४ वैशाख २०८१ मंगलबार
विचार

जातीय मुक्तिका अप्ठ्यारा मार्क्सवादी बाटा

कार्ल मार्क्सको जन्म ५ मे, १८१८ मा भएको थियो। उनी जन्मिएको ट्रियर सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो। सन् १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको प्रभाव त्यो समयसम्म पनि बलियो नै थियो। मार्क्सको जन्म त्यस्तो समयमा भएको थियो, एकातर्फ सम्पूर्ण युरोपमा नयाँखालको जागरण आइरहेको थियो। अर्काेतर्फ बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो। बेलायत, स्पेन, फ्रान्स र पोर्चुगल आदि देशहरू आ–आफ्ना साम्राज्य विस्तार गर्न जोडबलले लागिरहेका थिए। पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने तथा नाफा कमाउने धन्दा चलिरहेको थियो। फलस्वरूप कमाउ धन्दा तीव्र गतिमा बढिरहँदा फ्रान्सेली राज्य क्रान्तिताका लागेका मुक्ति, समानता र ऐक्यबद्धता जस्ता प्रमुख मुद्दा ओझेलमा पर्दै गइरहेका थिए।

मार्क्सको समयमा कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो। त्यसखालको विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी ‘साम्यवादी व्यवस्था’ तर्फ आकर्षित हुने वातावरण बनायो।

मार्क्सवादी विचारधाराको प्रमुख तत्व वर्ग संघर्ष (क्लास स्ट्रगल) हो। त्यसैले मार्क्स र उनका सहपाठी फ्रेडरिक एंगेल्सले एक महत्वपूर्ण निष्कर्ष निकाले– अहिलेसम्म विद्यमान सबै समाजहरूको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो।

मार्क्सवादी विचारधाराअनुसार समाजमा दुई मुख्य वर्ग छन्, एक–बुर्जुवा वर्ग वा पुँजीवादी र दुई– मजदूर वर्ग (पोलिटेरियट)। समाजशास्त्र, राजनीति र अर्थशास्त्रमा समाजको तल्लो श्रेणीको मानिसलाई ‘सर्वहारा वर्ग’ भनिन्छ जो मानिस अक्सर शारीरिक श्रमबाट जीविका चलाउने गर्छन्। औद्योगिक समाजमा प्रायः कारखानामा काम गर्ने मजदूरलाई सर्वहारा (पोलिटेरियट) भनिन्थ्यो।

मार्क्सवादी दृष्टिकोणमा पुँजीपति वर्गका मानिस सधैँ पैसा संकलन गर्न र आफ्नो सम्पत्ति सुरक्षित राख्नमा लागेका हुन्छन् साथै उनीहरूको मुख्य उद्देश्य समाजमा आफ्नो स्थान उच्च राख्नु तथा आर्थिक नियन्त्रण कायम गर्नु हो।

लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।

मार्क्सवादी दर्शनमा सर्वहारा वर्गको अधिनायकत्व यस्तो उत्पादनको रूप हो जहाँ सर्वहारा पार्टीले राजनीतिक शक्ति पाउँछ। सर्वहारा वर्गको तानाशाही भनेको पुँजीवादी अर्थतन्त्र र कम्युनिस्ट अर्थव्यवस्थाबीचको संक्रमणकालीन अवस्था हो जहाँ उत्तरोत्तर क्रान्तिकारी राज्यले उत्पादनका साधनहरू कब्जा गर्छ र शासक सर्वहारा राज्य पार्टीको सीमान्तमा प्रत्यक्ष निर्वाचनको कार्यान्वयन गर्न बाध्य गर्छ भन्ने मान्यता राखिएको हुन्छ। स्मरण रहोस्, सर्वहारा वर्गको अधिनायकत्व शब्दको रचना क्रान्तिकारी जोसेफ वाइडेमेयरले गरेका हुन् जुन मार्क्स र एंगेल्सले आफ्नो दर्शन र अर्थशास्त्रमा अपनाए।

पुँजीवाद (क्यापिटालिज्म) सामान्यतः यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनका साधनमाथि निजी स्वामित्व हुन्छ। सरकारी प्रणाली अतिरिक्त आफ्नो व्यक्तिगत स्वामित्व हासिल गर्ने कुनै पनि आर्थिक तन्त्रलाई पुँजीवादी तन्त्र भनिन्छ। अर्थात् पुँजीवाद लाभका लागि चलाइन्छ जसमा लगानी, वितरण, आय उत्पादन मूल्य र बजार मूल्य आदिको निर्धारण स्वतन्त्र बजारमा प्रतिस्पर्धाद्वारा हुन्छ। यसरी वर्ग उन्मूलन (एनिहिलेसन अफ क्लास) का जन्मदाता बन्न पुगे– मार्क्स। ज्ञातव्य छ, राजनीतिमा चर्चित शब्द दलाल पुँजीवाद (कम्प्राडोर क्यापिटालिज्म) भनेपछि मात्रै स्थापित भएको हो। यद्यपि निजी सम्पत्ति राख्नेहरू सबै पुँजीवादी नै हुन्। हाम्रो जस्तो भ्रामक राजनीतिको बिगबिगी चल्ने र बिक्ने देशका कथित समाजवादी र क्रान्तिकारीहरूका अनियमितता, भ्रष्टाचार र अकुत निजी सम्पत्ति एवं दलालीकरणको कसरी व्याख्या गर्न सकिएला ? तथापि समाजवाद, साम्यवाद र वर्ग मुक्तिका क्रान्तिकारी नाराले नेतादेखि सर्वसाधारणसम्मलाई अझै उद्धेलित बनाई नै रहेको देखिन्छ। गरिब, अशिक्षित र असभ्य समाजमा समाजवादको भ्रम बिक्नु आश्चर्यको विषय होइन।

जातीय मुक्तिको सवालनेपालमा ब्राह्मणवादी अर्थात ‘हिन्दु अतिवादी राजनीति’ का कारण हुने वर्ण या जातीय विभेद तथा छुवाछूत व्यवस्थालाई मार्क्सवादी दृष्टिकोणबाट हेरिनुपर्ने धारणा राख्ने कथित कामरेडहरूको कमी छैन। भारतलगायत वर्ग व्यवस्था रहेका दक्षिण एसियाका अन्य मुलुकमा भन्दा नेपालमा यस्तो धारणा प्रबल देखिन्छ। स्पष्ट नै छ, जात व्यवस्था आर्य (सवर्ण) र अनार्य (अवर्ण) बीचको युद्धको उपज हो। अर्थात जनैधारी र जनै धारण नगर्ने समुदायबीच शासनसत्ताका निम्ति प्राचीनकाल (करिव ५ हजार वर्षपूर्व) मा भएको द्वन्द्व, संघर्ष र युद्धको परिणाम नै वर्ण या जात व्यवस्था हो। योबाहेक अन्य कुनै कारण या आधार छैन। जात व्यवस्था र छुवाछूत व्यवहार हिन्दु समाजमा अद्यापि निरन्तर छ। यो मार्क्स, एंगेल्स, लेनिन या माओले भने जस्तो वर्ग संघर्षमा आधारित छैन। यहाँको समाज मार्क्सले देखेको र व्याख्या गरेको वर्ग संघर्षको इतिहास बोकेको समाज होइन। साथै असमानता र विभेदका प्रवृत्ति र प्रकृति पनि पृथक छन्। अन्य जस्तो वर्ग संघर्षको इतिहासले बनेको समाज होइन यो। वर्ण व्यवस्थाको आधार जन्म हो, कर्म या रंग या पेसा या अन्य होइन।

कतिपय कामरेडहरू भन्ने गर्छन्– ‘ब्राह्मणवादको कुनै जात र लिंग हुँदैन।’ यो शिक्षित दलित युवाहरूमा जकडिएर रहेको ठूलो भ्रम हो। यो हाँस्यास्पद तर्कसमेत हो। किनभने ब्राह्मणवाद भनेकै जात व्यवस्था र पुरुषवादको जननी या मूल आधार हो। ब्राह्मण जन्मले हुन्छ, त्यसै गरी शुद्र (दलित) पनि जन्मले नै हुन्छ। पुरुष र महिला जन्मले हुन्छ। ब्राह्मण व्यवस्थामा पुरुष शासन गर्नका निम्ति जन्मिन्छ भने महिला पापका कारणले पुरुषद्वारा शासित हुनका लागि जन्मिन्छन् र त्यो पाप कटनीका लागि उनीहरूले पुरुषको सेवा गर्नुपर्छ। शास्त्रहरूले स्पष्ट गर्छन्, शुद्र, दास (महिला), शिल्पी आदिको कर्म (काम÷कर्तव्य) भनेकै आफू भन्दा उपल्ला वर्ण या जातिका व्यक्तिको सेवा गर्नु हो। त्यस्तो सजायको कारण पूर्वजन्म हो तर सेवा गरेबापत शुद्रले पुनर्जन्ममा अन्य उपल्ला जातमा जन्म हुने बाटो पनि खोल्दिँदैन। त्यसैले जात व्यवस्था अजीवकै छ। अर्थात शुद्रले ब्राह्मण धर्मलाई घृणा गर्नु न्यायसंगत र आवश्यक छ।

संसारका अछूतहरूको समस्या मूलरूपमा राजनीतिक समस्या हो। सामाजिक–सांस्कृतिक र आर्थिक समस्या पनि महत्वपूर्ण हुन् नै। मार्क्सले भनेका छन्–‘वर्तमान समयको राजनीतिक र आर्थिक अवस्थाको समिश्रण नै संस्कृति हो।’ त्यसैले राजनीतिक परिवर्तन र आर्थिक अवस्थामा बदलाब ल्याएर नयाँ संस्कृति निर्माण गर्न सम्भव रहेछ। त्यसले सांस्कृतिक क्रान्तिको ढोका पनि खोल्छ।

वर्ण व्यवस्थामा वर्गको कुनै भूमिका रहँदैन। त्यस्तै शिक्षा, सम्पत्ति, योग्यता, लगन, मेहनत आदिको समेत कुनै औचित्य छैन। वर्ण रगतमा हुन्छ, वंश, कुल र जातमा हुन्छ। उच्च कुलमा जन्म लिए ठूलो जात र नीच परिवारमा जन्मिए सानो जात हुन्छ। त्यसैले त जात व्यवस्था अन्त्यका निम्ति मार्क्सवादी बाटो अर्थहीन र औचित्यविहीन छ। त्यो बाटो सही बाटो नै होइन। यति ज्ञान हुँदाहुँदै धनले सम्पन्न र शिक्षाले युक्त हुँदै जाँदा जातीय व्यवस्था आफैँ समाप्त हुन्छ भनी झुट किन बोल्छन् कामरेडहरू ? र, त्यही झुट किन पत्याउँछ उत्पीडित समुदाय ? हजारौँ वर्षदेखि जीवित यो जात व्यवस्था समाप्त पार्न अब केही त गर्नैपर्छ।

मार्क्सवादीहरूसँगको एकतालेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्। समाजवाद कतैबाट पनि वैज्ञानिक प्रमाणित हुनै सक्दैन। त्यसैले वैज्ञानिक समाजवादको स्थापना गर्ने सपना देख्नु गड्यौलाको हड्डी खोज्नु जत्तिकै भ्रामक हो। यथार्थमा मार्क्सीय समाजवादका निम्ति लड्नु हाम्रो मुक्तिको बाटो नै होइन। एकल कम्युनिस्ट पार्टीको तानाशाही व्यवस्थाले जातीय उत्पीडनमा पारिएका समुदायलाई झन् समस्यामा पार्नेछ। हाम्रो उद्देश्य र गन्तव्य वर्णाश्रम व्यवस्थाको अन्त्य हो, हाम्रोमा अस्तित्वमै नरहेको सामन्तवादको शास्त्रीय अन्त्य होइन।

स्पष्टरूपमा यस्तो भन्दै गर्दा मार्क्सवादमा विश्वास राख्ने, आफूलाई कम्युनिस्ट भन्न रुचाउने र भ्रामक नै भए पनि वर्ग संघर्षको बाटोमा प्रशिक्षित दलित, जनजाति या मूलवासी समुदायका अगुवाहरूसँग एकता कसरी गर्न सकिन्छ भन्ने आजको मूल सवाल बन्छ। समाजमा एक तप्का हामीसँग पनि छ जो नामकै मात्र किन नहोस्, आफूलाई कम्युनिस्ट भन्न रुचि राख्छ। काम दलाली गर्ने नै भए पनि आफूलाई कामरेड भन्न चाहनेहरूको भावना समेट्न जरुरी छ। त्यस्तो प्रवृत्तिका व्यक्तिलाई हाम्रो संविधानमा व्यवस्था गरिएको लोकतान्त्रिक समाजवादको गन्तव्यसम्म सहमत गराउने विकल्पसम्म जान सकिन्छ। यद्यपि केचाहिँ बिर्सन हुन्न भने समाजवाद एउटा राजनीतिक मुद्दाबाहेक अन्य केही होइन। जातीय मुक्तिको उपयुक्त बाटो पनि यही नै हो।

प्रकाशित: २७ कार्तिक २०७७ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App