२३ फाल्गुन २०७७ आइतबार
विचार

खोप विकासका आयाम

यसै महिना कोरोनाको भ्याक्सिन अनुसन्धानमा रहेका दुई कम्पनी, फाइजर र मोडर्नाले आफ्ना खोपको प्रभावकारिता (इफिकेसी) सार्वजनिक गरे । रसियाले आफ्नो खोप, स्पुत्निक ९० प्रतिशत प्रभावकारी भएकामा खुसी व्यक्त गरेको अवस्थामा मोडर्नाको भ्याक्सिन ९४.५ प्रतिशत अनि फाइजरको खोप ९५ प्रतिशत क्षमतावान भएको तथ्य सार्वजनिक हुनुले दैनिकरूपले हजारौँ ज्यान आहुति दिने विश्व समुदायमा खुसी छाउनु अन्यथा होइन । संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)ले कोरोना भ्याक्सिन ५० प्रतिशत प्रभावकारी भए पनि सर्वसाधारणमा प्रयोगका लागि अनुमति दिने अग्रिम घोषणा गरेकामा परीक्षणमा रहेका खोपहरू ९० प्रतिशत भन्दा अधिक क्षमतावान देखिनुलाई भ्याक्सिन रिसर्चमा होमिएका वैज्ञानिकहरू ‘गेम चेन्जर’ मान्छन् । क्लिनिकल परीक्षणका क्रममा भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत भन्दा अधिक देख्दा कोभिड–१९ निर्मुल भइहाल्यो भन्ने ठान्ने पनि देखिए । अनुगमन विधिलाई हेर्दा क्लिनिकल परीक्षणमा अब्बल देखिएका भ्याक्सिन छिटैनै बजारमा आउने देखियो । यसै परिवेशमा भ्याक्सिन अनुसन्धान, तथ्यांकको विवेचना र संभाव्य परिणामको चर्चा यो लेखको लक्ष्यहो ।  

अहिलेसम्मका सफलतम भ्याक्सिन उत्पादक मोडर्ना र फाइजरको खोपका प्रविधि धेरै हदसम्म समान पाइयो । दुवै भ्याक्सिन ‘म्यासेन्जर आरएनए’ विधिमा आधारित देखिए । जीवको अस्तित्वलाई निरन्तरता दिने मुख्य अणुवांशिक पदार्थ ‘डिएनए’ हो । अणुवांशिक पदार्थ, डिएनएको साना उत्पादनशील खण्डलाई जिन भनिन्छ । जीवलाई अस्तित्वमा ल्याउन हजारौँ जिनको भूमिका रहन्छ । सामान्यतः एक जिनले एउटा प्रोटिन बनाउँछ । त्यसैले हाम्रो शरीरमा हजारौँ किसिमका प्रोटिन हुन्छन । तर डिएनएबाट एकैपटक प्रोटिनको उत्पादन भने हुँदैन । प्रोटिन बन्ने क्रममा जिनले सर्वप्रथम ‘आरएनए’ बनाउँछ । प्रोटिन बनाउँदा जिनको सन्देश बोक्ने भएकाले ‘आरएनए’ लाई ‘म्यासेन्जर आरएनए’ भनिन्छ ।  आरएनए संवेदनशील हुने भएकाले त्यसको बनोट डिएनएको तुलनामा अस्थिर हुन्छ अनि थप सुरक्षाको खाँचो पर्छ । धेरै संवेदनशील हुने भएकाले आरएनए विधिमा आधारित कोरोनाका खोपहरूलाई सकुशल राख्न न्यून तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अत्यधिक चिसोमा राख्नुपर्ने खोप स्रोत साधनको अभाव भएका विपन्न समुदायमा पु-याउन कठिन हुन्छ कि भन्ने चिन्ता गरिनु अस्वाभाविक होइन ।  

फाइजर र मोडर्नाका भ्याक्सिनहरू प्रारम्भिक दिनमा वैज्ञानिकहरूले सोचे भन्दा अधिक प्रभावकारी देखिए ।  

परीक्षणमा रहेका भ्याक्सिनहरूमा कोरोनाको बाह्य ‘स्पाइक प्रोटिन’ उत्पादन गर्ने चरित्रको ‘म्यासेन्जर आरएनए’ प्रयोग गरिएकोछ भने आरएनएलाई थप सुरक्षित राख्न ‘लिपिड’ को बाह्य लेपन गरिएको छ । खोप दिएपछि म्यासेन्जर आरएनएको तत्वहरू शरीरका कोशहरूमा पुग्छन्। कोशमा पुगेपछि वातावरणीय प्रभावका कारण लिपिड नासिन्छ अनि आरएनए स्वतन्त्र हुन्छ । अन्ततः प्रोटिन उत्पादनको प्रक्रिया क्रियाशील हुन्छ, शरीरमा कोरोनाको ‘स्पाइक प्रोटिन’ बन्छ ।  

प्रचलित भ्याक्सिन विधिमा मानव शरीरमा कोरानाको पूर्ण आकृति नबन्ने बरु भाइरसको केबल एउटा सूक्ष्म अंश मात्र उत्पादन हुने भएकाले व्यक्तिलाई हानि भने हुँदैन । प्रतिरक्षा (इम्युन सिस्टम) प्रणाली अति संवेदनशील हुने भएकाले शरीरमा भाइरल प्रोटिन उत्पादन हुनेबित्तिकै त्यसलाई सहजै पहिल्याउँछ । अनि, कोरोना प्रोटिन विनासका लागि इम्युन सिस्टम क्रियाशील हुन्छ । विभिन्न चरणको प्रयोग अनि पुनः परीक्षणपछि प्रतिरक्षा प्रणालीले आफूलाई क्रमबद्धरूपले परिमार्जन गर्दै स्पाइक प्रोटिनलाई नास गर्छ । अझ महत्वपूर्ण कुरा त प्रतिरक्षा प्रणालीका कोशहरूमा दिमागझैँ स्मरण क्षमतासमेत हुन्छ । कोरोना भाइरसको स्पाइक प्रोटिनलाई भ्याक्सिनेसनका क्रममा परास्त गरिसकेकाले समान आकृति भएको कोभिड–१९का भाइरसलाई प्रतिरक्षा प्रणालीले सहजै चिन्छ, अनि कोरोनालाई नास गर्छ । भाइरसले हाम्रो शरीरमा गुढ बनाउन थाल्नेबित्तिकै इम्युन सिस्टमका कोशहरूले कोभिड भाइरसलाई परास्त गरिहाल्ने भएकाले हामीलाई रोगको लक्षण देखिँदैन । क्लिनिकल ट्रायलमा भएका दर्जनौँ खोपको बनोट तथा बायोलोजिकल चरित्र फरक भए पनि भ्याक्सिनेसनको मुख्य काम कोभिडको भाइरस शरीरमा पस्नेबित्तिकै कोरोनालाई परास्त गर्न सक्ने प्रकृतिको ‘इम्युनिटी’ विकास गर्नु नै हो । 

कोभिड–१९ को अणुवांशिक पदार्थ आरएनएमा आधारित भएकाले इन्फ्लुएन्जामा झँै कोरोना भ्याक्सिनलाई बर्सेनि परिमार्जन गर्नुपर्ने तथा भाइरस नियन्त्रणका लागि आवधिकरूपले बुस्टर सट लिनुपर्ने भइ मान्छेले यो नवीन भाइरससँगै बाँच्न सिक्नुपर्ला कि भन्ने प्रश्नको उत्तर भने भविष्यकै गर्भमा रह्यो । 

फाइजरको खोप ९५ प्रतिशत क्षमतावान भएको तथ्य सार्वजनिक भएसँगै त्यसको शाब्दिक व्याख्या आवश्यक देखियो । फाइजरले आफ्नो ओखती परीक्षणका क्रममा ४३६६१ स्वस्थ स्वयम्सेवक छनोट ग¥यो अनि आधा सहभागीलाई म्यासेन्जर आरएनएसहितको भ्याक्सिन दियो भने अर्को ५० प्रतिशतलाई छद्म ओखती ‘प्लेसिबो’  दियो । सहभागी स्वयम्सेवक तथा भ्याक्सिन दिने स्वास्थ्यकर्मी कसैलाई पनि कुन वास्तविक ओखती हो अनि कुन प्लेसिबो भन्ने कुराको छनक हुँदैन । भ्याक्सिनेसनपछि सबै सहभागीको दिनचर्या यथावतरूपले चल्यो, सबै आआफ्नो पेसामा व्यस्त भए । सहभागी कसैलाई कोरोनाका लक्षण देखिएको खण्डमा कोभिड–१९ भए÷नभएको एकीन गर्न ‘पिसिआर’ परीक्षण गरियो । खबर सार्वजनिक गर्दाका क्षणमा झण्डै ४४ हजार सहभागीमध्ये १७० जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । कुल १७० संक्रमितमध्ये १६२ प्लेसिबो पाउने अनि आठ जना वास्तविक भ्याक्सिन लिएमध्येका पाइए । यसरी प्लेसिबो र वास्तविक ओखतीसहितको भ्याक्सिन लिने कुल सहभागीको संख्या बराबर रहे पनि छद्म ओखती लिएका व्यक्तिहरू अत्यधिक बिरामी हुनुले भ्याक्सिनको क्षमता बन्यो । कुल संख्यामध्ये ९५ प्रतिशत संक्रमित प्लेसिबो खोप लिने समूहबाट आएकाले फाइजरको खोपले ९५ प्रतिशत मानिसलाई संक्रमण हुनबाट जोगाएको भन्नुपर्ने हुन्छ । क्लिनिकल भाषामा फाइजरको ओखतीको ‘इफिकेसी’९५ प्रतिशतहो भन्ने हो ।

मानौँ, कुनै जमातमा आधालाई ओखती र अर्को ५० प्रतिशतलाई ‘प्लेसिबो’ दिइएकामा कुल संक्रमितमध्ये दुवै समूहका आधा–आधा भएको अवस्थामा उक्त भ्याक्सिनको असर शून्य प्रतिशत मानिन्छ । त्यस्तै प्रकारको क्लिनिकल ट्रायलमा कदाचित संक्रमित सबै ‘प्लेसिबो’ लिने समूहका मात्र देखिए उक्त भ्याक्सिन शतप्रतिशत क्षमतावान मान्नुपर्ने हुन्छ ।  

कोरोना भ्याक्सिन ९५ प्रतिशत असरदार देखिनु भनेको भ्याक्सिनले राम्रो काम गरेको भन्नुपर्ने हुन्छ । तर अर्को पाटोबाट हेर्ने हो भने भ्याक्सिनले ५ प्रतिशत मानिसलाई संक्रमणबाट जोगाउन सक्दैन है भन्नेहो । तसर्थ, भ्याक्सिन लिँदा आफू ५ प्रतिशत अभागी समूहमा पनि पर्न सक्छु भन्ने ध्यान दिनुपर्ने हुन्छ । अनि कोरोना नियन्त्रणका लागि केबल खोप मात्र पर्याप्त हँुदैन, बरु देशव्यापी भ्याक्सिनेसन अभियानको दरोकार पर्छ ।  

क्लिनिकल ट्रायलमा छनोट भएका अधिकांश सहभागी कुनै जटिल रोगको चपेटामा परेका हँुदैनन् बरु उनीहरू स्वस्थ स्वयम्सेवक हुन् । स्वस्थ मानिसको इम्युन सिस्टम चुस्त दुरुस्त हुने भएकाले सामान्यतः निरोगी मानिसमा भ्याक्सिन सदैव अधिक प्रभावकारी हुन्छ । तसर्थ, निरोगी मानिसमा गरिएको क्लिनिकल ट्रायलमा ९५ प्रतिशत क्षमतावान देखिएको भ्याक्सिनले विभिन्न किसिमका मानिस बस्ने वास्तविक संसारमा पनि आफ्नो प्रभावकारिता त्यही तहमा कायम गर्छ भन्ने छैन ।  

प्रचलनमा रहेका दर्जनौँभ्याक्सिनको चरित्रमा धेरै विविधता देखिन्छ । टिटानस तथा भ्यागुते रोगका भ्याक्सिनको प्रभावकारिता समयसँगै घट्दै गएको देखिन्छ भने दादुराको खोपले व्यक्तिलाई आजन्म प्रतिरोधात्मक तागत दिन्छ । प्रतिरोधात्मक क्षमता घट्दै जाने अवस्थामा भ्याक्सिनको प्रभावकारिता कायम राख्न आवधिकरूपमा अतिरिक्त ‘बुस्टर सट’ दिनुपर्ने हुन्छ । नवीन भाइरस कोभिड–१९ को भ्याक्सिन परीक्षणकै क्रममा रहेकाले पछिल्लो दिनमा कोरोनाबाट जोगिन बुस्टर सटको आवश्यकता पर्छ/पर्दैन भन्न केही समय पर्खनैपर्छ ।  

‘आरएनए’ ‘डिएनए’ को तुलनामा कम स्थिर हुने भएकाले अणुवांशिक पदार्थका रूपमा ‘आरएनए’ भएका भाइरसको जिन पुस्तैपिच्छे परिमार्जन हुन्छ । जिनको बनोट फेरिँदा बन्ने प्रोटिनको चरित्र पनि फरक हुन्छ । प्रोटिनको स्वरूप परिवर्तन हुँदा भाइरसको आकृति फेरिने भएकाले अघिल्लो पुस्ताको भाइरसको बनोटलाई लक्षित गरी बनाइएको भ्याक्सिन पछिल्लो पुस्ताका लागि निस्प्रभाव बन्न सक्छ । उदाहरणका लागि जाडोमहिनामा सक्रिय देखिने आरएनए भाइरस ‘इन्फ्लुएन्जा’ बाट बच्नका लागि प्रत्यक वर्ष ‘फ्लु सट’ लिनुपर्ने हुन्छ ।  आरएनएमा आधारित इन्फ्लुएन्जा भाइरसको अणुवांशिक पदार्थ परिवर्तन भइरहने हुँदा भाइरसको स्वरूप पनि फेरिइरहन्छ । त्यसैले अघिल्लो वर्ष बनेको इन्फ्लुएन्जा भ्याक्सिनले पछिल्लो साल प्रतिरोधात्मक क्षमता कायम गर्न सक्दैन । कोभिड–१९ पनि इन्फ्लुएन्जा भाइरसझैं आरएनएमा आधारित जीवाणु भएकाले कोरोनाको खोप पनि बर्सेनि लिनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।  

फाइजर र मोडर्नाका भ्याक्सिनहरू प्रारम्भिक दिनमा वैज्ञानिकहरूले सोचे भन्दा अधिक प्रभावकारी देखिए । सबै कुरा अनुकूल भएको खण्डमा खोपले कोरोनालाई छिटैनै नियन्त्रण गर्ने देखियो । तरविगतको अनुभव हेर्दा आरएनए आधारित भाइरसको नियन्त्रण अणुवांशिक पदार्थ डिएनए भएको सूक्ष्माणु जस्तो सहज देखिन्न । त्यसैले कोभिड–१९ को अणुवांशिक पदार्थ आरएनएमा आधारित भएकाले इन्फ्लुएन्जामा झैं कोरोना भ्याक्सिनलाई बर्सेनि परिमार्जन गर्नुपर्ने तथा भाइरस नियन्त्रणका लागि आवधिकरूपले बुस्टर सट लिनुपर्ने भइ मान्छेले यो नवीन भाइरससँगै बाँच्न सिक्नुपर्ला कि भन्ने प्रश्नको उत्तर भने भविष्यकै गर्भमा रह्यो ।

प्रकाशित: ९ मंसिर २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App