१० मंसिर २०७७ बुधबार
विचार

पेय पदार्थको आदत र यथार्थ

अतिथिका लागि चियाले स्वागत गर्ने पुरानो संस्कार अहिले कोक र पेप्सीमा पुग्यो। कागतीको सर्वत र गोरसले पाहुनालाई स्वागत गर्दा तल्लो तप्काको देखिने हो कि भन्ने भानले बजारका पेय पदार्थको प्रयोग बढेको देखियो। रेडियोमा सुनिने तथा टेलिभिजनमा देखिने कोक–पेप्सीको विज्ञापनले परम्परागत झोलको तुलनामा बजारका पेय पदार्थ उच्चस्तरको हो कि भन्ने भयो। अनि कोक र पेप्सी सामाजिक प्रतिष्ठाको विषय बन्यो। परम्परागत चिया र सर्वतको तुलनामा के कोक, पेप्सीलगायतका अन्य इनर्जी ड्रिङ्क्सहरू हाम्रो स्वास्थ्यका लागि लाभदायक छन् त ? त्यसै विषयमा भएका अनुसन्धानको जानकारी गराउनु यो लेखको उद्देश्य हो।

हाम्रो खानकीको महत्वपूर्ण हिस्साका रूपमा रहेको भात तथा रोटी पाचन क्रियापछि अन्ततः शरीरमा चिनीका रूपमा रूपान्तरण हुन्छ। शरीरले मुख्य ऊर्जाका रूपमा प्रयोग गर्ने ‘ग्लुकोज’ आपूर्तिको मुख्य स्रोत हो भात। प्रारम्भदेखि नै नेपालीको मुख्य आहराका रूपमा रह्यो चामल। सुरुका दिनमा हाम्रो दैनिकी कठोर थियो। कडा परिश्रम गर्ने बानीले गर्दा भातको अत्यधिक सेवनसमेत ठूलो समस्याका रूपमा थिएन। परिवर्तित परिवेशमा कठोर काम गर्नुपर्ने बाध्यता त रहेन तर माना चामलको भात खाने बानीमा भने खासै परिवर्तन आएन। धेरै भात खाँदा मानिसको वजन मात्र बढेन बरु शरीरमा चिनीको मात्रासमेत उकालो लाग्यो। तौल बढ्दा शारीरिक समस्या देखिए। चिनी रोगका बिरामी अत्यधिक बढे। ‘डायबेटिज’ जटिल समस्याका रूपमा देखियो। त्यसैले भात, रोटी जस्ता कार्बोहाइड्रेटजन्य खानकीको मात्रा घटाउनु अहिलेको आवश्यकता रह्यो।

पहिलेदेखि नै चाहिने भन्दा अत्यधिक चिनी सेवन गरिरहेको वर्तमान अवस्थामा कोक र पेप्सी जस्ता पेय पदार्थको के भूमिका होला त ? त्यता हेरौँ। एक गिलास कोकमा झण्डै १० चम्चा चिनी रहन्छ। गुलियो महसुस नभए पनि चिया र सर्वतको तुलनामा कोक–पेप्सीमा अत्यधिक मात्रामा चिनी हुन्छ। कोकको प्रयोगले मानिस मोटो हुन मद्दत ग-यो, चिनी रोगीको संख्या बढे भन्दा अन्यथा नहोला।

कोल्ड ड्रिङ्क्सको आदत स्वास्थ्यका लागि हानिकारक देखिएकाले कोक र फेन्टाको साटो स्वच्छ पानी पिउने बानी सुरु गरी निरोगी जीवन बिताऔँ।

संयुक्त राज्य अमेरिकाको ‘ओहायो स्टेट युनिभर्सिटी’ को न्युरो साइन्सका प्राध्यापक एवम् ‘योर ब्रेन अन फुड’ पुस्तकका लेखक गेरी योङ्कका विचारमा अहिले बजारमा उपलब्ध ‘सफ्ट ड्रिङ्क्स’ हरूमा चिनी, क्याफिन र कार्बन डाइअक्साइडको समिश्रण सन्तुलित हुन्छ। उक्त प्रभावकारी मिश्रणका कारण ती पेयले ‘ड्रग्स’ जस्तै एक पटक खाएपछि फेरि पनि खाइहालौँ जस्तो लत लाग्छ। आखिर ‘सफ्ट ड्रिङ्क्स’ ले किन कुलत लगाउँछ त भनी थप अध्ययन गर्दा बजारिया पेय पदार्थले दिमागको ’न्युक्लियस एक्युम्बिन्स’ भन्ने भागमा ‘डोपामिन’ नामको रासायनिक पदार्थ उत्पादन गर्छन्। डोपामिनले सुखबोध गराउने भएकाले एकपल्ट कोक खाएपछि थप प्रफुल्लताका लागि फेरि पनि कोक पिउँ पिउँ लाग्छ भन्छन् प्राध्यापक योङ्कका। ज्ञात रहोस्, ‘ड्रग्स’ को सेवनपछि समेत शरीरमा डोपामिन उत्पादन भई क्षणिक सुख बोधको चक्रमा परी मानिस अम्मली बन्छ। कोक खाँदा थोरै मात्रामा डोपामिन उत्पादन हुने अनि त्यसको प्रभाव पनि तुरुन्तै सकिने भएकाले सुख बोधको निरन्तरताका लागि दिमागले अर्को गिलासको चाह राख्छ भन्ने ठान्छन् उनी। खानाले हामीलाई कसरी अम्मली बनाउँछ भनी जानकारी गराउने उद्देश्यले लेखिएको ‘योर ब्रेन अन फुड’ भन्ने पुस्तकमा गेरीले बजारी कोल्ड ड्रिङ्क्सको बदला अम्मली चरित्र नरहने परम्परागत सर्वत तथा लस्सी जस्ता पेय सेवनमा बल दिन सल्लाह दिन्छन्।

रेगुलर कोक–पेप्सीमा चिनीको मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यलाई मध्यनजर राख्दै ‘सुगर’ को बदला वैकल्पिक रासायनिक पदार्थ प्रयोग गरी ‘क्यालोरी फ्रि’ डायट पेय पदार्थ उत्पादनको सुरुआत भयो। प्रारम्भिक दिनमा शरीरको वजन नबढ्ने भएकाले ‘डायट कोक’ को खपत अत्यधिक बढ्यो। क्यालोरी फ्रि कोक खाँदा चिनी रोग नलाग्ने भएपछि ‘डायट’ पेयको खपत आकासिनु अस्वाभाविक भएन। नभन्दै डायट कोकको उत्पादनले कोकाकोला कम्पनीको राजस्व बढ्यो पनि।

एक गिलास कोकमा झण्डै १० चम्चा चिनी रहन्छ। गुलियो महसुस नभए पनि चिया र सर्वतको तुलनामा कोक–पेप्सीमा अत्यधिक मात्रामा चिनी हुन्छ। कोकको प्रयोगले मानिस मोटो हुन मद्दत ग-यो, चिनी रोगीको संख्या बढे भन्दा अन्यथा नहोला।

रेगुलर कोकको तुलनामा र क्यालोरीविहीन ‘डायट कोक’ लाभदायक जस्तो देखिए पनि यथार्थ जीवनमा त्यस्तै हुन्छ/हुँदैन यथार्थ जनसमक्ष ल्याउनु वैज्ञानिकहरूको दायित्व रह्यो। अनुसन्धानकर्ताहरू सामान्य र क्यालोरी फ्रि पेय पदार्थले मानिसको स्वास्थमा पार्ने दीर्घकालीन प्रभाव अध्ययन गर्न थाले। लामो अध्ययनपछि गत हप्ता मात्र चिनीवाला र कृतिम गुलियोजन्य पेय सेवन गर्दा व्यक्तिको मुटुमा के/कस्तो असर पार्छ भन्ने आँकडा प्रकाशित भयो ‘जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजी’ मा। एक लाख भन्दा अधिक मानिसमा गरिएको अध्ययनले कृतिम गुलियो हालेको र चिनीवाला पेय पदार्थ पिउने समूहमा मुटुसम्बन्धी रोगले समान हिसाबले सताएको देखियो। उक्त अध्ययनले मुटुको स्वास्थ्यका लागि रेगुलर र डायट कोक दुवै उत्तिकै खराब देखायो।

मुटुका लागि रेगुलर र डायट कोल्ड ड्रिङ्क्सहरू समानरूपमा खराब देखिए पनि अन्य परिसूचकांकले एउटा पेयलाई अर्को भन्दा असल देखाउँछ कि भनी थप अध्ययन हुनु अस्वाभाविक रहेन। डायट पेप्सीको स्वाद रेगुलर पेप्सीको जस्तै बनाउन बाह्य केमिकलहरू थप्नुपर्ने हुन्छ। ठोस जवाफका लागि प्रयोग भएको रासायनिक पदार्थहरू मानव स्वास्थ्यका लागि दीर्घकालीनरूपमा फाइदाजनक छ÷छैन हेर्नुपर्ने हुन्छ। र, त्यसको यथार्थ बाहिर ल्याउन लामो समयसम्म उपभोक्ताको स्वास्थ्यमा निगरानी गर्नुपर्ने हुन्छ। त्यसै परिवेशमा हार्वार्ड विश्वविद्यालय मेडिकल स्कुलका प्राध्यापक फ्र्याङ्क ह्युको समूहले हालै प्रकाशित गरेको एउटा अनुसन्धान सान्दर्भिक देखियो।

प्राध्यापक फ्र्याङ्क ह्युको समूहले रेगुलर र वैकल्पिक केमिकलले गुलियो बनाएको डायट पेय पदार्थ सेवन गर्ने दुई विपरित समूहको दीर्घकालीन स्वास्थ्यलाई तुलना गरेर एउटा अनुसन्धान प्रकाशित गरे ‘अमेरिकी हर्ट एसोसियसन’ स्वामित्वको पत्रिका ‘सर्कुलेसन’ मा। झण्डै ३ दशकको अवधिमा मरेका ३७ हजार पुरुष र ८० हजार महिलाको मृत्युको कारण र उनीहरूले सेवन गर्ने गरेका पेय पदार्थको प्रकृति तथा परिमाणलाई सूक्ष्म अध्ययन गरियो उक्त अनुसन्धानमा। विश्लेषण गर्दा दैनिक २ खोराक कोल्ड ड्रिङ्क्स सेवन गर्ने महिला पेय पदार्थ नखाने स्त्रीको तुलनामा अल्पायुमा मर्ने संभावना झण्डै ६३ प्रतिशतले बढेको देखियो। के महिला र पुरुषको मरणमा सफ्ट ड्रिङ्क्सले पार्ने प्रभाव फरक फरक हुन्छ त भनी हेर्दा अनौठो परिणाम देखियो। दैनिक दुई खोराक ‘सफ्ट ड्रिङ्क्स’ पिउने लोग्ने मानिस पेय पदार्थ नखाने पुरुषको तुलनामा अल्पायुमा मर्ने संभावना २९ प्रतिशतले बढेको देखायो। समान मात्रामा ‘कोल्ड ड्रिङ्क्स’ पिए पनि महिला र पुरुषको अल्पायुमा मर्ने अनुपात किन फरक भयो त भन्ने सम्बन्धमा भने उक्त अनुसन्धानले ठोस जवाफ दिन सकेन। तर उक्त अन्वेषणले कोक–पेप्सी जस्ता पेय पदार्थको प्रयोगले अल्पायुमा मर्ने संभावना बढाउँछ भन्ने स्पष्ट सन्देश दियो।

अहिलेसम्म भएका अधिकांश अध्ययन÷अनुसन्धानले बजारमा पाइने कोक–पेप्सीलगायतका सबै प्रकारका स्पोर्टस ड्रिङ्क्सहरू स्वस्थ मुटु तथा दीर्घायुका लागि हानिकारक हुन् भन्ने देखायो। तर आदतसँगको मजबुरीका कारण धेरै प्रयास गर्दा पनि अम्मल छाड्न नसक्ने धेरै देखिए। अन्तरनिहित अम्मली चरित्रका कारण लामो समयदेखि लागेको सफ्ट ड्रिङ्क्सको आदत छुटाउन गाह्राे हुनु अस्वाभाविक भएन। लामो समयदेखि बानीका रूपमा रहेको कोक पिउने आदत एकै झट्कामा छाड्न असम्भव हुने भएकाले चरणबद्ध प्रयासको दरोकार पर्छ। लामो समयदेखि कायम रहेको प्रेम सम्बन्ध एकैपटक विच्छेद गर्न कठिन हुने भएकाले धेरै खोराक र अत्यधिक मात्रामा पिउने आदतलाई क्रमिकरूपमा घटाउँदै छरितो बनाउन उपयुक्त हुने देखियो। त्यसपछि पेप्सीको बदला कागती, सुन्तलाको टुक्रा मिसाएको पानी पिउने आदत गर्नु लाभदायक हुन्छ।  

मानिसलाई कुनै पनि खाद्यान्नप्रति आकर्षित बनाउन जिब्राको स्वाद र मानसिक आशक्तिको भूमिका हुन्छ। दिमागमा पैदा हुने ‘डोपामिन’ र जिब्रामा रहेका झण्डै १० हजार ‘टेस्ट बड’ ले मानिसलाई खानाप्रति इच्छा जगाउने हो। प्रत्येक २ हप्तामा टेस्ट बडहरू फेरिने भएकाले १५ दिन कुनै वस्तु नखाइ बस्यो भने उक्त खाद्यान्नप्रति व्यक्तिको रुचि कम हुँदै गई अन्त्यमा खान्कीको आदत छाड्न सफल हुन्छ भन्छन् इमोरी विश्वविद्यालय एटलान्टाका प्राध्यापक स्यारोन बर्गक्बेस्ट। डा. बर्गक्बेस्टले दिएको २ हप्ते आहार परिवर्तनको सल्लाह पालन गर्ने हो भने कोल्ड ड्रिङ्क्स मात्र होइन, सोमरसलगायतका कुनै पनि खानकीको लत सजिलै छोड्न सक्ने देखियो। कोल्ड ड्रिङ्क्सको आदत स्वास्थ्यका लागि हानिकारक देखिएकाले कोक र फेन्टाको साटो स्वच्छ पानी पिउने बानी सुरु गरी निरोगी जीवन बिताऔँ।

प्रकाशित: २५ कार्तिक २०७७ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App