२३ फाल्गुन २०७७ आइतबार
विचार

महिला हिंसाविरुद्धको अभियानः दुःखद घटना रोकिएनन्

सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र संघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि  हरेक वर्षको २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ। यस दिवसलाई नेपालमा पनि १६ दिने अभियानका रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ। नेपालमा यो अभियानले २०५४ देखिनै निरन्तरता पाउँदै आएको छ तर बर्सेनि दुःखद घटना भने बढ्दै गइरहेका समाचार र तथ्यांक साक्षी छन्। प्रत्येक वर्ष महिला हिंसाविरूद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाका अवस्था भने जस्ताका तस्तै छन्। शारीरिक, मानसिक, आर्थिक, राजनीतिक, आध्यात्मिकलगायतका पक्षबाट महिलाले स्वन्त्रता महसुस गर्न नपाएको र विविध माध्यमले हिंसा खेप्न बाध्य हुनुपरेका घटना पटकपटक सार्वजनिक भइरहेका छन्। अभियान जारी छ, कानुन र नीति नियममा कडाइ हुँदैछ, कानुनीरूपमा महिलाको स्थान र सुरक्षा धेरै माथि देखिन्छ र पनि हिंसाका घटना ज्युँका त्युँ रहनुको कारण के होला त ?

महिला हिंसामा पुरुषको भूमिका  

महिला हिंसा भन्ने शब्दले पुरुषबाट पीडित महिला भन्ने नै बुझिन्छ। हिंसा के हो ? कसैलाई चोट नपु¥र्याइकन आफूखुसी हुन नसक्नु र आफ्नो इच्छापूर्तिमा जबर्जस्ती अरूलाई प्रयोग गरिनु नै हो। यो  सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ। प्रश्न उठ्ने गर्छ– कसले गर्छ महिलामाथि हिंसा ? समाज र महिला अधिकारकर्मी आक्रामक हुन्छन् पुरूषहरूप्रति। धेरैजसो घटना पुरूष प्रवृत्तिले महिलामाथि शोषण गरेका कारण भएका तथ्यहरूसहित बाहिर आएका हुन्छन्। के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति नै हो त ? यसले सबै पुरुषलाई हिंसात्मक संज्ञा मिल्ने हो ? अवश्य होइन, सामान्यीकरण गरेर पुरूष सबै खराब भन्न मिल्दैन। तर, जति घटनाले कानुनी उपचार खोजेका हुन्छन् तिनमा दोषी पुरुष पात्र नै पर्ने गरेका छन्। यसले गर्दा असल चरित्रसमेत हिंसात्मक प्रवृत्तिको विशेषण बोक्न बाध्य भएका छन्।  

व्यक्ति तब हिंसामा उत्रन्छ जब उसले मनुष्यको स्वभाव गुमाएर राक्षसी प्रवृत्ति अपनाएको हुन्छ। कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भन्ने। महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारको सृष्टि भएको हो। प्रकृति र पुरुषको भनेर चिनिने मनुष्य जातिको उद्गम महिलाबाट भयो।  आमा, जननी र मातृत्वबाट भयो। के पुरुषले आफ्नो उद्गम बिर्सेर सृष्टिमाथि नै आक्रामक बन्ने बाटो बिराएको हो त ? विवेक गुमाएर प्रेमको साटो हिंसाको माध्यम अपनाएको हो त ?  महिला जसले जीवन दियो, जीवनमा प्रेम पैदा गरायो, जीवनलाई रूपान्तरण गरायो आमाको रूपबाट, दिदीबहिनी, जीवन संगिनीका रूपबाट। ती सबै महिलालाई यो आदर र प्रेमको भावले हेर्ने कलाको विकास गराउन सके हिंसात्मक प्रवृत्ति अन्त्य हुन्थ्यो कि ?

पितृसत्तात्मक मनोविज्ञान  

हाम्रो घरबाट नै छोरा जन्मँदाको क्षण र छोरी जन्मँदाको क्षण तुलनात्मकरूपमा खुसी र हर्षको समय बन्ने गरेको हुन्छ। कानुनमा कडाइ गर्दैमा हाम्रो मान्यता परिवर्तन हुन्छ कि हुन्न ? भएको छ कि छैन ? जस्तै शिक्षित र सर्वज्ञाताहरूको मनस्थितिबाट वंश जोगाउने छोराको चाहना, अनेक उपाय गरेर पनि छोरा नै हुनुपर्छ भन्ने मान्यता। छोरा नहुनुमा महिलाको कारण देखाउन लाज नमान्ने स्वभाव परिवर्तन नहुँदासम्म कागजमा तयार पारिएका नीति, नियम र कानुनले महिलामाथिको हिंसा अन्त्य हुने छैन। समाजमा कुनै घटना भए पुरुषले नाक ठाडो गरेर हिँडेपनि सुहाउँछ, महिलाको इज्जत जान्छ। पुरुष प्रवृत्तिको अराजकतारूपी इज्जत जोगाइदिने साधनका रूपमा महिलालाई लिइनुले आफ्नै छोरीचेलीमाथि कति अन्याय गरेका छौं भन्ने हेक्का हुनुपर्दैन ?

कुनै घटना भए पञ्चभलाद्मी मिलेर घटनालाई बाहिर आउन नदिने र महिला पक्षलाई सहन बाध्य पारिने घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अराजक बनिरहेका छन्। पुरुष प्रधान हुने मान्यता जोगाउन लागिपरेको घर समाजबाट मानवीयताको उदाहरण कसरी प्राप्त हुन्छ ? महिला हिंसाका कारण हामीले समाजको मान्यता र मनुष्यको चेतनामा खोज्नु जरुरी छ, मनुष्यको मनोविज्ञानभित्र खोजिनु जरुरी छ। कानुनमा कडाइ हुँदैमा भित्री चेतना खुल्छ भन्ने जरुरत छैन। यसका लागि मनोपरामर्श, आध्यात्मिक अन्तरक्रिया, ध्यान, योग र उत्प्रेरात्मक शिक्षा र यसको अभ्यास जरुरी छ। महिला र पुरुषको सहअस्तित्व कायम राख्ने हो भने मनोविज्ञान परिवर्तन हुनु जरुरी छ। प्रेम, सद्भाव, मानवीयता, प्रसन्नता यी गुण महिला पुरुष दुवैलाई आवश्यक छ भने महिलामात्र कसरी हिंसामा पर्छन् ?

लैङ्गिक समानताको बहस र परिवर्तन  

राष्ट्रका उच्च ओहोदाका व्यक्तिदेखि लिएर महिला अधिकारकर्मीहरू अनि सबैतिरबाट लैङ्गिक समानताको बहस निरन्तर चलिरहेको छ तर यसको परिणाम र परिवर्तन के भएको छ त ? लैङ्गिक समानताको बहस गर्दागर्दै हाम्रा मान्यता, प्रचलन र रीतिहरूलाई कसरी समन्वय गर्ने र प्रचलन र मान्यताबाट कसरी माथि उठ्ने त्यो शिक्षा जरुरी छ। महिलाले समानता प्राप्त गर्न पुरुषलाई पछि पार्ने कल्पनासम्म गर्न सक्दैनन् भने महिलामाथि हिंसा हुनुहुन्न भने पुरुषमाथि पनि हुनुहुन्न। कानुन, न्याय, भावना, शिक्षा, सम्मान, प्रेम, भूगोल र मानवीयताको लिङ्ग हुँदैन। यी सबै पक्षबाट महिला र पुरुष दुवै समान छन्। बहसअनुसार अंश र वंशमा समानता ल्याउन सकिएला ? छोरा र छोरी उही सृष्टि, उही सन्तान हुन् भनेर बुझाउन र बुझ्न सकिएला ? महिलाले भोग्नुपर्ने दाइजोप्रथा, बोक्सीको आरोप, चेलीबेटी बेचबिखन, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, घरेलु हिंसा, महिलामाथिको एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य अमानवीय प्रथा कहिले अन्त्य होलान् ?

यी घरबाटै परिवर्तन ल्याउन सक्ने प्रथा हुन् तर सुधार हुन र न्यूनीकरण गर्न सकिएको छैन। घरकै घटना र अन्याय सहन नसकी कैयौँ महिलाले आत्महत्या गरेका छन् भने कति चेलीहरू माइतीको सहारा लिन पुगेका छन्। कुल घटनाको ४० प्रतिशत घटना कानुनी उपचारका लागि बाहिर आएपनि १० प्रतिशतको मात्र संबोधन गर्ने गरिएको तथ्यांक छ भने त्यो पनि न्यायिक प्रक्रिया धेरै ढिलाइका साथ हुने गरेको बुझिएको छ।  

यौन शोषण र महिला हिंसा आफ्नै परिवारबाटै हुने जस्ता पत्यार नै गर्न नसकिने घटना पनि नेपाली समाजमा भइरहेका छन्। बालबिवाह, बहुविवाह, अनमेल विवाह, गाली बेइज्जती, अपमान, मानसिक यातना जस्ता हिंसा र जघन्य अपराधका घटना पनि महिलामाथि नै हुने गरेका छन्। महिला हिंसाविरुद्धको अभियान दिवस मनाउँदै गरेको अवस्थामा पनि शहरदेखि गाउँसम्मका महिला कुनै न कुनै हिंसाका सिकार भएका समाचार आइरहन्छन्। महिलालाई महिलाकै अस्तित्व दिन नसक्ने संस्कारमा समानताको बहसले के रूपान्तरण ल्याएको अनुभूति गर्ने ?

कसरी बचाउने बालिका ?

नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको छ। नेपाल सरकार संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्छ। महिला हिंसाविरुद्धको अभियान बर्सेनि चलिरहँदा, राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसम्मले महिलाको हक हित र हिंसा निर्मुलका लागि भाषण दिइरहँदा यी समाचारले पिरोल्छ कि पिरोल्दैन होला ? स्मरणमा छन् होला त यी कलिला छोरीहरू ? कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या, काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या, बझाङकी १२ वर्षीया सम्झना बिकको बलात्कारपछि हत्या, सामूहिक बलात्कारपछि अस्मिताको हत्या जस्ता कैयौँ घटना गाउँघरमै लुके होलान्। यी कलिला बालिका र यिनका परिवारलाई कसरी न्याय दिलाउन सकिएला ?

प्रकाशित: १४ मंसिर २०७७ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App