार माध्यममा उनको खास चर्चा नै भयो। खेलकुद र खेलाडीको विरोध गर्न खोजिएको होइन बरु हाम्रो समाज विज्ञान र वैज्ञानिकप्रति कति उदासीन छ भन्ने उदाहरणमात्र दिन खोजिएको हो।

प्रत्येक वर्ष खेलाडीमात्र होइन अन्य क्षेत्रका कयौँ व्यक्तिलाई विभिन्न संघ संस्थाले उनीहरुको योगदानको कदरस्वरुप ठूलो धनराशिसहितको पुरस्कार प्रदान गर्ने गरेको पाइन्छ । कतिपय चर्चित व्यक्तिले त यस्ता लाखौँलाखको पुरस्कारहरु पटकपटक पाएका हुन्छन् र उनीहरुका कोठा सम्मानपत्रबाट भरिभराउ हुन्छन् । तर वैज्ञानिकहरु यसरी पुरस्कृत र सम्मानित भएको कमैमात्र पाइन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्ट र डा। बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानमात्र देशका दुई यस्ता संस्था हुन् जसले वैज्ञानिकहरुको सम्मान गर्दै आएका छन् ।
नेपाली साचार माध्यमले पनि विज्ञान र वैज्ञानिकलाई खासै महत्व दिएको पाइँंदैन । दैनिक एवं साप्ताहिक अखबार टेलिभिजनको टक सो रेडियो अन्र्तवार्ता आदिमा विज्ञान र वैज्ञानिकलाई बिरलै स्थान दिइन्छ । बलिउड सिनेमा वा टिभी सिरियलका सामान्य कलाकार पनि काठमाडौँ आउँदा ठूलो महत्वका साथ समाचार अन्तरवार्ता छाप्ने वा प्रसारण गर्ने अधिकांश नेपाली अखबार रेडियो वा टिभी च्यानलहरुले नेपाल आएका नोबेल पुरस्कार विजेताजस्ता विश्वविख्यात वैज्ञानिकलाई समेत महत्व दिँदैनन्।

हाम्रा धेरैजसो वैज्ञानिकहरु परम्परित पठनपाठनमा सीमित छन् र पूरा समय अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिकको संख्या अति न्यून छ। तथापि देशमा समय समयमा हुने गरेका राष्ट्रिय स्तरका विज्ञान सम्मेलनहरुमा हजारौँ वैज्ञानिकको सहभागिता हुन्छ र सयौँ कार्यपत्र प्रस्तुत हुन्छन्। तर नेपाली वैज्ञानिकले के के महत्वपूर्ण खोज नतिजा हासिल गरे न आयोजक संस्थाले समीक्षा गरी सर्वसाधारणलाई जानकारी दिन्छन् न यसबारे साचार माध्यमले नै चासो लिएर खोजतलास गर्छन्।

धेरैजसो अन्य पेसाका प्रतिष्ठित व्यक्तिलाई सर्वसाधारणले चिनेका हुन्छन्। तर नेपालका वरिष्ठ वैज्ञानिकहरुलाई सर्वसाधारणले मात्र होइन विज्ञानकै विद्यार्थीहरुले समेत राम्ररी चिनेका हुँदैनन्। कुनैपनि वैज्ञानिक विशेषतः उसले अनुसन्धानमार्फत् गरेका मौलिक खोज र आविष्कारका कारण समाजमा चिनिन्छ र प्रसिद्ध हुन्छन्। तर बिजुली र पानीको निरन्तर आपूर्तिजस्तो वैज्ञानिक अनुसन्धानका लागि आवश्यक न्यूनतम पूर्वाधारसम्म नभएको हाम्रो देशमा जतिसुकै योग्य प्रतिभाशाली र समर्पित वैज्ञानिकले पनि ठूल्ठूला खोज एवं आविष्कार गरि समाजमा परिचित र प्रतिष्ठित हुन त्यति सजिलो छैन। यिनै कारणले गर्दा नेपाली वैज्ञानिकले के कस्ता महत्वपूर्ण खोज र आविष्कार गरे जनता अनभिज्ञ छन्।

देशमा विज्ञानको समग्र विकास र वैज्ञानिकको हक हितको प्रवर्द्धन गर्न विज्ञान मन्त्रालय तथा नास्ट जस्ता राष्ट्रिय संस्था स्थापना नभएका होइनन्। तथापि यी संस्थाहरु प्रभावकारी हुन नसकेको वैज्ञानिकहरुको गुनासो छ । उपयुक्त नीति तथा बृहत् कार्यक्रम बनाएर देशमा विज्ञान र प्रविधिको समग्र विकास गर्न र वैज्ञानिकहरुको मनोबल उकास्न ध्यान दिनुभन्दा कतिपय विज्ञान मन्त्री एवं मन्त्रालयका सचिवहरुले समेत मन्त्रालयको औचित्य देख्दैनन् र मन्त्रालय खारेज भए नै राम्रो भनेर सार्वजनिकरुपमै भनी हिँड्छन् । कतिपय विज्ञान मन्त्री फुस्रद बढी भएर ब्युटी पार्लरको उद्घाटन गर्न जानसमेत भ्याउँछन्।

हरेक नेपाली प्रधानमन्त्रीले अनिवार्यरुपमा छिमेकी मुलुक भारत र चीनको भ्रमण गर्छन्। भ्रमण दलमा दर्जनौँ सम्बन्धित वा असम्बन्धित व्यक्तिको सहभागिता हुन्छ। तर यस्ता उच्चस्तरीय भ्रमणमा वैज्ञानिकको सहभागिता हुने गर्दैन र विज्ञान प्रविधि छलफलको एजेन्डा पनि बन्ने गर्दैन । जानेको र चाहेको भए यी दुवै राष्ट्रले विज्ञान प्रविधि क्षेत्रमा केही समय यता हासिल गरेको सफलताबाट नेपालले ठूलो पाठ सिक्न र फाइदा लिनसक्ने थियॊ।
नेपालका कतिपय शक्तिशाली राजनीतिज्ञहरुको पृष्ठभूमि विज्ञान भएपनि उनीहरु देशमा विज्ञानको विकासप्रति प्रतिबद्ध भएको देखिँदैन। स्वयं राष्ट्रपति चिकित्सा वैज्ञानिक हुनुहुन्छ । तर २२ दलको समर्थन प्राप्त सरकारले तयार पारेको र उहाँले व्यवस्थापिका-संसद्मा प्रस्तुत गर्नु भएको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञान शब्दको उल्लेखसम्म भएन। संविधानसभामा कुनैपनि सभासद्ले आजसम्म विज्ञानको विषय उठाएको सुनिएको छैन। तथापि हिजोआज हाम्रा नेताहरु आफ्नो भाषण र अभिव्यक्तिमा ुवैज्ञानिकु शब्द प्रयोग गर्ने गर्छन् जस्तै सङ्घीयताको वैज्ञानिक आधार वैज्ञानिक शासन प्रणाली वैज्ञानिक शिक्षा नीति वैज्ञानिक भूमिसुधार आदि। यतिमात्र होइन अब त राजनीतिक दलबीच मन्त्रालय राजदूत सचिव संस्थानका महाप्रबन्धक आदिको भागबन्डा समेत 'वैज्ञानिक' हुनु पर्नेमा नेताहरु जोड दिने गर्छन् । उनीहरुले प्रयोग गर्ने ुवैज्ञानिकु शब्दको परिभाषा उनीहरुले मात्रै बुझ्ने भएका छन्।

हाम्रा राजनीतिज्ञ एवं योजनाकारहरुले कुनैपनि नीतिनिर्माण कार्यमा वैज्ञानिकहरुको सल्लाह लिनुपर्ने आवश्यकता महसुस गरेका छैनन् । देशमा नयाँ संविधान निर्माण हुँदैछ । तर संविधान निर्माणमा वैज्ञानिकको रायको लिनु पर्ने आवश्यकता कुनैपनि राजनीतिक दलले महसुस गरेका छैनन् । संविधान सभामा धेरै पेसाका व्यक्तिहरुको प्रतिनिधित्व भएको छ । तर वैज्ञानिक समुदायको प्रतिनिधित्व छैन । आज समाजका हरेक पेसामा संलग्न व्यक्तिहरु आफ्नो हकहितका लागि आवाज उठाई रहेका छन् । तर राम्ररी सङ्गठित हुन नसकेकाले नेपाली वैज्ञानिकहरु आज एक आवाजविहीन वर्ग बनेका छन्। उनीहरुको आवाज न सरकारसम्म पुगेको छ न समाज सदन वा सडकमा नै सुनिन्छ। आजको युग विज्ञान तथा प्रविधिको युग हो र विज्ञान तथा प्रविधिको विकास नगरी कुनैपनि मुलुकले आर्थिक सामाजिक विकास गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ। तर नेपालमा यस तथ्यलाई आजसम्म न समाजले राम्ररी बुझेको छ न वैज्ञानिकहरुले नै राम्ररी बुझाउन सकेका छन्।

प्रकाशित: ११ भाद्र २०६६ २१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %